सरकार परिवर्तनसँगै दाइको पार्टी प्रतिपक्षमा पुग्यो । ट्वाँके दाइको विमानस्थल भन्सारबाट मन्त्रालयमा सरुवा भयो । भन्सारमा हुँदा समातिएका थुप्रै विदेशी रक्सीका बोतल घर ल्याएर थन्क्याएका रहेछन् । प्राय जसो बेलुका एक पेग टुच्च लगाउँछन् र गीत गाउँछन्, “उडायो सपना सबै हुरीले ।” अनि थप्छन् – “मेरो पार्टीको सरकार त फेरि आओस्, बानेश्वरमा घर हैन, महल किन्छु ।”

खासमा दाइ विमानस्थल भन्सारको नौ महिने सपनाबाट राम्ररी बिउँझिसकेका छैनन् । दाइ भन्सारको सम्झना र भन्सारले दिएको रङ्गिन जीवनको कल्पनामा हराइरहेका भेटिन्छन्, घरीघरी बरबराइरहेका भेटिन्छन् । सपनामा पनि भन्सार कै सेटिङ, कमिशन, भागबन्डा डिस्को र क्यासिनोको रमझम देख्छन् रे । मन्त्रालयको खरदारको जागीरमा उनलाई मन नै छैन । भन्सारको लतले छोड्दै छोडेन । हुन पनि हो, कसैले भनेको सुनेको थिएँ – “कम्युनिस्टलाई भ्रष्टाचारको लत लगाइदियो भने उसले कम्युनिज्म, मार्क्सवाद, समाजवाद, साम्यवाद आदि सबै वाद बिर्सन्छ ।” हो रैछ, ट्वाँके दाइ व्यवहारमा समेत खाँटी कम्युनिस्ट थिए । नौ महिने भन्सार बसाइँले न कम्युनिस्ट रहे, न त असल नागरिक भए । न परिवारको असल अभिभावक नै भए । भए त केवल पैसाको दाश र वैभवको कारिन्दा ।

टीपी दाइ खराब मान्छे छदै थिएनन् । भन्सारले उनलाई बग्गीको घोडा जस्तो बनायो । उनी पैसा, सम्पत्ति, शान, मान, मोज, मस्ती, ऐस, आरामको पछि दौडिए, शायद आफ्नो र परिवारको भविष्य आरामदायी बनाउने उद्देश्यले । यति दौडिए कि उनले आफ्नो धरातल बिर्सिए । आफ्नो परिवार बिर्सिए । आफ्ना दायित्व बिर्सिए । बाटो बिर्सिए । गन्तव्य बिर्सिए ।

फेरि आफ्नो पार्टीको सरकार आउने र भन्सारमा सरुवा हुने अपेक्षाका साथ ट्वाँकेदाइ मन्त्रालयमा हाजिर गर्न जान्थे । काम गर्ने उनको मन थिएन । दुई–चार कप चिया पिएर राजनैतिक गफ छाँटेर, पार्टीका नेता भेटेर फर्किन्थे । उनी सरकारी कर्मचारी हैन झोले भएका थिए । घर आएर कुरैकुरामा भन्थे – “दामै नआउने काम के गर्नु ? कार्यालयमा हाजिर गर्ने तलबको लागि हो, काम गर्ने त दाम अर्थात् घुसको लागि हो ।” मन्त्रालयको जागीर ट्वाँकेदाइलाई कुलिङ पिरियड जस्तो भएको थियो । प्रायजसो उनी बेलुकी चार–पाँच बजे नै घर आइपुग्थे । कुनै दिन टुङ्गो हुँदैनथ्यो । ढिला भएका दिन बुझे हुन्थ्यो उनी कुनै रमझममा छन् वा तिकडममा छन् ।

समय बित्दै जाँदा उनी बिस्तारै सुध्रिंदै थिए । एक दिन शनिवार मेरो कोठामा आएर लामो समयसम्म आफ्नो अनुभव सुनाउन थाले । उनी खरदार भएकोमा गुनासो गर्दै थिए । भन्दै थिए – “खरदार भै हालेँ, सक्रिय राजनीति पनि गर्न मिलेन, अधिकृत हुन पनि सकिनँ । सक्रिय राजनीति मै भएको भए म पनि मन्त्री हुन्थेँ कि, मेरै लँगौटियाहरू मन्त्री भए । अधिकृत नै भएको भए यति बेला दशैँ गुना कमाउँथे ।” दाइको कमाउने र ठूलो पदको आशक्ति देखेर मलाई अचम्म लागिरहेको थियो, शायद मैले पैसा र पदको महत्त्व बुझिसकेको थिइनँ ।

