ललितपुर, पाटनको करिब करिब एकदम मध्य–ठाउँ नकबहिलमा भरखरै एउटा कलाको केन्द्र खुलेको छ । नाम चाहिँ यसको ‘आर्टुडियो पाटन उइङ्ग’ राखिएको छ । अर्थात् यो स्वयम्भूमा रहेको आर्टुडियोकै निरन्तरता हो । मूल रूपमा झन्डै एक दशकअघि खुलेको आर्टुडियो उतातिर अझै पनि सञ्चालनमै छ । त्यसैले पाटनको यस केन्द्रलाई त्यसैको एउटा अलग ब्रान्च मान्न सकिन्छ ।

विहारको ठीक पछाडि, शान्त, शीतल र मनमोहक चोकमा अवस्थित यो कला केन्द्र जो–कोहीलाई पनि आकर्षक र रमणीय स्थान जस्तो लाग्न सक्छ । तल्लो तल्लामा सानो तर आकर्षक कला दीर्घा छ । यसको माथिल्लो तल्लामा रहेको ठूलो कक्ष जहाँ कलाकारहरू कला–सिर्जनामा व्यस्त देखिन्छन् । काम गर्दा गर्दै पूरा भइनसकेका अधकल्चा चित्रहरू भित्ताभरी अढेस लागेर बसेका देखिन्छन् । यसको माथिल्लो दुईवटा तल्लामा ठूलाठूला बेडरुमको रूपमा विकास भएको छ । यसैको अझ माथिल्लो तल्लामा आकर्षक, नेपाली मौलिकताले भरिएको आधुनिक, आकर्षक किचन छ । यसैमाथि चाहिँ कौसी छ । जहाँबाट पाटनको ऐतिहासिक कला वास्तुकलालाई अनि प्राकृतिक सौन्दर्यतालाई राम्रैसँग अवलोकन गर्न सकिन्छ ।

कलाकार कैलाश श्रेष्ठ, आर्टुडियोका निर्देशक, क्युरेटर, सञ्चालक सबै उनी नै हुन् ! यो पाटनको ब्रान्च खुलेको एक महिना पनि भएको छैन । तथापि यसले कला प्रदर्शनीकै रूपमा भने दोस्रो पाइला चालिसकेको रहेछ । गत नोभेम्बर २१ मा यो स्पेसको विधिवत् उद्घाटन भएको थियो । अटिजम भएका व्यक्तिहरू, जो राम्ररी चित्र कोर्न जानेका छैनन् । तथापि क्यानभासमा रंगहरू पोखाउन रमाइलो मान्छन् । रंगसँग खेल्न पाउँदा आनन्द महसूस गर्दछन् । यस्ता व्यक्तिहरूलाई कलाकारको रूपमा प्रस्तुत गराउनु पनि यसको थप आकर्षण थियो । ‘अनसिन’ नामक यस कला प्रदर्शनीमा आकारयुक्त र आकारविहीन चित्रहरूमा स्वविवेकले छरिएका भावहरू स्पष्ट रूपमा परिलक्षित हुन्छन्, जसले यसलाई एउटा अलग महत्व दिएको छ । “खै, केही त बुझिँदैन” भनेर कतिपयले भने पनि जब अधिकांश दर्शकहरू खुशी–खुशी अनुहार लिएर मग्न भएर रमाइरहेको देखिन्छन्, तब सबैले यही निष्कर्ष निकाल्छन्—कला बुझिनेभन्दा बढी महसूस गरिने कुरा रहेछ ।

‘अटिजम’ अर्थात् फरक क्षमता भएका व्यक्तिहर जसले विधिवत् कला सिकेका छैन, जसले आ–आफ्नै ढङ्गले आफ्ना मनका कुराहरूलाई पोखेर, रमाएर, खुशी भए, यिनका परिवार समेत आत्मविभोर भएका थिए । आफ्नै छोराछोरीको यो क्षमता देखेर दङ्ग परेका थिए । यही र यस्तायस्तै कलात्मक वातावरण नै आफैँ पनि एउटा जीवन्त कला थियो । मूलतः यस्ता व्यक्तिहरूको सिर्जनशीलतालाई सम्बर्धन गर्न अनि उनीहरू प्रति समाजले राखिरहने गलत धारणा सच्चाउने पुण्य उद्देश्य पनि राखिएको पाइन्छ । अनि कलाको वास्तविक रूप कसरी कहाँबाट उजागर हुन्छ यसलाई आत्मसात् गर्न पनि आयोजकको विशेष आग्रह थियो ।

