नेपाली कविता र भाषाका श्रीवृद्धिमा लागेका विशिष्ट साहित्यकार एवं भाषाविद् हुन् मुकुन्दशरण उपाध्याय । उनको जन्म वि.सं. १९९७ साल वैशाख ५ गते बुधवारका दिन गण्डकी प्रदेशको कास्की जिल्ला पोखराको हेमजा गाउँमा माता केशर कुमारी र पिता दशरथका ज्येष्ठ पुत्रका रूपमा भएको हो । सानैदेखि विलक्षण प्रतिभा भएका मुकुन्दशरण उपाध्यायलाई उनका पिताले आठ वर्षकै उमेरमा पोखराको चीसाखोला गुरुकुलमा भर्ना गराएका थिए ।

अध्ययनकालमै उपाध्यायले शार्दूलविक्रीडित छन्दमा ‘लीलाविजय’ नामक लघुकाव्य लेखी आफ्नो प्रतिभाको श्रीगणेश गरेका थिए । प्रारम्भिक शिक्षा नेपालबाट पाएका उनी उच्च शिक्षाका लागि १३ वर्षको उमेरमा भारतको वृन्दावन निम्बार्क संस्कृत महाविद्यालयमा पुगेका थिए । त्यहाँबाटै उनले उच्च शिक्षा हाँसिल गरे । शिक्षाकै क्रममा उनले गोरक्षनाथ संस्कृत विद्यापीठ गोरखपुरबाट नव्यव्याकरणमा शास्त्री र साहित्यमा आचार्य तथा बङ्गीय संस्कृत परिषद्बाट वेदान्ततीर्थमा प्रथम श्रेणीमा आचार्य पूरा गरे । पछि अध्ययनलाई निरन्तरता दिँदै नेपालको त्रि.वि.बाट नेपालीमा र संस्कृतमा (स्नातकोत्तर) गरे । उपाध्यायको अधिकांश जीवन अध्यापनमै बितेको छ । उनले वि.सं. २०१७ सालमा भारतको वृन्दावनमै आफूले पहिला पढेको निम्बार्क संस्कृत महाविद्यालयमा नेपाली विषयको अस्थायी शिक्षकको रूपमा काम गरेका थिए । पछि नेपाल आएपछि भैरहवा माध्यमिक विद्यालयमा लगभग दुई वर्ष जति नेपाली विषय अध्यापन गराए । त्यसपछि उनले आँफ्नै गाउँमा रहेको गौरीशङ्कर माध्यमिक विद्यालयमा नेपाली विषय नै अध्यापन गराए र उनी त्यसै विद्यालयको केही समय प्रधानाध्यापकसम्म भएका थिए । त्यसपछि वि.सं. २०२५ सालबाट अध्यापकको रूपमा पृथ्वीनारायण क्याम्पसमा अध्यापन शुरु गरेर वि.सं. २०३३ सालदेखि सहायक–प्राध्यापको रूपमा, वि.सं. २०३७ सालदेखि उप–प्राध्यापककको रूपमा र वि.सं. २०३९ सालदेखि सह–प्राध्यापकको रूपमा काम गरेका थिए । हाल उनी श्रीराधाकृष्ण देवस्थान समितिका र श्रीराधाकृण वैदिक गुरुकुलम्का अध्यक्ष र पीठाधीश रहेका छन् (घिमिरे, २०६३ पृ.७, ८) । अझै पनि उनी प्रवचन, अध्ययन, नेपालीभाषासम्बन्धी अनुसन्धान, अध्यापन र लेखन आदि कार्य गरिरहेकै छन् ।