दाइले थप राजनैतिक विश्लेषण गर्दै भने – “मिलीजुली सरकार छ, केही समयमा नै मेरो पार्टी सरकारमा गै हाल्छ, अनि फेरि मेरा दिन आइहाल्छन् नि ! त्यति बेला तिमीलाई पनि कतै नियुक्ति दिलाइदिने कोशिश गर्छु । तर अचेल यिनीहरूको बानी बिग्रन थालेको छ, नखाई केही गर्दैनन् । त्यस्तै परे भाइको लागि म दुई–चार लाख हाल्दिउँला, पछि कमाएर तिर्नू, सकेनौ भने ठीकै छ नतिरे पनि हुन्छ ।” दाइले भनेको वा भन्न खोजेका कुरा मैले पूरै नबुझे पनि चाहिने जति चैँ बुझेँ । दाइको म प्रति सदाशयता नै थियो, स्वार्थ थिएन । तर मलाई पैसा तिरेर, अझ भनौँ घुस खुवाएर जागीर खानु थिएन, जसले मेरो स्वाभिमान जल्थ्यो । युवा जोश र जाँगर थियो, आफैं केही गर्नसक्छु भन्ने हिम्मत र विश्वास थियो । त्यसैले दाइलाई भनेँ –“म अहिले विद्यार्थी हुँदा त केटाकेटीहरूलाई ट्युसन पढाएर आफ्नो खर्च चलाउँदैछु, पढाइ सकेपछि केही न केही गर्न सकुँला नि, तर यो घुस खुवाएर चैँ जागीर खाँदिन ।”

दाइलाई मेरो कुरा मन नपरे पनि सहजै रूपमा लिए र भने – “तिम्रा उमेरमा हामी पनि त्यसै भन्थ्यौं, पछि चाल पाउँछौं । अवसर नपाएसम्म सबै नेपाली भ्रष्टाचार विरोधी नै हुन्छन्, अवसर पाए कसैले छोड्दैनन् ।”

दाइले भन्सार छोडेको पन्ध्र महिनामा सरकार परिवर्तन भएर फेरि उनको पार्टीकै नेतृत्वमा सरकार बन्यो । उनकै राजनैतिक गुरु अर्थमन्त्री बने । मलाई लाग्यो उनी फेरि विमानस्थल भन्सार पुग्छन् । तर यस पटक उनलाई पहिलेको जस्तो सजिलो भएन । उनीसँग उनकै गुरुले भन्सार जान पार्टीलाई सहयोग भन्दै मोटो रकम अग्रिम घुस मागेछन्, अनि पछि त्रैमासिक किस्ता । दाइले अग्रिम घुस नदिने तर कमाउँदै गएपछि बुझाउँदै जाने प्रतिबद्धता गरे पनि मन्त्रीले मानेनछन् । दाइले अन्य तवरबाट दबाब दिए पनि केही नलागेपछि केही हप्ता पछि अग्रिम घुस बुझाएर विमानस्थल भन्सार पुगे ।

घुस नै खुवाएर विमानस्थल भन्सार पुगेपछि दाइलाई अवैधानिक आम्दानी गर्न लाइसेन्स पाए झैँ भएछ । उनी झन् जोडतोडले कमाउनतिर लागे । भन्थे – “कमाएको मन्त्री, सचिव, महानिर्देशक, पार्टी आदिलाई बाँड्नुपर्छ । बाँड्दाबाँड्दै आधा सकिहाल्छ । कतै केही गरी फसिहालियो भने त म फस्ने हो । ठुलाहरू फस्दैनन् ।”

