यदुनाथका बाबुछोराबिच बोलचाल बन्द भएको पनि १० वर्ष बितिसकेको थियो । दोष कसको थियो भगवान् जाने । बाहिरबाट हेर्दा दुवैजना उत्तिकै, कोमल प्रकृतिका थिए । आफूलाई रित्याएर छोरालाई एम.डी. गराएका यदुनाथले बुहारी पनि वरिष्ठ न्यूरोसर्जन नै पाएका थिए तर विडम्बना नै भनौँ, नाति जन्मेको दुई वर्ष बितेपछि छोरा समेत श्रीमानकै साथमा छोडेर माइत गएकी बुहारी कहिल्यै फर्केर आइनन् । १० वर्ष बिते, अनेक प्रयत्न गरे तर आइनन् उनी । घर नफर्केपछि स्वतन्त्रताका लागि डा. नितेसले डिभोर्स मागे । दिइनन् त्यो पनि । मुद्दा दायर गरे अदालतमा । फैसला गरिदिएन न्यायालयले ।
समय बित्दै जाँदा १५ वर्ष पुगेको नाति विद्यालयको होस्टलमा, डा. नितेस अस्पतालकै क्वाटरमा, छोरीहरू आ-आफ्नो घरमा र प्राध्यापन पेशाबाट निवृत्त यदुनाथको जोडी पुरानै जीर्ण घरमा बस्न बाध्य थिए । परिस्थितिको मूल्याङ्कन गरिरहेको समाजले पनि त्यो छरपस्ट भान्सालाई एकतृत गराउन सकिरहेको थिएन ।
केही महिनाअघिको एउटा बिहान झुल्के घाम ताप्न निस्केका यदुनाथले “आ..आ…आ..” को अनौठो आवाज निकाले । लड्खडाएर पछारिन लागेका श्रीमान् देखेर नजिकै उभिएकी यशोधराले “ए..ए..ए.. के भयो ? के भयो ?” भन्दै च्याप्प समाइन् र चिच्याउँदै थचारिइन् बलौटे आँगनमा ।
“लौन नि बुबालाई के भयो ! गुहार.. गुहार !!
उनको चिच्याहट सुनेर छिमेकीहरू झुरुप्प भेला भए । छामे, उठाए, झक्झक्याए तर यदुनाथको होस गुमिसकेको थियो । कुनै प्रतिक्रिया दिएनन् उनले । छोरा नितेसलाई फोन लगाउँदै नजिकै रहेको लाइफसेभिङ अस्पताल पुर्याए ।
बिरामले छोएको १५ मिनेट नबित्दै अस्पताल पुगेका यदुनाथमाथि द्रूतगतिमा परीक्षणहरू भए । टाउकाको सिटीस्क्यानको रिपोर्ट हेर्दै डाक्टरले भने, “उहाँलाई त ब्रेनहेम्रेज भएको छ ।” “यहाँ उपचार सम्भव छैन, तुरुन्त सी.एन्ड.डी अस्पताल लैजानोस् ।”
छोरा डा. नितेस सी.एन्ड.डी अस्पतालकै डाक्टर । भरखरै मात्र लाइफसेभिङ अस्पतालको आकस्मिक कक्षमा आइपुगेका उनले बाबाको अवस्था देखेर आँसु खसाल्दै एम्बुलेन्स मगाए । काउन्टरमा पुगेर ४४ हजार रुपैयाँको बिल भुक्तानी गरे । रेफर पेपर टिपे र तुरुन्तै पुगे सी.एन्ड.डी अस्पताल ।
यदुनाथको अवस्था निकै गम्भीर थियो । उनलाई अक्सिजन लिन पनि धौधौ परिरहेको देखिन्थ्यो । अताल्लिएका डा. नितेसले सी.एन्ड.डी अस्पताल पुग्नेबित्तिकै सिनियर डाक्टर अर्पणलाई भने “डाक्टरसाब, प्लीज बुबालाई सरासर ओटी लैजाऊँ ।” तर रिपोर्ट र बिरामीको अवस्था हेर्दै डा.अर्पणले भने “तिमी धैर्य गर नितेस, बिरामीको दुवै आँखामा ब्लड जमिसकेको छ । आँखाका नानीले चाल दिन छोडिसकेका छन् । अपरेशनको पीडा सहन सक्ने शारीरिक अवस्था पटक्कै देखिँदैन बाबाको । चान्स १ प्रतिशत मात्रै छ । यस्तो अवस्थामा हामीलाई तिमी र तिम्रो परिवारको निर्णय सुन्न शक्त जरुरी हुन्छ । तिमीले पनि मेरो भनाइको आशय बुझेर धैर्यतापूर्वक निर्णय लिनु राम्रो हुन्छ । भन, के गरौँ हामी ?”
