प्रा. पीताम्बर शर्मा दाहालकृत महाकाव्य हो ‘जीवनयात्रा’ ।
काव्यकार पीताम्बर सर र मेरा बीचमा विशेष सम्बन्ध छ । विशेष सम्बन्ध भएका हुनाले म जति सतर्क भए पनि यस कृतिमाथि मेरो विवेचन एक पक्षीय पनि हुन सक्छ । हाम्रा बीच केही समानता केही असमानता छन् । हामी दुवैले त्रिभुवन विश्वविद्यालयको पद्मकन्या बहुमुखी क्याम्पसमा सँगै प्राध्यापन गरेका हौँ । पैत्रिक थलोका हिसाबमा हामी छिमेकी जिल्ला ओखलढुङ्गा र खोटाङका हौँ । हामी दुवैको सांस्कृतिक सामाजिक धरातल एउटै हो । दुवैले प्राध्यापन पेसाबाट स्वैच्छिक अवकाश लिएका हौँ । थोरबहुत दुवै जना साहित्य साधनामा लागेका छौँ । हामी दुवै राजनीतिबाट बिरक्तिएका छौँ ।
यसैगरी हामी बीच उमेरको असमानता छ । उहाँ छन्द खेलाउने शिल्पी हुनुहुन्छ । म छन्दमा भुत्ते छु । उहाँ संस्कृत तथा नेपालीमा ज्ञानसागर बगाउन सक्नुहुन्छ । म नेपाली भाषाको गद्यमा मात्र कनीकुथी कन्न सक्छु । उहाँ वैचारिक रूपले प्रजातन्त्रवादी वा नेपाली काङ्ग्रेससँग सामीप्य राख्नु हुन्थ्यो, म वामपन्थी थिएँ । तर यो प्रसङ्ग समानता असमानता केलाउने होइन, बरु हामी यति बेला गहिरो दोस्तीयारीमा छौँ । त्यसैको प्रतिफल हो यो मेरो आलेख । मेरा आफ्ना दृष्टिविम्बमा यो महाकाव्यको परख नै कृतिको अभिध्येय हो ।
काव्यकार पीताम्बर दाहालको जन्म ओखलढुङ्गा, प्राप्चामा विसं १९९५ मा भयो । जिन्दगीका जँघारलाई जस्केलाबाट जप्दै÷नाप्दै काठमाडौँ पुगी संस्कृतमा साहित्याचार्य र नेपाली विषयमा एमए गर्न भ्याउनुभयो । यसकारण पनि उहाँ शास्त्रीय छन्दका पारखी हुनुहुन्छ ।
उहाँको व्यक्तित्व मूलतः तीन प्रकारको देखिन्छ । प्रथमतः उहाँ छन्दसारथी, काव्यसारथी तथा भाषाका खेलाडी हुनुहुन्छ । यस कुराको पुष्टिका लागि म यसै कृतिका भूमिकाकार प्राडा वासुदेव त्रिपाठीको ‘कवि पीताम्बर दाहाल सारस्वत कवि हुनुहुन्छ’ भन्ने लेखाइलाई सापट लिन्छु । म विश्वस्त छु कि उहाँ प्रज्ञाचक्षुका चुली हुनुहुन्छ । उहाँसँग व्यक्तिगत सम्पर्क भएका साहित्यिक व्यक्तित्वहरूलाई एकै निमेषमा यो कुरा विश्वास हुन्छ । वास्तवमा उहाँ सरस्वतीले जिह्वा, घट, चेत तथा स्वरमा बास गरेको स्रष्टा हुनुहुन्छ ।
उहाँको दोस्रो व्यक्तित्व भनेको प्राध्यापकीय व्यक्तित्व हो । प्राध्यापकीय दायित्वमा उहाँ अब्बल रहेको कुरा मैले प्रत्यक्ष अनुभूत गरेको छु । पद्मकन्याका कक्षा कोठामा होस् वा कक्षाइतर बैठकमा उहाँको भूमिका अब्बल हुन्थ्यो । क्याम्पसमा प्राज्ञिक वा अप्राज्ञिक कुनै पनि खाले समस्यामा पीताम्बर सरले के भन्नुहुन्छ भनेर सबैले मुख ताक्थे । यस कुराको म प्रत्यक्ष साक्षी छु ।
