“तिमीसँग बिहे गर्नु मेरो जीवनको सबैभन्दा ठुलो गल्ती रहेछ”, उनले गुनासो पोखिन् ।
“अच्छा ! आज १५ वर्षपछि यो कुरो थाहा भयो तिमीलाई, हैन ? बिचरी !” उसले तुरुन्त जवाफ दियो ।
“कस्ता कस्ता धनी र राम्रा केटाहरू मेरो हात माग्न आएका थिए । कुन्नि के देखेकी होला मैले तिमीमा ?” उनले आफैँलाई भनेजस्तो गरी भनिन् ।
“भाग्यमानी थिए ती मोराहरू ! उम्किगए । म मूर्ख चाहिँ जालमा परेँ ।” उसले आफ्नो दोष देखाएजस्तो गरी व्यङ्ग्य हाने ।
“मैले तिमीलाई जालमा पारेँ रे ? फूल कसले पठाउँथे ? मैले ? लामा लामा मेसेजहरू कसले गर्थे ? मैले ? बिहेका लागि प्रस्ताव कसले गरेको थियो, मैले ?” उनले च्यालेन्ज गरिन् ।
“होइन । मै मूर्खले गरेको थिएँ ।” उसले हार स्वीकार गर्यो ।
“कम से कम तिमी के हौ भन्ने त थाहा भयो तिमीलाई ।” उनले मौका पाएर हिर्काइहालिन् ।
“के रे ? के हुँ म ?” हिर्काइले रनफनिन्दै भन्यो उसले ।
“तिमीले आफ्नै मुखले भनेको हैन अहिले ?” उनले फेरि त्यही ठाउँमा प्रहार गरिन् ।
“के भनेँ र मैले ?” उसले प्रहार छल्ने प्रयास गर्यो ।
“तिमीलाई थाहा छ त्यो !”, उनले फेरि त्यही ठाउँमा नमिठो गरी हिर्काइन् ।
“भए पनि म तिम्रै सुन्दर मुखबाट सुन्न चाहन्छु । भन । भनिदेऊ न कि म, तिम्रो श्रीमान्, मूर्ख छु ।” श्रीमतीको प्रहार फर्काउन नसकेकाले असहाय हुँदै उसले भन्यो ।
“मैले कहाँ भने र ?” उनले निर्दोषता देखाइन् ।
“तर तिमी भन्न चाहन्थ्यौ, होइन ?” ऊ रिसमा डढ्न थालेको थियो ।
“मलाई केही चाहिएको छैन । मेरो कुन चाहिँ चाहना यस घरमा पूरा भएको छ र ? म त १५ वर्षदेखि यस घरकी नोकर्नी भएर बसेकी छु ।” उनले भनिन् ।
“तिमी ? नोकर्नी ? १५ वर्षदेखि म यस घरकी मल्किनीको दास भएको हो । मैले तिमी र यस घरका लागि १५ वर्षदेखि आफ्नो रगत–पसिना बगाउँदै आएको छु । कुरा गर्छे !” उसले जस्तालाई त्यस्तै जवाफ फर्कायो ।
“हो, तिमी नोकर भएर बस्यौ र मैले सधैँ तिम्रो भात पकाउने, तिम्रो लुगा धुने, तिम्रा दुईवटा छोराछोरीको स्याहार सुसार गर्ने आनन्द लिएँ, होइन ? एक पलको विश्राम मैले यो घरमा कहिल्यै पाइनँ । कुरा गर्छ !”
“मैले यो आइमाइका लागि आफ्नो घर परिवार छोडेँ जसको पुरस्कार यस रूपमा आज पाउँदै छु । आमाले ठीक भन्नुभएको थियो । उहाँको कुरामा मैले ध्यान दिनुपर्थ्यो ।” उसले आफैँसँग कुरा गरेजस्तो गरी भन्यो ।
“किन सुनेन त आमाको कुरा, बुढी आमैको बाछोले ?” उनले उसको खोप्टो परेको घाउलाई खोस्रिदिइन् ।
“आफ्नो त्यो चोथाले मुख बन्द गर । मेरी आमा तिम्री आमा जस्ती हैन —सबैमाथि हैकम चलाउने ।” उसले पनि प्रहार गर्यो ।
“के भन्यौ तिमीले मेरी आमालाई ?” उनले च्यालेन्ज गरिन् ।
“मैले जे भनेँ तिमीले सुनिसक्यौ ।” उसले केहीछिन अगाडि प्रयोग गरेको उनैको प्रविधि प्रयोग गर्यो ।
“मैले के सुनेँ रे ?”
“त्यो तिमीलाई थाहा छ ।”
“भएपनि म तिम्रो ठुलो मुखबाट सुन्न चाहन्छु । भन, भनिदेऊ न कि मेरी आमा छुच्ची हो ।”
“मैले भनिनँ त्यो ।”
“तर भन्न त चाहन्थ्यौ, होइन र ?”
