पहिलोले नाक खुम्च्याउँदै भन्यो, “यसरी विभाजित भएर हाम्रा नेताहरू आफू पनि बिग्रिए, हामीलाई पनि बिगारे, पार्टीलाई चकनाचूर पारे र देशलाई पनि ५० वर्षपछाडि धकेले यार !”

दोस्रोले एक पेग स्वात्त पार्दै भन्यो, “यार, तेरो नेताले नै त हो नि आफ्नो स्वार्थको निम्ति आजको दुर्दशा पारेको ! सारै नै स्वार्थी छ तेरो नेता ।”

रक्सीले लर्बरिएर त्यसरी बोलेको सुनेर पहिलोले भन्यो, “रिस उठ्ने कुरा गरेर यो जलि मूड नबिगार् न ! तेरो नेतामात्र दूधले धोएको छैन । त्यसको चिसो पाराले आजको स्थितिमा हाम्रो पार्टी आइपुग्यो । अब त कुनै हालतमा पनि मेल हुन सक्दैन तेरो नेतासँग मेरो नेताको । कसैले उनीहरूको मेल गराउन खोज्छ भने त्यसले फुटेको हाँडीलाई गिलो माटोको लेप लगाएर जोर्न खोजेजस्तै हुन्छ ।”

दोस्रोले भन्यो, “कुनै हालतमा पनि तेरो त्यो च्याङ्ग्रे नेताभन्दा मेरोजस्तो स्मार्ट नेता सानो भएर बस्दैन । कहाँ ढुकुने, कहाँ भोज !”

पहिलोलाई सहिनसक्नु भयो । उसले आफ्नो हातमा भएको गिलासभरिको रक्सी पहिलाको मुखमा छ्यापिदियो । पहिलो पनि कम थिएन । उसले पनि गिलासभरिको रक्सी दोस्रोको टाउकोबाट खन्याइदियो । एकले अर्कोको कलर समातेर तान्दै “के गर्छस् !” भन्दै झगडा गर्न थाले । बारको मालिक, मेनेजर र बेराहरू मिलेर झगडा छुट्याएर दुवैलाई आ-आफ्नो सिटमा बसालें ।

सिटमा बसेपछि पहिलोले भन्यो, “यार, हामी अनावश्यक झगडा गर्छौं । ती दुवै नेताहरू के हुन् र ! तिनमा भन्दा त ममा क्षमता छ । मैले नै किन एउटा पार्टी नखोल्ने ? चुनाउ आयोगले पार्टी दर्ता गरिदिइहाल्छ । तैंले मलाई नेता मानिदे, म पार्टी खोल्छु ।”

दोस्रोले झनक्क रिसाएर भन्यो, “सबै छोडेर पुछारमा हात ! तँजस्तो बेवकुफले खोलेको पार्टी कस्तो होला !”

आफूलाई बेवकुफ भनेको सहन सकेन पहिलोले, आफ्नो हातमा भएको गिलासले दोस्रोको नाकमा हिर्काइदियो । दोस्रोको नाथ्री फुटेर रगत बग्न थाल्यो ।

त्यसपछि त्यहाँ दुवैको ताण्डव सुरु भयो । गिलास, बोतल र प्लेटहरूलाई अस्त्र बनाएर दुवैको युद्ध सुरु भयो । त्यहाँ भएका सबैले युद्ध शान्त गर्ने प्रयास गरे । तर, सम्भव भएन । अन्ततः पुलिस बोलाइयो ।

पुलिसले दुवैलाई थाना लैजानुसट्टा सोझै अस्पताल लग्यो । त्यसो

नगरेको भए दुवैको या दुईमध्ये एकको मृत्यु हुने सम्भावना थियो । बहिरङ्ग विभागमा उपचार गर्दा दुवैको टाउकोबाट अनेक सिसाका टुक्राहरू निकालियो । बहिरङ्ग विभागले प्राथमिक उपचार गरेपछि जनरल वार्डमा भर्ना गरियो र भोलिपल्ट अपरेसन नै गर्नुपर्ने अवस्था आयो ।

एक दिनसम्म दुवैको बोलचाल भएन, जब कि दुवैको पलङ जोडिएजस्तै थिए । तेस्रो दिन दुवै जना आ-आफ्नो पलङमा टुसुक्क बसेका थिए । पहिलो बिस्तारै उठेर दोस्रोको पलया बस्दै भन्यो, “बडो नकाम भयो यार ! झण्डै ज्यान गुमेको !”