उहाँको तेस्रो व्यक्तित्व राजनीतिक कर्मी, विचारक, साधक र जीउज्यान नै राजनीतिलाई सुम्पने खालको हो । नेपाली काङ्ग्रेसको जरैदेखि आफैँ सरिक भएर ती अप्ठ्यारा दिनहरूमा निरङ्कुशताका विरुद्ध प्रजातन्त्रका लागि सक्रियताका साथ लागेर पटक पटक जेल जीवन बिताएको, जागीर खोसिएको, लघारिएको व्यक्ति हुनुहुन्छ । बदलामा केही लाभको पद नपाएको र पद नपाएकोमा कुनै गुनासो पनि नरहेको व्यक्ति हुनुहुन्छ ।
यो कुरा पुष्टिका लागि म भूमिकाकार प्रयागराज वाशिष्ठलाई उभ्याउँछु । भूमिकामा उल्लेख भएका वाशिष्ठका विचारमा ‘नेपाली राष्ट्रिय राजनीतिको प्रजातान्त्रिक, लोकतान्त्रिक धारबाट विद्यार्थी कालदेखि नै बहुदलीय प्रजातन्त्रको प्राप्ति, स्थापना, पुनर्स्थापना, सुदृढीकरणका लागि कायेनवाचा मनसा समर्पित व्यक्तित्व हुनुहुन्छ’ । यस कुराले उहाँको देशप्रतिको दायित्व, प्रजातन्त्रप्रतिको जब्बर सङ्घर्ष प्रष्ट हुन्छ । यसै कुरालाई अलि दह्रोसँग उठाउँदै भूमिकाकार प्रा पुरुषोत्तम दाहालले लेख्नुभएको छ ‘पीताम्बर दाहाल यदि प्राध्यापनको अल्झो र राजनीतिको महात्त्वाकाङ्क्षी मियोमा नलाग्नुभएको भए नेपाली साहित्यले कस्तो साहित्यकार पीताम्बर पाउने थियो होला’ ।
अमेरिकाको अस्टिनको सन्दर्भमा भन्ने हो भने पुराना र आफ्नो भाषासाहित्यको आफ्नो क्षेत्रमा ज्यादै ख्याति कमाएकामा प्रा पीताम्बर शर्मा दाहाल एक हुनुहुन्छ । कहिलेकाहीँ आफ्नै वरिपरि रहेका वस्तुको मूल्य थाहा हुन्न, यो कुरा मैले अस्टिनलाई भनेको हो ।
प्रा. पीताम्बर दाहालले फाट्टफुट्ट धेरै लेख्नुभयो । तर उहाँको व्यक्तित्वको कवित्वलाई उहाँको राजनीतिक निष्ठा र कर्मले ओझेलमा पारिदियो । त्यसैले कृति प्रकाशनको सवालमा समयले धेरै फन्को लाउनु परेको हो । उहाँको कृतित्वका बारेमा भूमिकाकार प्रयागराज वाशिष्ठका भनाइमा उहाँको रचित पहिलो कविता २०१४ तिरको ‘युवक’ हो । जाई र जुही नामक मुक्त लयको कविता २०२५ साल तिरै प्रकाशन भएको थियो । जेलजीवनमा लेखेका अनेकन कविता डायरीसँगै हरायो । त्यो डायरी हराउँदा लगभग २०६० सालसम्मका कविता स्वाहा भए । यो असावधानी र परिवेशले नेपाली कविता संसारमा धेरै कुरा गुम्यो ।
मूलतः २०६२ सालमा प्राध्यापन सेवाबाट निवृत्त भएपछि उहाँको काव्यसाधना प्रकट भएको र सुरक्षित भएको देखिन्छ । उहाँका प्रकाशित कृतिमा ‘फूल र अक्षता’ (कविता काव्यसङ्ग्रह – विसं २०६७), ‘स्नेहधारा’ (विशेष काव्य – २०६९), ‘मेरो मिर्मिरे सम्झना’ (संस्मरण – विसं २०७५), ‘प्रसाद र प्रसन्नता’ (कवितासङ्ग्रह– २०८०), र यो हातमा रहेको ‘जीवनयात्रा’ (महाकाव्य – विसं २०८१) छन् ।
