पुस महिनाको त्यो बिहानीमा शिशिरको ठिहीले काठमाडौँको नशा–नशामा चिसो सञ्चार गराइरहेको थियो । सूर्यका सुनौला र कलिला किरणले उत्तरका हिमाली दन्तलहरलाई बिस्तारै कुत्कुत्याउन थालेका थिए । प्रकृतिले कुनै नववधुको घुम्टो उघार्दै गरे जस्तो थियो । काठमाडौँको मुटु मानिने रत्नपार्क र असनका पुराना गल्लीहरूमा भने आज अर्कै रङ्गीन आभा छरिएको थियो । सडकका भित्ता र बिजुलीका पोलहरूमा ’राष्ट्रिय टोपी दिवस– २०८२’ का ब्यानरहरू पुसको सिरोटोसँग जिस्कँदै फहराइरहेका थिए । ती केवल कपडाका टुक्रा थिएनन्, ती त नेपाली अस्मिताका मौन तर जिउँदा साक्षीझैँ लाग्दथे ।

​म पनि आज बिहानै एउटा अनौठो उत्साहका साथ ओछ्यानबाट जुरमुराएँ । ऐनाको अगाडि उभिँदा मेरो प्रतिविम्बले मलाई नै प्रश्न गरिरहेको थियो । हातमा नयाँ पाल्पाली ढाका टोपी थियो । त्यसको बनावटमा केवल रातो, निलो र हरियो धागोको सङ्गम मात्र थिएन, त्यसमा त पुर्खाहरूको कडा पसिनाको बास्ना र वीरताको गौरवपूर्ण सुगन्ध पनि लपक्कै टाँसिएको भान हुन्थ्यो । जब मैले त्यो टोपी आफ्नो शिरमा सजाएँ, मेरो छाती गर्वले सगरमाथाझैँ गजक्क फुल्यो । मलाई लाग्यो, म कुनै सामान्य नागरिक होइन, म त एउटा सिङ्गो इतिहासको उत्तराधिकारी हुँ । तर, यो गर्विलो अनुभूति धेरै बेर टिक्न सकेन । जब म चोकमा निस्किएँ, त्यहाँको कोलाहल र भीडले मेरो प्रफुल्ल मनमा एउटा चिसो तुवाँलो पसाइदियो ।

चोकको बीचमा मेरो बाल्यकालको अभिन्न मित्र सुवास उभिएको थियो । उसलाई देख्ने बित्तिकै म मुस्कुराउन खोजेँ, तर उसको नजर मेरो शिरमा आएर यसरी अड्कियो, मानौँ उसले त्यहाँ कुनै विजातीय वस्तु देखिरहेको छ । उसले ओठमा एउटा व्यङ्ग्यको धमिलो मुस्कान छर्दै मतिर पाइला चाल्यो । उसले प्रहार गर्ने शब्दका वाण कुनै धारिलो खुकुरीको प्रहारभन्दा कम घातक थिएनन् ।

​“तँ अझै कसको टोपीको ओत लागेर उभिएको छस् हँ ?” सुवासले सोधेको यो प्रश्नले मेरो आत्मविश्वासको जगलाई नै हल्लाइदियो ।

​म केही क्षण अक्कबक्क परेँ । मैले अलिकति हच्किँदै आफ्नो निधारको टोपी सुम्सुम्याएँ र भनेँ, “टोपी त टोपी नै हो नि मित्र ! यसमा कसको नाम लेखिएको हुन्छ र ? यो त मेरो पहिचान हो, मेरो राष्ट्रको मौन गौरव हो । के आफ्नो पहिचान पहिरिनु पनि कसैको ओत लाग्नु हो र ?”