हाल चलिरहेको कला प्रदर्शनी चाहिँ फ्रान्सेली–बेलायती कलाकारका हुन् । ‘इम्प्रेसन अफ नेपाल इन वाटर कलर’ नामक यो कला प्रदर्शनीको कलाकारको नाम चाहिँ मरियाने हेरेज हुन् ।

हेरेज मूलतः आर्टुडियोको अन्तर्राष्ट्रिय रेसिडेन्सी कलाकार हुन् । उनी नेपाल आउँदा, आइरहँदा उनले नेपाललाई जसरी देखे, भोगे यसैको प्रतिबिम्बको रूपमा उनका कलाहरू देखापरेका छन् । विशेष गरेर आम नेपालीको व्यवहार, दिनचर्या, संस्कृति र संस्कारका अवयवहरूलाई चित्रपटमा उतार्नु उनको मुख्य लक्ष्य पनि देखिन्छ । नेपालकै विषयहरू उनका क्यानभासमा सल्बलाइरहँदा अंकन पद्धति चाहिँ पश्चिमकै भएको कारणले पनि यो एक आकर्षक कलाको रूपमा देखिन पुगेको हो । कला स्वयंमा फ्युजन भएजस्तो यसले एक प्रकारको मिठास छरिरहेकै देखिन्थ्यो ।

आर्टुडियोले यस्तायस्तै आर्ट–रेसिडेन्सीका थुप्रै आकर्षक कार्यक्रमहरूको आयोजना गरिसकेको छ । जसमार्फत यसले अनगिन्ती विदेशी कलाकारहरूलाई नेपाल भित्राइसकेको छ । यसले विशेष गरेर बाहिर देशहरूमा हिजो–आज सिर्जना भइरहने नयाँ नयाँ कलाका रूपहरूलाई यहाँ प्रदर्शन हुनु, गराउनु पनि यहाँ बस्नेका लागि सुनौलो अवसर पनि हो । नेपालमै पनि सन् २००० को उत्तरार्धमा विकसित भएको यस कलाको एप्रोचले नेपाली कलालाई विश्व माझ मात्र पुर्‍याएको छैन यहाँ यता कलाकारको लागि आय–आर्जनको पनि भरपर्दो माध्यम भएको देखिन्छ । अझ अलि वृहत् रूपमा हेर्दा त पर्यटक भित्राउने क्रममा यसले राष्ट्रलाई सघाएको मान्नुपर्छ ।

यस क्रममा कलाकार मरियानेसँगको कोल्याबोरेटिभ काम थोरै भिन्न प्रकारको छ । उनी झन्डै एक महिनादेखि यहाँ छन् । काठमाडौंको गल्ली–गल्ली घुम्छन् । कहिले विकट गाउँ घुमी बस्छन् । अनि सगोलको प्रभावलाई क्यानभासमा उतार्छन् । कुराकानीको क्रममा उनले रंग र रेखासँग कसरी आकर्षित भए, नेपाल किन पटक–पटक आइरहन मन पर्छ भन्ने लगायत धेरै कुरा खुलाएका थिए । उनी अलि भोकल स्वभावका छन् । बोलिरहन मन पराउने कलाकार भएकाले उनले कलाबारे मात्र होइन, नेपाल राष्ट्रकै विषयमा पनि खुलेर आफ्ना धारणा राखे ।

उनका शब्दमा—नेपाल अलि आइसोलेसनमा बसेको जस्तो लाग्छ । शायद यसै कारण यहाँको आफ्नैपन, शान्त वातावरण र यहाँका मानिसहरूको सरल तथा मिलनसार स्वभावले उनलाई बारम्बार यहाँ आउन प्रेरित गरेको हुन सक्छ ।

बच्चैको बेला थाहा नपाएरै उनका बाबु–आमाले एकपटक उनलाई कलाकार भ्यान गगका चित्रहरू हेर्न लगेका थिए रे । त्यतिबेला भ्यान गगलाई त उनले के चिन्दा हुन् । तर भ्यान गगको स्ट्रोङ लाइन ड्रइङले उनलाई भित्रैबाट छोएको रहेछ । अनि रंगहरूसँग जसरी यी कलाकारले खेलेका छन्, यो त अझ उनलाई मन पर्ने विषय भएछ । अनि ‘कलाकार बन्दिनँ’ भन्दा भन्दै यस विधामा आशक्त भएका रहेछन् । तथापि अहिले उनले गरेको दृश्यचित्र चाहिँ भ्यान गगको शैलीसँग पटक्कै प्रभावित चाहिँ देखिँदैन तर स्केचहरूलाई सर्वोपरि राख्ने क्रम चाहिँ जीवन्त राखेका रहेछन् । अहिले पनि उता उनका देशमा उनलाई स्केचका त मास्टर नै मान्दारहेछन् ।

