सिराहा जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्गको छपरारी चोकबाट झण्डै डेढ किलोमिटर दक्षिण बाखर गाउँ मेरो मावल हो । यही गाउँमा मैले बाल्यकाल बिताएकी हुँ । यही धुलोमाटोमा मैले कखरा सिकेँ; यहाँबाट झण्डै दुई किलोमिटर पूर्व ‘बस्तीपुर’ गाउँमा रहेको हाईस्कुलमा माध्यमिक तहको शिक्षा पूरा गरेँ र जनकपुरको रा.रा. बहुमुखी क्याम्पसबाट मैले उच्च शिक्षा हासिल गरेँ ।

मलाई यहाँसम्म पुर्याउन मेरो मावलका हजुरबा र हजुरामाको अतुलनीय योगदान छ । म जीवनभर बिर्सन सक्दिनँ त्यो योगदान । उहाँले आफ्नो सीमित आयस्रोतको परिचालनले अपुग भएपछि जग्गा बेच्नुभयो र मेरो पढाइलाई निरन्तरता दिन प्रोत्साहन दिनुभयो ।

त्यो बेला छोरीलाई पढाउने चलन थिएन । त्यसमाथि पनि ’थारु परिवार’ले छोरीलाई पढाउने भन्ने कुरो त कल्पनाभन्दा बाहिरको कुरा थियो । थारुमा कसैले छोरी पढायो भने समाजले अनेकौं खिसी–टिउरी गर्दथ्यो । झन् उच्च शिक्षा अध्ययन गर्न घर छाडेर बाहिर बस्नुपर्ने अवस्थाका छोरीहरूलाई त चरित्रहीन भन्न पनि पछि पर्दैनथ्यो— त्यो समाज । मेरो हजुरबाले यस्ता कुनै पनि खिसीटिउरी वा आक्षेपलाई वास्ता गर्नुभएन; उहाँको एउटै अभीष्ट नातिनीलाई पढाउने थियो; मलाई पढाएर त्यो अभीष्ट पूरा गर्नु पनि भयो ।

मेरी आमाले घर गर्न सक्नुभएनछ र म सानै हुँदै मटेहर्वाबाट मलाई चेपेर माइत आउनुभएको रहेछ ।

मेरा बाहरू तीनभाइ । मटेहर्वाका खान्दानी परिवार ।  बाहरूको सयौं बिगाहामा माछा पोखरी र फुलबारी ।  लाहानको राजमार्ग छेउका महंगा जग्गा पनि धेरैजसो हाम्रा बाहरूकै । 

मेरा हजुरबा पाँच भाइ । मेरा बाहरू तीन भाइ । पाँच भाइ हजुरबाहरू सगोलमै । हजुरबाहरूका सबै सन्तान जोड्दा सत्तरी पचहत्तरजना । सबैको एउटै भान्सा । त्यस परिवारमा सयौंको संख्यामा थिए— गाईभैँसी । त्यस परिवारले पाँच बिगाहा जतिमा तरकारी खेती गर्थ्यो । बिसौँजना घर र खेतबारीमा कामगर्ने मान्छे । अति सम्पन्न  सामन्ती घराना हाम्रा हजुरबाहरूको । प्रशासन यिनीहरूकै मुट्ठीमा । २०२१ सालमा भूमिसुधार लागू भयो तर हाम्रा हजुरबाहरूको जग्गामा न हदबन्दी लाग्यो; न मोहियानी हक ।

जेठा बा र कान्छाबाको बिहे भैसकेको धेरै वर्षसम्म पनि मेरो बाको बिहे भएनछ । उहाँ राम्रोसँग हिँडडुल गर्न सक्नुहुन्नथ्यो । त्यसमाथि दमको बिमारी पनि हुनुहुन्थ्यो ।

