युद्ध

मूलः लुइगी फिरान्देलो
अनुवादः गोविन्द गिरी प्रेरणा

रातिको एक्सप्रेस गाडीमा जो यात्री रोमबाट आएका थिए, उनीहरूलाई बिहान नहुञ्जेल फेब्रियानोको एउटा सानो स्टेशनमा अडिनु प-यो। त्यहाँबाट उनीहरूले ‘लोकल’ गाडी समाउनु थियो।

बिहान भएपछि धूवाँ र यात्रीहरूले टनाटन भरिएको दोस्रो श्रेणीको एउटा डिब्बामा भयङ्‌कर ठूलो तर उदास महिलालाई कसैले घचेटेर भित्र पु-याइदियो मानौं कुनै गुण्टा फ्याँकिएको होस् । उसको पछाडि फूरूरू धूवाँ ओकल्दै एउटा मानिस भित्र पस्यो। त्यो त्यस महिलाको लोग्ने थियो । होचो कदको दुब्लो-पातलो, कमजोर देखिने उसको अनुहारमा मृत्युको जस्तो सेतो पोतिएको देखिन्थ्यो। उसका आँखा साना साना तर चम्किला थिए, जसमा सङ्‌कोच र बेचैनी एकसाथ लपेटिएको थियो। अन्तमा एक ठाउँमा बस्न पाइसकेपछि उसले सबै यात्रीहरूलाई नम्रतापूर्वक धन्यवाद दियो।

बल्ल आफ्नी श्रीमतीतिर फर्केर आफनो कोटको कठालो ठिक गर्दै भन्यो, “ठीकै त छ्यौ ?”

जवाफ, दिनुको साटो श्रीमतीले आफ्नो कोटको कठालो सोझ्याएर आँखासम्म माथि उठाई ।

“केही अप्ठ्यारो छ?” उसको लोग्नेले ओठमा उदासी भरिएको मुस्कान ल्याएर भन्यो । त्यति नै बेला उसलाई लाग्यो, उसकी श्रीमती सहानुभूतिको लागि योग्य छे। यो कुरा यात्रीहरूलाई बताउनु उसको कर्तव्य हो, किनभने युद्धले उसको एक्लो छोरो खोसेको छ । आफ्नो बीस वर्षे छोराका लागि उनीहरूले आफ्नो जिन्दगी न्यौछावर गरेका थिए र अब उसलाई भेट्‌न रोम जाँदै थिए, जहाँ उसलाई विद्यार्थीको रूपमा केही दिन बिताएर युद्धमा जानु थियो । उसलाई विश्वास दिलाइएको थियो, कमसे कम उसले ६ महिनासम्म युध्द मोर्चामा जानुपर्ने छैन। तर अहिले आएर अचानक एउटा तार आएको थियो, जसमा आफ्नो छोरा भेट्न उनीहरूलाई भनिएको थियो ।

उसकी श्रीमती अत्यन्त बेचैन थिई। ऊ मानौं तड्पिरहेकी थिई र कहिले कहिले जङ्‌गली जनावरझैं छटपटाएर कन्दै थिई । उसलाई थाहा थियो, उसको लोग्नेको कुराले वरिपरि बस्ने कसैको पनि मनमा सहानुभूति उत्पन्न गरिरहेको छैन, किनभने तिनीहरूमध्ये अधिकांशको हालत त्यस्तै थियो, जस्तो खुद उनीहरूको थियो । तिनीहरूमध्ये एकजना, जसले विशेष ध्यानपूर्वक उसको लोग्नेको कुरा सुनिरहेको थियो, बोल्यो- “तिमीले ईश्वरलाई यसकारण धन्यवाद देऊ कि तिम्रो छोरा बल्ल अब मोर्चामा जाँदैछ । मेरो छोरा त युध्द शुरू हुनेबित्तिकै मोर्चामा पठाइएको थियो । ऊ दुई दुई पल्ट घाइते भएर आई पनि सक्यो र अब फेरि मोर्चामा गइसकेको छ ।”