उपाध्यायले विद्यार्थी जीवनदेखि नै पत्रपत्रिकामा काम गरेका थिए । उनले भारतको मथुरा वृन्दावनबाट निस्कने छात्रजीवन पत्रिकाको संस्थापन तथा प्रथम प्रधान सम्पादन भई काम गरेका थिए । वि.सं. २०२७ सालमा नेपालको गण्डकी साप्ताहिक पत्रिकाको पनि संस्थापन तथा वि.सं. २०२७ सालदेखि नै वि.सं. २०३२ सालसम्म प्रधान सम्पादक भई काम गरे । हाल उनी विं. सं. २०७५ सालबाट समुद्रमनविद्या प्रतिष्ठान, काठमाडौँ, टङ्गालबाट प्रकाशित ‘प्रज्ञानम्’ अनुसन्धान प्रधान जर्नलमा प्रधान सम्पादक रहिआएका छन् । यो पत्रिकाको भाषा पनि मुकुन्दशरण उपाध्यायकै फरकधार अनुरूप छापिएको छ । अझै पनि उनी विभिन्न पत्रपत्रिकाको सल्लाकारको रूपमा पनि रहिआएका छन् ।      ‘भागवत जयन्ती’ शीर्षकको संस्कृत भाषाको कविताबाट उनको पहिलो संस्कृतकविता यात्रा लेखन र किशोरावस्था शुरु भएको थियो । यो कविता भारतको निम्बार्क संस्कृत महाविद्यालयबाट प्रकाशित हुने सर्वेश्वर पत्रिकामा त्यसै वेला छापिएको थियो । ३७ वर्षको उमेरमा हिँडेका मुकुन्दशरण उपाध्यायले वि.सं.२०३४ सालमा विशेष दुई काम गरेका छन् । एउटा काम हो वि.सं.२०३४ सालमा धरती र आकाश नामक कवितासङ्ग्रह प्रकाशित, अर्को वि.सं २०३४ सालमा भएको नेपाली भाषा गोष्ठीमा त्रि.वि.का अगुवा गुरुहरूले नेपाली शब्दमा भएका शकार र दीर्घ मात्राहरू हटाउने प्रस्तावका विपक्षमा उनले दिएका गहकिलो मन्तव्य । उनले उक्तगोष्ठीमा दिएको मन्तव्यको भाव धरती आकाश (२०३४) कवितासङ्ग्रहको भूमिकामा पनि आएको छ, उपाध्याय भन्दछन् :– “कवितामा अनुशासन र मर्यादा भन्दा उच्छृङ्खलता र आलस्य सजिला हुन्छन् तर के गर्नु साथी हो ! कवि कर्म नै यस्तो कर्म हो जसलाई देशको प्रहरी भन्दा पनि, सरकार भन्दा पनि, सेना भन्दा पनि र न्यायालयहरू भन्दा पनि बढी उत्तरदायी, बढी जिम्मेवार र बढी चैतन्यशील बन्न अनिवार्य छ । आफूलाई मन परे मध्येका अनेक कविता हराई सकेपछि मात्र मलाई यस्तो संकलन गर्ने बुद्घि आयो” । पद्य भाषाका लागि वि. सं. २०६६ सालमा प्रकाशित पद्य प्रभा र गद्य नेपाली भाषाका लागि उनको अप्रकाशित पाणिनीय संस्कृत सूत्र शैलीको व्याकरण विज्ञान नामक पुस्तकमा उनले धेरै समस्याको समाधन गरेका छन् । यो पुस्तक चाँडै प्रकाशित हुँदै छ । उनको वि.सं. २०३९ सालमा शैलसरिता नामक फुटकर संस्कृत कवितासङ्ग्रह प्रकाशित भएको छ । त्यसपछि उनको फेसबुकमा फाट्टफुट्ट कविताहरू प्रकाशित भए पनि पुस्तकका रूपमा कुनै पनि कृति प्रकाशित भएका छैनन्  ।

मुकुन्दशरण उपाध्यायका प्रकाशित कृति, काव्यगतप्रवृत्ति विशेषताहरू

उपाध्यायका निम्नलिखित कृतिहरू प्रकाशित भएका छन्:–

. श्री निम्बार्कचरितम् (वि.सं.२०१५), संस्कृत खण्डकाव्य

. वरदान (वि.सं.२०१७), उपन्यास

. शरणागतिशतकम् (वि.सं.२०१८), संस्कृत खण्डकाव्य

. श्री महेन्द्रालङ्कार(वि.सं. २०१८), अलङ्कार सम्बन्धी कविता

. प्राकृत पोखरा (वि.. २०२१), खण्डकाव्य    

.केलादी घाट परिचय(वि.सं.२०२१)                                                                