यो महाकाव्य कृति ‘जीवनयात्रा’ मा २० ओटा छन्दको प्रयोग भएको छ । ती हुन् — अनुष्टुप, वसन्ततिलका, भुजङ्गप्रयात, मालिनी, वंशस्थ, द्रुतविलम्बित, शिखरिणी, उपेन्द्रबज्रा, इन्द्रवंशा, सुन्दरी÷वियोगिनी, शार्दूलविक्रीडित, पञ्चचामर, उपजाति, उपेन्द्रवज्रा, इन्द्रवज्रा, पृथ्वी, स्रग्धरा, मन्दाक्रान्ता, मञ्जुभाषिणी र स्रग्विणी । महाकाव्यमा एउटा नियम छ कि परिवेश परिवर्तन हुनेबित्तिकै छन्द पनि परिवर्तन गर्नुपर्छ । त्यसैले यस कृतिमा यति धेरै छन्द परिवर्तन भएका छन् । छन्द सिक्ने स्रष्टाका लागि यो सुन्दर कृति हो ।
यो महाकाव्य साझा प्रकाशनले विसं २०८१ मा प्रकाशन गरेको छ । कृतिमा विशिष्ट विद्वान प्राडा वासुदेव त्रिपाठीको ‘शुभाशंसा : ‘जीवनयात्रा’ महाकाव्यका स्रष्टा कवि पीताम्बर दाहालप्रति’ भन्ने शीर्षकमा २६ पृष्टको विशद भूमिका छ । यस भूमिकाको महत्त्व अन्तर्य नपढी बुझिँदैन । अर्का भूमिकाकार विशिष्ट विद्वान प्रयागराज वाशिष्ठको महाकाव्यकार पीताम्बर शर्मा दाहाल र उहाँको ‘जीवनयात्रा’ : एक संक्षिप्त चर्चा शीर्षकमा भाव प्रदायक भूमिका रहेको छ ।
यसैगरी प्रा पुरुषोत्तम दाहालको पीताम्बरीय ‘जीवनयात्रा’ महाकाव्य शीर्षकको भूमिकाले अहम महत्त्व राखेको छ । साझा प्रकाशनको प्रकाशकीय र महाकाव्यकारको भन्नैपर्ने कुरा समेटिएका छन् । यसरी हेर्दा समग्रमा ४७ पृष्टको भूमिकाखण्ड रहेको छ । पुस्तकमा भूमिका खण्ड ४७ पृष्ट र श्लोक पृष्ट १७९ पृष्ट गरी जम्मा २२६ पृष्ट रहेका छन् । ९८४ श्लोकहरू छन् । २० सर्ग छन् ।
पहिलो सर्गले बाल्यकालमा ओखलढुङ्गाबाट काठमाडौँको यात्रा शुरू गरेपछिको वर्णन गरेको छ । यात्रारम्भ, यात्राका साथीको वर्णन, ढाक्रेसँगको वास र प्रकृति वर्णन समेटिएको छ । दोस्रो सर्गमा बाटोमा पल्टनियाँ सिपाहीसँग भेट भएको र उसले नै नेपाल पुर्याइदिएको तथा सर्वप्रथम देखेको रानीपोखरीको वर्णन छ । तेस्रो सर्गमा टुँडीखेल, रानीपोखरी, कालमोचन, त्रिपुरेश्वरको वर्णन गरिएको छ । चौथोमा खिचापोखरीमा निशान बाका घरमा बस्ताका क्षणहरू उल्लेख छ । पाँचौमा धरहरामाथि चढेर दृश्यावलोकन गरेको अनुभूतिको चर्चा छ । छैटौँमा गाँसबासको कामचलाउ व्यवस्था तथा निशान बाको आत्मीयताप्रति सुदृष्टि छन् । सातौँमा विद्यालय भर्ना र दरबारी स्वभावको वर्णन गरिएको छ । आठौँमा गुरुजनको माया र गुरुहरूको परिचय भावनात्मक तरिकाले दिइएको छ । नवौँमा शहरको परिक्रमा र इन्द्रजात्राको वर्णन छ भने दसौँमा तीनधारा पाठशालाको बयान छ ।
