 
			
			
			
			
			
			जर्ज ओरवेल (१९०३-१९५०) द्वारा लिखित एक प्रसिद्ध उन्यास ‘एनिमल फार्म’ (१९४५) मानिसको प्रकृति, सत्ताको भोक र धोकाको एउटा यस्तो कहानी हो, जसले जोसुकैलाई सोच्न बाध्य बनाउँछ । यसमा आशाको किरण लिएर आएको क्रान्तिले अन्तमा स्वयं आफ्नो आदर्शलाई निलिदिन्छ । यो सत्ताको सार्वभौमिक प्रकृतिमाथि लेखिएको एक कालजयी कृति हो । यसले हरेक समाज, सङ्गठन र राजनीतिक व्यवस्थाको लागि चेतावनी दिन्छ, जहाँ बिना जिम्मेवारीको शक्ति केन्द्रित हुन्छ, सूचना र शिक्षामाथि एक वर्गको अधिकार हुन्छ, आलोचनात्मक सोचलाई दबाइन्छ र भाषालाई सच्चाई लुकाउन प्रयोग गर्न लागिन्छ । यो उपन्यासले स्वतन्त्रता र समानताका आदर्शहरूको रक्षाको लागि शतर्क र आलोचनात्मक बनिरहनु धेरै आवश्यक हुन्छ भन्ने कुरा सिकाउँछ, नत्र भने क्रान्तिले एक तानाशाहलाई जन्म दिन सक्छ ।
जर्ज ओरवेल लेखकका साथै बीसौं शताब्दीका सबभन्दा प्रभावशाली राजनीतिक र सामाजिक चिन्तकमध्ये एक थिए । उनको वास्तविक नाम एरिक आर्थर ब्लेयर थियो । ओरवेलले इङ्ल्याण्डको प्रतिष्ठित स्कूलमा पढे तर त्यहाँ एक गरीब विद्यार्थी हुनुको नाताले उनले सामाजिक र आर्थिक वर्गहरूको बीचको भेदभाव महसुस गरे। यो अनुभव पछि उनका रचनाहरूमा वर्गसङ्घर्ष र सामाजिक अन्यायको विषयको रूपमा उजागर भयो ।
सन् १९२२ देखि १९२७ सम्म ओरवेलले भारतमा इम्पीरियल पुलिसको रूपमा काम गरे । बर्मामा नोकरीको क्रममा उनले साम्राज्यवाद र औपनिवेशिक शासनका क्रूरताहरूलाई नजिकैबाट देखे । यसले उनमा सत्ताप्रति घृणा र अधिकारीहरूप्रति सन्देह पैदा गरिदिएको थियो । उनको पुस्तक ‘बर्मिज डेज’ यही अनुभवको परिणाम थियो ।
लेखक बन्नको लागि उनले पछि नोकरी छोडिदिए र युरोपमा गरीबीमा जीवन व्यतीत गरे । यस क्रममा उनले स्वयंलाई मजदूर वर्गको हिस्सा बनाए र तिनीहरूको पीडालाई बुझे । यो अनुभवले उनको लेखनशैलीलाई यथार्थवादी र स्पष्टवादी बनायो । ओरवेलले स्पेनको गृहयुद्ध (१९३६) मा फासिस्ट-विरोधी मोर्चाको तर्फबाट लडाइँ लडे । यहाँ उनले फाँसीवाद, तानाशाही र सत्तावादलाई राम्रोसँग नियाल्ने मौका पाए । यहीं ज्वलन्त अनुभवबाट उनले ”एनिमल फार्म” र ‘उन्नाइससय चौरासी’ जस्ता उपन्यास लेखे ।
ओरवेलले आफ्ना कृतिमा राजनीतिक विचारधारा, खासगरी सत्तावाद, तानाशाही र साम्राज्यवादका खराबीहरूलाई उजागर गर्नको लागि व्यङ्ग्य र तिरस्कारको उपयोग गरे । उनले कहिल्यै पनि कुनै राजनीतिक दल वा विचारधाराको अन्धपूजा गरेनन्, चाहे दक्षिणपन्थी होस् वा वामपन्थी । उनको निष्ठा सच्चाई र सर्वसाधारणप्रति थियो ।
ओरवेलको लेखनले आज पनि हामीलाई लोकतन्त्र, सच्चाई र नैतिक साहसको रक्षा गर्नु कति आवश्यक हुन्छ भन्ने कुराको स्मरण गराउँछ । उनले केवल साहित्यिक कृति मात्र लेखेनन्, उनले आफ्नो समयको एक दर्पण बनाए, जसले आज पनि हाम्रो समाज र सत्ताको प्रकृतिको बारेमा चेतावनी दिइरहन्छ ।
‘एनिमल फार्म’ उपन्यास केवल एक मनोरञ्जक पशु-कथा मात्र नभएर यो एक शक्तिशाली सामाजिक-राजनीतिक-सांस्कृतिक दर्पण हो, जसले कुनै पनि युग र समाजमा आफ्नो प्रासङ्गिकता कायम राख्छ । यो उपन्यासले फासीवाद, निरङ्कुश शासन वा सैन्य शासनमाथि प्रहार गरेको छ । यसले कसरी क्रान्तिको नाममा खडा गरिएको व्यवस्था पनि मूल व्यवस्था जस्तै अत्याचारी बन्न सक्छ भन्ने कुरा दर्शाउन खोजेको छ । उपन्यासले शक्ति भ्रष्ट हुनसक्छ र पूर्ण शक्ति पूर्ण भ्रष्ट हुनसक्छ भन्ने सिद्धान्तलाई देखाएको छ । यो उपन्यासले जनताको निस्क्रियता, अज्ञानता र अन्धभक्तिले तानाशाहीलाई जन्म दिनसक्छ भन्ने कुरा देखाएको छ ।
उपन्यासले समाजमा विद्यमान वर्गीय विभाजनलाई उजागर गर्छ । यसले कसरी शासक वर्गले शिक्षा, स्रोतसाधन र सूचनामाथि कब्जा गरेर आफ्नो बर्चस्व कायम राख्छ भन्ने कुरा देखाउँछ । यसले स्वस्थ समाजको लागि शिक्षित र आलोचनात्मक सोच राख्ने जनता अनिवार्य हुनुपर्छ भन्ने कुरामा जोड दिन्छ ।
‘एनिमल फार्म’ ले के कुरा सावित गर्छ भने गहिरोभन्दा गहिरो राजनीतिक टिप्पणी पनि सरल, रोचक र सार्वभौमिक रूपले बुझिने कहानीको रूपमा प्रस्तत गर्न सकिन्छ । यो व्यङ्ग्य लेखन कलाको एक उत्कृष्ट नमूना हो । ओरवेल मानव स्वभावको गहन बोध राख्दछन् । उनी भय, लोभ, अज्ञानता र समूहमा अनुकूलन जस्ता प्रवृत्तिहरूले कुनै पनि समाजमा सत्ता कायम राख्ने काम गर्छन् भन्ने कुरा देखाउँछन् ।
