ठूलाठूला सपनाहरू देख्ने सानो शहरको सानो मान्छे म । तर, यो कथा मेरो सपनाको लडाइँहरूको होइन । कथा मेरो जीवनको सबैभन्दा अनौठो, भयावह र अप्रत्याशित घटना बारे हो- तीन युनिभर्सको ठक्कर ।
शहरको सीमितता मेरो जीवनको सिमाना जस्तो थियो । बिहान सधैं घामले पहाडमाथि लुकामारी खेल्थ्यो र साँझ कुहिरोभित्र हराउँथ्यो । यो सबै नियाल्न मलाई साथ दिने झ्यालका सीसा मात्र थिए ।
मनभित्र द्वन्द्व सधैं चल्थ्यो । के म यी सपनाहरूलाई वास्तविकतामा बदल्न सक्छु ? के म आफ्नो सामान्य जीवन त्यागेर बाहिरको संसारको खोजीमा जान सक्छु ? मैले सपनाहरू लेखिरहें, तर ती केवल पानामै सीमित थिए ।
त्यो रात, सधैं झैं म आफ्नो नोटबूकमा सपनाहरू लेख्दै थिएँ । मेरा सपना सधैं अजीव हुन्थे – जस्तै मैले कहिल्यै नदेखेको ठाउँहरू, अनौठा मानिसहरू र उनीहरूको जीवन । तर त्यो रात सपनाले यथार्थको रूप लियो ।
उठ्दा आफूलाई कुनै अज्ञात ठाउँमा फेला पारें । चारैतिर गाढा कालो धुवाँको बाक्लो पर्खालले मलाई घेरेको थियो । त्यो धुवाँभित्र अचम्मको कुहिएको मासुको गन्ध र जलिरहेको शरीरको दुर्गन्ध आइरहेको थियो । मेरो छातीभित्र अक्सिजनको ठाउँमा कालो विष भरिंदै थियो ।
आँखा खोलें तर चारैतिरको दृश्यले मेरो प्राण चुँडिएला झैं बनायो । मेरो शरीरको मासु ठाउँ ठाउँबाट चिथोरिएर झुन्डिएको थियो । भित्री छालामा जलेका, कुँडिएका चिह्न र गहिरा प्वालहरू थिए । म छटपटाइरहेको थिएँ । शरीरमा मासु लुछेर खोक्रो भएका डोबहरूमा आलो रगत छचल्केर पोखिन लागेका थिए । दायाँ हातको कुहिनोभन्दा तल केवल सडेका हड्डीका टुक्राहरू थिए । मासु चिथोरिएका भागमा जुकाहरू सलबलाइरहेका थिए । बगेको रगतले छेउछाउको बालुवा भिजाएको थियो ।
सास फेर्न खोज्दा छातीभित्रको पीडाले स्वाँस्वाँ बनाइरहेको थियो । असह्य पीडामा बोलें, ‘ऐया ! यो कहाँ हो ?’ मेरो आवाज कालो धुवाँभित्रै हरायो, गुञ्जन बनेर थप डर र निराशाले जेलभित्र थुन्यो । अलि पर रगतको धमिलो खोल्साभित्र कसैको काटिएको अधबैंसे अनुहार आँखा चिम्म गरेर मलाई नै घुरिरहेको थियो । डरले मुटु काम्न थाल्यो ।
“तिमी मेरो संसारमा छौ,” एउटा कठोर आवाजले मलाई झसङ्ग बनायो । अगाडि उभिएको मान्छेको अनुहार मेरो आफ्नै जस्तै थियो । एकछिनको लागि लाग्यो, म ऐनामा हेरिरहेको छु । आफैं जस्तो अर्को मान्छे देखेर होला शरीरको पीडा बिर्सिएर डरले मुटुको धड्कन तेज भएर आयो ।
“त…ति..तिमी…को ?” मेरो स्वर काँपिरहेको थियो ।
“म !” उसले भन्यो, “तिमीलाई सधैं देखिरहन्थेँ, सपनाहरूमा । तर तिमी अब मेरो संसारमा आइपुगेका छौ ।”
“दोस्रो म ?” मैले अविश्वासका साथ दोहोर्याएँ, “हैन यो के भइरहेको छ ? मेरो यस्तो हालत कसले बनायो ? मेरो हात तिमीले काट्यौ ? ऐया ! कस्तो दुखेको यो घाउ !” मलाई आफ्नै स्वर कारुणिक लागिरहेको थियो ।
म-२ ले गम्भीर स्वरमा भन्यो, “तिमीले बुझ्नुपर्छ, तिम्रा सपना हाम्रो दुनियाँका झ्याल थिए । तर तिमी यहाँ किन आएको भन्ने कुरा म बुझ्दिनँ । हाम्रो दुई दुनियाँ एकै स्थानमा हुँदा, दुवै खतरामा छौं ।”
मैले उसको कुरा बुझ्नै सकिरहेको थिइनँ । “तिमी त म जस्तै देखिन्छौ । ऐया, यो के भाको ?” मेरो टाउको रिङ्ग भयो । मेरो ढलेको शरीरको आलो रक्ताम्मे घाउमाथि बेलाबेला हावाले जमीनको तातो बालुवा जतिजति भर्दै जान्थ्यो त्यति नै रगत चुहिरहँदा असह्य पीडा हुन्थ्यो ।