भन्सार बसाइँमा कति कमाए उनलाई पनि थाहा थिएन । मोज, मस्ती र रङ्गीन जीवनमा राम्रै पैसा उडेको थियो । पहिले त भाउजू दाइको भन्सार बसाइँले लागेका कुलतको गुनासो गर्थिन्, अहिले छोडिसकेकी थिइन्, थाकेर हो वा आफू पनि बिस्तारै यसमा रमेर हो, मैले पनि बुझ्न सकेको थिइनँ । अन्तरजातीय विवाह गर्‍यो भनेर घर निकाला गर्ने पण्डित बाउलाई पनि दश–बीस लाख पठाइदिएछन्, त्यसपछि बाउसँग पनि दाइको सम्बन्ध स्थापित भएको थियो । सम्पत्तिसँगै उनले ससुरालीसँग पनि सुमधुर सबन्ध बनाएका थिए । सुमधुर सम्बन्ध पैसाले हो कि समयले त्यो त थाहा भएन तर त्यस सबन्ध सुधारले चैँ मलाई “छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी” भन्ने भनाइ झलझली याद आयो ।

करीब डेढ वर्षमा दाइको पार्टीको सरकार ढल्यो । तर दाइले भन्सार र राजस्व प्रशासनमा यस पटक गहिरो सबन्ध बनाइसकेका रहेछन्, सरकार परिवर्तन भए पनि उनको सरुवा भएन । कौतुहलतासाथ दाइलाई सरकार परिवर्तनसँगै सरुवा नहुनुको कारण सोधेँ । दाइको जवाफ थियो – “राजनीति भन्दा पनि अर्थनीति तिर लागियो ।”

दाइको उत्तरबाट मैले धेरै त बुझिनँ, तर दाइ भन्सारका ठूलै खेलाडी भैसकेछन् भन्ने अनुमान लगाएँ । दाइ भन्सारमा हाकिमहरूलाई रिझाएर काइते काम गर्न र गराउन माहिर भएका रहेछन् । त्यसैले उनी भन्सार प्रशासनका बडाहाकिमहरूका प्रिय रहेछन् । दाइ पनि चाप्लुसीका शब्द र भाषामा पोख्त भैसकेका थिए ।

बिस्तारै उनले भने जस्तै बानेश्वरमा महल किने । दाइको कालो धन बढ्दै गर्दा भाउजूले पढाउने जागीर छोडिन् । छोराछोरीलाई काठमाडौँको महँगो स्कूलमा सारे । उनको महल कुनै सम्भ्रान्त परिवारको झैँ लाग्थ्यो । घरमा काम सघाउने मान्छेहरू थिए, अनि भाउजू घरकी महारानी जस्ती भइन् । घरमा आउने, जाने इष्टमित्र, नातेदार भैरहन्थे । उनीहरूको राम्रो आतिथ्य पनि हुन्थ्यो, बाटो खर्च पनि पाउँथे । सबैले दाइको आर्थिक उन्नतिको गुणगान गाउँथे । टन्न खाएर डकार्दै गेटबाट बाहिर निस्केपछि भन्न थाल्थे – “मोरो घुस्याहा, कति खान सकेको, खरदारको जागीरले करोडौंको साम्राज्य खडा गरेको छ । राजसी ठाँटले बसेको छ । महिना दिनको तलब भन्दा बढी एक दिनको खर्च छ । यस्तै धमिराले हो देश कङ्गाल भएको ।”

दाइको आर्थिक उन्नति सँगसँगै उनीसँगको मेरो दूरी बढिरहेको थियो । दाइको ध्यान भन्सार र पैसामा थियो भने भाउजूको त्यो पैसाको व्यवस्थापन र विलासितातिर । छोराछोरीलाई समय दिने कोही भएन । छोरा कुलततिर लाग्यो । पढाइमा अब्बल छोरीको पढाइ केही खस्क्यो । उनीहरूको विलसितता दिन प्रतिदिन बढ्दै जाँदै थियो ।

समय बित्दै गयो । छोराछोरीको पढाइ सुधार्न बेग्लाबेग्लै ट्युसन शिक्षकहरूको व्यवस्था भयो । जति प्रयास गरे पनि छोरो लिक बाहिर गइसकेको थियो । कुलतमा फसिसकेको थियो । छोरी चाहिँ ठीकठीकै पढ्दै गई, ऊ औसत विद्यार्थी थिई ।

दाइभाउजूको गुनासो हुन्थ्यो, “पैसा कमाउन गाह्रो, कमाउन भन्दा लुकाउन झन् गाह्रो । थोरै भए पो लुकाउनु, बैध श्रोत छैन । अरूलाई राख्न दियो, उसैले खाइदेला भन्ने डर ।” दाइको भ्रष्टाचार कानूनी आँखामा नदेखिए पनि सबैको आँखामा घाम जस्तै झलमल्ल भैसकेको थियो, लुकाउने गुन्जाइसै थिएन ।