​सुवासले दार्शनिक मुद्रामा फिस्स हाँस्दै फेरि भन्यो, “बाबु, समय बलवान् छ । हिजो तँ खरायो, बाघ र हतौडाको छाप लागेका टोपीहरू भिरेर यो सडक नाप्ने गर्थिस् । आज नयाँ रङ्गको टोपीमा ठाँटिएर राष्ट्रियताको गीत गाउँदै छस् । टोपीको रङ्ग फेरियो होला, तर तेरो ढङ्ग फेरिएन भने यो कपडाको टुक्रोको के अर्थ ? तँलाई साँच्चै लाग्छ यस टोपीले तेरो विचारको नाङ्गोपनलाई छोप्न सक्छ ? यहाँ त मान्छेले विचारलाई नै टोपी बनाएर शिरमा सजाउन थालेका छन्, जहाँ देश होइन, स्वार्थको खेती गरिन्छ ।”

​त्यति नै बेला चोकमा एउटा ठूलो जुलुस आइपुग्यो । त्यहाँको दृश्य कुनै भव्य नाटकको पटाक्षेप जस्तै थियो । भीडमा एउटा ठूलो कोलाहल मच्चियो । कसैले हातमा ‘लौरो’ बोकेर त्यसको साहसको गाथा यसरी गाउँदै थिए, मानौँ त्यो निर्जीव काठको लौरोले मात्र देशको भ्रष्टाचारको अभेद्य पहाडलाई एकै प्रहारमा पल्टाउन सक्छ । अर्को कुनामा ‘चिम’ को उज्यालोको वकालत गर्नेहरूको एउटा टोली थियो । उनीहरू अँध्यारोमा दियो बालेर समस्याको समाधान खोज्नुभन्दा कृत्रिम उज्यालोको भ्रमपूर्ण रङ्गीन सपना बेच्न बढी व्यस्त देखिन्थे । अलि पर, एक हुल मानिसहरू हातमा ‘घण्टी’ बजाउँदै आकाशै थर्किने गरी आक्रोश पोखिरहेका थिए । उनीहरूको एउटै स्वर थियो, “घण्टीमाथि मात्र किन वज्रपात ?”

​यी राजनीतिक दलका अनेकौँ चिह्न र विचारका नाममा कित्ताकाट गरिएका टोपीहरू देख्दा मेरो मन भारी भएर आयो । लाग्थ्यो, नेपाली शिरहरू अब साझा राष्ट्रियताको चौतारी रहेनन् । ती त राजनीतिक दलहरूले अंशवण्डा गरेका जग्गाका प्लटहरू जस्ता भइसकेका छन् । कसैको शिरमा विचारको भारी छ, कसैकोमा स्वार्थको बोझ, तर साँचो राष्ट्रियताको सुगन्ध कतै हराएको जस्तो ।

​यही कोलाहल र भीडको एक कुनामा, चिया पसलको एउटा पुरानो पेटीमा एक वृद्ध बसिरहेका थिए । उनको आङमा फाटेको भोटो थियो, जसले गरिबीको एउटा लामो कथा भनिरहेको थियो । तर सबैभन्दा रोचक त उनको शिरमा भएको त्यो टोपी थियो । त्यो टोपीको रङ्ग समयको थपडी र घामपानीले यसरी खुइल्याइसकेको थियो कि त्यसको मौलिक बुट्टा चिन्न पनि गाह्रो पर्दथ्यो । त्यो झुत्रो थियो, मैलो थियो, तर ती वृद्धले त्यसलाई यसरी प्रेमपूर्वक सम्हाल्दै थिए, मानौँ त्यो कपडाको टुक्रो नभएर उनको प्राणको अन्तिम त्यान्द्रो हो ।

​हाम्रो बहस सुनिरहेका ती वृद्धले एउटा लामो र चिसो सुस्केरा हाले । उनका चाउरिएका गालाहरूमा अनुभवका अनगिन्ती रेखाहरू स्पष्ट देखिन्थे । उनले मतिर आफ्ना धमिलो भइसकेका आँखाले हेर्दै भने, “बाबु, टाउको बाहिरको टोपी फेर्न त एउटा क्षण र केही पैसा भए पुग्छ, तर यो टाउकोभित्र गहिरोसँग गढेको डर र दासताको मानसिकता फेर्न त जुगौँ लाग्दो रहेछ ।”