त्यत्तिकैमा अर्को आवाज सुनियो । यो आवाज चिसो, भारी, र डरलाग्दो थियो । “तिमीहरू केवल दुई जना मात्र होइनौ,” त्यो आवाजले भन्यो । उसले कालो कोट लगाएको थियो । उसको अनुहार पनि मेरो जस्तै थियो ।
“म । यो मेरो उपनाम हो । मेरो दुनियाँको नियम म आफैँ बनाउँछु । सबथोक मेरो नियन्त्रणमा हुन्छ । तर तिमीहरूको उपस्थितिले मेरो दुनियाँलाई अस्थिर बनाउँदैछ । म यसको तुरुन्तै अन्त्य गर्दैछु ।”
त्यस क्षण मैले महसूस गरें – तीन युनिभर्सका म एउटै स्थानमा आइपुगेका थियौं । उठौं उठ्न सक्ने अवस्था र आँट दुवै थिएन । मेरो संसार, दोस्रो म-२ को संसार, र तेस्रो म-३ को संसार अहिले ठोक्किंदै थियो ।
म-२ ले आग्रह गर्यो, “हामीले यो गल्ती ठीक गर्नुपर्छ । युनिभर्सहरू यसरी जोडिराख्ने हो भने हाम्रो अस्तित्व नै समाप्त हुनेछ ।”
तर म-३ ले उसको कुरा सुनेन । ऊ अझ रिसाएको जस्तो देखिन्थ्यो, “तिमीहरूको अस्तित्व मेरो बाटोको तगारो बनिरहेको छ । तिमीहरू मेरा लागि मर्नुपर्छ ।”
मैले डरले भनें, “युनिभर्समा हामी सबैको अस्तित्व हुनु जरूरी छ, हामी भूलवश यहाँ आइपुग्यौं । हामी मिलेर यो रोक्न सक्छौं । हाम्रो संघर्षले धेरैलाई समाप्त पार्न सक्छ ।”
तर म-३ ले हाम्रो कुरा कत्ति पनि सुनेन । चारैतिरबाट उसको शरीरबाट ऊर्जा विस्फोट हुन थाल्यो । हेर्दा दुरुस्तै बन्दुकबाट निस्किएका गोलीका खोकाहरू । केही छर्राहरू मेरो छातीको खोक्रो टिलपिल भएको घाउमा आएर अझ डामिए रगत उम्लिएर ज्वालामुखीको लाभा जसरी बग्न थाल्यो । मेरा आँखा बिस्तारै सुस्ताउँदै गए । ठूलो आवाज आउने गरी रुने मन थियो तर रुने हिम्मत पनि थिएन अनि सुन्ने पनि कोही थिएन । बिस्तारै आँखामा अँध्यारो छाउँदै थियो ।
म-२ ले मलाई चिच्याएर भन्यो, “तिमी आफ्नो संसारमा फर्क । म उसलाई रोक्छु । यो ठक्करले सबै तहसनहस गर्न सक्छ ।” उसको चिच्याहटमा मप्रतिको सहानुभूति प्रष्ट देखिन्थ्यो । उसको आवाजले शरीरमा केही तागत आएझैं भयो । थोरै घस्रिएर तातो बालुवामाथिबाटै रगत टिलपिल भएका डोबहरू जोगाउँदै अघि बढ्न खोजें ।
अलि पर केही उज्यालो देखिन्थ्यो म त्यतैतिर घस्रिन थालें, आधा बढी सडेको दायाँ हात चुँडिन लागेको थियो। बायाँ हातको जोडबलले दायाँ हात डोर्याउँदै बाटो तय गर्दै थिएँ । पछाडि दोस्रो म र तेस्रो म जुधिरहेका थिए । उनीहरूको भीडन्तले चारैतिर विस्फोटका आवाजहरू गुञ्जिरहेको थियो ।
एकछिनपछि एउटा विशाल विस्फोट भयो ।
जब म होशमा आएँ, आफ्नै कोठामा थिएँ । तर सबैथोक बदलिएको थियो । मेरो शहर जस्ताको तस्तै थियो । सबैतिर सूनसान थियो । टाढाबाट कुकुरहरू भुक्दै गरेको आवाज मात्रै सुनिन्थ्यो ।
वास्तविक लाग्ने म-२ र म-३ को थिए ? उनीहरूको संसारमा के भयो ? के म फेरि आफ्नो सामान्य जीवनमा फर्किएको हुँ ? यी प्रश्नहरूले मलाई एकछिन रनभुल्लमा पारे ।
सपनाले जीवन सिकाएको अनुभूति भयो । एकै जीवनमा मान्छेको धेरै अनुहार हुन्छ । कसैका लागि ऊ म-२ बन्छ जो स्वतन्त्र बाच्न चाहन्थ्यो, जसको कुनै सीमा थिएन । कसैका लागि म-३ हुन्थ्यो जो नियन्त्रण र शक्ति थियो, जसले संसारलाई आफ्नै ढङ्गमा चलाउन खोज्थ्यो । अनि पहिलो म, ती दुई चरम सीमाबीच संघर्ष गर्दै आफ्नो मार्ग खोजिरहेको थिएँ ।
तीन युनिभर्सको ठक्कर हाम्रो आफ्नै जीवनका अवसर र चुनौतीहरूको प्रतिबिम्ब हो ।
र म, त्यो ठक्करको साक्षी, अझै बाँचिरहेको छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