मेरी आमा राम्री पनि र चलाक पनि । छोरीलाई पढाउने इच्छा पनि थियो रे हजुरबुबाको । आमा पाँच क्लासमा पढ्दै हुनुहुन्थ्यो रे । यस्तैमा मेरो आमालाई माग्न मटेहर्वाबाट मानिस आएछन् । हजुरबाले छोरीको बिहे गर्न साफ इन्कार गर्नुभएछ । तर उनीहरूले जिम्दार पटवारीलाई मिलाइसकेका रहेछन्; पहिले हजुरबालाई फकाएछन्; फकाउँदा केही सीप नलागेपछि दवाब र धम्की दिएर हजुरबालाई मनाएछन् र मेरा बाआमाको बिहे गराइदिएछन् । केटा पक्षबाट नगद पनि दिने भएका रहेछन्; तर मेरो हजुरबाले ‘छोरी बेचेर पैसा लिन्न’ भनेर अस्वीकार गर्नुभएछ । उताबाट आएको पैसा पनि तिनै जिम्दार पट्वारी मिलेर खाएछन् ।

मेरो जेठो मामा कमाउन भनेर इन्डिया पस्नुभएको दस वर्ष भएर पनि मरे बाँचेको खुटखबर केही थिएन; कान्छो मामा दुर्व्यसनी । हजुरबाको आशाको त्यान्द्रो एउटी छोरी । त्यसको पनि नाबालकमै बिहे गरिदिनु परेकाले हजुरबा धेरै दुःखी हुनुभएछ ।

म पेटमा आएपछि मेरा बा खस्नुभएछ । म ६ महिना पुग्दा नपुग्दै परिवारमा आमा नोकर्नीको स्तरमा खस्नुभएछ । त्यत्रो ठूलो जहानलाई भात खाजा बनाउनुपर्ने, भाँडा माझ्नु पर्ने, घाँस काट्नुपर्ने, गोबर सोहोर्नुपर्ने, तर्कारी बारीमा काम गर्नुपर्ने अनि नोकर चाकरले अश्लील शब्द प्रयोगगरी जिस्काएको सहनुपर्ने अवस्थामा पुग्नुभएछ मेरी आमा । यी सबै हुँदा पनि “ज्यानले सकेसम्म र समयले भ्याएसम्म काम गर्ने त हो नि; गरेकै ज्यान त हो” भनेर आमा दिनरात काममा खट्नुभएछ । तर जब जेठाजु पर्नेहरू र देवर पर्नेहरूले समेत अनैतिक कार्य गर्ने प्रयास गर्न थाले; अनि आमा घरमा टिक्न नसकेर माइत आउनुभएको रहेछ ।

छोरीलाई  पढाउने रहर मेट्न नपाउनुभएका मेरा हजुरबाले मलाई धितमरुन्जेल पढाउनुभयो । उहाँकै अथक प्रयासका कारण मैले स्नातकोत्तर पूरा गरेर शिक्षकमा जागिर खान सफल भएँ । दुई दशकभन्दा बढी शिक्षक पेशामा संलग्न भएर म अहिले रिटायर जीवन व्यतीत गर्दैछु ।

शिक्षकका रूपमा काम शुरु गरेको केही वर्ष भएको थियो; एकदिन आमाले भन्नुभयो— “छोरी ! तेरो जागिरको पैसा कति खर्च गर्नु । तेरो बिहे पनि गर्नुपर्ने । तेरा बिहेका लागि केही पैसा बचाएर राख्नु पनि पर्ने । बरु मटिहर्वा जा तेरा बडाबाउ, काकाबाउले केही सहयोग गर्छन् कि ! …मलाई निकाले पनि तँलाई माया गर्लान् कि । तेरो अंश पनि त त्यहीँ छ नि त ।”

मैले भनेँ– “त्यहाँ मलाई चिन्ने मान्छे त कोही छैनन् होला; त्यहाँ कसैले मलाई चिन्न त चिन्दैनन् होला !” आमाले तरिका निकाल्नुभयो– “म फलानोकी छोरी हुँ भनेर बाबुको नाम भन्नु; चिनिहाल्छन् नि !” आमाको वचन राख्न म एकदिन  मटेहर्वा गएँ ।

जोखनलाल चौधरी मेरो बडाको नाउँ । उहाँको नाउँ सोध्दै गएकी थिएँ; घर पत्ता लगाउन मलाई कुनै गाह्रो परेन । मैले त्यहाँ आफ्नो परिचय दिँदै भनेँ,  “म हजुरको माइलो भाइ मखनलाल कि छोरी हुँ ।”

तर अफसोच ! उहाँले त मलाई वास्तै गर्नु भएन; चिनेको नचिन्यै गर्नुभयो । केही समयको मौनता पछि उहाँले सोध्नुभयो, “कसले पठाएको तँलाई यहाँ ?” मैले भनेँ, “आफ्नु घर खोज्दै आफैँ आएकी नि, कसले पठाउनु पर्छ र ?”

