अचानक त के हुनु र योजनाबद्ध नै थियो योजना । नयाँ कुरा देख्ने-बुझ्ने रहर सधैं हुने रहेछ मान्छेमा । नेपालीको पनि त आफ्नै थियो एउटा समयघर । तपाईं अचानक पढ्दै हुनुहुन्छ भने नअलमलिई आउनुहोस् मसँग । म घुमाएर ल्याउनेछु समयघर । तपाईं, म भएको यो युग बाहेक अघिल्लो वा पछिल्लो युगमा भए चाहिं  यही कथा पढेर थाहा पाउनुहोला समयघरका बारेमा ।

घर ! जो कोही घरमा जन्मन, हुर्कन र मर्न चाहन्छ । अलिकति पनि चेतना भएका जीवले आफ्नो घर बनाएको हुन्छ । घरको महत्त्वका बारे अरू व्याख्या गरें भने तपाईं यसअघि पढ्नुहुन्न मलाई थाहा छ । तपाईं यति धेरै व्यस्त हुनुहुन्छ कि तपाईंलाई पन्ध्र घण्टा खर्चेर पन्ध्र सेकेन्डको टिकटिक बनाउने युगमा पो हुनुहुन्छ । समयको यो अनुपम प्रयोगलाई मैले कसरी नजरअन्दाज गर्न सक्छु ।

आउनुहोस् प्रवेश गरौं  – हाम्रो आफ्नै देशको आकाशमा रहेको समयघरमा जहाँ म छु अहिले ।

अरू देशका अझै विशाल होलान् । तर मलाई अन्तरिक्षमा पनि मेरै देशको समयघर विशाल लाग्यो । यस्तो लाग्छ चौरासी हजार योनीका अनेकौं जन्म मैले नेपालमै जन्मने अवसर पाएको हुनुपर्छ । म आफ्नै देशको समयघरमा छु । मेरो अगाडि म जस्तै रोबोटिक अन्तरिक्ष यात्रीको पोशाकमा छ एउटा रोबोट । मलाई देख्ने बित्तिकै बोल्यो, “नमस्कार नेपाली समयघरमा तपाईंलाई स्वागत छ ।”

यति मीठो बोली त  एक्काइसौं शताब्दीका टेलिभिजनमा बोल्ने महिला समाचार बाचकको पनि थिएन । बोलीको मिठासले मलाई प्रवेश गर्नमा आनन्द आयो । करीब दश घण्टाको रकेट यात्राको थकाइ भुलाउन  रोबोटको बोली पर्याप्त भयो ।

मैले भनें, ” मलाई यो समयघरको बारेमा सबै कुरा थाहा पाउनु छ । ”

रोबोटले भन्यो, “ठीक छ तपाईं पृथ्वीबाट  अपग्रेड भएर नै त आउनुभएको होला । यहाँ थप सफ्टवेयर जोड्नुपर्ने छैन होला ।”

मैले हजुर मा मुन्टो हल्लाएँ । म एभरेस्ट बेसक्याम्पमा रहेको रिसर्च सेन्टरमा अपग्रेड भएको थिएँ । मलाई रुचि लागेको बस्तुको तस्वीर, भिडियो, अडियो वार्ता, तापक्रम र त्यहाँ हुँदा ममा आउने परिवर्तनको रेकर्ड जस्ता यावत् बस्तु भण्डारण गरिने सफ्टवेयरहरू मेरो शरीरभरि जडान गरिएको थियो । मानव शरीरको ताप र रक्तसञ्चारको चापले चल्नसक्ने सूक्ष्म इन्जिनहरू बनेपछि सबै मानिसमा यो सम्भव थियो ।

मानिसहरूमा अन्तरिक्षमा जान खासै रुचि थिएन । लाखौंमा एकजना गएर आयो भने उसले सबै विवरण अरूमा ट्रान्सफर गर्दा सबैले उस्तै अनुभूति गर्थे । उसो त मैले पनि यसअघि नै अनुभूति लिएकै थिएँ । तर पल पल नयाँ कुरा थपिंदो थियो समयघरमा । समयघरको बारेमा बताउने रोबोट हाजिर भएको हुनाले सबै विवरणको आधिकारिकता रोबोटकै रहनेछ । विषय र प्रसङ्गले जे अर्थ लगाए पनि म मुछिने छैन भनेर अग्रिम स्पष्टीकरण दिन चाहन्छु ।

