छोराछोरी जहाज चढ्छन्
कोही रहर बोकेर
कोही बाध्यता सम्हालेर ।
आमाबुबा ढोकामा उभिन्छन्
जहाजभन्दा ढिलो
हात झार्दै ।
रहरले गएकाहरू
सहरमा सेट हुन्छन्
कानुनको सुरक्षा पाउँछन्
र कहिलेकाहीँ
उतैबाट देशलाई
उपदेश दिन्छन् ।
“त्यहाँ सम्भावना थिएन,”
भन्छन्
तर त्यो कुरा भुल्छन्
‘त्यहाँ’ पुग्ने बाटो
यही माटोले
खनेको थियो ।
बाध्यताले गएकाहरू
देश छोड्दैनन्
देश बोक्छन्
थकित शरीरमा
अनिँदो रातमा
र हरेक रेमिट्यान्समा ।
यता
नवपुस्ता
कुरा धेरै गर्छ
नारा, बहस, पोस्ट ।
काम गर्ने बेला
देशलाई
बाबुआमाकै काँधमा
छोडिन्छ ।
त्यही काँधमा
खेत छ
घर छ
इतिहासको बोझ छ
र अहिले
म्यादी प्रहरीको
टोपी पनि ।
पचासे आमाहरू
छातीका लाम्टा हल्लाउँदै
लाइनमा उभिन्छन्
राष्ट्रको सुरक्षा गर्न होइन
छोराछोरीको भविष्य
जोगाउन ।
लाठी समात्दा
हात काँप्छ
तर आत्मा होइन
किनकि यो भर्ती
रहरको होइन
आमाको बाध्यता हो ।
राज्य भन्छ
“रोजगारी छ,”
तर त्यो रोजगारी
म्यादले बाँधिएको
गरिमा हो ।
सुशासन भाषणमा सफा
कार्यालयमा अल्झिएको
समृद्धि शब्दमा ठूलो
जीवनमा सानो ।
कुनै दिन
यो देश बुझिनेछ
नाराले होइन
आमाको पसिनाले
भाषणले होइन
बाध्यताले विदेशिएका
छोराछोरीका
ननिदाएका रातले ।
त्यो दिन
छातीका लाम्टा
हावामा होइन
इतिहासमा हल्लिनेछन्
र राज्यका वाचा
पहिलोपटक
आमाको आँखासामु
उत्तरदायी हुनेछन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 