बडाले भन्नु भो— “तेरो यहाँ आउने अधिकार छैन; मेरो भाइ मरिसकेपछि तँ जन्मेकी होस् !” “म पेटमा हुँदा मेरा बाउ मरेका हुन् ।” मैले प्रतिवाद गरेँ तर मेरो वाणी त्यसै हावामा हराएर गयो, कसैले सुनेनन् ।

मभित्र एकाएक घृणा उम्लियो । मैले त्यो सुँगुर जस्तो मोटाएको मेरो ठूलोबाउ भनाउदोलाई मान्छे नभएर हिंस्रक राक्षस जस्तो र उसले लगाएको रुद्राक्षको मालालाई मानव खप्परको माला जस्तो देख्न थालेँ ।

अब मलाई त्यहाँ बसिरहन उचित लागेन । सरासर आफ्नो बाटो लागेँ । बाटामा चिया पसल रहेछ । म चिया पिउन बसेँ । भोक पनि लागेको थियो । बिस्कुट खाएँ । त्यहाँ चिया पसलमा भएका मानिसहरूले मेरोबारे चासो राखे, ती मानिसहरूसँग मेरो वार्तालाप पनि भयो । कुराकानीबाट मैले थाहा पाएँ— मेरो बडाबाउ र काकाले माहिलो भाइ सानैमा मरेको भनेर चल अचल सबै सम्पत्ति दुइभाग अंश लगाएर खाएका रहेछन् ।

घरमा आएर मैले आमालाई सबै बेलिबिस्तार लगाएँ । आमाले दुःखी हुँदै भन्नुभयो “अपराधीहरूले तेरो अंश पनि खाएछन् है । खाउन् ।” “त्यसोभनेर कहाँ हुन्छ, आमा ?“ मैले आमालाई रोक्दै भनेँ–“म ती राक्षसहरूसँग हाम्रो भाग लिएरै छोड्छु ।”

म मुद्धा गर्ने मनस्थितिमा पुगेकी थिएँ । त्यसैले भोलिपल्ट एकाबिहानै गाईघाटतिर लागेँ । त्यहाँ मेरो मावली दाई नाता पर्ने एकजना व्यक्ति वकिल काम गर्नुहुन्थ्यो । उहाँसँग परामर्श गरेर सिराहा जिल्ला अदालतमा मुद्दा हाल्ने मेरो सुर थियो ।

गाईघाट जाने भनेपछि एउटा पुरानो कुरा याद आयो । सिन्धुली जिल्लाको तीनपाटनबाट बसाइँ सरेर २/३ वर्ष अगाडि गाईघाटको उत्तराई टोलमा आएको थियो मेरो पूर्व विद्यार्थी । त्यस विद्यार्थीको अवस्था पनि हेरौँ झैँ लाग्यो ।

म फत्तेपुरबाट जीप चडेर गाईघाट उत्रिएँ र सिधै उत्तराई टोलमा गएँ । सोधखोज गर्दा त्यस विद्यार्थीको परिवार गाईघाटकै मोतिगडा भन्ने स्थानमा गएका रहेछन् भन्ने जानकारी भयो । म मोतिगडा पुगेँ । सोधपुछ गर्दै म उनीहरूको घरमै पुगेँ । घरको स्थिति अनौठो थियो । आँगनमा एउटा ठूलो पाल टाँगिएको थियो । पछाडिपट्टी भत्किएको घरको काठपातको थुप्रो थियो । थुप्रो पछाडि स्यानो तरकारी बारी र बारीमा एकजना बुढोजस्तो देखिने मान्छे कुटोले गोडमेल गरिरहेका । बुढीआमा रामायण पाठ गरिरहनुभएको । बुहारी कलमा भाँडा माझ्दै गरेकी अनि मेरो विद्यार्थीचाहिँ भत्किएको घरका काठपात अताउता पन्साउँदै ।