एघार्रौँ सर्गमा गेहेन्द्र शमशेर, सेतो दरबार, रातो दरबार, फोहोरा दरबारको बयान सुललित तथा काव्यिक चेतले गरिएको छ । बाह्रौँमा सिंह दरबार निर्माणसँग सम्बन्धित कथाको रोमाञ्चक र सूचनामूलक बयान गरिएको छ । तेह्रौँमा टुँडीखेलको सन्दर्भ र गुरुमापा राक्षसको वर्णन छ । चैधौँमा पाटन, किराती, लिच्छवि र मल्ल राजवंशको योगदानको विस्तारमा चर्चा गरिएको छ । पन्ध्रौँमा ऋतु तथा दसैँ तिहार जस्ता चाडको वर्णन गरिएको छ । सोह्रौँमा पहाडी प्रकृतिको चित्रण, सत्रौँमा हिउँद र हिमवर्णन, अठारौँमा विद्यालयमा आफ्नो चाखको विषयको पढाइ गर्न पाउँदाको प्रफुल्ल अवस्थाको अनुभूति पस्किएको छ । उन्नाइसौँ सर्गमा दाजुभाइको विषय फरक भएकाले छुटानामाको यथार्थ कथा र बीसौँमा वंश परिचय दिइएको छ । यसरी महाकाव्य समापन गरिएको छ ।
यसरी उहाँका जीवनमा आएका जँघारहरू र ती छिमोलिएका परिघटनाहरू काव्यका माध्यमबाट व्यक्त भएका छन् ।
‘जीवनयात्रा’ महाकाव्य मूलतः काव्यकारको जीवनको यात्राको कैरन हो । ओखलढुङ्गाको पारिवारिक स्थिति, शिक्षा प्राप्त गर्ने मोह, काठमाडौँको पैदल यात्रा, बाटाको कैरन, प्रकृतिको कैरन, काठमाडौँको कहर, राणा दरबारमा भान्से, तीनधारा पाठशालाको विद्यार्थी, गुरुप्रतिको समर्पण, राजनीतिक वैचारिक धरोहरको निर्माण, जेलजीवनलगायत उहाँका व्यक्तिगत जीवनमा आएका उल्लेख्य सम्झनाहरू सँगेटिएका छन् । काव्यात्मक जीवनी नै हो यो कृति ।
वास्तवमा कृतिभित्र रहेका गुढ रहस्य, सन्देश, विषय र विशेषतालाई यसरी एकै ओख्लीमा हालेर मुस्ली चलाउन मिल्दैन । एकै नाङ्लामा निफन्न पनि सकिन्न । यस कृतिको रूप सौन्दर्यका बारेमा अलग अध्ययन हुनसक्छ । त्यो मेरो बुताको विषय होइन । शास्त्रीय साहित्यमा रसका विहङ्गम घेरा पाइन्छ । यो कृतिमा पनि विविध खाले रसमाधुर्य घोलिएको छ । रस माधुर्यका बारेमा अलग अध्ययन हुन सक्छ । तर म भने कृतिको बोक्रोभित्र मात्र सीमित हुन्छु । एउटा पाठकका दृष्टिविम्बमा कृति ‘जीवनयात्र’ कस्तो लाग्यो भन्ने कुराको अभिमत मात्र हो ।
यो कृति कस्तो छ भन्ने सन्दर्भमा त्रिपाठीको भूमिकाबाट ‘सुकुमार सुकोमल कवित्वको प्रवाह प्रायः अन्व्र्याप्त रहेको एक थरी मीठो काव्यिक आस्वादन’ भन्ने वाक्यलाई साभार लिन्छु । यस भनाइले कृतिको गुण पक्ष, दायित्व पक्ष, चिन्तन पक्ष तथा कथात्मक पक्षलाई उजागर गरेको छ । काव्यकारले यो कृतिमा गहनतम् पौरस्त्य दर्शन, सूत्र, सूक्ति तथा शृङ्गार पस्किएको बेहोरा सूचित गर्छु । अर्थात् धर्म, अर्थ, काम तथा मोक्ष जस्ता चार अद्वैतवादी पुरुषार्थले सुशोभित छ महाकाव्य ।
सर्वप्रथम त यो कृति जीवनवादी छ । जीवनका आरोह अवरोहका गुत्थीलाई फुकाउने प्रयत्न गरेको छ । यहाँ महाकाव्यभित्र दर्शाइएको जीवनदर्शनसँग सम्बन्धी केही श्लोकहरू दृष्टान्तका लागि प्रयोग गरिएको छ —
तर आनन्द छायाको किञ्चित् काल लिने न हो !