. महाभारत सूक्तिसुधा (वि.सं. २०२६), भावानुवाद                                                      

. धर्ती आकाश (वि.सं. २०३४), कवितासङ्ग्रह                                                               

. शैलसरिता (वि.सं.२०३९, जन्माष्टमी), संस्कृत पद्यावली                                                                       

. प्रस्तावना विवेचना (वि.सं. २०४३), भाषा व्याकरण                                                      

१०. सरल नेपाली शुद्ध नेपाली (वि.सं. २०४५), भाषा व्याकरण                                                

११. अक्षर प्रज्ञा (वि.सं. २०४७), व्याकरण                                                                            

१२. पद्य प्रभा (वि.सं. २०६६), पद्य भाषाको व्याकरण                                                                      

१३. व्याकरण चिन्तन (वि.सं. २०६८)    

मुकुन्दशरण उपाध्याय नेपाली साहित्य क्षेत्रका एक सुपरिचितप्रतिभा हुन् । कवितामा सरल, सहज र सुबोध्य शब्द सजावट गर्ने प्रवृत्तिले गर्दा पाठकहरूले रुचाएका कवि हुन् । उनका कवितामा यथार्थकता, राष्ट्रियता, नैतिकता, व्यङ्ग्यात्मकता, आदर्शात्मक, सामाजिकता, प्रकृति चित्रण, देशभक्ति आदि प्रवृत्तिहरू पाइन्छन् । उनका संस्कृत र नेपाली दुवै काव्यहरूले नेपाल र नेपालीपनकै प्रतिनिधित्व गरेको पाइन्छ । ‘शरणागति शतकम्’मा भगवान्, ऋषि महर्षिहरू र नेपालप्रतिको आस्था वा प्रेम पाइन्छ भने अनुष्टुप् छन्दमा लेखिएको महेन्द्रालङ्कारकृतिमा नेपाली साहित्य रअलङ्कारको चर्चा पाइन्छ । त्यस्तै शैलसरितामा नेपालको महिमा, वन्दना र राज्यको प्रतीकहरू, मातृभाषा पोखरा, हिन्दूधर्म, संस्कृति आदिको वर्णन पाइन्छ । त्यस्तै, नेपाली काव्यमा उपाध्यायको ‘प्राकृत पोखरा’ प्रकृति चित्रणको उदाहरण हो । यसमा उनले नेपाल, पोखरा, माछापुच्छ्रे पाखापखेरा, शुक्लागण्डकी, सरोवर, कमल पोखरी, सुन्तला, अन्त्यमा र पुनश्च गरेर दश सर्गमा वर्णन गरेका छन्।

त्यस्तै २६ वटा कविता संग्रहित ‘धर्ती र आकाश’ उपाध्यायको प्रथम कवितासङ्ग्रह हो । विभिन्न शीर्षकमा रचित यस सङ्ग्रहमा शार्दूलविक्रीडित, मन्दाक्रान्ता, अनुष्टुप् र झ्याउरे लय, मातृक छन्द, लोकलयको प्रयोग गरिएको छ । यसमा विशेष रूपमा राष्ट्रप्रतिको चोखो भावनाहरूले ओतप्रोत भएका कविताहरू रहेका छन् । त्यस्तै सांस्कृतिक, इतिहास, धर्म संस्कृति रूपका कविताहरू रहेका छन् । उनका सामाजिक क्षेत्रका कविताहरू समाजका विभिन्न पाटालाई केलाउने प्रवृत्तिका पाइन्छन् । त्यस्तै, उनका व्यङ्ग्य कविताले समाज, राजनीति, अन्धविश्वासप्रति तीक्ष्ण व्यङ्ग्य प्रहार गरेको पाइन्छ । प्रचुर मात्रामा देशभक्तिका कविता उनको यस सङ्ग्रहमा रहेका छन् । ती कविताहरूमा स्वाधीनता, स्वतन्त्रता, राष्ट्रभक्ति, देशप्रेम आदिले भरिपूर्ण रहेका छन् ।