आर्टुडियो उनीसँग जोडिनु चाहिँ कलाले मात्र होइन बाल–विकासको सन्दर्भलाई पनि जोड्ने उपक्रम भएको रहेछ । विकास र कलालाई कसरी सँगसँगै लान सकिन्छ अनि मान्छे जिउनु, खुशी हुँदै बाँच्नुमा कला कसरी अभिन्न अङ्ग हुन सक्छ भन्ने भाव पनि गाँसिएको रहेछ । जस्तो कि अनुभव गर्न उनी आफैँ (कलाकार स्वयं) काठमाडौं उपत्यका (अर्थात् शहर–बजार) मात्र घुम्दैनन्, गाउँ पनि पुग्छन् । नेपाली गाउँको सौन्दर्यतालाई अनुभूत पनि गर्दछन् । अनि गाउँ र शहरबीचको फरक–फरक विशेषतालाई उनी कलामा उतार्ने कोशिश गर्दछन् । अनुभव, सोच अनि भावनामा ओतप्रोत भएर दृश्यचित्र नै बनाउँछन् । तर यसमा मात्र प्रकृतिको सौन्दर्य हुँदैन, गाउँघरको जीवन पनि गाँसिएको हुन्छ । यस्तायस्तै भावनात्मक विशेषतामा टेकेर कलाहरू उभिनुले पनि अन्य हुने गरेका कला प्रदर्शनीभन्दा उनका कला पृथक् रूपमा देखिन गएको छ ।

आर्टुडियोले झन्डै एक दशकदेखि कम्युनिटी आर्ट अनि स्ट्रिट आर्टको क्षेत्रमा घच्घचिको काम गरेको छ । गाउँ (दोलखाको सानो गाउँ गैरीमुडी) मै गएर सामान्य बालबालिका अनि समुदायको पहल र संलग्नतामा कलाहरू विकास गर्ने गर्दछन् । कलालाई आम जनतामा पुर्‍याउन गरेका यस्ता कार्यक्रमहरू उच्च कोटिका छन् । आम जनताहरू कलाको सिर्जना गरिरहेको छु भन्ने थाहा नै नपाई पनि सर्जकको रूपमा कलामा संलग्न भइरहेका हुन्छन् । यसैले पनि यस प्रकारको कलालाई कम्युनिटी आर्ट भन्ने पनि चलन छ । नेपालमा सन् २००० को उत्तरार्धमा विकसित भएको उत्तरआधुनिक कलाको यो विकसित रूप हो । समुदायसँग मिलेर सामाजिक मुद्दाहरूमा, राजनीतिक सवालहरूमा कलागत ओकालत गर्ने मात्र होइन, हरेक कुरालाई ‘इन द फर्म अफ आर्ट’ को रूपमा हेर्नुपर्छ भन्ने भाष्यलाई पनि स्थापित गर्ने काम आर्टुडियोले गर्दैछ । विश्वमा प्रचलनमा रहेको कलाको नवीनतम अत्याधुनिक रूप पनि हो यो । विशेष गरेर गैरीमुडी गाउँका बालबालिकासँग मिलेर पार्टिसिपेटोरी कलाको रूपमा कलाका कार्य गर्दै आएको यो कलाको निकायले काठमाडौंमै पनि बालबालिकालाई कलाको ज्ञान–सीप मात्र प्रदान गर्दैन, कलामा बालविकासको अवधारणामा समेत समावेश गरेर बालबालिकालाई सक्षम बनाउने काम पनि गर्दछ ।

= = =

आर्टुडियोको आर्ट एक्सचेन्ज कार्यक्रम अनि आर्ट रेसिडेन्सी

हिजोआज नेपालमा यस प्रकारका आर्ट रेसिडेन्सीका कार्यक्रमहरू धेरै ठाउँमा धेरै प्रकारले गर्न थालिएको छ । खासमा यसले कलाकारलाई स्पेस प्रदान गर्दछ । खान, बस्ने अनि काम गर्ने पनि स्पेस उपलब्ध गराउँछ । कलाकारले यहाँ बसी महिनौँ लगाएर काम गर्ने गर्दछन् । अनि यी कामहरूलाई यही प्रदर्शन गरिदिने व्यवस्था पनि गरिन्छ । विदेशी कलाकारहरू चाहिँ यही बस्ने अनि काम पनि यही गर्ने गर्दछन् भने नेपालीको हकमा चाहिँ दिनभरि यहाँ आएर काम गर्ने अनि बस्न चाहिँ आ–आफ्नो घरमै जाने गर्दछन् । कलाकारमाझ राम्रो वातावरण हुँदा, पाउँदा कलाको यो एप्रोच विश्वभर नै प्रचलनमा छ ।