“हे भगवान ! म तिमीसँग कुरै गर्न चाहँदिनँ । एकछिनको लागि त शान्ति देऊ मलाई । चुप लाग !” दुवै खेलाडी थाकिसकेका थिए ।
सधैँझैँ आज पनि विवाद बिहान शुरु भएको थियो । प्रश्न थियो कसले पहिले ओछ्यान छाड्ने र खाजा तयार पार्ने । काम गर्ने धाइ बेलुकी मात्र आउँथिन्, त्यसैले दुईजनामा एकले त खाजा पकाउनैपर्ने थियो । श्रीमान् अर्थात विपिनको अफिस बस नौबजे उसलाई पिकअप गर्न आउँथ्यो र श्रीमती अर्थात् कमलाको स्कुल बस उनलाई लिन सवा नौमा आउँथ्यो । र अहिले साढे आठ बजिसकेको थियो ।
अन्ततः जस्तो एउटा नेपाली परिवारमा हुन्छ त्यस्तै श्रीमती उठेर किचेनतर्फ लागिन् । तर पतिलाई कस्तो लाग्यो भने उसकै घरमा उसको कुनै इज्जत छैन । विवादले रिसलाई निम्ताउँछ र रिसले विवेकलाई खाइदिन्छ । रिसले मुर्मिरिँदै श्रीमान् उठेर अफिस जाने तरखर गर्न थाले । श्रीमतीजी श्रीमानको मुड साह्रै बिग्रेको देखेर चुप लागिन् । हुन त दुवैजनामा यस्ता ठाकठुक परिरहन्थ्यो तर आज अलिकति बढी भयो क्यारे । बाथरुमबाट निस्केर लुगा लाएर, ब्याग हातमा लिएर ऊ बाहिर निस्किन तयार भयो ।
“कफी तयार छ”, कमलाले किचेनबाट सुन्नेगरी अलिक ठुलो स्वरमा भनिन्, “सेन्डविच पनि पाँच मिनेटमा तयार भइहाल्छ ।”
“तिम्रो सेन्डविच तिमी आफैँ खाऊ”, उसले पनि किचेनमा सुन्नेगरी ठुलो स्वरमा भन्यो, “एक दिन खाजा नखाएर कोही मर्दैन ।”
“हुन्छ आफैँ खाउँला । कसैले नखाए के हुन्छ ?”, उनले पनि रिसको झोँकमा भनिन् । जवाफमा विपिन कोठाबाट हुर्रिंन्दै बाहिर निस्क्यो र कमलाले पनि ढोकालाई भएभरको बलले घड्याक्क बन्द गरिन् ।
विपिनलाई अफिसमा मन लागेन । सम्झिरहे कसरी कमला उसका लागि हातमा कफीको कप लिएर उभिराखेकी थिइन् र कसरी ऊ नदेखेझैँ गरी हिँडिदिएको थियो । उसले नै खाजा बनाए पनि त हुन्थ्यो नि ! उसले अफिसमा काम गर्छ भने उनी पनि त दिनभरि स्कुलमा पढाउँछिन् । उनी पनि त थाकेकी हुन्छिन् । दुवैजनाले मिलेर पकाउँदा पनि त हुन्थ्यो होला नि ! कमला पनि खुसी हुन्थिन् । उसले खाना पकाउन र गल्ती गर्दा, कमला कसरी हाँसेर उसको गल्ती सच्चाउँथिन् — रिसाएझैँ गरेर भन्थिन्, “हट उता ! तिमीले सघाउनुभन्दा त नसघाउनु नै बेस । सारा काम मैले फेरि गर्नुपर्छ ।” भन्न त भन्थिन् तर पति किचेनमा सँगै उभिएको हुँदा उनका आँखा हाँसिरहेका हुन्थे ।
विपिनलाई पछुतो भयो । उसमा र एउटा अशिक्षित पतिमा के फरक छ त ! उसले यसो गर्नु हुँदैनथ्यो । बेलुकी घर फर्केपछि ऊ कमलालाई सरी भन्ने छ । उसलाई लिएर खाना खान बाहिर गुड लक रेस्टोरेन्ट जानेछ । सँगै बाहिर नगएको पनि कत्ति भइसक्यो । कमलालाई गुड लकको रोस्टेड पेकिङ्ग डक खुब मनपर्छ । सुनेर कति खुसी होलिन् — उनको हँसिलो मुहारको कल्पना गर्दा विपिन आफैँ पनि मुस्काए र उसको मन हल्लुङ्गो भयो ।
