सम्पूर्ण ज्ञात अज्ञात पितृहरूमा सास टाङ्न दण्ड वत् प्रणाम !

म यो भू-लोकमा सन्चै छु भनेर नसोच्नुहोला । नामै डरलाग्दो ‘भू-लोक’ भएपछि सन्चो हुने कुरा भएन । यहाँको एउटा मच्छरले पनि अर्को वर्ष मलाई तपाईंहरूसँगै पिण्ड खुवाउन सक्छ । बाटोमा हिंडे टिपरले, गुडे पहिरोले, उडे जहाजले हाम्रो भेट गराउन सक्छ । पैसा भए गुण्डाले, नभए भोकले, विदेश गए शोकले र देशमै बसे बिजोगले सिद्ध्याउन सक्छ यो नाथे जिन्दगी । कसैगरी बाँचिहाले सरकारले गरिदिन्छ ‘राम नाम सत्य’ । इन्द्रजी त त्यस्तो नहोलान् !

तपाईंहरूलाई पनि उति सन्चो त नहोला । सन्चै भए किन पितृ हुनुपर्थ्यो ! अहिले यस लोकमा पितृहरूको महान् चाड सोह्र श्राद्ध धूमधामले मनाइँदैछ । पण्डितहरूले विभिन्न किसिमका अफर ल्याएका छन् । यता के दान गर्दा उता पितृलोकमा के पाउने भन्ने कुराको सम्पूर्ण विवरण छ । सबैभन्दा बढी चाहिं ‘पितृ मोक्षम् स्किम’ चलेको छ । घाट, मन्दिर र घरहरू पितृहरूले भरिएका छन् ।

केही दिन अगाडि नै सबैका पितृहरू अटैची र सुटकेस बोकेर यस लोकतर्फ प्रस्थान गरिसकेका छन् भन्ने सुनेको छु । तपाईंहरूले छुट्टी पाउनुभयो कि भएन ? टिकेट काट्नु भयो कि भएन ? यता त अग्रिम बुकिङ नगराए टिकट पाउन मुस्किल पर्छ भन्ने कुरा थाहै होला । कुटाकुट, लुछाचुँड नै हुन्छ । साँच्ची, त्यता सिन्डिकेट हुन्छ किन हुँदैन ? सकिन्छ भने यमको ‘पठाऊ’ या ‘इन्द्रा-इभ’ प्रयोग गरेर आउन सके सजिलो हुने थियो । बेला-बेला पठाएको दानदक्षिणा पक्कै होला । कि आफ्नै साधन लिनुभयो ? यता त एक घर ४ साधन हुन्छ । आफ्नै साधन भए गुगल म्याम प्रयोग गर्दै आउनुहोला । एक वर्षमा यताको नक्शा निकै परिवर्तन भएको छ । सकेसम्म चाँडो निस्कनु, अरू पितृ पनि यही बेला हिंड्ने हुनाले बाटोमा जाम पर्न सक्छ । आफैं आउँछु नभन्नु, आइपुग्ने बित्तिकै फोन गर्नु । अर्कैको घरमा पुग्नुहोला र मान्छे तर्सेलान् । अँ अचेल मान्छेदेखि मान्छे तर्सिन थालेका छन् । ए, तपाईँहरू मान्छे रहनुभएन है । आराम भो !

अनि काम कस्तो चल्दैछ ? केमा काम पाउनुभयो ? चिसो तेल तताएर पापीलाई तार्ने विभागमा मेरो एक जना साथीको पितृ हुनुहुन्छ भन्ने सुनेको छु । मैले थाह पाए अनुसार एक जना आफन्त पिपको पोखरीका गार्ड छन् । पण्डितको हातबाट लुडो र बाघचाल पठाइदिउँला, मिलेर खेल्नुहोला । कि यताको जस्तै एक्ला एक्लै अनलाइन गेम खेल्नुहुन्छ ? अनि त्यहाँ यताबाट गएका र आउने तरखरमा रहेका भष्ट्रचारी आत्मासँग सङ्गत नगर्नुहोला । देश डुबाएर जानेले मरेपछि पनि सताउन सक्छन् । तमिस्रमअंधतम्त्र्समरौरावम, कुम्भिपाकम, कालासुत्रमअन्धकूपम लगायत जुन विभागमा काम परे पनि इमानदार भएर गर्नुहोला । काममा जाँदा नेपाली समयमा जान्छु नभन्नुहोला, निकाल्देलान् ।