दोस्रोले समर्थन गर्दै भन्यो, “हो यार, झण्डै ज्यान गएको मात्र होइन, झण्डै इज्जत गुमेको ! म ज्यानलाई भन्दा इज्जतलाई बढी महत्त्व दिन्छु ।”

दुवै जना एउटाबाट फुटेका दुई पार्टीका कार्यकर्ताहरू थिए । दुवैको घर एउटै टोलमा पर्छ । दुवै बालसखा थिए । दोस्रो फेरि भन्यो, “हामी यसरी अस्पताल बसेका छौं भन्ने बाहिर हल्ला भयो भने हेर्न आउनेहरूको ओइरो लाग्नेछ । अब के गरेर इज्जत जोगाउने ?”

अर्कोले भन्यो, “भागौं!”

दुवै जना नर्स, डाक्टर र पालेहरूको आँखा छलेर चुपचाप अस्पतालबाट बाहिरिए । एउटा ट्याक्सीमा चढेर दुवै आ-आफ्ना घरमा पुगे । उनीहरूको शरीरभरि पट्टी बाँधेको देखेर घरमा एक छिन रुवाबासी भयो । त्यसको तीन दिनसम्म दुवै जना बाहिर निस्किएनन् र रक्सी खाएनन् ।

चौथो दिन साँझ परेपछि पहिलो मनमनै सोच्न थाल्यो, ‘मैले रक्सी छोडेर के गर्नु, रक्सीले मलाई छोडे पो ! कस्तो घाँटी खसखसाएको ! रक्सी नपिउने हामी दुवैको सहमतिबमोजिम अर्को त पक्कै बारमा आउनेछैन । गएर एक पेगमात्र लिन्छु र आइहाल्छु । त्यसले देख्यो भने पो म पहिलेको विभाजनलाई कायम राख्ने अर्थात् सहमतिलाई बिगार्नेमा गनिन्छु ! हाम्रा नेताहरू विभाजन गर्ने अपजस आफूमा नआओस् तर विभाजन होस् भन्ने चाहन्छन् । मैले पनि त्यसको र मेरो सहमतिलाई पुनः विभाजन गर्ने अपजस बोक्नुहुँदैन ।’

यसरी अनेकानेक तर्कनाहरू गर्दागर्दै उसले लुगा लगायो र बारमा पुग्यो । बारमा सधैं आफू बस्ने टेबुलमा पुग्यो । त्यहाँ दोस्रोलाई देखेर झसङ्ग भएर भन्यो, “हाम्रो सहमतिलाई पुनः विभाजन गर्ने जिम्मेवारी तेरै ठहरिन्छ । किनभने, तँ मभन्दा पहिले बारमा आइपुगिछस् र रक्सी तन्काउन थालिछस् । मैले तँलाई यहाँ देख्नुपर्ला भन्ने आशा गरेको थिइनँ।”

दोस्रोले भन्यो, “यार, मैले पनि त त्यस्तै आशा गरेको थिएँ ! तर, तँ त आइपुगिस् ! छोड्दे यो सहमति र विभाजनको कुरा ! हामी विभाजित नै थिएनौँ भने कस्तो सहमति ! हामीलाई यसरी सोच्न त नेताहरूले नै सिकाएका छन् । पार्टी दुइटा भैसके तैपनि हामी विभाजित छैनौं, हामी एकै हौं भनेर भन्न छाडेका छैनन् ।”

यति भनेर ऊ हाँस्न थाल्यो । दुवै एक छिन मजासँग हाँसाहाँस गरे । अर्को गिलास मगाएर रक्सीको पेग बनाउँदै दोस्रोले पुनः भन्यो, “ला यार, एक पेग तान् । हामी यस्तो सहमतिमा पुग्नुपर्छ, जसले कहिल्यै पनि हाम्रो विभाजन नहोस् ! अस्ति त झण्डै ज्यान गुमेको यार !”

