म सानो हुँदा पुरानो कट्टु लगाउँथेँ
सायद फाटेका हुन्थे
ठाउँ–ठाउँमा हातले छोप्थेँ ।
सूर्य, रूख र हलोका छाप लागेर
नयाँ–नयाँ कपडामा बेग्रल्ती झण्डाहरू आउँथे ।
आमैले हाम्रा फाटेका कट्टु
छिमेकी आमैको सियो–धागो मागेर टाल्दिन्थिन् ।

म दाजुले पढेको किताब पढ्थेँ
कतिपय पाठ च्यातिसकेका हुन्थे
दाजु हुनेहरूले नयाँ किताब पाउँदैनथे ।
सूर्य, रूख र हलोका छाप लागेर
नयाँ–नयाँ पोस्टरहरू बेग्रल्ती आउँथे ।
बाबैले हाम्रा पुराना किताबमा गाता हालिदिन्थे ।

जिन्दाबादको नारा खुब लाग्थ्यो
हेलिकप्टरमा नेता आउँथे ।
विद्यालय छुट्टी दिइन्थ्यो
सुट, बुट र कोट लगाएका नेता हेर्न ।
धुस्रा–फुस्रा गाउँलेहरू
चकलेटको खोलले बाँधेको हवाई चप्पल लगाएर
डगर–डगर हिँड्दै जान्थे
नेताका कुरा सुन्थे ।
साँझ फर्कँदा ग्यालिनमा मट्टितेल लिएर आउँथे
केटाकेटी पढून् भनेर थोरै उज्यालो दिन्थे ।

नेताले भाषण गर्थे
“यसपालि त बिजुली आउँछ, आउँछ !
खोलामा पुल बन्छ, बन्छ !
हिलै बाटो भए पनि पिच हुन्छ, हुन्छ !
भकुण्डो खेल्न ठूलो चउर बन्छ
विद्यालयको छानो फेरिन्छ
किसानको मानो भरिन्छ !”
जिन्दाबादको नारा खुब लाग्थ्यो।
बाबै–आमै भोट हालेर आउँथे
चुनाव जित्नेहरू उत्सव गर्थे ।

चुनाव त फेरि पनि आउँदैछ
नेताहरू भाषण गर्न थालिसके ।
हार्नेहरूलाई त स्वाभाविक होला
“घर–घरमा बिजुली ल्याउँछु, ल्याउँछु !
खोलामा पुल बनाउँछु, बनाउँछु !
बाटो पिच गराउँछु, गराउँछु !
विद्यालयको छानो फेर्छु
किसानको मानो भर्छु!” भनेर भाषण गर्न ।

नयाँहरूलाई पनि सायद स्वाभाविक होला
तर पटक–पटक जितेकाहरूलाई
कसरी सुहाउँछ र ? भन्दैछन्
“घर–घरमा ग्यासको पाइप जोडिदिन्छु
लाखौँलाई रोजगार दिन्छु
निःशुल्क शिक्षा दिन्छु
निःशुल्क उपचार दिन्छु ।”

खबरदार !
अब भोट दिने पालो मेरो हो।
मत पनि फेर्छु
अवसर दिएर पनि हेर्छु ।