सबैभन्दा पहिले म माफ पनि माग्न चाहन्छु । मैले सधैं तपाईंहरूलाई पिण्ड खुवाउन ढिलो गर्ने गरेको छु । के गर्नु, सिजन भएकाले पण्डितहरू समयमा आउँदैनन् । आफूलाई पनि कुइँ कुइँ हुन्छ । नि के गर्नु ? चिया मात्र खाएको ज्यान ग्यास्ट्रिकले औडाह भएर झुसिले डकार निस्कन्छ । त्यसमाथि मलाई शङ्कै लाग्छ, तपाईंहरूले राम्रोसँग खान पनि पाउनुहुन्न होला । जुन रफ्तारमा पण्डितले मन्त्र भट्याएर जान्छन्, त्यो रफ्तारले त इमिनेमले पनि र्‍याप भट्याउँदैन । म जान्दिनँ, स्वर्गमा समय कस्तो चल्छ, तर हाम्रो त यहाँ यस्तै छ । भोगेरै जानुभएको त हो । तपाईंहरूको भोक मेटाउन सक्दिनँ कि भन्ने चिन्ताले सताइरहन्छ । खैर, यो वर्षको सोह्र श्राद्धमा तपाईंहरू फेरि आउनुहुन्छ भन्ने आशा लिएर मीठा पकवान बनाउने तयारीमा लागेको छु । यति आश्वासन नदिए नआउनुहोला भनेर नि ! यताको जिन्दगी आश्वासनमै चल्ने गरेको छ । त्यताको सदोगति कस्तो चलेको छ थाह भएन ।

के तपाईंहरूलाई अझै घिउ, दूध, मह, रोटी, पिण्डको डल्लो नै मन पर्छ ? अझै त्यसमै रमाउनुहुन्छ कि आधुनिक खानपानको इच्छा छ ? भन्नु है ।

एउटा कुरा त भन्नै बिर्सेछु । तपाईंहरूको जस्तै यता पनि खानाको डेलिभरी हुन थालेको छ । तर, त्यो खाना पण्डितले होइन डेलिभरी ब्वाईले ल्याउँछ । मन लागेको खानकी घरमै आइपुग्छ । तपाईंहरूको मुखै अगाडि पिण्ड आए जसरी । यताबाट पठाएको दानदक्षिणाले अनलाइन खाना अर्डर गर्न पुगेको छ कि छैन ? अनलाइन पेमेन्टको सुविधा आएको भएको एकाउन्ट नम्बर पठाउनुहोला । क्युआर भए झन् सजिलो ।

इन्टरनेट जोड्नु भएको छ कि छैन ? छ भने यसो फ्री हुँदा फेसबुक, इन्स्टा चलाउनु । हामीले गरेका श्राद्धका तस्बिरहरूमा ‘लाइक’ ठोक्नु । ‘बाँचुन्जेल नदिएको सुख सन्तानले मरेपछि दिए’ भनेर कमेन्ट गर्नु । दिक्क लागे पितृ रिक्वेस्ट पठाएर, कहिलेकाहीं भिडियो कल गर्नु  । पापीहरूलाई कोर्रा हान्दै गरेको भिडियो रिल्समा हाल्नु । अप्सराहरू नाचेको टिकटक बनाउनु, पैसो पनि कमाइ हुन्छ । विभिन्न लोक जाँदा भ्लगहरू बनाउनु । इन्द्रको फोलोअर्स बढी होला, ट्याग गर्नु । शिव त सेलेब्रेटी भइहाले ।

त्यता रियालिटी सो हुन्छ कि हुँदैन ? भए पनि भाग नलिनु । मैले गरेको दान सबै भोट गर्दै सकिएला । भोट गर्ने ठाउँमा कलाले जित्दैन भन्ने बुझ्नु भएकै होला । यता पनि हरिबिजोग भएर गएको, उता पनि कान्तबिजोग होला ।

अनि पितृ लोकमा कुन तन्त्र चलेको छ ? पक्कै राजतन्त्र होला । राजतन्त्रमा सम्हालिएर बोल्नुहोला । इन्द्रलाई पदच्युत गराउने भन्दै नहिंड्नु होला । गणतन्त्रले पनि लछारपाटो लगाउने होइन । उधुमै गर्ने होइन ।

अब चिठीमै के धेरै कुरा गर्नु ! नेपालीको बढ्ता बोल्ने बानी कहिल्यै नजाने भो भन्लान् अरू देशका पितृले । अब यतै तिथिको दिन भेटौंला ।

– उही आज्ञाकारी सन्तानको ढोङ गर्ने मनुवा