मन शान्त हुँदा मात्र सुखानन्द दिने न हो । (सर्ग—१, श्लोक—२५, पृष्ट—५, छन्द—अनुष्टुप)
मुस्कान मुखमा हुन्छ यथार्थ तर भिन्न छ ।
गफमा खुस छन् दोटै उनको मन खिन्न छ ।। (१:२८:५:अनुष्टुप)
सबै बाटो त मूलै हो प्रशस्तै हिँड्दछन् जन ।
उस्तै लाग्दछन् सबै बाटा कुन मूल भनौँ भन ।। (१:३१६:अनुष्टुप)
साह्रै छोटो छ संयोग वियोगान्त छ जीवन ।
अस्थायी वस्तुमा हाम्रो बन्छ आशक्त यो मन ।। (१:५९:११:अनुष्टुप)
जो दौडन्छ उही सदा विजयको झन्डा खडा गर्दछ । (२: १०:१४: शार्दूलविक्रीडित)
घुम्ती मोड अनेक पार गरिँदै यात्रा हुँदै जान्छ नि,
गौँडा उक्लन पर्छ जीवनभरै यात्रा न हो जिन्दगी ।। (२:२३:१७:शार्दूलविक्रीडित)
कथा सुन्छ आकृष्ट भै, जान्छ मूढ
बुझेको हुँदै हुन्न आधार गुढ ।। (२:५७:२२:भुजङ्गप्रयात)
सबै पुग्न टुप्पैतिर लम्किने छन्
कुनै फेदमै थाक्दछन् थन्किने छन् ।
कुनै खुट्किलामा पुगी अड्किने छन्
कुनै आत्तिई बीचमै पल्टिने छन् (५:२:४२:भुजङ्गप्रयात) ।।
के हो क्षणिक के दीर्घ—कालसम्म रहन्छ के ।
बुझ्ने प्रयत्न गर्दैन नित्य के हो अनित्य के ।। (५:१०:४३:अनुष्टुप)
माथि जाने सबैले नै तल ओर्लनु पर्दछ ।
वायुयान उडी फेरि धर्तीमै झर्नु पर्दछ ।। (५:१५:४४:अनुष्टुप)
समयमै छ समस्त चराचर
समयनिम्ति सबै छ बराबर ।
समय नित्य अनित्य छ यो जगत्
समय एक छ कारण यो फगत् ।। (१०:३३:८५:द्रुतविलम्बित)
झर्नाको महिमा के भो दहभित्र डुबेपछि ।
आफ्नो अस्तित्व अर्काकै स्वर्थभित्र गुमेपछि ।। (१७:१५:१७७:अनुष्टुप्)
पैले घुस्ने नरम विधिले भित्रिया मित्र बन्ने
बस्दै जाँदा सुहृदयजनको मूल आफैँ म भन्ने ।। (१७:२६:१४८:मन्दाक्रान्ता)
हाम्रो जीवनको सुदीर्घ पथमा गौँडा हजारौँ हुने
उक्ल्यो जे जति खुट्किला उति अझैँ हुन्छन् यहाँ लम्बिने ।। (१७:४५:१५१:शार्दूलविक्रीडित)
उचाल्दछ विचारैले विचारैले पछार्दछ ।
सूक्ष्म तीक्षण विचारैले सद्विवेक तिखार्दछ ।। (१८:४६:१५८:अनुष्टुप)
गाह्रै रहेछ रूचिको पथ पार गर्न
एक्लो भइन्छ दुखसागर पार तर्न ।
इच्छा मनुष्यगणका अधुरै रहन्छन्
अन्तव्र्यथा सकलले विरलै कहन्छन् ।। (१९:१०:१६८:वसन्ततिलका)