‘एनिमल फार्म’ उपन्यासले के बताउँछ भने समाज जागरूक नरहेको खण्डमा र त्यसले आफ्नो स्वतन्त्रता तथा अधिकारको रक्षा नगरेको खण्डमा इतिहासले स्वयंलाई दोहोर्याउँछ । अत्याचार खत्तम हुँदैन, बरु त्यसको रूप बदलिन्छ । यो केवल एउटा फार्मको कथा मात्र नभएर हरेक समाजको कथा हो, जहाँ शक्तिको सन्तुलन बिग्रिन्छ, जहाँ झुट र प्रचारले सत्यलाई दबाइदिन्छ र जहाँ जनतालाई अध्यारोमा राखिन्छ । क्रान्तिको उद्देश्य केवल पुराना शासकहरूलाई हटाउनु मात्र हुनु हुँदैन, बरु एउटा यस्तो सच्चा र न्यायपूर्ण समाज बनाउनु हुनुपर्छ, जहाँ हरेक व्यक्तिको गरिमा र स्वतन्त्रता सुरक्षित रहोस् ।
ओल्ड मेजरको एउटा इमान्दारीपूर्ण सपना, एक आदर्श समाज बनाउने इच्छा विस्तारै-विस्तारै नेपोलियन र उसका सुँगुरहरूको सत्ताको भोक र धोकाको शिकार भयो । यसले समाज, राजनीति र शक्तिको खेलको एक सच्चाईसँग प्रत्यक्षीकरण गर्दछ । यसले समानता र स्वतन्त्रताको लागि शुरु भएको कुनै क्रान्ति कसरी स्वयं एउटा नयाँ प्रकारको अत्याचारमा बदलिन सक्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ ।
यहाँ शुरुमा क्रान्तिको सबभन्दा बुद्धिमान र उत्साही नेता सुँगुर विस्तारै-विस्तारै सत्ताको नसामा चुर हुँदै गए । सत्तामा आएपछि उनीहरूले आफ्नै जातिका जनावरहरूको शोषण गर्न शुरु गरे, ठीक त्यसरी नै जसरी मि. जोन्स गर्दथ्यो । यसबाट के स्पष्ट हुन्छ भने कुनै पनि व्यक्ति वा समूहलाई असीमित शक्ति दिने काम धेरै खतर्नाक हुन्छ । किनकि सत्ताले प्रायः मानिसलाई भ्रष्ट बनाइदिन्छ ।
‘एनिमल फार्म’ का जनावरले किन सजिलैसँग धोका खाए भने उनीहरूमध्ये धेरैजसो अशिक्षित थिए । उनीहरू ‘सेभेन कमाण्डमेन्ट्स’ लाई ठीकसँग अध्ययन गर्न सक्दैनथे र तिनीहरूको स्मरण पनि गर्न सक्दैनथे । स्क्वीलर जस्तो प्रचारकले यही कुराको फाइदा उठायो र उनीहरूलाई झूटमाथि विश्वास दिलायो । यसबाट जानकारी र शिक्षाको कति धेरै महत्त्व हुन्छ भन्ने कुरा थाहा हुन्छ । जागरूक नहुँदा तथा साँचो र झूटोको बीचमा फरक छुट्याउन नसक्दा जोकसैले सजिलैसँग मूर्ख बनाउन सक्छ र फाइदा उठाउन सक्छ ।
बक्सर जस्तो मेहनती र बफादार जनावरहरूले नेपोलियनमाथि आँखा चिम्लिएर भरोसा गरे । उनीहरूले कहिल्यै प्रश्न उठाएनन् । केवल मेहनत गरिरहे र भने – नेपोलियन सधैं सही छ । परिणामस्वरूप उनीहरूले अन्तमा धोका खाए र उनीहरूको शोषण भइरह्यो ।
स्क्वीलरले आफ्ना कुरा र तर्कबाट साँचोलाई झूटो र झूटोलाई साँचो बनाइदियो । उसले स्नोबलको छवि बिगारिदियो, ‘कमाण्डमेन्ट्स’ बदलिदियो र जनावरहरूलाई उनीहरू पहिलेभन्दा उत्कृष्ट स्थितिमा छन् भन्ने कुराको विश्वास दिलायो । जबकि वास्तविकता अरु नै थियो । यसबाट के बुझिन्छ भने कुनै पनि जानरकारीमा तुरुन्तै विश्वास गर्नुहुँदैन । सदैव कसले के भनिहेको छ ? किन भनिरहेको छ ? र, के त्यो कुरा तथ्यमा आधारित छ त ? भन्ने कुरा सोच्नुपर्छ ।
इतिहासबाट शिक्षा नलिने हो भने त्यसले स्वयंलाई दोहोर्याउँछ । ‘एनिमल फार्म’ को क्रान्तिबाट के बुझिन्छ भने मालिक बदलिए पनि अत्याचारको चक्र जारी रहेको हुन्छ । सुँगुर अन्तमा मानिसहरूकै जस्तो क्रूर शोषक बने । यसले इतिहासबाट सिक्नुपर्ने चेतावनी दिन्छ । अघिल्लो गल्ती किन भयो भन्ने कुरा बुझ्नुपर्छ, ताकि तिनीहरूलाई पुनः नदोहोर्याइयोस् ।
यो उपन्यासले मानवीय प्रकृति र समाजको जटिलतालाई रूपकको रूपमा देखाउँछ । यसले स्वतन्त्रता र समानता निशुल्क प्राप्त हुने कुनै चीज होइन भन्ने कुरा सिकाउँछ । हामीले शतर्क रहनुपर्छ, आफ्ना अधिकारको लागि उभिनुपर्छ र सत्तामा भएका मानिसहरूमाथि प्रश्न उठाइरहनुपर्छ ।
यो उपन्यासले सरल भाषा, सङ्क्षिप्तता र पशु-पात्रहरूको माध्यमबाट एक सहज बाल-कथाको भ्रम रच्दछ । यो यसको सबभन्दा ठूलो साहित्यिक चाल हो । यसले सरल रूपमा एक गहन र जटिल राजनीतिक दर्शनलाई सार्वभौमिक रूपले पहुँचयोग्य बनाइदिन्छ । प्रत्येक पात्र, घटना र वस्तु एक प्रतीक बन्छन् । उपन्यासमा भाषाको शक्ति र त्यो भ्रष्ट हुनुको जुन चित्रण छ, त्यो अद्वितीय छ । यसको आलोचना कुनै पनि सत्तावादी प्रणाली, कुनै पनि क्रान्तिको भ्रष्टीकरण र कुनै पनि सङ्गठनको सत्ताको केन्द्रीकरणमा लागू हुन्छ । यो सत्ताको मनोविज्ञानको कथा हो । ओरवेलको उद्देश्य एक ऐतिहासिक दस्तावेज लेख्नु नभएर एक स्पष्ट र प्रभावशाली राजनीतिक व्यङ्ग्य रचना गर्नु थियो । सरलीकरण नै उनको औजार थियो ।
यद्यपि यो उपन्यास एक गहन निराशावादमा गएर टुङ्गिन्छ । यसले क्रान्ति भ्रष्ट हुनु एक अपरिहार्य नियति हो भन्ने सुझाव दिन्छ। बेन्जामिनको दृष्टिकोण सम्पूर्ण कथामा हावी हुन्छ । यो दृष्टिकोणले सकारात्मक सामाजिक परिवर्तनको सम्भावनालाई नै नकारेको प्रतीत हुन्छ । उपन्यासमा आम जनावरलाई अत्याधिक निस्क्रिय, मूर्ख र सजिलैसँग बहलिने खालका देखाइएको छ । ओरवेल शायद शिक्षा र जागरूकताको अभावमा जनताको यही अवस्था हुन्छ भन्ने कुरा देखाउन चाहन्थे । क्रान्तिको लागि केवल विद्रोह मात्र भएर हुँदैन, बरु शिक्षा पनि उत्तिकै आवश्यक हुन्छ ।