कुन वेला के थपिन्थ्यो त्यसको विवरण पृथ्वीमा पनि पाउन सकिन्थ्यो । तर पनि मलाई लाखौं होइन लाखौंमा एक नै हुनु थियो । किन र कसरीको प्रश्न नसोधियोस् । त्यो भन्दा महत्त्वपूर्ण समयघर छ ।  पैतिसौं शताब्दीसम्म समयघर पृथ्वीमै थिए रे । त्यतिवेला सम्म त्यसलाई समय मेसिन भनिन्थ्यो रे । उसो त विक्रमको आठौं शदिमा समय मेसिन भनेर घडी बुझिन्थ्यो रे ।  इतिहास सुनेर हाँस्न मनाही छ ।

समयघर कुनै घर जस्तो नै छैन पूरै गाउँ या शहर जस्तो पो छ अझै । ओहो !  कति विशाल शहर । कुनै वेला गरीब अविकसित देश भनिन्थ्यो रे हाम्रो नेपाललाई । समयघर पुगेपछि मलाई ती सबै कुरामा विश्वास नै लागेन । इतिहास झूट हो जस्तो लाग्यो ।

तर रोबोट भाइको कुरा सत्य र तथ्य हुनुपर्छ भन्ने लाग्छ । इतिहासमा  कुनै वेला मान्छेलाई धन मात्रै कमाउने ध्याउन्न थियो होला । समयको काल खण्डमा पैसाका लागि जे पनि गर्ने, हत्या हिंसा चोरी देखि सर्वाधिक आपराधिक काम भ्रष्टाचार समेत हुन्थ्यो रे भन्ने सुन्दा मेरो रोबोट भित्रको शरीर पनि थर्र काम्यो । आफैंलाई ढाँटेर कसरी पैसा कमायो होला मान्छेले त्यो वेला ? के अभाव झेल्न भ्रष्टाचार गर्‍यो होला ? नहुने, हुनै नसक्ने काम कसरी सम्पन्न गरायो होला ? म  त्यो अन्तरिक्षमा पिरोलिएर केही हुनेवाला थिएन । अर्को कुरा त्यो इतिहास थियो भनेर चित्त बुझाएँ ।  पृथ्वीमा रहेका पैतिसौँ शताब्दीका टाइम मेसिनहरू शताब्दीको अन्त्यमा बिनासूचना आएको भूकम्पले क्षति पुर्‍याएको रहेछ । कति महत्त्वपूर्ण चीज नष्ट नै भएछ । ठूलाठूला शहरहरू भूकम्पको झट्काले समुद्रमा बिलाए । भूकम्पको कारण कति देशहरूको नाम निसाना नै मेटियो । कुच्चिएका पुराना ग्लोब र च्यातिएका नक्सामा ती देश खोजिरहनुको जरूरत थिएन तर जब भूकम्पका पराकम्पन रोकिन थाले त्यसपछि बिस्तारै मंगल ग्रहमा र चन्द्र ग्रहमा भएका अनि आकाशमा लामो उडानमा रहेका करोडौं मानिसहरू पृथ्वीमा अवतरण गरे ।

नेपालबाट पनि लाखौं मानिस अन्तरिक्षको उडानमा रहेको, चन्द्रमामा हजारौं अनि मंगल ग्रहतिर सयौं को संख्यामा थिए भनेर रोबोटले भिडियो क्लिप देखाउँदै थियो । यो  भूकम्प जानुअघि शताब्दीयौं देखि नेपालले भूकम्प ब्यहोरेको हुनाले उसले बस्तीब्यवस्थीकरण गरिसकेको रहेछ ।  उच्च हिमाली समथर लेकहरूमा ठूला शहरहरू थिए । तराईमा खेती मात्र गरिन्थ्यो । पहाडमा सबैतिर फलफूल र जडीबुटी मात्र थियो । हिमालयको पिंधमा चट्टान बलियो हुनाले हलचल कम हुने भूकम्पको असर कम हुने त्यो वेलाका वैज्ञानिकको राय थियो । जुन कुरा आजको औसतमा हेर्दा पच्चिस प्रतिशत सत्य थियो । आज घर घरको छतमा एकएक कोठा शून्य गुरुत्वगुण कोठा छन् । त्यो वेला हिमालय आसपास मात्र सुरक्षित क्षेत्र ठानियो । त्यो वेला कुनै मुलुकको कसैसँग प्रतिस्पर्धा थिएन ।