माथि उल्लिखित विविध सर्गका श्लोकहरूले जीवनका विविध पाटा केलाएका छन् । मानिसको चरित्र देखाएका छन् । मन, मुस्कान र सुखानन्दको सम्बन्ध केलाएका छन् । जीवनयात्रामा हिँड्दा मूल बाटो भनेरै हिँडिन्छ, तर जीवनको मूल बाटो कुन हो भन्ने अन्यौल सधैँ रहन्छ । गौँडाहरू हजारौँ हुन्छन् । खुट्किला धेरै हुन्छन् । तिनमा नउक्ली जिन्दगीलाई धर छैन । मानिसको मूढताको चित्रण गर्दै मानिस टुप्पातिर उक्लिन खोज्छन्, तर सबै मानिस टुप्पामा पुग्न सक्दैनन् भन्ने सूत्र व्यक्त भएको देखिन्छ । मानिस पहिले आफन्त बनेर पस्छ अनि छुरी चलाउँछ । यही कृतिमा अद्वैतवादी दर्शन नित्य र अनित्यको परिभाषा गरिएको छ । जीवनमा जति उडे पनि धरतीमा ओर्लनु नै छ भन्ने सन्देश प्रवाह गरिएको छ । मानिसलाई जोगाउने, उचाल्ने, पछार्ने सबै विचार नै हो । विचार स्वच्छ भयो भने मानिस सफल हुन्छ । फेरि यो संसारको भवसागरतिर दृष्टि दिइएको छ र मानिसले जति गरे पनि इच्छाहरू अधुरै छोडेर जानुपर्ने तथ्य पनि रहेको छ । संयोगात्मक जीवन अर्थात् सबै कुरा मिलेको जीवन छोटो छ र वियोगान्त जीवन अर्थात् नमिलेको जीवन लामो भएको तथ्य पाठकका सामू पस्किइएको छ ।
काव्यकार जीवनको चक्र बताउने क्रममा विद्रोही भइदिएको देख्न पाइन्छ । किनभने उहाँमा रहेको राजनीतिक चेतले समानता, स्वतन्त्रता खोजेको छ र नेपाली जनताको अन्यायका विरूद्ध नबोल्ने चरित्रलाई यसरी काव्यमार्फत् अभिव्यक्त गरिएको छ —
बोकायो जसले भारी उनका अन्धभक्त छन् ।। (१:५७:१०:अुनष्टुप)
यस्तै रहेछ भुवनैभर न्याय छैन,
अश्रान्त व्यस्त रहँदा पनि आय छैन ।
यौटा कमाउँछ मजा तर लिन्छ अर्को,
सामन्तको नजरमा सब भाग्य धर्को (७:३३:५७) ।।
काव्यकारले प्रयोग गरेको भाषा तिलस्मी, सुललित, सुसंशाधित र परिष्कृत देखिन्छ । काव्यभरि नेपाली ठेट भाषा, पूर्वेली आञ्चलिकता तथा संस्कृत भाषाका सुमधुर स्वर सुनिएका छन् । यस्तो प्रखर भाषाका माध्यमबाट काव्यकारले जुनजुन ठाउँको यात्रा गरेका छन्, तततत् ठाउँ हेर्दा आएको अनुभूतिलाई विशेष महत्त्व दिएर वर्णन गरेका छन् । दरवारिया स्वभावका बारेमा वर्णन छ । यसरी हेर्दा काव्यमा प्रयुक्त भाषा वर्णनात्मक छ । कृति पढिरहँदा तत्कालीन समाजको चित्र प्रकट हुन्छ । सामाजिक व्यवस्था, जातपात, छुवाछुत आदि प्रस्तुत भएका छन् । यसका लागि एउटा उदाहरण हेरौँ —
विजातले बनाएको खान हुन्न द्विजातले ।
जातै जान्छ अरे भन्थे खाएमा दालभातले ।।
आए पनि निकै थाकी धोती—पाटा गरी गरी ।
भान्सामा जानका निम्ति विधि हुन्थे थरी थरी (४: ९) ।।
काव्यकार कृतिको अन्त्यतिर आइपुग्दा ईश्वरवादी भएको र आदिगुरु शंकराचार्यको अद्वैत वेदान्तको प्रभाव परेको देखिन्छ । उदाहरण हेरौँ —
सबै ईशकै खेल हामी त गोटी,
परीक्षा लिने हुन् लखेटी लखेटी (७:१:५२) ।।
सुख दुख त सबैले भोग्नु नै पर्छ के भो,
खटनपटन गर्ने काम ता दैवको हो ।