उपाध्यायको प्रवृत्ति विशेषताहरू बुँदागत रूपमा हेर्दा :–      

–        राष्ट्रवादी कविता रचना,

         सूक्ष्म विचारशीलता,

         भाषिक शुद्धतासाथ सरल, सुबोध्य पदहरूको प्रयोग,

         सांस्कृतिक सामाञ्जस्यको कलात्मक प्रस्तुति,

         प्रकृति चित्रण,

         धर्म विज्ञानमा तादात्म्यता,

         मौलिक कविता रचना,

         शास्त्रीय छन्द मुक्तछन्द लोकलयको प्रयोग,

         परिष्कृत शैली,

         भाव शैलीको सन्तुलन,

         सामाजिक,सांस्कृतिक, नैतिक, आध्यात्मिक, पुनर्जागरणको अभिव्यञ्जना,

         स्वाभाविकता,

         व्यङ्ग्यात्मकता आदि     

मुकुन्दशरण उपाध्यायको व्यक्तित्व

व्यक्तित्व शब्दले व्यक्ति विशेषमा हुने वैयक्तिक गुण वा निजीपनलाई बुझाउँछ । व्यक्तिको जीवनका अनुभव, आरोह अवरोह, सुख, दुःख र उसमा भएको सिर्जनशीलप्रतिभा, अध्ययन, अनुसन्धान, चिन्तनमनन र व्यक्तिभित्र भएको महत्त्वाकांक्षाले व्यक्तित्व निर्माणमा प्रभाव पारेको हुन्छ ।

मुकुन्दशरण उपाध्याय नेपाली साहित्यका सर्जक व्यक्तित्व हुन् । उनको मूलतः साहित्यिक व्यक्तित्व रहेको छ । उपाध्यायको साहित्यिक व्यक्तित्व पोखराको हेमजाको परिवेश, माछापुच्छ्रे हिमाल, पारिवारिक वातावरण, बाल्यकालको परिवेश, गुरुकुलीय परिवेश र नेपाली साहित्यका धरोहर लेखनाथ पौड्याल, माधवप्रसाद घिमिरे, बालकृष्ण सम जस्ता आप्त पुरुषको सङ्गत, देश र जीवनमा भएका विभिन्न घटना र मोडहरूले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । बाल्यकालदेखि नै साहित्यप्रति रुचि राख्ने उपाध्यायले नेपाली साहित्यको कविता, कथा, उपन्यास, निबन्ध विधा र नेपाली भाषामा महत्त्वपूर्ण काम गरेका छन् भने विशेषतः उनले कविता विधा र नेपाली भाषाका विषयमा कलम चलाएका छन् ।

मुकुन्दशरण उपाध्यायको कवि व्यक्तित्व

मुकुन्दशरण उपाध्यायको स्रष्टा व्यक्तित्वको ऊर्जाशील पक्ष कवि व्यक्तित्व हो । उनी वि.सं. २०२१ सालमा प्राकृत पोखरा खण्डकाव्य कृति प्रकाशन गरी नेपाली काव्यविधामा औपचारिक रूपमा प्रवेश गरेका हुन् । भने यसअघि विभिन्न पत्रपत्रिकामा उनको लेख, रचना प्रकाशित भएको पाइन्छ । साथै उनको वि.सं. २०१७ सालमा वरदान उपन्यास, संस्कृत भाषामा वि.सं.२०१५ सालमा श्री निम्बार्क–चरितम्संस्कृत खण्डकाव्य, वि.सं.२०१८ सालमाशरणगति–शतकम्संस्कृत खण्डकाव्य, वि.सं. २०१८ सालमा श्री ५ महेन्द्रालङ्कार प्रकाशित भइसकेको पाइन्छ ।

उनको नेपाली काव्य विधाको पहिलो कृति प्राकृत पोखरा खण्डकाव्यले नै मदन पुरस्कार पएको थियो । उनको काव्ययात्रा कविता विधाको लघुत्तम रूपदेखि महाकाव्यसम्म फैलिएको देखिन्छ । नेपाली साहित्यको कविता विधामा थुप्रै कृति रचना गरी साहित्यको श्रीवृद्धिमा लागेका उपाध्यायका कवितामा भाव गाम्भीर्य, सुबोध्य भाषाशैली अन्तरवस्तुको गहनता र राष्ट्रियताको भावनाको दृष्टिले कवित्व उच्च रहेको देखिन्छ । त्यस्तै वि.सं. २०२१ साल पछि वि.सं. २०३४ सालमा धर्ती र आकाश कविता सङ्ग्रह, वि.सं.२०३९ सालमाशैलसरिता नामक संस्कृत पद्यावली, वि.सं २०६६ सालमा पद्य प्रभा नामक पद्य भाषाको व्याकरणलगायतका कृतिहरू प्रकाशित भएका छन् । उनी वि.सं. २०३४ सालयता कविता विधाभन्दा बढी नेपाली भाषामा लागेको देखिन्छ । “नेपाली भाषा विग्रिए मैँले कुन भाषामा कविता लेख्ने ? यसकारण मैँले कवितालाई थाँती राखेर नेपाली भाषामा होमिएको हुँ” भनी उपाध्याय बताउँछन् । उपाध्याय भाषामा लाग्नाले वि.सं. २०३४ सालमा नै धेरै सर्ग लेखेको नेपाली महाकाव्य १, संस्कृत महाकाव्य १, नेपाली र संस्कृत खण्डकाव्यहरू ३, शब्द सम्पदा (अमरकोश शैलीमा नेपाली शब्दकोश) १, भाषाभारती (पद्यमय भाषाशास्त्र) १ आदि धेरै पुस्तकहरू अझै पनि प्रकाशित भएका छैनन् । आज वि.सं. २०८१ सालमा ८६ वर्षको उमेर हिँडेका उपाध्याय बाँकी कृतिहरू निकाल्ने प्रयत्न गरिरहेका छन् ।