आत्तिएका नितेसले भने “एक प्रतिशत पनि सय बराबर नै हो डाक्टरसाब । चाँडै अपरेसन गरिदिनुहोस् । बाँच्नुहुन्छ मेरो बाबा । तुरुन्तै ठिक हुन्छ उहाँलाई । खै पेपर ? म सही गरिदिन्छु ।” उनले तुरुन्तै धरौटी रकम जम्मा गरिदिए र रिक्सपेपरमा सही गरे ।
डा. अर्पणको टीमले २ घण्टा लगाएर अपरेसन सिध्याएपछि बिरामीलाई सघन उपचार कक्षमा सारे । भेन्टिलेटरमा राखेर भएभरका औषधी स्लाइन र इन्जेक्सनबाट पानी खन्याएसरि खन्याए । दुईजना परिचारिका यदुनाथका निजी सेवक बने । विभिन्न विशेषज्ञ डाक्टरहरू दोहोरीलत्त आउजाउ गरिरहे । यदुनाथको होस फर्कने आशमा आफन्तजनहरू अस्पताल परिसरभरि कुरिरहे । कुर्दाकुर्दै रातको १० बज्यो, १२ बज्यो, ३ बज्यो, उज्यालो भयो, दिउँसोको १२ बज्यो, २४ घण्टा बित्यो खुलेन होस ।
अब आत्तियो यदुनाथको परिवार । छोरीहरू आत्तिए । ज्वाइँहरू आत्तिए । विदेशमा रहेका नातिनातिनाहरू तारन्तारका तार सुनेर भक्कानिन थाले । कुनै युरोप, कुनै अस्ट्रेलिया र कुनै अमेरिकाबाट प्लेन टिकट बनाउन थाले ।
पर्खँदापर्खँदै अपरेसन भएको ३६ घण्टा नाघिसकेपछि, अस्पताल प्रशासनले थाहा नपाउने गरी, सीसी क्यामेराको पहुँचभन्दा टाढा लगेर एकजना डाक्टरले ज्वाइँ विवशलाई खुसुक्क कानमा भने, “बाबालाई घर लैजानुहोस्, स्थिति राम्रो छैन । अहिले नै गएर औषधि बन्द गर्न लगाउनुहोस् । खासमा भन्नुपर्दा अपरेसनको आवश्यकता नै थिएन, औषधि गर्नु, भेन्टिलेटरमा राख्नु आदि कुनै कुराको अर्थ थिएन । मनको सन्तोकका लागि गर्नुभयो ठिकै छ तर मैले संकेत गरेको कुरा कहीँबाट पनि लिकआउट नहोस् । बेडमा भएको बिरामी निकाल्न डाक्टरले नै सल्लाह दियो भन्ने कुरा कतैबाट सीसी क्यामराले भेट्यो या कुनै कन्सुत्लेले देख्यो भने जरिवानासहित मेरो जागिर चट् बनाइदिन्छन् यी अपराधीहरूले । कुरा बुझ्नुभयो नि ? ल जानुहोस्, पहिले औषधि रोकेर फटाफट डिस्चार्जको तयारी गरिहाल्नुहोस् ।”
भेन्टिलेटरमै घर पुर्याउने र आफ्ना संस्कार कर्महरू गर्ने सल्लाह पछि टाढा रहेका सबैलाई सञ्चार भयो । आफन्तहरू बाटो लागे । डा. नितेस र भिनाजु विवश बिरामीको डिस्चार्ज गराउन लागी परे तर अस्पतालले ढिलासुस्ती यति धेरै गर्यो कि डिस्चार्ज मागेको १८ घण्टापछि बल्लतल्ल पेपर तयार गरिदिन पेमेन्ट क्लियर भएका कागजात माग्यो । त्यसपछि औषधि पसलमा पुगेर डा. नितेसले मलिन स्वरमा भनेः
“भाइ यदुनाथको बिल जोडिदिनुहोस् न ल ।”
पसले भाइले भने, “यति छिट्टै डिस्चार्ज भएको हो र डाक्टरसाब ?”