यो उपन्यासले समाजवाद भ्रष्ट हुने कथा बताउँछ तर एक व्यवहारिक विकल्प प्रस्तावित गर्दैन । यसले केवल एक व्यवस्थाको आलोचना मात्र गरिरहन्छ, एक उत्कृष्ट व्यवस्थाको ब्लूप्रिन्ट दिंदैन । ओरवेल स्वयं एक लोकतान्त्रिक समाजवादी थिए । उनको उद्देश्य एक राजनीतिक घोषणापत्र लेख्नु नभएर एक राजनीतिक खतरालाई उजागर गर्नु थियो । उनका अनुसार पहिले रोगको पहिचान गरेर मात्र उपचार सम्भव छ भन्ने हो ।
यसरी ‘एनिमल फार्म’ उपन्यासको सबभन्दा ठूलो उपलब्धि आफ्नो विचारधारात्मक स्पष्टताको बावजुद एक शक्तिशाली र कलात्मक कथा बनाउनु हो । यो उपन्यास कुन कुराको प्रमाण हो भने कुनै रचनाले गहन राजनीतिक सन्देश दिएर पनि साहित्यको शाश्वत मापदण्डमा कसिन्छ । यसको मुख्य शिक्षा भनेको सत्ता भ्रष्ट हुन्छ र यसको विरुद्ध निरन्तर सजगता नै एकमात्र रक्षा हो ।
उपन्यासको सम्पूर्ण कथा सङ्क्षिप्तमा
क्रान्तिको मशाल
मि. जोन्स नामको एउटा लापरवाही र पियक्कड मालिकले एउटा फार्म चलाउँथ्यो । उसले जनावरहरूलाई उचित तवरले खाना दिंदैनथ्यो, तिनीहरूको हेरविचार गर्दैनथ्यो र केवल आफ्नो मोजमस्तीमा मात्र लागिरहन्थ्यो । त्यो फार्ममा रहेका जनावरहरूको जिन्दगी धेरै दुःखपूर्ण थियो । उनीहरूले विहानदेखि बेलुकासम्म काम गर्नुपर्दथ्यो तर पेटभरी खाना प्राप्त हुँदैनथ्यो र उनीहरूको सम्पूर्ण सपना त्यतिकै रहन्थे ।
एक रात एउटा बयोवृद्ध र समझदार ओल्ड मेजर नामको सुँगुरले सबै जनावरहरूलाई जम्मा गर्यो । उसका आँखा चम्किरहेका थिए र उसको आवाजमा एउटा विचित्र जादू थियो । उसले जनावरहरूलाई बतायो, हाम्रा सम्पूर्ण दुःख मानिसको कारणले भएको हो । मानिसले हामीलाई दास बनाएर राखेका छन् । हाम्रो रगत-पसिना चुसिरहेका छन् र मानिस हाम्रो मालिक रहुन्जेलसम्म हामीलाई कहिल्यै स्वतन्त्रता प्राप्त हुँदैन ।
ओल्ड मेजरले जनावरहरूलाई एउटा यस्तो संसारको सपना देखायो, जहाँ जनावरहरूले स्वयंमाथि शासन गर्नेछन्, जहाँ कोही मानिस हुनेछैन, कोही मालिक हुनेछैन । त्यो संसारमा सबै जनावर बराबर हुनेछन्, जहाँ पर्याप्त खानेकुरा हुनेछ र कोही पनि भोकै बस्नु पर्दैन । उसले तिनीहरूलाई एउटा गीत सिकायो, जसको नामक ‘बीस्ट्स अफ इङ्ल्याण्ड’ थियो । त्यो स्वतन्त्रता र क्रान्तिको भावनाले भरिएको थियो ।
ओल्ड मेजरका यी शब्द, यो गीतले जनावरहरूको हृदयमा स्वतन्त्रताको एउटा यस्तो बीज रोप्यो, जुन हेर्दाहेर्दै अङ्कुरित हुनलाग्यो । तिनीहरूका आँखामा पहिलो पटक आशाका किरण देखा परे । उनीहरूलाई यो सम्भव छ र यसलाई परिवर्तन गर्न सकिन्छ भन्ने लाग्यो । ओल्ड मेजरका कुराले जनावरहरूभित्र एउटा नयाँ जीवन हालिदिएको थियो । तिनीहरू रातारात बदलिएका थिए । पहिले निराशा मात्र भएको ठाउँमा अब एक आशा थियो, एक लक्ष्य थियो ।
सुँगुरहरूमा दुई सबभन्दा बुद्धिमान सुँगुर स्नोबल र नेपोलियन थिए । स्नोबल एक उत्कृष्ट वक्ता थियो र ऊसँग नयाँ-नयाँ विचार थिए । जबकि नेपोलियन शान्त र धूर्त थियो तर ऊ अरुलाई कसरी प्रभावित गर्ने भन्ने कुरा जान्दथ्यो । तिनीहरूले ओल्ड मेजरका शिक्षालाई व्यवस्थित गरे, त्यसलाई ‘एनिमलिज्म’ को नाम दिए । यससँगै सिद्धान्त बनाइयो, जसलाई पछि ‘सेभेन कमाण्डमेन्ट्स’ भनियो । यसमध्ये ‘सबै जनावर बराबर हुन्’ र दुई खुट्टे दुश्मन हुन् तथा चारखुट्टे साथी हुन् भन्ने सबैभन्दा महत्त्वपूर्ण थियो ।
उनीहरूले जनावरहरूलाई कसरी आफ्नो क्रान्तिको लागि तयार रहने भन्ने कुरा सिकाए । जनावरहरूले हरेक रात लुकेर बैठकहरू गरे, ओल्ड मेजरका गीत गाए र ती ‘कमाण्डमेन्ट्स’ को स्मरण गरे । उनीहरूभित्र एक उत्साह भरिएको थियो । उनीहरू अब अझ बढी दासताको जीवन जिउन चाहँदैनथे । उनीहरूको मनमा अब केवल स्वतन्त्रताको विचार मात्र थियो ।
एक दिन मि. जोन्स यति लापरवाह भयो कि उसले जनावरहरूलाई कयौं दिनसम्म खाना नै दिएन । त्यसपछि जनावरहरूको धैर्यको बाँध टुट्यो । अब उनीहरूले विद्रोह गरे । नसामा चूर भएको मि. जोन्स र उसका मानिस जनावरहरूको अचानक आक्रमणबाट डराए र भागे । सदैव पीडित रहेका जनावरहरूले आफ्नो शक्ति देखाए र आफ्नो अत्याचारी मालिकलाई लखेटिदिदए । यो एक यस्तो समाजको प्रतीक थियो, जुन आफ्नो बन्धनलाई समाप्त गर्नको लागि उठेको थियो ।
फार्म अब पूर्ण रूपले जनावरहरूको नियन्त्रणमा थियो । उनीहरूले सबभन्दा पहिले फार्मको नाम बदलेर ‘एनिमल फार्म’ राखे र त्यसपछि मानिसका सम्पूर्ण औजारहरूलाई नष्ट गरिदिए । मि. जोन्सको घरलाई एउटा सङ्ग्राहालय बनाइयो र कुनै पनि जनावर त्यो घरमा नरहने कुरा निर्धारित गरियो । उनीहरूको खुशीको ठेगान थिएन । उनीहरूले पहिलो पटक आफ्नो इच्छा अनुसार खाए, इच्छा अनुसार घुमे र स्वतन्त्रताको हावामा सास लिए । त्यो दिन पहिलो पटक उनीहरूलाई आफू वास्तवमै जीवित रहेको महसुस भयो । उनीहरूले आफ्नो मेहनतको फल अब स्वयंलाई प्राप्त हुनेछ भन्ने महसुस गरे । जहाँ सबै कुरा बराबर थियो । जहाँ सबैले मिलेर काम गरे र जहाँ सबै खुशी थिए ।