देख्नेबित्तिकै उसले मलाई चिन्यो । नमस्कार गरेर डगरमा दुइटा कुर्सी ल्यायो, एउटामा आफू बस्यो, अर्कोमा मलाई बस्न भन्यो । मैले उसको स्थितिका बारे जिज्ञासा राखेँ । उसले आफ्नो अवस्था बेलिबिस्तार लगायो । पैंतालीस साल भदौ पाँचगते उदयपुर केन्द्रबिन्दु भएर गएको विनाशकारी भुकम्पका कारण उसको घर भत्किएको रहेछ । तीन वर्ष पहिले उसले बा आमा, छोराछोरी र श्रीमती सहितको परिवारलाई एकजना दहाल थरका ब्राह्मणको गोठ भाडामा लिएर बिसाएको रहेछ । आफ्नो खेतभन्दा तीन चार किलोमीटर टाडा रहेको यो मोतिगडा भन्ने गाउँमा आउने त उसको विचार रहेनछ, तर केही स्वार्थी मानिसको उक्साहटमा परेर यहाँ आएर घर बनाएको रहेछ । शुरुमा यसले उनीहरूको षड्यन्त्र मेलो पाएनछ; पछि घर बनाइसकेपछि मेलो त पाएछ तर समय घर्किसकेछ ।  तर पनि उसको बाले सम्झाउनु भएछ “मानिस कहिल्यै पनि एकपाने बन्नु हुँदैन,” भनेर ।

लेकका गाईगोरु बेंसीमा ल्याउँदा तिनलाई पानी लाग्छ र जिङ्ग्राउन थाल्छन् । यहाँ एकपानेको अर्थ लेकका गाईवस्तुले लेककै मात्र पानी खाइरहन पाउनु भन्ने रहेछ । यस्तो अवस्था गाईवस्तुको हकमा सम्भव होला; मानिसको हकमा होइन । उसको बाले मानिस बहुपाने हुनुपर्छ भनेर मानिस जस्तोसुकै वातावरणमा मिल्न सक्ने हुनुपर्छ भन्नु भएको रहेछ र बहुपाने हुनु नै मानिस हुनु हो भन्ने उहाँको आशय रहेछ । उसले पनि बाउको अर्ती शिरोपर गरेर व्यवहार चलाउँदै गएछ ।

झण्डै एक वर्ष लागेछ— उसलाई घर बनाइसक्न । घर बनाउँदा भोग्नुपरेका असहयोगका घटना लगायत अनेकौं विपत्तिका घटनाहरू र वनपालेले पक्डिएर थुनेका घटनाहरू पनि उसले त्यो भेटमा बेलिबिस्तारमा सुनायो । हाम्रा कुरा सुनेर आमाले पढ्दै गरेको रामायणमा परालको त्यान्द्रोको चिनु लगाउनुभयो र ढोगेर थन्क्याउनुभयो । म आमानेर गएँ । 

आमाले सोध्नुभयो– “यी नानीको घर कहाँ हो ?” 

मेरो पूर्व विद्यार्थीले उत्तर दियो– “बाखर ।” 

आमाले आँखा चम्किला बनाएर सोध्नुभयो–“कुन, बनौली बाखर ?”

मैले भनेँ –“हो आमा ।”

“अनि कसकी छोरी त ?”

“म मिश्रीलालकी नातिनी हुँ ”

“मिश्रीलालकी ?” आमाले आश्चर्य मान्दै सोध्नुभयो— “हन छोरा पट्टीकी कि छोरी पट्टीकि ?”

“छोरी पट्टिकी आमा“ मैले भनेँ । 

“होइन, फुलियाकी छोरी हौ त तिमी ?” 

मैले “हो” भनेर मुन्टो हल्लाएँ । अनि आश्चर्य मान्दै सोधेँ— “हामीलाई कसरी चिन्नुभयो त आमा ?”