रोबोटको बोली सुनिरहँदा र उसले देखाएका तस्वीर र भिडियोले मलाई पनि पैतिसौँ शताब्दीमै छु जस्तै लाग्यो ।

कुनै पनि देशको आफ्नो भाषा थिएन । आफ्नो मुद्रा थिएन । सिमाना एउटा आदर्श थियो । सिमानामा अरू देशका आगन्तुक आउँदा भव्य स्वागत गर्दै निःशुल्क खानपिन र  बासको व्यवस्था हुन्थ्यो ।

ईसापूर्वको सयौं शताब्दी अघितिर कल्पना गरिएको  आदर्श समाजले पैतिसौँ शताब्दीमा मूर्त रूप लिएको थियो । तर प्रकृति भनौं या नियति या कुनै समयमा  कहिलेकाहीं मान्छेले भन्ने गरेको ईश्वर भनौं उसलाई यो आनन्दी सैह्य भएन । महाको पनि महा भूकम्प गयो ।  दश रेक्टर स्केल क्षमताका मापन यन्त्रमा कुनै संकेत नै देखिएन ।

यति ठूलो झट्का आउला भन्ने कसैले कल्पना गरेको थिएन । संसारका कुनै पनि दुई तले घर बाँकी छैनन् भनेर अन्तरिक्षमा रहेको  सिसी क्यामेराको फुटेज देखाउँदै वर्णन गर्दा म पूरै स्तब्ध भएँ ।

मेरो स्तब्धता देखेर उसले भन्यो, “अब चिन्ता लिनु पर्दैन । अब यस्तो यन्त्र बनिसकेको छ जसले एक वर्ष अघि नै धर्तीवासीलाई भूकम्पको पूरापूर जानकारी दिन्छ । हरेक सरकारले प्रत्येक घरमा गुरुत्वहीन कोठा समेत बनाएकोले अब भूकम्पको कुनै डर हुने छैन । बोटबिरुवा र जीवजन्तु समेत बचाउन सक्ने व्यवस्था मिलाइएको छ अन्तर्राष्ट्रिय रूपमा ।”

रोबोटको कुराले म केही आश्वस्त भएँ । ‘धन्य विज्ञान !’ मेरो मुखबाट एक्कासि फुत्केको शब्द सुनेर ऊ मुसुक्क हाँस्यो ।

समयघरमा पृथ्वीमा बनेका,  विकास भएका, अध्ययन भएका, सबै कुराको विवरण रहेछ ।  महाभारत युद्धताकाका हतियार मध्ये एक प्रकारको वाण जस्तो देखिए पनि वाणका दुई चुच्चा देखाउँदै भन्यो, “यसलाई त्यो वेला ब्रह्मास्त्र भनिन्थ्यो । आजको शक्तिशाली युरेनियम भरेर निर्माण भएको यो वाणकै कारण त्यो युगमा हजारौं मान्छेको एकै चिहान भएको थियो ।”

वेद, पुराण, कुरान, त्रिपिटक, बाइबल देखि आजसम्म छापिएका सम्पूर्ण किताब र ग्रन्थहरूको इ कपीको सूचि देखेर म हैरान भएँ । चाहेका भए सबै ग्रन्थका एक एक शब्द पढ्न सक्थें । तर समयाभावले गर्दा सबै आफूमा इन्स्टल गरेर सकाएँ । संसारभर खिचिएका भिडियो र चलचित्रहरूको अर्को फाँट थियो । ती पनि नाम समेत सुन्न भ्याइनँ सबै डाउनलोड गरेर राखें आफूमा । कुनै जमानामा प्रसिद्धिको मापन मानिएको गिनिज बूक अफ वल्ड  रेकर्डको फेहरिस्त पनि वर्णन गरी नसक्नुको रहेछ । विद्युतीय उत्पादन र उपकरणको विभाग नै भिन्न रहेछ समयघरमा । मोबाइल, क्यामेरा र कम्प्युटरको सचित्र र यथार्थ नालीबेलिको प्लट नै भिन्दै थियो । मलाई सोध्न मन लाग्यो ।

“यस्ता समयघर कति छन् यहाँ ?”