कुलतमा फसेको छोराले पढाइ छाड्यो । उसलाई पुनस्थापना केन्द्र मै राख्नुपर्‍यो । छोरीले दोस्रो श्रेणीमा बाह्र कक्षा पास गरेपछि निकै महँगो शुल्क तिरेर भारततिर डाक्टरी पढ्न पठाए ।

एक दिन उनकै सेवाग्राहीले उनले घुस खाँदै गरेको गोप्य भिडियो खिचेछन् र एकै पटक मिडिया र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेछन् । अख्तियार र अर्थ मन्त्रालयमा पनि भिडियोसहित उजुरी गरेछन् । भिडियोमा उनले सुन राखिएको कम्प्युटर पार्टसलाई भन्सार जाँचपास गराउने शर्तमा बीस लाख रुपैयाँ नजिकैको सेकुवा कर्नरमा लिएको देखिन्थ्यो । भिडियो सार्वजनिक भएपछि सबैतिर उनको नाम हेडलाइनमा आउन थाल्यो । उनी जागीरबाट निलम्बित भए । अख्तियारले हिरासतमा राखेर बयान लियो र केही दिनमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो ।

सँगै उनको परिवार र उनमा आमूल परिवर्तन आयो । दाइ अब वकिलहरूसँग छलफल गरेर निर्दोष ठहरिने र कालो धन लुकाउने उपाय खोज्न थाले । यसका साथै उनी उजुरी गर्नेलाई फकाउन, भिडियो गलत हो भनेर प्रमाणित गर्ने आदि उपायहरूको खोजीमा लागे । उनका सहकर्मी र हाकिमहरूको अर्कै चिन्ता शुरू भयो – टी पी दाइ वा भिडियो बनाउनेले उनीहरूलाई पनि पोल्छन् कि भन्ने । पोलेनन् नै भने पनि यो घटना पछि उनीहरूको सरुवा भन्सारबाट अन्यत्रै होला भन्ने चिन्ता उनीहरूमा पलायो ।

लामो अदालती प्रक्रियापछि विशेष अदालतले उनलाई भ्रष्टाचारी घोषित गरी भविष्यमा कुनै पनि सरकारी सेवाका लागि अयोग्य घोषणा गर्दै जेल सजाय र जरिवाना पनि तोक्यो । विशेष अदालतको त्यो निर्णयको विरुद्ध उनी सर्वोच्च अदालत गए । सर्वोच्चमा निकै वर्ष मुद्दा थाँती रह्यो ।

भ्रष्टाचार मुद्दा चलिरहँदा छोरो पुनर्स्थापना केन्द्रबाट बाहिर आयो । उसले कुलत त छाडेको थियो, तर फेरि शुरू गर्ला भन्ने सबैलाई डर थियो । छोरी भारतको कमशल मेडिकल कलेजबाट निकै वर्ष लगाएर डाक्टर भई तर नेपाल मेडिकल काउन्सिलले लिने परीक्षा पास गर्न सकिरहेकी थिइन । त्यसैले ऊ चिकित्सकको रूपमा काम गर्न पाइरहेकी थिइन । लामो अदालती प्रक्रिया, महँगा वकिल, तडकभडक जीवनशैली आदिले उनको सञ्चित धन सकिँदै थियो । साथीभाइ र आफन्तका नाममा राखेका पैसा र जग्गा केही उनीहरूले नै खाइदिए, फिर्ता दिएनन् ।

यस बीचमा दाइको दैनिकी पूरै फेरिएको थियो । बिहान चारै बजे उठ्थे, दैनिक पशुपति दर्शन गर्न जान्थे । पशुपतिबाट फर्कँदा नेता, मन्त्री, न्यायाधीश, वकिल आदिकोमा पशुपतिको प्रसाद, चन्दन दिने निहुँमा छिर्दै आफ्नो भ्रष्टाचार मुद्दामा निर्दोष साबित हुने सम्भावनाहरू खोज्थे । भाउजू पनि बिहानभर पूजा–पाठ मै हुन्थिन् । दाइले रक्सी पिउन पनि छोडेका थिए ।