यता विपिन गएपछि कमला एकछिन कफीको कप हातमा लिएर त्यसै उभिरहिन् । पति भोकै अफिस गएकाले कताकता उसको मुटु दुख्यो । उसले त्यति सारो नभन्नुपर्ने थियो । विपिनले पनि बेला बेला खाजा बनाएकै छ दुवैजनाका लागि । हुनसक्छ आज उसको मन ठीक थिएन होला, त्यसैले उसलाई नै पटक पटक खाजा बनाउन भनेको हो कि ! गल्ती भइगयो । भरे बेलुकी विपिनको मनपर्ने खाना पकाउँछु भनेर उनले अठोट गरिन् । उनले आज स्कुल नजाने निर्णय गरिन् र फोन गरेर नआउने प्रबन्ध मिलाइन् । विपिनलाई मटर पनीर असाध्यै मनपर्छ । फ्रिज खोलेर चेक गरिन् । रहेनछ । बजार गएर किनेर ल्याइन् । एकछिन ठुलो सिसामा आफ्नो अनुहार हेरिन् र घरको सरसफाइमा लागिन् । एक बज्यो । एक कप कफी खाने विचार गरिन् ।
उता अफिसमा लञ्च आवर भयो । विपिन पनि क्यान्टिन जानलाई कुर्सीबाट उठ्यो तर उठ्न नसकेर भुइँमा लड्यो । सारा अफिस हल्लिन थाले । चारैतिर अफरातफरी । कुनाको ठुलो दराज गड्याङ्ग गर्दै ढल्यो र त्यसभित्रका फाइलहरू छताछुल्ल भए । झ्यालहरू भर्याक भुरुक गर्दै खुल्न र बन्द हुन थाले । महिला कर्मचारीहरू आत्तिएर चिच्याएको सुनियो । जमिन यसरी हल्लिराखेको थियो कि विपिन रक्सीले मातेको मान्छेझैँ गर्दै उठ्यो र गएर अफिसको ढोकामुनि उभियो । कोही कराउँदै भागेर कोठा बाहिर निस्के, कोही त्यहीँ भुइँमा लडे । अफिसका सबैभन्दा सिनिएर हाकिम पोख्रेल म्याडम आफ्नो ठुलो टेबलको मुनि छिर्नुभयो तर शरीर पूरै छिर्न नसक्दा उहाँको विशाल नितम्ब बाहिरै देखियो । विपिनले हतार हतार त्यताबाट आफ्नो नजर अर्कैतर्फ सार्यो । एकतले अफिसलाई त केही भएन तर सामुन्ने रोडपारिको आठतले भवन उसको आँखै अगाडि तासको घर जस्तो गर्ल्याम गुर्लुम गर्दै लड्यो जसको धुलो उसको नजिकसम्म आइपुग्यो । दिमागले काम गर्न थालेपछि भुइँचालो आएको भन्ने बुझ्यो उसले । पहिलो विचार उसको दिमागमा कमलाको आयो । उसले फोन गर्यो तर लागेन । अफिसमा सबै फोन गरिराखेका थिए तर कसैको पनि लागिरहेको थिएन । बिस्तारै जमिन हल्लिन बन्द भयो । विपिनले आफ्नो ब्याग उठायो र अफिसबाट बाहिर निस्क्यो ।
बसबाट निस्केर ऊ आफू बसेको घरको अगाडि पुग्दा त्यहाँ केही थिएन । त्यो चारतले घरको ठाउँमा सिमेन्ट, इँट, छड, काठको थुप्रो थियो । ऊ विक्षिप्त भइ दगुर्दै त्यहाँ पुग्दा प्रहरी र रेसक्यु पार्टीका युवाहरूले उसलाई रोकिदिए ।
“प्लीज मलाई जान देऊ । मेरी श्रीमती भित्र छिन्”, उसले रुँदै भने तर स्वयंसेवकहरूले जान दिएनन् ।
“त्यहाँ जान खतरा छ । बिल्डिङको बचेको भाग ढल्न सक्छ । हामी जे गर्नुपर्ने हो गर्दैछौँ । केही भेटियो भने हामी तपाईंलाई बोलाउँछौँ ।”
ज्ञान हराएको मान्छेझैँ विपिन त्यहीँ बसिरह्यो इँटको थुप्रोमाथि । झण्डै एक घण्टापछि एक जनाले आएर भन्यो, “विपिनजी, आउनुस् ।” स्वयंसेवकहरूले खन्दा पाएका थिए एउटा हात जो शरीरबाट काटिएर उच्छिटिएको थियो । एउटा नारीको हात जसले कफी कप समातिराखेको थियो, र हातको औँलामा सुनको औँठी सूर्यको प्रकाशमा टल्किरहेको थियो ।
विपिनले चिन्यो यो त्यही औँठी थियो जो उसले कमलालाई अस्ति मात्रै उनको बिहेको पन्ध्रौँ वर्षगाँठमा दिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ पुष २०८२, बुधबार 