क्रमनियम मिलानी गर्छ उल्ले रहस्य,
अनुभव तर मान्छे गर्छ पक्कै अवश्य ।। (१९:४४:१७४:मालिनी)
जब काव्यकारले जीवनलाई ईश्वरका जिम्मा लगाउनु हुन्छ, त्यो बेला चिन्तन चैतन्यमा केही फरक पर्छ । कृतिमा ईश्वरीय लीला र भरोसा नै जीवनबाट मुक्तिको आधार बनाइएको छ ।
कविको ज्यादै धेरै शिल्प शृङ्गारिकताको चित्रणमा देखिन्छ । पौरस्त्य शास्त्रमा धर्म, अर्थ, काम तथा मोक्ष जस्ता ४ पुरुषार्थ देखिन्छन् । प्राय काव्यहरू धर्म, अर्थ र मोक्षमा गएर टुङ्गिन्छन् । तर यो काव्य भने काम याने शृङ्गारमा निकै भाँती पुर्याएर लेखिएको प्रतीत भएको छ । उदाहरण हेरौँ —
निर्वाङ्गै दरबार बैठक तथा सोपानका शृङ्गमा (भर्याङका मुखमा),
बस्छन् काय कठोर उच्चकुच ती सुम्पी युवाभृङ्गमा (११:१६:९०:शार्दूलविक्रीडित) ।।
(उच्चकुचले नारीका स्तनलाई संकेत गरेको हो ।)
शीतोद्यान बनेको छ यौनक्रीडा विलासको ।
कामिनीसाथ राजाको निमित्त परिहासको ।।
रसरङ्ग त्यहाँ हुन्छ निर्वाङ्ग प्रमदासँग ।
मनमाफिक राजाका सँगमा हुन्छ सङ्गम ।। (१२:१३:९९:अनुष्टुप)
लिङ्गे र रोटे पिङ दोहरी हुई
गर्दै बिनालाज चढेर आबुई !!
भन्दै घुमेका विपरीत लिङ्गका,
बैँसालु खेल्छन् रसपूर्ण रङ्गका ।। (१५:२१:१३१:इन्द्रवंशा)
युवजन रसलोभी प्रीतिको गीत गाई,
मधुरस लिन खोज्छन् ती फकाई फकाई ।। (१५:३४:१३३:मालिनी)
उपरोक्त शृङ्गारिक श्लोकमा राजामहाराजाका यौन शृङ्गार मात्र होइन, जनजगत्को शृङ्गारलाई पनि उजागर गरिएको देखिन्छ । लिङ्गे र रोटे पिङमार्फत् व्यक्त भएका शृङ्गारले तत्कालीन समाजको शृङ्गारलाई अभिव्यक्त गरेको छ ।
छन्द, अलङ्कार, रस, सादृश्य, विम्ब आदिका सहायताले कृतिभित्र प्रकृति चित्रण ज्यादै मनमोहक तरिकाले अभिव्यक्त भएको छ । यो कुराले पाठकलाई तानिरहन्छ ।
यही प्रसङ्गमा कृतिका केही सुधार गर्न पाएको भए हुने भन्ने पक्षमा केही लेख्दै छु । यद्यपि कुनै पनि कृतिको जेनिथ हुन्न । यो संसारमा कोही कसै पूर्ण हुन्न । खोजिने पूर्णता हो । पाइने अपूर्णता हो । त्यसैले अपूर्णताभित्र पूर्णता खोज्नु जीवन हो । यद्यपि यो छन्दोबद्ध कृति भएकाले त्यसमा यथोचित कमीकमजोरी देखाउनु मेरा बुताको विषय होइन । यही कुरा पुष्टि गर्न म भूमिकाकार त्रिपाठीको ‘मेरा मनमा यति राम्रो महाकाव्य सिर्जनालाई अझ परिष्कृत गरी परिपाकमा र गुणतिशायितामा पुर्याउन पाए कस्तो हुन्थ्यो होला भन्ने पनि सोच आयो । तर पचासी वर्ष उमेरमा यात्राशील, अनि मभन्दा ४ वर्ष जेठा मेरा प्रिय मित्र, शिष्य, सहकर्मी समक्ष मेरो मनोभाव व्यक्त गर्न उपयुक्त हुँदैन’ भन्ने वाक्यलाई नै अनुसरण गर्छु ।