एकदिन पशुपति दर्शन पश्चात् मेरै डेरा नजिक बस्ने एक न्यायाधीशलाई पशुपतिको प्रसाद, चन्दन दिएर निस्कँदै गर्दा दाइको मसँग जम्का भेट भयो । मैले पनि व्यावसायिक जीवन शुरू गरिसकेकोले दाइसँगको भेट पातलिएको थियो । दाइ फुर्सदिला थिए । मेरो निम्तोलाई सहर्ष स्वीकार गर्दै उनी मेरो डेरामा आए । दाइको बहिर्मुखी स्वभाव अहिले पनि उनको त्यो स्वभाव जस्ताको तस्तै रहेछ । त्यही स्वभावले उनी सबैलाई प्रभावित पार्न सक्थे । म भने अन्तर्मुखी स्वभावको, चाहिएको कुरा मात्र बोल्ने । त्यसैले हाम्रो भेटमा उनी वक्ता भए, म श्रोता ।

दाइले भन्सारमा हुँदाका चकचक र फुर्मासी सुनाए । उनले कमाउँदा आत्मीय हुँदै टाँसिने चुम्बक जस्ता आफन्त र साथीभाइका किस्सा सुनाए । भ्रष्टाचार मुद्दा लागेपछि तर्किने र सत्तोसराप गर्नेहरू मध्ये धेरै त तिनै चुम्बक जस्ता आफन्त र साथिभाइ थिए अरे ! दाइले आफ्ना पीडा पोख्न थाले – “जागीरबाट निलम्बन भई भ्रष्टाचार मुद्दा लागेको छ वर्ष भयो । विशेषमा मुद्दा हारे पनि सर्वोच्चमा अनेक तिकडम लगाएर जित्ने दाउमा छु । मुद्दा जित्नुको एउटै उद्देश्य कानूनी रूपमा भ्रष्टाचारी नठहरिनु मात्र हो । मैले भ्रष्टाचार गरेरै सम्पत्ति कमाएको हो, यो घाम जस्तै छर्लङ्ग छ । सर्वोच्चबाट सफाइ पाए भने म जागीरमा फर्कन्छु, अनिवार्य अवकाश पाउनुअघि तीन–चार वर्ष काम गरौँला, अवकाश पछि पेन्सन आउला । तर, त्यो भन्दा पनि बढी मलाई लागेको भ्रष्टाचारीको दाग हटाउनु हो । मेरी छोरी डाक्टर पढेर अष्ट्रेलिया गई, उसलाई पनि भ्रष्टाचारीको छोरी भन्छन् रे । छोरोले पढाइ बिगार्‍यो । मलाई मुद्दा लागेपछि उसमा सुधार आयो । अहिले राम्रै पसल चलाएर बसेको छ । उसलाई पनि भ्रष्टाचारीको छोरो भन्छन् रे । दुवैको बिहे गर्नु छ । बिहे गर्दा उनीहरूलाई भ्रष्टाचारीको छोराछोरी भन्ने उपनाम हटाएर गर्नु छ । म सँगै र म भन्दा बढी भ्रष्टाचार गर्ने कति छन् कति । उनीहरूलाई मुद्दा लागेन, उनीहरू भ्रष्टाचारी भएनन् । मलाई मुद्दा लाग्यो, म भ्रष्टाचारी भएँ ।”

दाइले भनेका कुरा गम्भीर भएर सुनेँ । अनि सोधें – “दाइ मुद्दा जितिन्छ त ? अनि कसरी जितिन्छ ? अदालतले तोकेको जेल सजाय काटिसक्नु भयो । हर्जाना र बिगो पनि अदालतले थोरै कायम गरेको थियो तिरिसक्नु भयो । अब यसको आर्थिक पक्ष त खासै केही नहोला !”

