चाहिनेभन्दा बढी पैसा भयो भने मान्छेको अवस्था कस्तो हुन्छ, मान्छेहरु मानसिक रुपमा कति विचलित हुन्छन् भन्ने कथालाई आधार बनाएर बनाइएको फिल्म ‘माग्ने राजा’ शुक्रबारबाट नेपालभर प्रदर्शन शुरु भएको छ ।
यसको शुरुवाती व्यापार आक्रामक भएको छ । शुरुदेखि नै केही विवादहरु छताछुल्ल भएका थिए । फिल्मका कलाकार केदार घिमिरे (माग्ने बूढा)ले कति पैसा पाए भन्नेबारे चर्चा चलाइएको थियो ।
विवादको विषय के थियो भने, आफूले शीर्ष भूमिकाका लागि ६० लाख रुपैयाँ लिएको दाबी अभिनेता माग्ने बूढाले गरेका थिए ।
त्यसपछि उनी सामाजिक सञ्जालमा ट्रोलको शिकार भए । यो ट्रोलले फिल्मको नाम सर्वसाधारणले याद गरे पनि पछि अत्ति भएर उनले माफी मागे । उनले फिल्ममा आफूले त्यति धेरै रकम नलिएको स्वीकार पनि गरे । हौसिएर बढी बोलेकामा माफी मागेपछि त्यो मामिला यत्तिकै सेलाएको थियो ।
त्यसपछि फिल्मका निर्देशक ऋषि लामिछानेले उनको बचाउमा लागिपरे । उनले भने, ‘यो फिल्म नै एउटा भूइँमान्छेले पैसा पायो भने कति गफ गर्छ भन्नेबारे हो । त्यसैले उहाँले अलि बढी बोल्नु भएको हो ।’
निर्देशक लामिछानेले बढी बोल्न नहुने भए पनि पछि उहाँले माफी मागिसक्नु भएकाले यो मामिला सेलाइसकेको बताए ।
त्यसपछि चर्चित टिकटकर मिस पबी (पवित्रा सांकी) को अर्को चर्चा शुरु भयो । उनले फिल्ममा पाँच सय भन्दा बढी टेक लिएकाले उनलाई फिल्मबाट निकालिएको चर्चा चल्यो ।
पवित्रा सांकीले प्रष्टीकरण दिँदै भनेकी छन्, ‘मलाई निकालिएको होइन ।’
फिल्मले शुक्रबार र शनिबार राम्रै व्यापार गरेका कारण यो नाफामा गएको फिल्मले युनिटले बताएको छ । फिल्म निर्देशक लामिछानेले फिल्म तयार हुनेबित्तिकै देशबाहिर राम्रै दाममा बेचेकाले लगानी सुरक्षित भइसकेको र बाँकीको रकम नाफा हुने बताएका छन् ।
‘फिल्मको लगानी करिब तीन करोड रुपैयाँ छ तर हामीले त्यो लगानी सिनेमा हलमा प्रदर्शन गर्नुअघि नै उठाइसकेका छौँ,’ उनले खुशी हुँदै भने, ‘अहिलेको समयमा हलबाहिर लगानी उठाउनु खुशीको कुरा हो ।’
सिनेमा हलबाट जति पैसा आउँछ, त्यो शुद्ध नाफा हुने उनको दाबी छ ।