“खै भाइ, के भन्नु र म । अस्पतालले नै बिदा दिएपछि हाम्रो के लाग्छ र ?”
पसले भाइ धमाधम स्लीपहरू पल्टाउँदै हिसाब जोड्न थाले । यदुनाथलाई ३६ घण्टाभित्र दिइएको औषधिको बिल बनेछ २ लाख २२ हजार ८ सय रूपियाँको । फिर्ता औषधि रहेछ २१ हजार रुपैयाँको । हिसाब हेरेपछि डाक्टर नितेसको आधा होस हरायो । उनी पसलेसँग प्रश्न उठाउन थालेः
“हैन जम्मा ३६ घण्टा औषधी चलाउँदा कसरी सकियो भाइ २ लाखको औषधि ?”
पसले भाइ भन्छन् “स्लीपमा मागिएभन्दा बढी त दिएको छैन नि डाक्टरसाब, किन आरोप लगाउनुहुन्छ ?” तनाव बढ्ने अवस्था देखेपछि भिनाजु अघि सरे र सबै रकम बुझाए । बाहिर निस्कँदै गर्दा डा. नितेसले भनेः “यिनीहरू साँच्चैका ठग हुन् भिनाजु । अस्पतालसँग यिनीहरूको पूरै साँठगाँठ हुन्छ । भित्रका पसलबाट औषधि किन्न दिँदैनन् यिनीहरू । अस्पतालले सिधै बिरामीका कुरुवा बोलाएर यिनीहरूका पछि लगाइदिन्छ । पसलेका मान्छेहरू अस्पतालको कोठाकोठामा पुगेका हुन्छन् । डाक्टरले बाध्य भएर यिनै पसलमा औषधि किन्न सिफारिस दिनुपर्छ । तर अब अस्पतालमा चाहिँ मेरो सोर्स चल्छ । म त्यहाँ पूरै छुट गराउँछु । तपाईं अघि नसर्नु है ।”
कुरैकुरामा उनीहरू पुगे बिरामी डिस्चार्ज गर्ने १ नम्बर काउन्टर ।
त्यहाँ थिइन् जीउडाल मिलेकी तर पसाङ्गिएका कुरा गर्न सारै सिपालु एक ठिटी । तिनले एउटा कागज दिँदै भनिन्ः
“पहिले यसमा औषधि पसलको बिल क्लीयर भएको छाप लगाएर ल्याउनुहोस् ।” भित्र र बाहिर दुवैतिरका पसलको छाप लागेको हुनुपर्नेछ ।”
भिनाजु दौडिए र भने बमोजिम गरे । त्यसपछि डा. नितेसले भने, “अब हाम्रो बिल दिनुहोस् ल बैनी ।”
ठिटीले भनिन् “तपाईंहरूको जम्मा रकम ७ लाख ९ हजार रूपैयाँ भएको छ । धरौटी रकम एक लाख राख्नु भएको छ । अब तपाईंहरूले पहिले ६ लाख ९ हजार रुपैयाँ बुझाउनुहोस् अनि मात्रै बिल प्रिन्ट गर्न मिल्छ ।”
अब उड्यो डाक्टर नितेसको बाँकी बचेको सातो पनि । हर्ट अट्याक्ट नै होलाझैँ भयो । बोली बन्द भयो । निकैबेर चुपचाप बसेपछि काउन्टरको ढोका खोलेर बाहिरिए उनी । अलिपर रूखको छहारीमा ढल्केर बसे । बिस्तारै गोजीको मोबाइल झिके र खै क-कसलाई हो फोन गर्न थाले । अस्पताल सञ्चालक, प्रशासक, साथीभाइ सबैलाई हारगुवार गर्दा जम्मा