कैलाशका अनुसार आर्टुडियोले चाहिँ तीन प्रकारका यस्ता रेसिडेन्सी कार्यक्रमहरू सञ्चालन गर्दछ । आफै पूरा पैसा तिरेर आउने । आधा–आधा पैसा तिर्ने अनि अर्को चाहिँ विश्वमा नाम चलेका कलाकारलाई आफै आर्टुडियोले सबै खर्च व्यहोरेर खान–बस्नको व्यवस्था गरिदिने । अर्को महत्वपूर्ण काम भनेको आर्ट एक्सचेन्ज कार्यक्रम हो । जस अन्तर्गत चाहिँ बाहिरका कलाकारलाई यता नेपाल बोलाउने । अनि आफैँ, वा नेपालका कलाकारलाई बाहिर पठाउन व्यवस्था गरिदिने । यसो हुँदा पनि नेपाली युवा कलाकारहरू प्रशस्तै रूपमा विदेशमा आफ्ना कलालाई प्रदर्शन गर्न पाएका छन् । अनि बाहिरका कलाकारका राम्रा–राम्रा कामहरू यहाँ यतै बसी अवलोकन गर्न पनि अनुकूल जुरेको छ ।

= = =

कलाकारका कलाका कुराहरू

 

यी फ्रेन्च–ब्रिटिस आर्टिस्ट मरियाने नेपाल पहिलो चोटि आएका होइनन् । उनी पहिलो  चोटि नेपाल सन् १९९३ मा आएका थिए । बीच–बीचमा पनि नेपाल आउँदै गरे । अहिले चाहिँ उनी लन्डनमै बस्दै आएका छन् । तापनि उनी नेपाललाई माया गर्न बिर्सेका छैनन् । नेपालसँग उनका झन्डै तीस वर्षको नाता छ । अर्थात् यतिका वर्षहरूदेखि उनी नेपालसँग कलात्मक रूपमा गाँसिएका छन् । यसो हुँदा पनि उनका कैयौँ चित्रहरूमा मन्दिरमा रहेको कलात्मक बुट्टाहरू वा मन्दिरमा झुन्डिएको घण्टीलाई पनि अलग्गै रूपमा हेर्न सकिन्छ । अझ नेपालको कलात्मक लिपि (रञ्जना लिपि) क्यानभासमा उकेरेर नेपाली परम्परालाई समेत उजागर गर्ने कोशिश गरेका छन् । हजार वर्षभन्दा बढी इतिहास बोकेको यो रञ्जना लिपि चाहिँ मात्र भाषाको लागि अवयव मात्र थिएन, कला थियो, अनि आम नेवा समुदायका लागि संस्कारसँग आबद्ध हुँदै अभिन्न अङ्ग नै बनेको थियो ।

मरियाने चाहिँ दोलखाको दुर्गम गाउँ, गैरीमुडी निकै पटक पुगेका रहेछन् । त्यहाँका श्री जनज्योति सेकेन्डरी स्कुलमा पुस्तकालय पनि बनाइदिएका रहेछन् । यसबाहेक थुप्रै पुस्तकहरू पनि प्रदान गरेका रहेछन् । तर विडम्बना, गएको भूकम्पले यो तहसनहस हुँदा अहिले यी सब हेर्न भने सकिँदैन । भत्केको संरचना अझै राम्रोसँग बन्न सकेको छैन ।

उनले यसबाहेक त्यहाँ त्यो स्कूलका केटाकेटीसँग मिलेर काम पनि गरेका रहेछन् । यसपल्ट पनि गरे । केटाकेटीहरूलाई कला कोर्न सिकाइदिएका पनि छन् । यति मात्र होइन, कहिले हातमा तुलिका नै नसमातेका केटाकेटीहरूले जुन स–साना चित्रहरू बनाएका छन् । यी चित्रहरूलाई स–साना कार्डमा प्रिन्ट गरेर यही कला दीर्घामा बेच्न पनि राखिएको छ । यो बिक्रीबाट उठेको पैसाले स्कूलकै विकासका लागि खर्च गर्ने कुरा पनि कैलाश बताउने गर्दछन् । यसरी विकासको अवधारणासँग कलालाई मिसाएर, जीवन सजिलैसँग बाँच्ने, कलाको साथमा बाँच्ने आदि इत्यादिको अवधारणा कलाकार मात्रै पनि होइन, यी दुवै अर्थात् आर्टुडियो अनि कलाकार मिली यस्ता–यस्तै कामहरू गरिरहँदा पनि यसले एउटा नयाँ लुक पाएको महसुस हुन्छ ।