मेरो प्रश्नले उनलाई मनभरिका भडास पोख्न बाटो खोलेछ । भन्न थाले – “सर्वोच्चमा पुनरावेदन गर्दा मेरो वकिल खर्च, यताउता मिलाउँदा अगडम बगडम गरेर एक करोड जति खर्च होला । तर मलाई जति खर्च गरेर पनि भ्रष्टाचारीको दाग हटाउनु छ । पैसाको चिन्ता छैन । पहिले घुस खाएरै कमाएको हो, त्यही जान्छ, पुर्खौली सम्पत्ति हैन क्यारे । यति गरेर पनि मुद्दा कसो नजितिएला ।” उनी निस्फिक्री थिए, एक किसिमले मुद्दा जित्नेमा ढुक्क जस्तै थिए । फेरि भन्न थाले, “पहिले कमाउँदा चार–पाँच रोपनी जग्गा जोडिएको थियो, दुई–चार किलो सुन किनिएको थियो, सालीलाई हुन्डी गरेर छ–सात करोड अष्ट्रेलिया पठाएको थिएँ । अलिअलि त तिनीहरूले पनि खाइदिए तर धेरै जसो सग्लै छ । त्यसले मलाई बाचुन्जेललाई पुगिहाल्छ, किन चिन्ता गर्ने ? छोराछोरी आफै सक्षम भएका छन्, आफै कमाउँछन् ।”

दाइको कुरा सुनेर मनमनै सोचें, “पहिले कमाउँदा नै धेरै पैसा चाहिंदैन भन्ने सोचेको भए अहिले यो हाल हुन्नथ्यो, त्यति बेला पैसा भन्दा केही सोचेनन् ।” अनि सोधें – “दाइलाई पहिले पैसा नै ठूलो हो, पैसा भए सबै ठीक हुन्छ, त्यसैले सकेसम्म कमाउनुपर्छ भन्ने थियो । अहिले के ले परिवर्तन ल्यायो नि ?”

दाइले लामो सास फेरे र भन्न थाले, “पहिले त्यस्तै लाग्थ्यो । गरीबको छोरो, गाउँबाट आइयो । धनीहरूको जीवन देख्दा आफूलाई पनि धन कमाउने, ऐसआराम गर्ने र जीवनलाई रङ्गीन बनाउने रहर जाग्यो । अनि सकेसम्म कमाउन थालियो । ऐसआराम, मोजमस्ती सबै गरियो । जीवन रङ्गीन हुँदा फर्किएर विगत र  आफ्नो धरातल हेर्ने फुर्सद नै भएन । पैसा भएपछि सबैको वावाही थियो, त्यसैमा रमाइयो । जब मुद्दा लाग्यो सबै बदलियो । दुनियाँ स्वार्थी रहेछ ।” उनी भक्कानिंदै थप्न थाले, “मुद्दा लागेपछि आफ्ना र नजिककाले नै तिरस्कार गर्न थाले । छोराछोरीलाई घरबाहिर निस्कन गाह्रो भयो, सबैले बिल्ला हान्न थाले । म आफै मानसिक रूपमा अस्थिर भएको थिएँ, भाउजू पनि त्यस्तै । शुरूशुरूमा यो पीडा भुलाउन रक्सीको सहारा लिएँ, दिनरात मातेर बसेको हुन्थेँ । स्वास्थ्यमा समस्या आयो । अनि बल्ल बुझेँ रक्सीले त समस्या सुल्झाउने होइन, झन् बल्झाउने रहेछ । त्यसपछि रक्सी, मासु छोडेर पूजापाठतिर लागेँ । दिनहुँ पशुपति जान्छु, पूजापाठ गर्छु । घरमा रुद्री, हवन आदि भैरहन्छन् । भाउजू पनि पूजा, पाठमा मजैले लागेकी छन् । यसले मनलाई आनन्द दिन्छ ।”

दाइको कुरा सुनेर र उनमा आएको परिवर्तन देखेर म धेरै कुरा सोच्न थालेँ । जीवन त मैले धेरै बुझेको थिइनँ तर मलाई लाग्यो आनन्दले दुई छाक खान पाए, बिरामी हुँदा उपचार गर्न पाए, अनि छोराछोरी र बाउआमा प्रतिको आफ्नो औसत जिम्मेवारी पूरा गर्न पाए जीवन सार्थक हुन्छ । पैसाले संवृद्धि त देला, तर सन्तुष्टि दिन सक्छ भन्ने छैन । रङ्गीन जीवन क्षणिक हुन्छ ।

केही समय पछि दाइले सर्वोच्चबाट भ्रष्टाचार मुद्दामा सफाइ पाए । सफाइ सँगसँगै खरदारबाट सुब्बामा बढुवा भए । निलम्बनमा परेदेखिको सबै तलबभत्ता एक मुष्ट पाए । अनि उनको पदस्थापन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भयो ।

क्रमशः