नेपाली साहित्यको कविता विधाको लघुत्तमदेखि बृहत् रूपसम्म कलम चलाएका उपाध्यायले आफ्नो  कवि व्यक्तित्व बनाउन सफल भएका छन् ।

मुकुन्दशरण उपाध्यायको साहित्यिक योगदान

नेपाली साहित्यको कविता विधाको प्राकृत पोखरा खण्डकाव्य लिएर देखा परेका उपाध्यायका हालसम्म लगभग तेह्रवटा कृतिहरू प्रकाशित भएका छन् । यसमध्ये तीनवटा संस्कृतकृति, दशवटा नेपाली काव्य र भाषासम्बन्धी कृतिहरू रहेका छन् । कविता क्षेत्र उनको विशेष रुचिको क्षेत्र भए पनि उनले फुटकर रूपमा कथा, कविता, उपन्यास, निबन्ध,सांस्कृतिक लेखरचना, भाषिक लेखरचना, धार्मिक लेखरचना, राजनीतिक लेखरचना र समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । उनका त्यस्ता रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा फुटकर रूपमा प्रकाशित भए पनि सङ्ग्रहका रूपमा भने आउन सकेको देखिँदैन । तथापि उनको यो योगदानको पाटो पनि स्मरणीय नै रहेको छ । त्यस्तै, विभिन्न साहित्यिक पत्रपत्रिकाको सम्पादक र नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको पूर्व प्रज्ञा सभाका सदस्य समेत रहेर उनले साहित्यिक योगदान गरेको पाइन्छ (उपाध्याय, २०६७ पृ. २२५) ।

समग्रमा नेपाली साहित्यका क्षेत्रमा कविताको लघुत्तमरूपदेखि बृहत्रूपसम्म र भिन्नभिन्न विषयवस्तुका पाँच नेपाली भाषामा कविताकृतिहरू, तीन संस्कृत भाषामा कविताकृतिहरू र पाँच नेपाली भाषा सम्बन्धी कृतिहरू, नेपाली साहित्यलाई दिनु मुकुन्दशरण उपाध्यायको नेपाली साहित्य र नेपालीभाषा सम्बन्धी प्रमुख योगदान हो ।