आमाले भन्नुभयो “हामी पनि त्यतैका हौँ त नानी ।”

मलाई चिनेपछि आमा पनि छक्क पर्नुभयो र बालाई बोलाउनुभयो ।

आमाले भन्नुभयो— “यता आउनुस् त मिश्रीलालकी नातिनी आएकी रहिछे ।”

बा उठ्नुभयो र कलमा गएर हातगोडा धुनुभयो । त्यसपछि हामी भएको ठाउँमा आएर बस्नुभयो । आमाले भन्नुभयो, “यो नानी बाखर मिश्रीलालकी नातिनी रहिछ ।” मैले मेरो पूर्वविद्यार्थीको घर सिन्धुलीको तीनपाटन हो भन्ने ठानेको थिएँ । आमा र बाले मेरो हजुरबालाई पनि चिन्नु हुँदोरहेछ । फेरि त्यो मेरो पूर्व विद्यार्थीले तेस्तो उरन्ठेउलो पाराले मोतिगडामा बसाइँ किन आउनुपरेको रहेछ । मेरा मनमा अनेकौं प्रश्न खेल्न थाले । मेरो जिज्ञासामा आमाले ओखलढुंगाबाट आफ्नु घर, खेतबारी जेजति थिए; सबै ब्राह्मणलाई दानदिएर आठजना छोराछोरी र आफूहरू समेत दशजनाको परिवार लिएर सिन्धुलीको तीनपाटन बसाइँ आएको लगायतका सबै घटना सुनाउनुभयो ।

उहाँको कुरा सुनेर मेरो मानसपटलमा ओखलढुंगादेखि सिन्धुलीको कमला हाई स्कुल, तिनपाटन, सिराहाको बाखर र गाईघाटको मोतिगडाका परिदृश्य फन्का मारी रहे । कुनै समय यो परिवार बाखडको पचासौं बिगाह जग्गाको मालिक रहेछ भन्ने पनि खुल्यो । त्यही जग्गाको सन्दर्भमा यी बुढाबुढीले मेरा हजुरबालाई चिनेका रहेछन् र मेरी आमालाई पनि चिन्दा रहेछन् भन्ने पनि स्पष्ट भयो ।

आमाको कुरा सुनेपछि मलाई उहाँहरूले भोगेका जीवनका परिदृष्य  कुनै यथार्थ परिघटना नभएर कसैले काल्पनिक  कथा हाले जस्तो पो लाग्यो ।

मैले भनेँ– “जीवनमा दुई दुईपटक बसाइँ सर्नुभएछ । अनि यस्तो दु:ख काटेर बस्नुभएको छ, बसाइँ हिँडेकामा पश्चाताप भएको छैन ?” बाले भन्नुभयो– “यो त अवसर हो नानी ! यस्तै जीवन नै वास्तविक जीवन हो । जीवनको यो पाटो बुझ्ने अवसर खोज्नुपर्छ । अनि मात्र जीवन सार्थक हुन्छ ।” मैले उहाँको भनाई बुझ्न सकिरहेको थिइनँ ।

उहाँले अगाडि भन्नुभयो– “हामीलाई केही दु:ख छैन, नानी ! आवश्यकता नियन्त्रण गरेको हो र जति आवश्यकता नियन्त्रण गर्न सकिन्छ, त्यति नै जीवनको अपूर्व आनन्द प्राप्त हुन्छ । भोक लागेपछि मात्र भोजनको वास्तविक स्वाद थाहा हुन्छ ।”

उहाँले प्रश्न गर्नुभयो— “तिमी जीवनलाई सजावटको रूपमा राख्न चाहन्छ्यौ कि अपरिग्रह बनाउन चाहन्छ्यौ ?” मैले टाउको मात्र हल्लाएँ । बा अगाडि भन्नु भयो— “सजावटले आवश्यकताको वृद्धि हुन्छ । जति आवश्यकताको वृद्धि हुन्छ त्यतिनै लोभ बढ्दछ । जति लोभ बढदछ, त्यति मानिसले नै कुकर्म, अन्याय र अनैतिक कार्य गर्न थाल्छ । यस्ता मानिसले बाउआमा दाजुभाइ दिदीबहिनी कसैलाई चिन्दैन; सबैसँग लिन मात्र जान्दछ दिन जान्दैन ।”