“मेरा दुई छोरा र तीन भतिजा मोर्चामा गएका छन्,” एउटा यात्रीले भन्यो ।

“तर हाम्रो त एक्लो छोरा हो नि?” त्यस आइ‌माईको लोग्नेले भन्यो ।

“यसले के फरक पर्छ ? एक्लो छोरो अनावश्यक लाडप्यारले खराब पनि त हुनसक्छ ! तर फेरि यदि तपाईंका दुई छोरा भएका भए, उसलाई कम माया गर्नुहुन्थ्यो त ! प्रेमलाई रोटीझैं टुक्रा पार्न सकिन्न महाशय, जुन सबै सन्तान‌लाई बराबर बाँड्‌न सकियोस् ! एउटा बाबुले बिना भेदभाव आफ्ना सबै सन्तानलाई स्नेह गर्दछ, चाहे उसको सन्तान एउटा होस्, चाहे दशवटा । र यतिखेर मलाई दुई दुईवटा छोराको दुःख छ । यसको मतलब यो होइन कि मेरो दुःख तपाईंको दुःख भन्दा आधा छ, साँच्चै भन्ने हो भने त तपाईंको दुःख भन्दा दोब्बर छ ।”

“हो, तपाईंले ठीक भन्नु भयो,” त्यस आइ‌माईको लोग्नेले कुँढिएर भन्यो, “तर मानौं एउटा बाउको दुई वटा छोरा दुवै मोर्चामा गएका छन् । यदि तीमध्ये एउटा मारियो भने पनि एउटा त बाँकी रहन्छ, जसलाई हेरेर बाउआमाले कुनै किसिमले मन बुझाउन सक्छन् !”

“हो!” अर्कोले झोंक्किएर भन्यो, “एउटा छोरा उसलाई मन बुझाउन काफी हुन्छ तर सँगै त्यस छोरा‌को लागि बाबु पनि त बाँच्नु प-यो। यदि कसैको एक्लो छोरा मारियो भने त बाउ चाहिँले मरे पनि त बाटो खुल्ला हुन्छ, आफ्नो दुःखबाट छुटकारा पाउन सक्छ । दुईमध्ये कुन बाउको हालत खराब होला?”

“कस्तो मूर्खता हो यो?” एउटा यात्रीले भन्यो ।

ऊ स्वाँ स्वाँ गर्दै थियो । उसको फुलिरहेको आँखामा यस्तो देखिन्थ्यो मानौं उसको हृदयबाट हिंसा फुट्‌न लागिरहेछ ।

“कस्तो मूर्खता हो यो?” उसले फेरि भन्यो । ऊ आफ्नो हातले मुख छोप्ने कोशिश गर्दै थियो ताकि आफ्ना फुक्लेका दुई दाँत छोप्न सकियोस् । “कस्तो मूर्खता हो यो, के हामी आफ्नो स्वार्थका लागि नै बच्चा जन्माउँछौँ ?”

अन्य यात्रीहरूले दुःखी दृष्टिले उसलाई हेरे। त्यो यात्री जसको छोरा युध्द शुरू हुनेबित्तिकै मोर्चामा गएको थियो, उसले भन्यो, “तिमीले ठीक भन्यौ, हाम्रा सन्तान हाम्रा होइनन्, ती हामा राष्ट्रका सन्तान हुन् ।”

“कस्तो मूर्खता हो यो ! आफ्नो बालकलाई जन्म दिने समयमा हामी आफ्नो देशको बारेमा सोच्छौं? हाम्रा बच्चा यसकारण जन्मन्छन् कि उनीहरुलाई जन्मनु छ र जब उनीहरू बीस वर्षका हुन्छन्, त्यतिबेला ठीक त्यस्ता देखिन्छन् जस्तो हामी बीस वर्षको उमेरमा थियौं ।”

त्यो मोटो मानिसले फेरि भन्न शुरू ग-यो, “जब हाम्रा बच्चा बीस वर्षका हुन्छन्, त हामी उनका भावनाका बारेमा किन नसोच्ने ? के यो स्वाभाविक हैन कि हामी त्यस उमेरमा आफ्नो देशको बारेमा सोच्थ्यौं? म असल सन्तानको बारेमा भन्दैछु । र, देशप्रेम बाउआमाको प्रेमभन्दा बढी हुँदैन । के यो स्वाभाविक हैन कि तिनीहरूले हामी बूढो भएको सोचून् र हामीलाई घरै बस्नु पर्ने होस् । यदि हाम्रो राष्ट्रको केही महत्त्व छ, यदि हाम्रो देश हाम्रो लागि रोटीझैं स्वाभाविक आवश्यक छ, जसलाई हामी यसकारण खान्छौं कि हामी भोकै मर्न नपरोस्, त कसै न कसैले त्यसको रक्षाका लागि अघि बढ्‌नै पर्दछ । र, हाम्रा छोरा बीस वर्षको भएपछि त्यसको रक्षाका लागि अघि बढ्‌छन् र उनीहरू चाहन्छन्, हामी आँशू नखसालौं किनभने मर्नु उनीहरूको लागि खुशीको कुरा हो, म असल सन्तान‌को बारेमा भन्दैछु । अब यदि कोही आफ्नो कम उमेरमै खुशीले मर्छन् र जीवनको घृणितपनबाट, दिक्दारीबाट, तुच्छताबाट र निराशाबाट मजासँग जोगिन्छ भने हामीलाई अरु के चाहियो ? हरकोहीले रुवाबासी बन्द गर्नुपर्छ, हरकोही खुशी हुनुपर्छ जस्तो कि म छु…।”