यसो भए तापनि मेरा निजी विचारमा यो कृतिमा संस्कृत शब्दको व्यापक प्रयोगले आम नेपाली पाठकका लागि दुरूह बन्न गएको पनि प्रतीत हुन्छ । काव्यकारले आफ्नो जीवनका कुरालाई भन्दा काठमाडौँका दरबार तथा प्रकृतिको चित्रणलाई ज्यादा ध्यान दिएको देखिन्छ, जसले गर्दा उहाँका जीवनका प्रमुख यात्रा कृतिमा छुटेको छ । २० सर्गमा धेरै सर्गको वर्णन त काठमाडौँका रानीपोखरी, कान्तिपुर, भक्तपुर, सिंहदरबार, टुँडिखेल आदिका बारेमा गरेको देखिन्छ । मलाई लागेको कुरा चाहिँ कृतिको शीर्षक नै जीवनयात्रा भएपछि आफ्नो जीवनको सबै पाटा आएको भए हुने भन्ने हो । किनभने जहाँसम्म म कृतिकारलाई चिन्छु, त्यस हिसाबमा उहाँको जेल जीवनको कैरन एकदम छोटो भयो, प्राध्यापक जीवनका कुरा कमै आए तथा उहाँको राजनीतिक दृढताका तुलनामा राजनीतिक कुरा पनि कमै आए भन्ने लागेको छ । वैवाहिक तथा पारिवारिक जीवनका कुरा पनि आवश्यक मात्रामा नभएको अनुभूत भएको छ ।
पुछारमा छु, काव्यको र समयको । कृतिको र जीवनको । तर इमानदारीपूर्वक भन्छु, जब जब म काव्यकार पीताम्बर शर्मा दाहाललाई भेट्छु, मेरा शरीरभरि ऊर्जा थपिन्छ । ८६ वर्षे उमेरमा त्यो सक्रियता, त्यो चेत, त्यो स्मृति, त्यो साहित्यसाधना, त्यो जीवन परख, शालीन शृङ्गारिक अभिव्यक्तिलाई अनुभूत गर्दा मेरा ७० वर्षे दुखेका तथा पाइन खिएका गोडाहरू तङ्ग्रिन थाल्छन् । आँखाले परपर हेर्न थाल्छन् । जीवनबोध हुन्छ मलाई । बुढ्यौली के हो ? जीवन के हो ? प्राप्ति के हो ? अप्राप्ति के हो ? दुःख के हो ? सुख के हो ? भन्ने विषयमा घोत्लन बाध्य बनाउँछ । र, सम्झिन्छु मृत्यु सबै उमेरका लागि बराबर सम्भावना हो । चिन्तन तथा चेतका हिसाबमा मानिस जड भयो भने सायद ऊ बुढो हुन्छ । जडता वा वैचारिक चेत रोकिनु नै बुढारीको सङ्केत हो । जीवनको मृत्युको सङ्केत हो । तर पीताम्बर शर्मा दाहाल काव्यका श्लोकका हिसाबमा हेरे पनि भौतिक व्यक्तित्वका समीपमा पुगेर सत्सङ गरे पनि सदाबहार युवक हुनुहुन्छ । सहृदयकारी र रसिलो हुनुहुन्छ । मैले उहाँबाट बोध गर्न सक्ने चुरो कुरो नै यही ऊर्जा हो । यही ऊर्जा अभिव्यक्ति नै यो आलेखको अभिप्राय पनि हो ।
र, अब अन्त्यमा काव्यकार पीताम्बर शर्मा दाहालमा समेटिएको सकारात्मक ऊर्जा सदैव फैलिरहोस् । कृतिको सफलताको लागि शुभकामना ।
सान मार्कोस, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१८ माघ २०८२, आईतवार 










