नूरन राई "जुदु"

नूरन राई “जुदु”

लामलश्कर लागेर
हिडिरहेका बिद्यार्थीहरुको झुन्डमा
म पनि हिडिरहेको हुन्छु
ठीक साडे आठ बजी बिधालयको गेटमा
बिद्यार्थीहरु अनि अरु-अरु
म पनि त्यहाँ उभेको हुन्छु।
अहो! कति मनोहर दृश्य हेर हेर
कोहि गाडीबाट उत्रन्दैछन, अनि कोहि उतार्दैछन्,
कति राम्रा र बलिया बिद्यार्थीहरु
चिटिक्क युनिफर्ममा सजिएर
असहाय कलिला हातहरुबाट
आफ्नो स्कुल ब्याग र खाजाहरु थुत्दै
स्कुल गेटभित्र पसेपछि
उसकै ब्याग बोकिदिने
ती कलिला असहाय साथीलाई
गेटबाहिर नै छाडिराखेर
“बाइ बाइ” भन्दै गरेको
म खुबै चाख मानेर हेर्दैछु।
तब सुट-टाइ र रङ्ग-बिरङ्गी साडीहरुमा
सजिएका सर र मिसहरुलाई
म जत्रै मेरो साथीले
“गुड मर्निङ्ग सर” “गुड मर्निङ्ग मिस” भन्दै
अङ्ग्रेजीमा कुरा गरेको सुन्दा
आह!
म कति आनन्दित छु र चकित पनि छु।
कसरी? हन कसरी बोलेको होला हौ अर्काको भाषा त्यसले?
कसरी जानेको हौ अङ्ग्रेजी कुरा म जत्रै त्यो मान्छेले?
मैले चाहिँ किन नजानेको होला भनी आफै सोचिरहन्छु
अनि यसरी सोच्दासोच्दै
एउटा यस्तो उत्तर आफैमा पाउँछु
ए….साच्ची
अङ्ग्रेजी बोल्न त सुट-टाइ पो लाउनुपर्छ होला है,
स्कुल पो धाउनुपर्छ होला है।
यसरी यस्तो सोच्दासोच्दै
कल्पनाको यानमा उड्दाउड्दै
मभित्र एउटा स्फुर्ती संचारित हुन्छ
अनि यस्तै कल्पनामा उड्दाउड्दै
साथीको ब्याग बोकेर हिड्दाहिड्दै
साथीसितको मेरो सिमित यात्रा
स्कुलको गेटसम्म पुगेर टुङ्गिन्छ।
तब स्कुल ड्रेसमा सजिएका साथीहरू
स्कुलको गेटभित्र पसेपछि
मेरो अर्कै साथीहरू हुन्छ
मेरो अर्कै संसार हुन्छ।
हामीले बोकिल्याएका स्कुल ब्याग र खाजाहरु
गेटभित्रका साथीहरूलाई थम्याएअपछि
हामी गेटभाहिरकाहरु
कोहि चेखवको बान्का भएर
कोहि स्लमडगका जमाल र सलिमहरु भएर
अझै कोहि राज सरको काली केटी भएर
चाचा नेहरुको न्यानो काख खोज्दै
मदर टेरेजाको प्रेमिलो स्पर्श खोज्दै
खेतबारीको कान्ला-कान्लामा
मालिक हजुरको चोठा-कोठामा
आफ्नो भविष्य खोजिरन्छौ
सुनौलो भाग्य कोरिरहन्छौ
दिवास्वप्नमा घोरिरहन्छौ
अनि यसरी स-साना हामी
आफ्नै संसारमा रमाइरहन्छौ।

दार्जीलिङ