मरियानेका कला कै कुरा गर्दा चाहिँ यसपल्टको कला प्रदर्शनीमा साधारण स–साना जलरङ्गी दृश्यचित्रहरू छन् । झट्ट हेर्दाखेरी भने चित्रहरू साधारण देखिन्छन् । तापनि संयोजन र प्रस्तुतिको हिसाबमा भने यी कलाहरू अलग्गै रूपमा देखापर्छन् । गाउँघरका चित्रहरू चाहिँ दृश्यचित्रको रूपमा मात्र देखापरेका छन् भने सहरतिरका भने संस्कृति, परम्परा आदि इत्यादिले पनि उनलाई छोएको देखिन्छ । उनले ठाउँ विशेषको रूपमा नेपाली सहर, यहाँका कला–वास्तुकला, रहनसहन आदि इत्यादि अनि गाउँका प्रकृति, दृश्य आदिलाई चित्रांकन गर्न पुगेका छन् । अलग–अलग प्रकारले गरिएका यी चित्रहरू मूलतः ठाउँ विशेषको पहिचान, विशेषता अनि वातावरणलाई गहिरो गरी समाउन पुगेकाले गर्दा पनि अन्य देखिराखिने दृश्यचित्रभन्दा यी चित्रहरू नितान्त फरक ढङ्गले देखापरेका छन् । स्केचले पूर्ण डोमिनेन्ट गर्न पुगेका उनका दृश्यचित्रहरू वास्तवमा जलरङ्गको विशेषतालाई केलाउनुभन्दा पनि अवस्था र लक्षणहरूलाई सम्बोधन गर्न उत्साहित देखिन्छन् ।

गाउँका चित्रहरू भने स्वाभाविक दृश्यचित्रको रूपमा देखिन्छन् । जस्तो कि छाप्राहरू, रूख, पहाड, चकमन्न सुनसान आदि इत्यादिले गर्दा जहाँ जे देखे त्यही बनाएका जस्तो पनि देखिन्छन् । तथापि शहरका चित्र भने अलग्ग छन् । पुराना उप्किएका घरका मात्र भित्ता उनको कलाको विषय बनेको छ । टेको लगाइएका बाँसहरू देखिन्छन् । अनि पुराना, मैला, उहिलेका मक्किसकेका झ्याल र ढोकाहरूलाई मोटिफको रूपमा मज्जाले समात्न भ्याएका छन् । यहाँ सिङ्गो घर देखिँदैन । घरकै एक भागलाई यसरी अंकन गर्दा दृश्यचित्र हुँदाहुँदै पनि आधुनिक कलाको एक भाग जस्तो पनि देखिन्छ । जहाँ जहाँ मात्र वास्तविक घर मात्र होइन, यसमा जिइरहेको मान्छेको कथा पनि लुकेको छ । बाहिरबाट सानो आँखिझ्याल देखिँदा भित्र कस्तो अँध्यारो, कहालिलाग्दो कोठाहरू होला, हावा कसरी छिर्दो हो अनि यसमा कसरी मान्छेहरू बस्दा हुन् जस्ता अनेकानेक परिकल्पनाहरू पनि कथा बनेर उनका चित्रमा टाँसिएर आएको महसूस हुन्छ ।

एउटा अर्को कलर स्केच छ । जहाँ हल्का रंगले लेपन गरिएको एउटा पुरानो घरको भित्ता अनि तिहारमा घरको ढोकामाथि झुण्डाइएको सुकिसकेको फूलको माला झुण्डिएको देखिन्छ । भित्ताभरि केटाकेटीले कोरकार गरी भरिदिएको मैलो, फोहोर भित्तालाई हुबहु चित्रांकन गरिदिएको छ । यसले पाटन सहर–बजारका पुराना घर अनि चकचके केटाकेटी, अव्यवस्थित ठाउँ आदि इत्यादिलाई प्रतिनिधित्व गरिरहेको महसुस हुन्छ । यस्तायस्तै चित्रहरू पनि बाल विकासको अवधारणा अनि नेपालको संस्कृतिलाई जुरुक्कै उचालेका चित्रहरू भएकाले यस कारण पनि मनमोहक छन् । देखिन्छन् ।

कलाकार र कला समीक्षक