सूर्यको प्रकाशमा फार्म बिल्कुल नयाँ देखिएको थियो । विहान हुनेवित्तिकै उनीहरूले ‘सेभेन कमाण्डमेन्ट्स’ लाई पर्खालमा ठूला-ठूला अक्षरमा लेखिदिए, ताकि जोकसैले तिनीहरूको अध्ययन गर्न सकून् र स्मरण गर्न सकून् । अब हरेक जनावरले आफ्नो स्तरमा काम गर्न शुरु गरे । एउटा बलियो घोडा बक्सरले भन्यो, म अझ बढी मेहनत गर्नेछु । र, वास्तवमै उसले धेरै बढी मेहनत गर्यो । बक्सरको यो उत्साहले कुनै पनि क्रान्तिलाई सफल बनाउँथ्यो । स्नोबलले सबै जनावरहरूलाई अध्ययन गर्न र लेख्न सिकाउने प्रयास गर्यो । र, नेपोलियनले युवा कुकुरहरूलाई शिक्षित गर्ने जिम्मेवारी लियो ।
हरेकतिर उत्साह थियो । यो एउटा नयाँ युग थियो, एउटा नयाँ शुरुवात थियो । उनीहरूले मानिसको दासताबाट स्वयंलाई स्वतन्त्र बनाएकोले आफू सधैं खुशी र बराबर रहेनेछौं भन्ने महसुस गरे । यद्यपि यो खुशीको माहौलमा एउटा कुरा विस्तारै-विस्तारै बदलिरहेको थियो, जसमाथि कसैले विशेष ध्यान दिएन । सबभन्दा बुद्धिमान जनावर सुँगुरले स्वाभाविक रूपले नेतृत्वको भूमिका लिएका थिए । उनीहरू अरुको तुलनामा बढी सोच्थे, बढी अध्ययन गर्थे र बढी कुराकानी गर्थे । शुरुवातमा यो कुरा जनावरहरूलाई बिल्कुलै अचम्म लागेन । उनीहरूलाई लाग्यो, सुँगुर बुद्धिमान भएकोले उनीहरूले नेतृत्व गर्ने कुरा स्वभाविक छ ।
यद्यपि धेरै पटक परिवर्तन यति सूक्ष्म हुन्छ कि त्यसको बारेमा केही पनि थाहा नै हुँदैन । दूध र स्याउको कुरा आउँदा सुँगुरहरूले यी चीज केवल सुँगुहरूको लागि मात्र हुन् भन्ने निर्णय गरे । किनकि उनीहरूलाई आफ्नो मानसिक क्षमतालाई कायम राख्नको लागि यसको सबभन्दा बढी आवश्यक हुन्छ । उनीहरूले यदि हामी कमजोर भयौं भने मि. जोन्स फर्केर आउनेछ भन्ने तर्क पनि दिए ।
जनावरहरूलाई यो कुरा केही आश्चर्यजनक लाग्यो, तर उनीहरूलाई यो तिमीहरूकै भलाईको लागि हो भनेर बताइयो । सुँगुरहरूले विस्तारै-विस्तारै अरूको तुलनामा बढी विशेषाधिकार लिन शुरु गरेका थिए । उनीहरू उत्कृष्ट खाना खान्थे । उनीहरु मि. जोन्सको अफिसमा रहन्थे र उनीहरूले नै सम्पूर्ण निर्णय लिन्थे । अरु जनावर मेहनत गर्थे तर उनीहरूलाई यो सबै विशेषाधिकार प्राप्त हुँदैनथ्यो । उनीहरूलाई बताइन्थ्यो कि यी साना-साना बलिदान उनीहरूकै उत्कृष्ट भविष्यको लागि हो ।
यो सानो परिवर्तनले एक खतर्नाक प्रवृत्तिको शुरुवात गरिदिएको थियो । यो प्रवृत्तिले फार्मलाई विस्तारै त्यही ठाउँमा फर्काउनेछ, जहाँबाट त्यसले शुरुवात गरेको थियो । यो कुनै मुख्य खतराको पहिलो चेतावनी थियो ।
सत्ताको स्वाद र परिवर्तित नियम
‘एनिमल फार्म’ मा क्रान्तिपछि सबै कुरा राम्रैसँग चलिरहेको थियो । जनावरहरूले धेरै मेहनत गरिरहेका थिए । वाली राम्रोसँग उत्पादन भइरहेका थिए र उनीहरूको सपना पूरा भइरहेको छ जस्तो लागिरहेको थियो । तर सुँगुरहरूले विस्तारै-विस्तारै कही विशेषाधिकार लिन शुरु गरेका थिए ।
स्नोबल र नेपोलियन दुवै फार्मका नेता बनेका थिए । तर उनीहरूको विचार एक-अर्कोबाट बिल्कुल अलग थियो । स्नोबल एउटा राम्रो वक्ता थियो र ऊसँग फार्मलाई उत्कृष्ट बनाउनको लागि कयौं रचनात्मक विचार थिए । ऊ ‘विण्डमिल’ बनाउने योजना बनाइरहेको थियो, जसबाट बिजुली उत्पादन हुनसकोस् र जनावरहरूको काम सहज हुनसकोस् । अर्कोतिर नेपोलियन शान्त थियो तर सत्ता कसरी हासिल गर्न सकिन्छ भन्ने कुरा उसलाई थाहा थियो । ऊ कुनै पनि बहसमा सम्मिलित हुँदैनथ्यो, बरु चुपचाप आफ्नो शक्ति बढाइरहेको थियो । उसले केही कुकुरहरूलाई आफ्नो निगरानीमा लियो र तिनीहरूलाई गोप्य रूपमा प्रशिक्षित गर्न शुरु गरिदियो । उसले तिनीहरूलाई बफादारिता र आज्ञाकारिता सिकायो ।
एक दिन ‘विण्डमिल’ को निर्माणलाई लिएर एउटा बैठकमा स्नोबलले आफ्नो योजनालाई सबैको सामुन्ने राखिरहेको बेलामा एउटा यस्तो भयानक दृश्य देखा पर्यो, जसले सम्पूर्ण फार्मलाई नै हल्लाइदियो ।स्नोबलले आफ्नो योजना बताइहेको बेलामा नेपोलियनले अचानक एक विचित्र आवाज निकाल्यो । त्यसपछि नेपोलियनले बालककालदेखि नै पालनपोषण र प्रशिक्षित गरेका नौ भयानक कुकुर कोठामा आँधी जसरी पसे । उनीहरू क्रोधित थिए र सीधैं स्नोबलमाथि झम्टिए । स्नोबल आफ्नो ज्यान बचाउनको लागि भाग्यो र कुकुरहरू उसको पछाडि दौडिए । ऊ फार्मबाट बाहिर निक्लियो र फेरि कहिल्यै देखा परेन ।