“त्यसो हो भने” मैले भनेँ– “ यो सानो पालमुनिको जीवन रमाइलो छ त ?” प्रत्युत्तरमा बाले भन्नुभयो— “रमाइलो यसकारण छ कि हामीले अनुभव पाएका छौँ ।” एकछिन रोकिएर बाले फेरि भन्नुभयो— “बाखरमा पचासौं बिगाह जमिनको  मालिक हुँदा वा तीनपटनमा जिम्दारी जीवन बिताउँदा जीवनको वास्तविक सुखभन्दा धेरै टाढा चिन्ता, डर, निराशा र ग्लानीको भडखालामा पर्नुपरेको थियो; अहिले आएर जीवनको सुन्दर पक्षको अनुभव भैरहेको छ ।”

एकछिन मौन रहेर बा फेरि भन्न लाग्नुभयो––“हिजो एउटी छोरी आएकी थिइन् । बिचरालाई उसको बाउले अलिकति जग्गा दिएका रहेछन् । बाउ खसेपछि भाइचैँले पहिले फकाएछ; पछि धम्क्याएर बाउले दिएको जग्गा फिर्ता लिएछ । उसले शायद आफ्ना छोराहरूका लागि त्यस्तो कुकर्म गरेको होला, तर छोराहरूलाई त्यसको मूल्य चुकाउन निकै चर्को पर्छ ।”

बाका कुरा सुनेपछि मलाई पनि मेरा काका बडाबाले ममाथि गरेको अन्याय सुनाउन उपयुक्त लाग्यो । मैले सबै नालिबेली सुनाएँ र मुद्दा गरेर आफ्नो अंश फिर्ता गर्न सोचेर वकिल काम गर्ने आफन्तसँग सल्लाह लिन गाईघाट आएको पनि सुनाएँ ।

बाले भन्नुभयो– “जीवनलाई कस्तो बनाउने हो ? यदि मुद्दा गर्नतिर लाग्यौ भने जीवनभर नै मुद्दा गर्नुपर्ने हुन्छ । तिमीलाई उनीहरूले सजिलै दिँदैनन्; अड्डा अदालत उनीहरूकै हातमा छ । बरु जीवनमा संघर्षलाई माया गर; संघर्षमा आस्था राख, आवश्यकताहरूको नियन्त्रण गर र आनन्दको जीवन व्यतीत गर भन्छु म त ।” बाका कुरा सुनेपछि मनमा धेरै कुरा आए । अधिकार प्राप्तिका लागि अग्रसर हुनतिर होइन; पछि हट भन्ने पो सल्लाह दिनुभयो । मलाई उहाँको यो सल्लाह चित्त बुझेन । उहाँको भनाइले जीवन संघर्षरत होइन; पलायनतर्फ अग्रसर हुन्छ भनेजस्तो पनि लाग्यो ।

अन्त्यमा मैले प्रसङ्ग बदल्दै भनेँ– “बा, यो घरचैँ कहिले बनाउने ?” उत्तिक्कै आश्वस्त मनस्थितिमा बाले भन्नुभयो— “बन्छ नानी बन्छ । तिमी अर्कोपटक आउँदा हामी आफ्नै घरमा बसेको पाउनेछ्यौ ।”

मैले मनमनै भनेँ– “भगवानले यस्तै गरिदिउन् ।” म बा आमासँग बिदा भएर मुल सडकमा आएँ, त्यहाँ दोबाटो थियो, एउटा बाटो आफ्नो अधिकारका लागि संघर्ष गर्ने थियो र अर्को बाटो मावल गएर दु:ख सुखको जीवन व्यतीत गर्नेतिर थियो । धेरै बेर उभिएर सोचेँ । अन्ततः मेरो मन मेरा अन्यायी बडा बाउ र काका बाउलाई न्यायको कठघरामा उभ्याउनेतर्फ ढल्कियो, म त्यतैतिर लागेँ ।

बाटाभरि मोतीघडाको त्यो पाल, त्यस पालमुनि सन्तुष्ट जस्तै देखिने वृद्धवृद्धासहितको परिवार र वृद्ध बाको जीवन, जगत् र दुःखसुखलाई बुझ्ने दार्शनिक कुरा मेरो मनमा खेलिरह्यो ।