छुट पाए नौ हजार । आफैँ कार्यरत अस्पतालमा आफ्नै बाबुको उपचार गराउँदा ५४ घण्टाको सात लाख नौ हजार खर्च सुनेपछि उनलाई आफ्नो अस्तित्व नै समाप्त भएको महसुस भयो । त्यसमा पनि गति छोडेर सञ्चालकको पाउ पर्दा, रोइकराई गर्दा नौ हजार मात्रै छुट पाएपछि त झन् भाउन्न छुट्यो उनलाई । तरर्र आँसु झारे र फेरि फोन लगाए । तर कसैले उठाएनन् उनको कल । नतमस्तक बनेर काउन्टरभित्र पसे । एउटा कुनामा झोक्राएर बसिरहे । बोलेनन् कोहीसँग ।
डा. नितेसको केही जोड नचलेपछि उनका साथी डा. भेषराजले पनि कोसिस गरिहेरे । तर त्यो पनि नाकाम सावित भयो । यस्तो चालामाला धेरैबेर नियालिसकेपछि फटाफट चेक काटे भिनाजुले र बिल खल्तीमा हालेर पुगे यदुनाथ भएको ठाउँमा । पैसा बुझाएको फाइल हेरेपछि नर्सहरूले फात्तफुक्त ताने यदुनाथको शरीर जेलिराखेका लहरे पाइपहरू । ताने मुखबाट फोक्सोसम्म छिराएको हावा फुक्ने खलाँती पाइप । हेर्दाहेर्दै अचल भयो यदुनाथको छाती । हल्लिन छोडे कोखाहरू । डाँको छोडे आफन्तहरूले ।
उनीहरूलाई सान्त्वना दिन फेरि जोडे नर्सहरूले एउटा बेलुनजडित पाइप र थाले निचोर्न । निचोर्दै त्यही बेलुन, ल्याए यदुनाथलाई एम्बुलेन्स उभिएको आँगनसम्म र जोड्न थाले मुखमा एम्बुलेन्सको अक्सिजन पाइप ।
यस्तो नौटङ्की नियालिरहेका उनै ज्वाइँले फ्याँकिदिए अक्सिजनको पाइप । खेदाए नर्सहरूलाई र पुर्याए एम्बुलेन्स यदुनाथको नाभी गाडिएको आँगनसम्म ।
डाक्टर नितेसले विधिपूर्वक बाबुको दाहसंस्कार गरे । काजक्रिया गरे । श्रीमतीले त छोडेकै थिइन्, अब जागिर पनि छोडिदिए उनले । घरमै बस्न थाले । आमाको स्याहार सम्भारमा समय बिताउन थाले । माया दिन थाले आमालाई । छोराको पनि राम्रोसँग हेरचाह गर्न थाले । तर उनको मन भने बेचैन नै बनिरह्यो । शान्ति पाउन सकेन मनले । छट्पटी झन्झन् बढ्दै गयो । कारण थियो बाबुसँगको सम्बन्ध ।
जिउँदो छउन्जेल नबोलेको पछुतोले उनको मनभित्र विशाल घर बनाइरहेको थियो । भोक, निद्रा हराउँदै गएको थियो । सुबिस्ता, अमनचयन केही थिएन । सपनामा नै भए पनि बाबु आएर आफूलाई क्षमा दिऊन् भन्ने लाग्थ्यो उनलाई । तर त्यो सुवर्ण अवसर पाएनन् उनले ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