​उनका ती शब्दहरू ‘आकाशको गर्जन’ झैँ मेरो कानमा गुञ्जिरहे । उनले फेरि थपे, “हामीले टोपीलाई रङ्गमा बाँड्यौँ, विचारलाई सस्तो स्वार्थमा साट्यौँ । तर यो भुल्नु हुँदैन कि टोपीले त केवल शिर ढाक्ने हो, देश त सफा विचारले मात्र उठाउने हो । जबसम्म तिम्रो शिरभित्र अर्काको गुलामीको बीउ जीवित रहन्छ, तबसम्म जतिसुकै महँगो र आकर्षक ढाका टोपी लगाए पनि तिम्रो शिरले कहिल्यै स्वाभिमानको उचाइ छुन सक्दैन ।”

​वृद्धका ती तीता तर सत्य शब्दले म स्तब्ध भएँ । उत्सवको त्यो झकिझकाउ माहोल, सेल्फी खिच्नेहरूको भीड र चर्का नाराहरूका बीचमा सबैका शिर त ढाकिएका थिए, तर ती शिरभित्र लुकेका प्रश्नहरू भने नाङ्गै सडकमा नाचिरहेका झैँ लाग्थे । यो सुन्दर ढाकाको टोपीभित्र कतिजनाका इमानदारीका मौन कथाहरू दबेका होलान् ? कतिजनाले केवल सामाजिक सञ्जालमा ‘फेसन’ प्रदर्शन गर्नका लागि यसलाई भिरेका होलान् ?

​मैले आफ्नो अन्तरात्मालाई सोधेँ– “टोपीको रङ्ग र नाम त जसको भए पनि होला, तर यो विलासी ढाँचा र देखावटी स्वाभिमानका लागि बगेको आम नेपालीको रगत र पसिनाको मूल्य आखिर कसले चुकाउँदै छ ?” के टोपी दिवस मनाउनुको अर्थ केवल वर्षमा एक पटक एउटा फोटो खिचेर ‘हाम्रो शान’ भन्दै प्रचार गर्नु मात्र हो ? कि टोपीले सिकाएको मर्यादा, पुर्खाले धानेको स्वाभिमान र अजेय राष्ट्रियतालाई आफ्नो दैनिक व्यवहारमा उतार्नु पनि हो ?

​मैले आफ्नो शिरको टोपीलाई फेरि एकपटक कसिलो गरी बाँधेँ । तर यसपटक त्यो केवल प्रदर्शनका लागि मात्र थिएन, एउटा गम्भीर जिम्मेवारीका लागि पनि थियो । चोकमा बजेका घण्टीहरू, देखाइएका लौरोहरू र बालिन खोजिएका चिमहरूका बीचमा मैले ती वृद्धको त्यो झुत्रो र मैलो टोपीमा लुकेको ‘वास्तविक नेपाल’ देखेँ, जो अभावमा पनि गौरवका साथ बाँचिरहेको छ ।

​टोपी केवल धागो र बुट्टाको संयोजन होइन, यो त हाम्रा पुर्खाहरूको बलिदान र इतिहासको एउटा जीवन्त पाण्डुलिपि हो । जबसम्म हाम्रा विचारहरू स्वार्थको हिलोमा डुबिरहन्छन् र हामी अरूको वैशाखी टेकेर हिँड्न रमाउँछौँ, तबसम्म यस्ता दिवसहरू मनाउनुको कुनै तुक छैन । साँचो टोपी दिवस त तब मात्र सार्थक हुनेछ, जब प्रत्येक नेपालीको शिर कुनै राजनीतिक रङ्गको ओत बिना, आत्मसम्मानले यसरी ठडिनेछ कि त्यसले विश्वको मानचित्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्नेछ । शिरमा टोपी हुँदैमा कोही ठूलो हुँदैन, शिरभित्रको सोच कति सफा र देशप्रेमी छ, त्यसले मात्र मान्छेको वास्तविक कद नाप्छ ।