अगादिरको आकाश आज ब्लुटुथले जोडिएको छ
ड्रोन, दमन र डलरको सिग्नलमा ।
यहाँ बादल होइनन्, राजकीय प्रेस विज्ञप्ति तैरिरहेका छन्
जहाँ “शान्ति” शब्द हरेक गोलीपछि ‘अपडेट’ हुन्छ ।

गल्लीहरूमा धुवाँ मात्र होइन,
राज्यको बासी नैतिकता पोलिरहेको छ ।
हावामा मिसिएको छ
टियर ग्यास र टिकटकको फिल्टरले सुन्दर बनाइएको रगतको रङ !
इन्स्टाग्राममा क्रान्ति ‘स्टोरी’ हुन्छ
चौबीस घण्टे घाउहरू जीवनभरका ।

डिस्कोर्डमा युवाहरू बोल्छन्
संसद् बहिरो छ ।
ट्विटरमा ह्यासट्याग कराउँछ
अदालत निदाएको छ ।
फेसबुक एउटा स्मृतिस्थल
जहाँ हिजोका सपनाहरूलाई आज एल्गोरिदमले गाड्छ ।

ल्क्लियाको रात
कर्फ्युको कालो पोस्टर
जहाँ ताराहरूलाई गोलीले ‘सेन्सर’ गरिसक्यो ।
दुई शरीर ढले, राज्यले भन्यो संयोग !
इतिहासले लेख्यो सङ्केत !

उनीहरूको नाम शिलालेख होइन
घाउ बनेर जनताको चेतनामा बस्यो
एकको नाम ‘सुधार’, अर्कोको ‘स्वाभिमान’ ।
राज्यलाई दुवै एलर्जी छन् ।

जेन–जी ! तिमीहरूलाई आलसी भन्नेहरूले जानून्
तिमीहरू त समयको ‘ईसीजी’ हौ ।
जब समाज मरेको देखिन्छ
तिमीहरूको नाडीले भविष्य धड्काउँछ ।

शिक्षा बजेटमा हराएको कविता हो,
स्वास्थ्य निजीकरणको ‘आईसीयू’ मा भेन्टिलेटर खोज्दै छ ।
तर तिमीहरूको रगतले यी दुवैलाई फेरि पाठ्यक्रममा फर्काउँदै छ ।

यो विद्रोह सडकमा मात्र छैन
यो त च्यातिएको नोटबुकको ‘हाशिया’ मा छ
नर्सको थकित आँखामा छ
र त्यो बालकको पेटमा छ
जहाँ संविधानभन्दा भोक ठूलो छ ।

पुलिसका गोलीहरूले माटो फोडे
तर विचारहरू कुनै बुलेटप्रुफ होइनन्
बरु त गोली नै मल बनेर चेतनाको बाली उमार्दै छ ।

ओज्दा, इनेजगाने, तिज्नित !
तिमीहरू सहर होइनौ
तिमीहरू ‘फुटनोट’ हौ
राज्यको असफलतामा ।
गल्लीहरूमा जलेका गाडीहरू ?
अहँ, त्यो त सत्ताको जलेको विवेकको ‘क्रेमेसन’ हो ।

पक्राउ परेकाहरू अपराधी होइनन्
उनीहरू त त्यो मौन भीडका अनुवादक हुन्
जो बोल्न जान्दैन, तर सहन अस्वीकार गर्छ ।

अजिज अखन्नोउचको राजमहलमा
अब कम्पन पुगेको छ, भूकम्प होइन
भोकको कम्पन !
जहाँ पहिले आदेश गुञ्जिन्थ्यो
अब त्यहाँ सडकको व्याकरण पढिँदै छ ।

क्रान्ति आगो होइन
आगो त राज्यसँग पनि छ ।
क्रान्ति त त्यो ज्वाला हो
जसले पाठ्यपुस्तकमा जीवन लेख्छ
र अस्पतालमा आशा सिउँदछ ।

यो युवाको आन्दोलन होइन
यो त मानवताको ‘रिबुट’ हो ।
जब तिमीहरूले “सुधार !”
भन्दै हात उठायौ
आकाशले स्क्यान गर्‍यो ।