यसरी अचानक एउटा नेतालाई उसकै फार्मबाट भगाइयो । सबै जनावरहरूमा सन्नाटा छाएको थियो । यो सबै कुरा यति छिटो कसरी भयो भन्ने कुरा उनीहरूले बुझ्न सकिरहेका थिएनन् । त्यसपछि नेपोलियनले घोषणा गर्यो – अबदेखि सबै बैठक समाप्त भए र सम्पूर्ण निर्णय अबदेखि केवल सुँगुरहरूको एउटा समितिद्वारा लिइन्छ र ऊ स्वयं त्यो समितिको प्रमुख हुनेछ । यसले ‘विण्डमिल’ को विचार स्नोबलको नभएर आफ्नो थियो, अब विण्डमिलको काम शुरु हुन्छ भन्ने कुरा पनि गर्यो ।
नेपोलियनले आफ्नो सत्तालाई बलियो बनाउनको लागि भयको सहारा लिएको थियो । ती कुकुरहरूलाई देखेर बाँकी जनावर यति धेरै भयभीत भएका थिए कि कसैमा पनि नेपोलियनको विरोध गर्ने हिम्मत बाँकी रहेन । आफ्नो एउटा असल नेता स्नोबललाई कति निर्दयीतापूर्वक निकालियो भन्ने कुरा उनीहरूले देखे । यो घट्ना जनावरहरूको लागि एउटा धेरै ठूलो झट्का थियो । उनीहरूको स्वतन्त्रताको सपना, समानताको विश्वास सबै कुरा डगमगाएको थियो । उनीहरूलाई शयद यही नै सही होला भन्ने लाग्यो । किनकि उनीहरूसँग अरु कुनै उपाय नै थिएन ।
नेपोलियन सत्तामा आएपछि फार्मका नियम विस्तारै-विस्तारै बदलिन लागे । पर्खालमा लेखिएका सात आदेश (सेभेन कमाण्डमेन्ट्स) जनावरहरूको लागि बाइबल समान थिए । तर सबभन्दा मेहनती घोडा बक्सरलाई छोडेर धेरैजसो जनावर त्यसलाई स्मरण गर्न सक्दैनथे । सुँगुरहरूमा खासगरी नेपोलियनको प्रवक्ता र झूट बोल्नमा माहिर स्क्वीलरले यी नियमहरूलाई बदल्न लागेको थियो ।
स्क्वीलर सधैं नेपोलियनको हरेक गलत कामलाई सही ठहर्याउँथ्यो । सुँगुरहरूले मि. जोन्सको घरमा रहन शुरु गरेपछि जनावरहरूलाई ‘कुनै पनि जनावर विस्तरामा सुत्नेछैन’ भन्ने ‘कमाण्डमेन्ट’ को स्मरण भयो । तर स्क्वीलरले सम्झायो, विस्तराको अर्थ च्यादर र तकिया हो, विस्तरा स्वयं होइन । र, सुँगुरहरूले आफ्नो बुद्धि कायम राख्नको लागि विस्तरामा सुत्नु आवश्यक हुन्छ । यो केवल शब्दको खेल मात्र थियो ।
त्यसपछि सुँगुरहरूले मदिरा पिउन शुरु गरे तर ‘कमाण्डमेन्ट’ का अनुसार कुनै पनि जनावरले मदिरा नपिउने भन्ने थियो । तर स्क्विलरले यसलाई बदलेर कुनै पनि जनावरले अत्याधिक मदिरा पिउनेछैन बनाइदियो । जुन नियम अनुसार उनीहरूको समुदाय टिकेको थियो, तिनै नियमहरूलाई उनीहरूको सुविधा अनुसार परिवर्तित गरिरहिएको थियो ।
जनावरहरूले यो कुरालाई सूचित गरे । तर स्क्वीलरका तर्क र कुकुरहरूको भयको कारण उनीहरू केही पनि भन्न सक्दैनथे । स्क्वीलर सधैं नेपालियन सही छन् र यदि सुँगुरहरू कमजोर भए भने मि. जोन्स फर्केर आउनेछ भन्ने गर्दथ्यो । यो तर्क यति शक्तिशाली थियो कि जनावर भयको कारणले चुपचाप रहन्थे । उनीहरूलाई लाग्थ्यो, मि. जोन्स फिर्ता आउनु सबभन्दा खराब हुनेछ । तर उनीहरू एउटा अर्को प्रकारको दासताको शिकार भइरहेका थिए ।
नेपोलियनको सत्ता बलियो हुँदै जाँदा जनावरहरूको जिन्दगी अझ मुश्किल हुँदै गयो । विण्डमिलको निर्माण शुरु भएको थियो र यो एक धेरै महान काम थियो । बक्सरले अझ बढी मेहनत गर्यो । ऊ विहानदेखि बेलुकैसम्म काम गर्दथ्यो । उसलाई लाग्थ्यो, म फार्मको लागि केही राम्रो काम गरिरहेको छु र यो मेरो जिम्मेवारी हो ।
अरु जनावरहरू पनि धेरै मेहनत गर्थे तर उनीहरूको खाना कम हुँदै गइरहेको थियो । अर्कोतिर सुँगुरहरू केही पनि काम गर्दैनथे । उनीहरू केवल आदेश दिन्थे र आफ्नो खाना अझ धेरै बढाउँदै गइरहेका थिए । उनीहरूले मानिससँग व्यापार गर्ने काम पनि शुरु गरेका थिए, जसलाई पहिले मनाही गरिएको थियो । यसरी बनाइएका सबै नियम अब एक-एक गरी समाप्त गरिंदै थियो ।
स्क्वीलर सधैं बताउँथ्यो, फार्मको उत्पादन बढिरहेको छ र सबै जनावर पहिलेभन्दा बढी खुशी छन् । जबकि वास्तविकता यसको ठीक उल्टो थियो । जनावर सधैं भोकै रहन्थे र धेरै मेहनत गर्थे । उनीहरूले विरोध गर्ने प्रयास गरे तर नेपोलियनका कुकुरहरूले उनीहरूलाई तुरुन्तै भयभीत बनाइदिन्थे । अब नेपोलियन कहिल्यै पनि आम जनावरहरूको सामुन्ने आउँदैनथ्यो । ऊ केवल एउटा सानो घेरामा रहन्थ्यो र उसका सम्पूर्ण सन्देश स्क्वीलरको माध्यमबाट आउँथे । यो एउटा शासकको आफ्नो प्रजबाट टाढा हुने सङ्केत थियो ।
यो सबै देख्दा के लागिरहेको थियो भने तिनीहरू विस्तारै-विस्तारै एउटा यस्तो समाजमा ढलिरहेका थिए, जहाँ केही धेरै शक्तिशाली थिए र बाँकी सबै केवल तिनीहरूका दास थिए ।
शब्दको जादू र सत्यताको भ्रम
‘एनिमल फार्म’ मा जसरी चीजहरू बदलिरहेका थिए, त्यो वास्तवमै चिन्ताजनक थियो । सुँगुर, खासगरी नेपोलियन र उसको दाहिने हात स्क्वीलर आफ्नो सत्तालाई बलियो बनाउनको लागि नयाँ-नयाँ तरीका अपनाइरहेका थिए । अब उनीहरू केवल शक्ति र भयको मात्र प्रयोग गरिरहेका थिएनन्, बरु उनीहरूले एउटा धेरै खतर्नाक शब्दहरूको हतियारको प्रयोग गर्न शुरु गरेका थिए ।