“बिलकुल ठीक! बिलकूल ठीक !” सबै ऊसँग सहमत भए ।

त्यो आइमाई जो एउटा सामानको पोको झैं कुनामा बसिरहेकी थिई, उ चुपचाप सुनिरहेकी थिई । आफ्नो लोग्ने र अन्य व्यक्तिहरूको कुरामा सहानुभूति खोज्ने प्रयास गर्दै थिई ताकि त्यसबाट उसको असीम दुःखमा सान्त्वना पाउन सकियोस् तर उसको दुःखमा कसैले साथ नदिएको देखेर उसको दुःख झन् बढी भएको अनुभव भयो।

तर अब त्यो यात्रीको कुरा सुनेर उसलाई आश्चर्य लाग्यो र हे-या हे-यै भई । उसले सोची – वास्तवमा उनीहरूको कुनै दोष छैन र यो सोच्नु पनि गलत हो कि उसलाई तिनीहरूले बुझ्न सकेनन् । वास्तवमा दोष उसको आफ्नै थियो, किनभने ऊ त्यो स्तरमा पुग्नै सकेकी थिइन । आमाहरूले, बाबुहरूले रुँदै नरोई आफ्ना छोराहरूलाई युध्दमा मात्र होइन, मृत्युको मुखमा पनि धकेलिदिएका थिए ।

उसले मुण्टो उठाई । अलिकति मोडिई र त्यो मोटेको कुरा ध्यान दिएर सुन्न थाली जो बताउँदै थियो, उसको छोरो कसरी एउटा बहादुरीको मृत्यु म-यो र उसले आफ्नो बादशाह र राष्ट्र‌को लागि खुशीसाथ जीवन अर्पण ग-यो ! तब त्यस आइमाईलाई लाग्यो, ऊ त्यस दुनियाँबाट कति टाढा पुगेकी थिई । उसले यो देखेर अझ बढ़ी प्रसन्न भई कि सबै यात्री त्यो बहादुर पितालाई बधाई दिंदै थिए जो शान्तपूर्वक आफ्नो छोराको मृत्युको बारेमा बताइरहेथ्यो ।
र अचानक मानौं उसले अहिलेसम्म केही सुन्दै सुनेकी छैन झैं अथवा सपनाबाट अचानक ब्युझे झैं त्यस आइमाईले उसलाई सोधी, “के त्यसो भए तिम्रो छोरा साँच्चै मारिएको हो त ?

सबैले उसलाई क्वारस्वारती हेरे। बूढो मानिसले पनि उसलाई हे-यो। उसका ठूला ठूला आँशूले भरिएर बाहिर निस्किएका आँखा एक टक लगाएर उसलाई हेर्न लागे । प्रत्युत्तरमा उसले केही भन्न खोज्यो तर शब्द निस्कनै सकेन । उसले एकनाशले हेरिरह्यो । र, त्यति नै बेला मानौं त्यो प्रश्नको बारेमा सोच्दै उसलाई अचानक यस्तो लाग्यो कि उसको छोरा मारिइसक्यो ।… सधैं सधैंको लागि टाढा भै सक्यो । एकाएक उसको अनुहार खुम्चिएर भयङ्‌करसँग विकृत भयो र आफ्नो खल्तीबाट रुमाल निकालेर कोक्किई कोक्किई रून थाल्यो ।

जति प्रयत्न गर्दा पनि ऊ आफ्नो रुवाई रोक्न सकिरहेको थिएन ।
०००