इतिहासमा
आगो !
सभ्यताको शिलान्यासकर्ता थियो
वर्तमानमा आगो सभ्यताको विनाशक बन्दै छ।
अणुभट्टीमा थुप्रिएको आगोको लप्काले थाह छैन
कति सपनाहरू जलाउनेछ
कति शिशुहरू क्षणभरमै खरानी बन्नेछन्
र यता
हजारौँ आमाको कोख चहऱ्याउनेछ ।
ऐय्या ! ऐय्या !
उता इरानमा
इजरायलमा
प्यालेस्टाइनमा
युक्रेनमा युद्धको अग्निभट्टीमा जल्दै गर्दा आमाहरू
म यता अग्नि पुज्दैछु’
ॐ अग्नये स्वाहा
ॐ अग्नये स्वाहा’ को आर्तनादमा !
आखिर आगो सभ्यताको जननी पनि त हो नि
सभ्यताको सिलखानामा; आगो आमा हो
आगो सिर्जना हो
आदिम इतिहासको निर्झरनामा ।
त्यसैले म चिच्याउँछु मातृत्वको इतिहासमा
जीवनरक्षक आमाहरूको सामु उभिएर कि
ए इरानी आमाहरू !
ए इजरायली आमाहरू !
ए प्यालेस्टाइनी आमाहरू !
ए युक्रेनी आमाहरू !
जाग तिमीहरू
आफ्नो कोख बचाउन
यो धरा बचाउन !
युद्धको विभीषिकामा
पुरुष अहङ्कारले जलाउँदै गरेको सभ्यता बचाउन !
ए मेरा इजरायली आमा !
ए मेरा इरानी आमा !
ए मेरा युक्रेनी आमा !
ए मेरा अमेरिकी आमा !
भनिदेऊ तिम्रा पुरुषलाई कि
यो आमाहरूको सभ्यता हो
यो छोरीहरूको सभ्यता हो।
त्यसकारण,
ए आमा-सभ्यताका पुरुषहरू हो !
बन्द गर तिम्रो अहङ्कारको युद्ध !
र आऊ
हामी आमाहरूको न्यानो वात्सल्यमा लुटपुटिन
किनकि
म आगो-सभ्यतामा आमाहरूको इतिहास खोज्दैछु
म आगो-सभ्यतामा आमाहरूको इतिहास खोज्दैछु !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 




