यता चाडबाडको बजारमा
मौसमी अनुगमन चलेको छ
उता शरदऋतुले छोपेको बगैँचामा
शीत झर्दैगरेको चिसो रातसँगै
बेमौसमी हुरीको वेग चलेको छ

यता मेरो लागि देखिने गरी
नून अनुगमनमा परेको छ
उता उसको लागि नदेखिने गरी
सुन अनुगमनमा परेको छ
मानौ जूनदेखि जूनकिरीसम्म
अनुगमनको त्रासमा परेको छ

कोही भन्छन्, अनुगमन निर्मम भयो
कोही भन्छन्, अनुगमन फितलो भयो
तर वास्तवमा यो मात्र भ्रम हो
कागजले छोपेको सरम लुकाउने
सरकारी सुरूवाल र इँजारको धरम हो ।

चैनपुर , संखुवासभा
हाल – रातोपुल, काठमाडाैँ