पहिलोले भन्यो, “ठीक भनिस् ! झण्डै इज्जत गुमेको ! पुलिसले सोझै थाना लगिदिएको भए ! अस्पतालबाट भाग्दा कसैले देखेका भए ! अस्पतालमा हामी त्यस्तो हालतमा बसेको कुरो हाम्रा नेताहरू या साथीहरूले देखेका भए के इज्जत रहन्थ्यो ! यो ठूलो-सानोको भेद नै समय-समयमा हुने हाम्रो विभाजनको मूल कारण हो । हामीले ठूलो-सानोको भेद गर्नुहुँदैन । हाम्रा नेताहरूले पनि एकले अर्कोलाई सानो देख्ने मनोवृत्ति त्यागेर ठूलो-सानोको भेदलाई बिर्से भने विभाजन कहिल्यै हुँदैन । कमसेकम तैंले र मैले ठूलो-सानोको भेद त्याग्नै पर्छ । न तेरो नेता ठूलो न मेरो नेता ठूलो ! न म ठूलो न तँ ठूलो ! हामी समाजवादी धारका नै त हौं।”

दोस्त्रोले भन्यो, “ठीक भनिस् ! हामीले त्यसै गर्नुपर्छ । नेताहरूको निम्ति पनि हामी उदाहरण बन्नेछौँ यदि त्यसो गर्न सक्यौं भने । यो नयाँ सहमति कहिल्यै विभाजित नहोस् भन्ने कामना गरेर एक-एक पेग लिऊँ नत!”

त्यसपछि पेगमाथ पेग थपिए । बोतलहरू रित्तिए । प्लेटमाथि प्लेट थपिँदै गए । अन्त्यमा दुवैको खल्ती रित्तियो । ठूलो-सानोको भेदलाई बिर्सेर नयाँ सहमतिमा पुगेका दुवै मित्रहरू अँगालो हालेर हल्लँदै बारबाट बाहिरिए र भोटाहिटीबाट सडक तरेर सोह्रहाते गणेशस्थान-नजिकै आइपुगे ।

उराठलाग्दो गरेर बतास चलिरहेको थियो । टुंडिखेल वरिपरिका रूखका पातहरू जुधेर कर्कसा ध्वनि उत्पन्न भइरहेको थियो । सडक बिल्कुलै सुनसान थियो । आँधी चलेको हुनाले स्ट्रिट लाइटहरू सबै निभेका थिए । वातावरणलाई भयावह नै भने पनि हुन्छ । दुवैका खुट्टा लर्बरिएका हुनाले अगाडि बढ्न सकेनन् । एकले अर्कोलाई च्याप्प समातेर पिचरोडको माझमा उभिए दुवै ।

पहिलोले लरबराएको आवाजमा भन्यो, “कस्तो भयङ्कर आवाज आएको यार ! कताबाट यो आवाज आएको ?”

दोस्रोले भन्यो, “यार, तैंले क्यै देखिस् ?”

अर्कोले भन्यो, “भयङ्कर आवाज निकाल्दै आएको त्यो भयङ्कर मुख ।”

पहिलोले भन्यो, “हेर् न, जिउभन्दा मुख ठूलो । यो पक्कै यै टुंडिखेलमा बस्ने गुरुमापाको मुख हो ।”

दोस्रोले भन्यो, “होइन यार, यो सुरसाको मुखजस्तो छ । हनुमानलाई खान पाइनँ, हामीलाई खान आइपुगी !”

पहिलोले भन्यो, “यार, म त यो आवाज, यो झिनो जिउ र त्यसको भयङ्कर मुख सबै कुनै तरल पदार्थबाट निर्मित भएको देख्दै छु । यो त रक्सीको मुख पो रहेछ ! आँ गरेर हामीलाई खान खोज्दै छ । अब रक्सीले हामीलाई खाने भो ! लौ भागौँ छिटोछिटो !”

दुवै भाग्न खोजे । पहिलोले भन्यो, “यार, खुट्टै चल्दैन । लौ भेट्टायो त्यो रक्सीको मुखले !”

दुवै अँगालो हालेकै हालतमा सडकमा पछारिन पुग्छन् । गस्ती पुलिसको जीप आइपुग्छ । दुवैलाई दाउराको मूढो लोड गरेझैँ जीपमा लोड गरिन्छ र थानातिर लगिन्छ ।

(केशवप्रसाद आचार्यका कथा, सम्पादकः अमोद भट्टराई)