शब्द धेरै शक्तिशाली हुन्छन् । तिनीहरूलाई हसाउँन, रुवाउँन, सत्य-झूट देखाउन र सम्पूर्ण तवरले गुमराहमा पनि पार्न सक्छन् । स्क्वीलर एक मुख्य प्रचारक थियो । ऊ हरेक कुरालाई यसरी घुमाइफिराइकन प्रस्तुत गर्दथ्यो कि जनावर सजिलैसँग भ्रमित हुन्थे । फार्ममा खाना कम हुने वा काम बढी हुने जस्ता कुनै गलत काम हुँदा स्क्वीलर सधैं स्नोबललाई दोषी ठहर्याउँथ्यो । ऊ भन्थ्यो, स्नोबलले गोप्य रूपले फार्मलाई नोक्सान पुर्याइरहेको छ र मि. जोन्ससँग मिलेको छ ।
स्क्वीलरले स्नोबलको छविलाई पूर्ण रूपले एक खलनायकको रूपमा बदलिदिएको थियो । उसको दावी अनुसार स्नोबल कहिल्यै पनि बहादुर थिएन र उसले लडाइँमा कायरता देखाएको थियो । जबकि वास्तविकता के थियो भने स्नोबलले ‘ब्याटल अफ काउशेड’ मा बहादुरीपूर्वक सङ्घर्ष गरेको थियो । स्क्वीलरका कुराहरूमा यति दम थियो कि स्वयं त्यति धेरै शिक्षित नभएका र स्मरण शक्ति कमजोर भएका जनावरहरू सजिलैसँग उसका कुरामा आउँथे । उनीहरूलाई सधैं बताइन्थ्यो, नेपोलियन नै एक मात्र नेता हो, जसले उनीहरूलाई मि. जोन्स र स्नोबल जस्ता दुश्मनहरूबाट बचाउन सक्छ ।
स्क्वीलरले लगातार देखाउने सहारा वास्तवमा गलत हुन्थे । ऊ फार्मको उत्पादन बढिरहेको र जनावर पहिलेभन्दा बढी समृद्ध छन् भन्ने दावी गर्दथ्यो । उसका अनुसार जनावरहरूलाई कम खाना प्राप्त भए पनि यो उनीहरूको भलाईको लागि हो र यो सबै क्रान्तिको लागि आवश्यक छ ।
जनावरहरूलाई भोक लाग्दथ्यो । उनीहरू थकित थिए । तर जब स्क्वीलरले ठूला-ठूला कुरा गर्दथ्यो र उनीहरूलाई मि. जोन्स फिर्ता आउने भय देखाउँथ्यो, तब उनीहरू सबै कुरा मान्थे । उनीहरू सोच्थे, कम्तीमा हामी स्वतन्त्र त छौं र मि. जोन्सकोमा भन्दा त उत्कृष्ट नै छौं । तर यो उनीहरूको दिमागमा फैल्याइरहिएको एक भ्रम थियो, ताकि उनीहरूले आफ्नो वास्तविक स्थितिलाई बुझ्न नसकून् ।
शब्दहरूको खेल केवल स्नोबललाई खराबी देखाउन मात्र सीमित थिएन । सुँगुरहरूले ‘सेभेन कमाण्डमेन्ट्स’ लाई पनि आफ्नो मर्जीले बदल्न शुरु गरिदिएका थिए । क्रान्तिका मूल सिद्धान्त रहेका यी ‘कमाण्डमेन्ट्स’ अब एक-एक गर्दै मेटाइँदै थियो वा तिनीहरूमा परिवर्तन गरिरहिएको थियो । सुँगुरहरूले मि. जोन्सको घरमा बस्न शुरु गरेपछि ‘कुनै जनावर विस्तरामा सुत्नेछैन’ भन्ने कमाण्डमेन्टलाई बदलेर ‘कुनै जनावर च्यादरसहित विस्तरामा सुत्नेछैन’ बनाइयो । त्यसपछि सुँगुरहरूले मदिरा पिउन शुरु गरेपछि ‘कुनै जनावर मदिरा पिउनेछैन’ भन्ने कमाण्डमेन्टलाई बदलेर ‘कुनै जनावरले अत्याधिक मदिरा पिउनेछैन’ बनाइयो ।
यसरी एकै नियमलाई आफ्नो सुविधा अनुसार यति सजिलैसँग बदलियो । जनावरहरूलाई यो कुरा अचम्म लाग्थ्यो । तर स्क्वीलर सधैं राति लुकेर पर्खालमा परिवर्तन गरिदिन्थ्यो र विहान उनीहरूलाई स्मरणशक्ति कमजोर भएको वा उनीहरूले ‘कमाण्डमेन्ट्स’ लाई गलत स्मरण गरेको भनेर मनाइन्थ्यो । ऊ सधैं जनावरहरूलाई सोध्थ्यो, के तिमीहरू वास्तवमै मि. जोन्सलाई पुनः बोलाउन चाहन्छौं ? र, यो प्रश्न यति शक्तिशाली थियो कि जनावरहरू भयभीत भएर चुपचाप रहन्थे । यो एउटा यस्तो चाल थियो, जसले जनावरहरूलाई सधैं भ्रममा राखियो ।उनीहरूलाई के विश्वास दिलाइयो भने जे भइरहेको छ, त्यो उनीहरूको भलाईको लागि हो र नेपोलियन सधैं सही छ ।
यो सम्पूर्ण खेलमा मेहनती घोडा बक्सर सबभन्दा बढी प्रभावित भयो । उसलाई स्नोबल गद्दार थियो भन्ने कुरा बताइयो । र, ऊ नेपोलियनमाथि पूर्ण रूपमा विश्वास गर्थ्यो । उसको नारा थियो, नेपोलियन सधैं सही छन् र म अझ बढी मेहनत गर्नेछु । ऊ यति धेरै मेहनत गर्दथ्यो कि ऊसँग सोच्ने समय नै हुँदैनथ्यो ।
बक्सरको बफादारी र मेहनतको सुँगुरहरूले पूर्ण रूपमा फाइदा उठाए । उसले हरेक झूटा कुरालाई मान्दथ्यो, किनकि उसलाई नेपोलियनले फार्मको लागि सबभन्दा राम्रो काम गरिरहेको छ भन्ने विश्वास थियो । आफूलाई विस्तारै निस्कनै नसकिने जालमा फसाइरहिएको छ भन्ने कुरा उसलाई थाहा थिएन ।
स्क्वीलरको भाषणबाजी र कुकुरहरूको भय दुवै मिलेर जनावरहरूलाई मानसिक रूपले यति दास बनाइदिएको थिए कि उनीहरूले साँचो र झूटोको बीचमा फरक छुट्याउनसमेत भुलिसकेका थिए । उनीहरूलाई आफू स्वतन्त्र छौं भन्ने लागिरहेको थियो तर वास्तविकतामा उनीहरू पहिलेभन्दा पनि खराब अवस्थामा दासतातिर बढिरहेका थिए । स्वतन्त्रताको नाममा नै उनीहरूलाई सबभन्दा ठूलो दासतामा धकेलिंदै थियो ।
रक्तपातपूर्ण रात र बढ्दो तानाशाही