‍रोबोट भाइ भन्दै देखाउँदै गयो । नजीकै जोडिएका दूरबिन क्यामेरा घुमाउँदै । अमेरिकी, त्यो चिनिया, रसियन, भारतीय, श्रीलङ्का, भूटानी गर्दै सबै देशका सानाठूला समयघर देखाए उनले । सबै समयघरमा आफ्नादेशका नागरिकको माग अनुसार विवरणहरू थपिंदै गएको हुन्छ । माग हुने बित्तिकै सार्न सकिने सजिलो प्रविधि त तीन हजार बर्षअघि नै पृथ्वीमा इन्टरनेटको विकास हुँदा नै भएको थियो । अन्तरिक्षमा त्यसभन्दा हजारौं गुणा छिटो र स्तरीय प्रसारण हुन्छ ।

मलाई अर्को कुराले निकै खसखस पार्‍यो । रोबोट भाइलाई पनि यस बारेमा यथार्थ जानकारी होला कि नहोला भन्ने लाग्यो । यद्यपि विकल्प केही थिएन । कोही थिएन अरू । मेरो सोचनीय मौनता देखेर रोबोट मुसुक्क हाँस्यो ।

“तपाईं के सोच्दै हुनुहुन्छ मलाई थाहा छ ।”

उनले यसो भन्दा मलाई महाभारतका कृष्णको याद आयो । किंकर्तव्यविमूढ भएका अर्जुनको अवस्था हेरेर जसरी कृष्ण मुस्कुराउँथे ।

“तपाईंलाई ममाथि शङ्का छ नि ? कि मेरो मनको संशय मेटिएला कि नमेटिएला, हैन । मान्छेहरू यो तहमा कसरी पुगे अबको भावी अवस्था के होला ? यस्तै यस्तै होइन त ?”

मेरो मनको कुरा आएपछि म नमुस्कुराई रहन सकिनँ ।

मान्छेको चासोमा केही कुरा थपिए जब आफ्ना अति साधारण आवश्यकता सजिलो मेहनतबाट पूरा भए । सामान्य जीवको तह भन्दा मान्छेको सोच धेरै माथि थियो पहिल्यै देखि । जब मान्छे सोच्न थाल्यो । त्यसपछि उसले पत्ता लगाएका कुरा यस्ता थिए ।

“ब्रह्माण्डको उदयदेखि आजसम्म र आउने समय सम्मको जानकारी हासिल गर्दै मानव जगतलाई उन्नत पार्नमा मानिसहरूले पुस्तौँ पुस्ता खर्चिए । पृथ्वीका जुनसुकै कुनामा रहेर पनि उन्नति र कल्याणका लागि मानिसहरू लागिपरे । कतै व्यक्तिगत रूपमा त कतै सामूहिक र संगठित रूपमा । एसिया महादेशका मानिसहरू एकान्तमा खोज गर्थे । अमेरिका र युरोप तिरका मानिसहरू संगठित प्रयोगात्मक रूपमा लाग्थे ।”

कुराको चुरोमा कुरा नपुगिरहेकोमा म रोबोटको मुखमा नहेरी अन्यत्र हेर्दै थिएँ । घरीघरी पृथ्वी तिर दूरबिन घुमाउँथें ।  रोबोटलाई मेरो मन आत्तिएको कुरा सजिलोसँग थाहा भयो ।

“तपाईं यो युगमा आएर पनि धैर्य गर्न सक्नुहुन्न ? हरेक कुराको भूमिका हुन्छ । भूमिका भनेको आधार भूमि हो । आधारभूमिको ज्ञान बिना कसरी उच्च तहको कुरा बुझ्न सकिएला ?”