सम्मान तथा पुरस्कार

बाल्यकालदेखि नै नेपाली साहित्य जगत्मा कलम चलाएका मुकुन्दशरण उपाध्यायले वि.सं. २०१६ सालमा ’श्रीनिम्बार्कचरितम्’ काव्यबाट ‘अखिल भारतीय संस्कृत सम्मान’, वि.सं. २०२१ मा ‘प्राकृत पोखरा’ खण्डकाव्यमा मदन पुरस्कार, वि.सं. २०३४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आयोजित कविता महोत्सवमा प्रथम स्थान प्राप्त गरी स्वर्ण पदक प्राप्त गरेका थिए । त्यस्तै उपाध्यायलाई ‘संस्कृत साहित्य पुरस्कार’, वि.सं. २०४२ सालमा प्रजापिता ब्रह्मकुमारी संस्थाको आयोजनामा भारतको माउन्ट आबुमा सम्पन्न भएको विभिन्न देशका ४० विद्वान्हरूको अभिनन्दन समारोहमा नेपालको तर्फबाट उपाध्यायलाई सम्मान, वि.सं. २०४७ सालको गुणराज पुरस्कार, दीपस्मृति पुरस्कार, शिरोमणि साहित्य सम्मान, शिक्षा पुरस्कार एवं वि.सं. २०७२ मा कवि शिरोमणि लेखनाथ पुरस्कार, वि.सं. २०७६ सालमा भानुभक्त पुरस्कार,महाकवि देवकोटा पुरस्कार, पाणिनि पुरस्कार, त्रिमूर्ति निकेतनबाट वि.सं.२०७९ सालको लेखनाथ काव्य पुरस्कार, पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने कार्यक्रममा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिकाकाट अभिनन्दन पत्रद्वारा सम्मान एवं विभिन्न सम्मानद्वारा सम्मानित गरिएको छ । निम्बार्क संस्कृत महाविद्यालयमा आयोजित भागवत पाठ प्रतियोगितामा वृन्दावनका पण्डितहरूलाई उछिनेर उनले प्रथम पुरस्कार जितेका थिए । भारतका विद्वान्बाट ‘अल्पतमवयसा कविना’ यस्ता शब्दहरूबाट सम्मान भने विद्यार्थी जीवनमा विभिन्न स्वर्ण पदक पाएका छन् ।

निष्कर्ष                                                                                               

कास्कीको हेमजा गाउँमा जन्मिएका मुकुन्दशरण उपाध्यायले बाल्यकालदेखि नै कविता लेखन कार्य प्रारम्भ गरेका थिए । नेपाल र भारतबाट उनले प्राथमिक, माध्यमिक र उच्च शिक्षा ग्रहण गरेका हुन् । संस्कृतमा श्रीनिम्बार्कचरितम्, शरणागति शतकम्, शैलसरिता (संस्कृत पद्यावली) जस्ता कृति लेखेका उनले हिन्दी भाषामा पनि कविता लेखेका छन् । भने नेपाली साहित्य विधामा उनको प्रथम कृति वरदान उपन्यास हो । त्यसपछि उनले श्री ५ महेन्द्रालङ्कार, प्राकृत पोखरा, महाभारत सूक्तिसुधा, धर्ती र आकाश जस्ता कृतिहरू दिएर नेपाली साहित्य विधामा आफ्नो अटुट छाप छोड्न सफल भएका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रद्वारा उनका ‘पृथ्वी सन्देश’ आदि धेरै कविताहरू पाठ्यक्रममा राखिएको थियो ।  हाल पाठ्यक्रम विकास केन्द्रद्वारा उनको ‘नेपाली हाम्रो श्रम र सिप’ शीर्षकको कविता कक्षा दशको नेपाली पुस्तकमा राखेर पढाउँदै आएको छ । यो कविता झ्याउरे छन्दमा रचिएको छ । तर यहाँ के स्मरणीय छ भने पाठ्यक्रम विकास केन्द्रले उपाध्यायको ‘झगडाको ओखती’ शीर्षकको कथा भने लेखकको स्वीकृति विना नै लेखकको नाम पनि नराखि ‘रिसको औषधी’ शीर्षक बनाएर कक्षा पाँचको नेपाली पुस्तकको पाठ तेह्रमा राखिएको रहेछ भन्ने कुरा उपाध्याय बताउँछन् । यो कथा बङ्गाली भाषामा अनुवाद गरेर बङ्गलादेशको पाठ्यक्रममा समेत पढाइएको पाइएको छ । उनी भाषा विज्ञानको क्षेत्रमा समेत कलम चलाएर एक भाषिक द्रष्टाका रूपमा सुपरिचित हुँदै आएका छन् । उपाध्याय साहित्य सिर्जनाका अतिरिक्त सामाजिक, प्राध्यापन, पत्रकारिता क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका एक प्रतिष्ठित व्यक्ति हुन् । भने प्राकृत पोखरा (खण्डकाव्य), धर्ती र आकाश कवितासङ्ग्रह जस्तो रत्न नेपाली समाजमा दिएका छन् । यसरी हेर्दा उपाध्याय सर्वत्र प्रतिष्ठित, सुपरिचित साहित्यकार, भाषाविद्, विशिष्ट कवि तथा एक विशिष्ट प्रतिभा हुन् ।