‘एनिमल फार्म’ मा नेपोलियनको तानाशाही अब आफ्नो चरम स्थितिमा पुग्नलागेको थियो । शब्दहरूको जादू र सत्यलाई बदलेपछि नेपोलियनले अब भयलाई आफ्नो सबभन्दा ठूलो हतियार बनाएको थियो । सत्तामा बसेका व्यक्तिले भयको प्रयोग गर्दा त्यसको परिणाम भयङ्कर हुन्छ । फार्ममा अब एक भयको माहौल छाउन लागेको थियो । नेपोलियनले आफ्नो सत्तालाई अझ बलियो बनाउनको लागि एक भयानक तरीका अपनायो । उसले विरोधीहरूको अन्त्य गर्न शुरु गरिदियो । एक दिन उसले अचानक केही जनावरहरूलाई जम्मा गर्यो र उनीहरूमाथि स्नोबलसँगै षड्यन्त्र रचेको आरोप लगाइयो । यी जनावरले पहिले कुनैबेला नेपोलियनको विरुद्धमा केही बोलेका थिए वा उनीहरूको मनमा थोरै असहमति थियो । नेपोलियनका खुङ्खार कुकुरहरू उनीहरूमाथि झम्टिए र उनीहरूलाई निर्दयीतापूर्वक मारियो । यसरी आफ्नै साथीहरूलाई आफ्नो आँखाको सामुन्ने मारियो ।
यो एउटा यस्तो भयानक दृश्य थियो, जसले फार्ममा रहने हरेक जनावरलाई हल्लाइदियो । रगतले लत्पतिएको जमिन र कुकुरहरूको घुर्घुराहट थियो । यो केवल एउटा चेतावनी मात्र थिएन, यो नेपोलियनको विरुद्ध जाने हिम्मत नगर्नु भन्ने एक सन्देश थियो । हरेक जनावर भयले काँपिरहेका थिए । यो सबै कुरा किन भइरहेको छ भन्ने कुरा उनीहरूले बुझ्न सकिरहेका थिएनन् ।
यो एउटा यस्तो रात थियो, जसले उनीहरूको सम्पूर्ण आशालाई समाप्त गरिदिएको थियो र उनीहरूलाई पूर्ण रूपले भयभीत गरिदियो । यो घटनापछि नेपोलियन अझ बढी निरङ्कुश भयो । उसले अब स्वयंलाई सबै जनावरभन्दा माथि मानेको थियो । ऊ कहिल्यै पनि आम जनावरसँग बस्दैनथ्यो र उसलाई नेता नेपोलियन भनेर बोलाइन्थ्यो । उसको लागि गीत र कविताहरू लेखिन लागियो, जसले उसको महानताको बयान गर्दथे ।
स्क्वीलर सबभन्दा अगाडि थियो । ऊ लगातार नेपोलियनको तारिफ गरिरहन्थ्यो र हरेक जनावरलाई नेपोलियन नै उनीहरूको एकमात्र उद्दारकर्ता हो भन्ने विश्वास दिलाउनै कोशिस गरिरहन्थ्यो । उसका अनुसार नेपोलियनका सम्पूर्ण निर्णय उनीहरूको भलाईको लागि हो, भलै उनीहरूले बुझ्न नसकून् ।
जनावरहरूलाई लगातर फार्ममा जासूसी भइरहेको छ र स्नोबलले अझै पनि फार्मलाई नोक्सान पुर्याउने प्रयास गरिरहेको छ भन्ने कुरा बताइन्थ्यो । यो कुरा जनावरहरूले आफ्नो मानिसहरूमाथि शङ्का गरून् र कहिल्यै एकसाथ मिलेर विरोध गर्न नसकून् भन्ने बहाना मात्र थियो । भय र अविश्वासको यो माहौल यति गहिरो थियो कि जनावर अब एक-अर्कोमाथि पनि शङ्का गर्न लागेका थिए । कसैले कोहीमाथि भरोसा गर्न सक्दैनथ्यो । किनकि उनीहरूलाई कतै कसैले नेपोलियनको विरुद्ध बोल्दै गरेको सुन्दछ भन्ने भय थियो। यो एक्लोपन र भय उनीहरूको भित्रैसम्म पुगेको थियो ।
यो बढ्दो तानाशाहीको सबभन्दा ठूलो प्रमाण ‘सेभेन कमाण्डमेन्ट्स’ लाई पूर्ण रूपले बदल्नु थियो ।’कुनै जनावरले अन्य जनावरलाई मार्नेछैन’ भन्ने कमाण्डमेन्टलाई बदलेर ‘कुनै जनावरले अन्य जनावरलाई बिनाकारण मार्नेछैन’ बनाइएको थियो । बिनाकारण जस्तो सानो शब्दले सम्पूर्ण नियमको अर्थ नै बदलिदिएको थियो ।
अब नेपोलियनसँग आफ्ना विरोधीहरूलाई मार्ने एक कानूनी बहाना थियो । र, अन्तिममा भएको सबभन्दा भयानक कुरा के थियो भने सबै सात ‘कमाण्डमेन्ट्स’ लाई हटाइयो र तिनीहरूको ठाउँमा केवल एउटा मात्र ‘कमाण्डमेन्ट’ लेखियो – ‘सबै जनावर बराबर छन् तर केही जनावर अरुभन्दा बढी बराबर छन् ।’ यसले क्रान्तिको सम्पूर्ण सार नै बदलिदियो । स्वतन्त्रता र समानताको सपना अब पूर्ण रूपले समाप्त भइसकेको थियो ।
जनावरहरूले अब बुझ्न लागेका थिए कि उनीहरू यस्तो जालमा फसेका छन्, जहाँबाट निक्लिनु असम्भव छ । उनीहरू अब मि. जोन्सको हातबाट स्वतन्त्र त भएका थिए तर अब उनीहरू आफ्नै साथी सुँगुरहरूको दास बनेका थिए । र, यो दासता शायद पहिलेको भन्दा पनि खराब थियो, किनकि यो स्वतन्त्रताको नाममा थोपरिएको थियो ।
सधैं बफादार र मेहनती रहेको बक्सर अब बयोवृद्ध र कमजोर भइरहेको थियो । उसले यति मेहनत गरेको थियो कि उसको फोक्सो खराब भएको थियो । एकदिन ऊ काम गर्दागर्दै ढल्यो । अन्य जनावरले मद्दत गर्ने प्रयास गर्दछन् । तर सुँगुर उसलाई शहर लगेर उपचार गर्ने कुरा गर्छन् । जनावर बक्सरलाई अस्पताल पठाइरहिएको छ भन्ने सोच्छन् तर बक्सरलाई एउटा कसाईको बाहनमा लगिन्छ । बेन्जामिन नामको एउटा बुद्धिमान गधाले बाहनमा लेखिएका शब्दहरूको अध्ययन गर्न सक्छ । उसले जनावरहरूलाई बताउँछ कि बक्सरलाई कसाईको माँसुको लागि पठाइरहिएको छ ।
यो सुनेर जनावरलाई ठूलो झट्का पुग्छ । जुन जनावरले आफ्नो फार्मको लागि सबै कुरा दियो, उसलाई अन्तमा धोका दिइयो । स्क्वीलर तुरुन्तै आउँछ र पुनः झूट बोल्छ – बक्सरलाई अस्पताल लगिएको थियो र ऊ शान्तिपूर्वक मर्यो । ऊ दावी गर्छ, बाहन त कसाईको थियो तर त्यसलाई अस्पतालले खरिद गरेको थियो । जनावर फेरि उसका कुरामा अल्झिन्छन्, किनकि उनीहरू भयभीत थिए र उनीहरूसँग सच्चाईलाई जाँज गर्ने कुनै साधन थिएन ।
बक्सरको मृत्यु सत्तावादी शासकले कसरी आफ्नो सबभन्दा बफादार समर्थकहरूको पनि प्रयोग गर्न सक्छन् र तिनीहरूको कुनै काम नहुँदा फ्याँकिदिन्छन् भन्ने कुराको प्रतीक थियो । यो घटना ‘एनिमल फार्म’ को सबभन्दा दर्दनाक घटनाहरूमध्ये एक थियो । यसले के देखाउँछ भने सत्ता बेलगाम भएपछि त्यसले जोकसैको पनि ज्यान लिन सक्छ; कुनै पनि सम्बन्धलाई समाप्त गर्न सक्छ र कुनै पनि आदर्शलाई कुल्चिन सक्छ ।