यस्तो लाग्थ्यो त्यहाँ रोबोट नभएर मेरो मन छ रोबोटको रूपमा । म केही पनि ढाँट्न सक्दिनँ । म ढुक्क भएँ । ऊ फेरि मुस्कुरायो ।

शुरू गर्यो फेरि, “एसिया अमेरिकी र युरोपेलीको आविष्कार उस्तै थियो । तर एसियालीको सैद्धान्तिक थियो । अरूको व्यावहारिक । उनीहरूको आविष्कार मूल रूपमा यस्तो थियो । म एक ध्यान भएँ ।

सौर्य मण्डलमा आएको ठूलो हलचलले हजारौं वर्ष लियो एउटा स्थिरता पाउन । यसलाई मानिसहरूले यसरी काल्पनिक रूपमा चित्रित गरेका छन् भन्दै बीसौं शताब्दीका केही सिनेमा देखाए । मानिसले शुरूवात देखि निरन्तर प्रगति गर्नुका पछाडि धेरै कुराको हात छ । म बुँदागत संक्षेपमा भन्छु । तपाईंसँग इच्छा भए फेरि पनि विस्तृत जाउँला । रोबोट महासयले जीउ तन्काउनुभयो ।

विस्तृत रूपमा थाहा पाउन तपाईं अर्को पटक फेरि आउनु हुनेछ यो समयघरमा । आज संक्षेपमा सुन्नुहोस् । मानिसले पहिले आफैंमा भएका शक्ति पहिचान गर्नमा समय लगायो । ती शक्तिहरू यी हुन् : अन्तरिक्ष, मस्तिष्क, यथार्थ, शक्ति, आत्मा र समय ।

हामी अन्तरिक्षमा छौं । हामीमा पनि अन्तरिक्ष छ । मस्तिष्क यस्तो चीज हो जसको प्राप्ति मानिसलाई भएको छ असीमित सम्भावना लिएर । यथार्थ भनेर हामी जे भन्छौं यथार्थमा त्यो यथार्थ अरबौं गुणाको छ । शक्तिका बारेमा त तपाईं म र सबै परिचित छौं । पृथ्वीमा जे जति भयो शक्तिका कारण भयो भनेर विश्वास गरिन्छ अझैसम्म । जुन शक्ति तपाईं र ममा उत्तिकै छ बराबर । आत्मा ममा छैन । म एक निर्जीव हुँ । तपाईंको बारेमा सबै कुरा मलाई थाहा भएर पनि कति कुरा थाहा छैन । तपाईंको भोक र मेरो विद्युतीय शक्तिको अभाव भिन्न कुरा हुन् । म शक्तिहीन हुनु र तपाईं थाक्नु फरक हो । ममा आत्मा छैन । र अन्तिम कुरा  छ समय । समयलाई अन्तिम कुरा भन्न नै सकिन्न । आफैसँग हाँस्यो रोबोट समयको प्रसङ्गमा ।

समयघरमा रहेर समयको व्याख्या गर्नु कति उचित होला ? रोबोट जी फेरि हाँस्यो । तपाईं यहाँ ब्रह्माण्डमा आएको हलचलदेखि आज सम्मका कुरा बुझ्न चाहनुहुन्छ । समय यही हो । तपाईं व्यतीत गर्दै जानुहुन्छ, भविष्य भन्नुहुन्छ । तर होइन तपाईं एउटा समय हो । म एउटा समय हुँ । सारा मानिस अझ भनूँ सबै चीज (निर्जीव या सजीव) सबै समय हुन् । समय छ तर खण्ड खण्ड छैन । भूत, भविष्य र वर्तमान त तपाईं हाम्रा अनुभूति हुन् ।

तपाईंको समय सकियो भन्दा झस्किनु होला । होइन समय छ तपाईं सकिंदै हुनुहुन्छ । बुझ्नु भयो ?”

रोबोटले सोधेको कुरामा मैले ‘अँ, हो’को टाउको हल्लाएँ । मस्तिष्क बाहेक सबै चिप्सहरूमा खाली ठाउँ नभएको संकेत देखेपछि रोबोटले मलाई बाँकी कुरा अर्को भेटमा भन्दै अँगालो हालेर बिदाइ गर्यो ।

छ तत्त्वका बारेमा बीउ मात्र छरियो मेरो मनमा । मलाई थाहा हुँदै गयो, रकेटमा तल तल झरेको ।