समानताको अन्त
‘एनिमल फार्म’ मा अब नेपोलियनको सत्ता पूर्ण रूपमा स्थापित भइसकेको थियो । बक्सरको मृत्युपछि जनावरहरूको बाँकी रहेको आशा पनि समाप्त भएको थियो । अब आफूलाई धोका दिइएको छ भन्ने कुरा उनीहरूले थाहा पाइसकेका थिए । तर तिनीहरू केही पनि गर्नमा असमर्थ थिए ।
वर्ष व्यतीत हुँदै गए र फार्ममा केवल केही पुराना जनावर मात्र बचेका थिए, जसले क्रान्तिलाई देखेका थिए । बाँकी सबै या त मरिसकेका थिए या उनीहरूलाई बेचिसकिएको थियो या तिनीहरू यति साना थिए कि उनीहरूलाई केही पनि थाहा नै थिएन । उनीहरूलाई त ‘सेभेन कमाण्डमेन्ट्स’ कस्ता थिए वा क्रान्तिको मूल उद्देश्य के थियो भन्ने कुरा पनि थाहा थिएन ।
सुँगुरले अब पूर्ण रूपमा मानिसको जस्तै व्यवहार गर्न लागेका थिए । उनीहरू दुई खुट्टाले हिड्थे, बस्त्र पहिरिन्थे, मदिरा पिउँथे र मि. जोन्सको घरमा बस्थे । उनीहरूले मानिसकै जसरी आफ्ना बच्चाहरूलाई स्कूल पठाउन शुरु गरिदिएका थिए । र, उनीहरू ती जनावरहरूमाथि हुकुम चलाउँथे, जो अझै पनि खेतमा काम गर्थे ।
सबभन्दा भयानक कुरा के थियो भने जब जनावर पर्खालमा लेखिएको ‘सबै जनावर समान छन् तर केही जनावर अरुभन्दा बढी समान छन्’ भन्ने एक मात्र कमाण्डमेन्टलाई हेर्थे, तब उनीहरूलाई वास्तवमा यही नै सधैंबाट लेखिएको थियो भन्ने लाग्थ्यो । उनीहरूको स्मरणशक्तिलाई यति कमजोर बनाइएको थियो कि उनीहरू साँचो र झूटोमा फरक छुट्याउन सक्दैनथे ।
एक साँझ फार्ममा एक विचित्र दृश्य देखियो । सुँगुरहरूले नेबर फार्मका मानिसहरूलाई खाना खान बोलाएका थिए । मानिस र सुँगुरहरूको बीचमा एउटा बैठक चलिरहेको थियो । र, बयोवृद्ध गधा बेन्जामिन र केही जनावरले सुँगुर र मानिस आपसमा तास खेलिरहेका र हाँसिरहेका देखे । जसले क्रान्ति शुरू गरेका थिए, जसले मानिसलाई दुश्मन बताएका थिए, तिनै अब मानिससँग बसेर मित्रताको हात बढाइरहेका थिए । यो एउटा यस्तो विश्वासघात थियो, जसले जनावरहरूको हृदय भङ्ग गरिदियो । उनीहरूले झ्यालबाट हेर्दा देख्थे – सुँगुर र मानिस यति धेरै मिल्दाजुल्दा लागिरहेका थिए कि उनीहरूमा फरक छुट्याउनु मुश्किल भएको थियो ।
नेपोलियनले घोषणा गर्यो – फार्मको नाम पुनः ‘म्यानर फार्म’ राखिनेछ, जुन त्यसको मूल नाम थियो । उसले अबदेखि सुँगुर र मानिसको बीचमा राम्रो सम्बन्ध कामय हुनेछ र उनीहरूले एक-अर्कोको सम्मान गर्नेछन् भन्ने कुरा पनि गर्यो ।
यो देखेर जनावरहरूले आफू कहिल्यै स्वतन्त्र भएका थिएनौं, बरु हामीले केवल आफ्नो मालिकहरूलाई बदलेका थियौं भन्ने कुरा बुझे । उनीहरूले मि. जोन्सबाट मुक्ति पाएका थिए तर अब उनीहरू नेपोलियन र उसका सुँगुरहरूका दास थिए, जो पहिलेभन्दा पनि खराब थिए । उनीहरूको सम्पूर्ण मेहनत, सम्पूर्ण रगत-पसिना सबै बेकार भएको थियो । उनीहरूको जिन्दगी पहिले जस्तै थियो या शायद अझ बढी खराब ।
यो अन्तिम दृश्य ‘एनिमल फार्म’को सम्पूर्ण सन्देशको सार हो । जनावर झ्यालबाट भित्र हेर्दछन्; सुँगुर र मानिसका अनुहारलाई हेर्छन्, जुन अब एक-अर्कोसँग बिल्कुल मिल्दाजुल्दा छन् । उनीहरू यति धेरै घुलमिल भएका छन् कि कसैले पनि कुन सुँगुर र कुन मानिस हो भन्ने कुरा बताउन सक्दैन । यसले सत्ताको दुरुपयोगले कसरी आदर्शलाई नष्ट गरिदिन्छ र क्रान्तिलाई भ्रष्ट बनाइदिन्छ भन्ने कुरा बताउँछ । यसरी यो उपन्यासको अन्त हुन्छ ।
सन्दर्भ स्रोतहरू
https://literariness.org/2025/05/22/analysis-of-george-orwells-animal-farm/
https://www.scribd.com/document/613128099/Animal-farm-analysis
https://study.com/academy/lesson/orwells-animal-farm-and-1984-summary-and-themes.html
https://www.thebta.au/btaenglishassets/animal-farm—full-text-analysis/by-george-orwell
Orwell, George. “Preface to the Ukrainian Edition of Animal Farm.” 1947.
https://www.cliffsnotes.com/literature/a/animal-farm/book-summary
https://www.sparknotes.com/lit/animalfarm/summary/
Study and Research of various websites, blogs, online portals, youtube channels, etc.



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					 
				र यो पनि पढ्नुहोस्...
 
						विज्ञानको सीमा, समययात्रीको संघर्ष र भविष्यको भयानकता : ‘द टाइम मेशिन’
 
						 १४ कार्तिक २०८२, शुक्रबार
  
				१४ कार्तिक २०८२, शुक्रबार				

 




 
																	 
																	 
																	 
																	 
																	


