तपाईंले खाना खानुभयो ? आफैंले बनाएर खानुभयो कि अरूले बनाएर दिएको खानुभयो ?

कवि तथा आख्यानकार प्रोल्लास सिन्धुलीय भन्छन्, “मीठो खाने मन छ भने आफैंले मीठो बनाउन जान्नुपर्छ ।” उनकै निवासमा भएको हाम्रो भेटमा खानपिनका यस्तै तीतामीठा कुराहरू या भनौं स्मृतिहरू उनले साझा गरे ।

उनलाई बुबाको अनुहार स्पष्ट सम्झना छैन । बुबाको निधन हुँदा उनी करिब साढे दुई वर्षका थिए ।

उनी भन्छन्, “बुबा ०३४ सालमा बित्नुभयो, म ०३२ सालमा जन्मिएको हुँ ।” मान्छेहरू उनको बुबालाई विभिन्न तरिकाले सम्झने गर्छन् । प्रोल्लासका बुबा कवि–व्यक्तित्व उमानाथ शास्त्री सिन्धुलीय चर्चित महाकाव्य ‘मकवानीबाला’ का स्रष्टा हुनुहुन्छ । ‘यो पुस्तक गर्भेटुहुरो हुन पुग्यो’ भनेर लेख्दै साझा प्रकाशनले उहाँको निधन भइसकेपछि ०३५ सालमा उक्त पुस्तक प्रकाशित गरेको थियो । उहाँलाई कसैले संस्कृत र साहित्यका विद्वान्, कसैले गुरु त कसैले कविको रूपमा पनि चिन्ने गर्छन् ।

देहावसानको केही दिनअघिसम्म उहाँले अध्यापक, प्रधानाध्यापक भएर काम गरिरहनुभयो । सप्ताह, पुराण लगाउँदा पण्डितहरूले संस्कृतमै भट्ट्याउने अनि धर्म हुन्छ भनेर श्रोताहरूले उँघेर सुन्ने प्रचलनलाई चिर्दै त्यस समयमा सम्भवतः नेपालमै पहिलो पटक उहाँले सम्पूर्ण कथा नेपालीमै सुनाउने चलन चलाई दिनुभएको थियो । जिल्लाकै पहिलो विद्यालय स्थापना गर्न उहाँले खेलेको भूमिका आदि कुरा अतुलनीय छन् । कविको रूपमा पनि उहाँ अब्बल र निकै चर्चित हुनुहुन्थ्यो ।

तर, जिल्लामा कवि–व्यक्तित्वको रूपमा भन्दा पनि शैक्षिक व्यक्तित्वको रूपमा बढी चिनिनुभयो । उहाँको नाउँमा जिल्लामा दुई तले भवनसहितको प्रतिष्ठान नै सञ्चालनमा छ र सालिकसमेत बनेको छ । पूर्व २ नम्बरमै पहिलो पटक हलो जोत्ने बाहुन उहाँ नै हुनुहुन्थ्यो । ०२०–२१ सालतिर कथित तल्लो जातका भनिने कामी, सार्कीलाई भान्साको जिम्मेवारी दिएर सहभोज गराउने उहाँका सामाजिक क्रान्तिका किस्सा प्रशस्तै छन् ।

बुवाका यस्ता धेरै किस्साहरू छन् । प्रोल्लास भन्छन्, “बुबासँग जोडिएका कुनै घटना मेरो सम्झनामा भने छैनन् ।”

आमासँग जोडिएका थुप्रै घटना छन् उनको स्मृतिमा । आमा सामान्य जिन्दगी बिताउने गृहिणी मान्छे हुनुभएकीले उहाँका धेरै किस्सा हुने कुरा भएनन् । यद्यपि, आमालाई जति मान्छेले सम्झन्छन्, उहाँको पाककलाका लागि सम्झने गर्छन् । मानिसहरू ‘ओहो ! गुरुआमाले पकाएर दिएको जस्तो मीठो खाना त्यसपछि मैले जिन्दगीमा कहिल्यै खान पाएको छैन’ भन्नेहरू अझै छन् । उहाँको हातको खाना खाने अधिकांशले स्वाद बिर्संदैनन् । विशेषगरी माड हालेर साँधेको गुन्द्रुकको स्वाद धेरैले बिर्सन सकेका छैनन् । “‘गुन्द्रुक पनि यस्तो मीठो हुन्छ र ?’ भन्दै मानिसहरू खान्थे । थोरै मान्छेको बीचमा सही, मीठो पकाउनमा आमाको प्रसिद्धि थियो । त्यसका पारखीहरू अझै आमाको हातको बयान गरेर थाक्दैनन् ।”

कान्छो छोरो भएको र बुबा समेत नभएको हुनाले प्रोल्लासले आमाको अतिरिक्त माया पाए । मीठामीठा कुराको पहिलो हकदार उनी हुने नै भए । तर, त्यो अवसर पनि उनका लागि क्षणिक हुन पुग्यो । काइँलो छोराको नातिको मुख हेर्न काठमाडौँ जाँदै गर्नुभएकी सद्दे आमाको मुटुको व्यथाले रात्रिबसको सीटमै निधन हुन पुग्यो । उनी १३ वर्षको उमेरमै अकस्मात् पूरै टुहुरो बन्न पुगे ।

त्यति मीठो पकाउने आमाको खानाको स्वादमा रम्दै आएका प्रोल्लास त्यसपछि फेला परे— भाउजूको भान्साको । अब भाउजूको पकवान कस्तो हुन्थ्यो ? एउटा सानु घटनाबाट अन्दाज गरौं ।

वैशाखे पूर्णिमामा प्रोल्लासको परिवारले देवाली पूजा गर्छन् । त्यतिवेला ३–४ वटा बोका काटिन्छन् । परिवार, आफन्त भेटघाट हुन्छ । उनको भर्खर विवाह भएको थियो । देवालीका लागि उनी पत्नीसहित गाउँ पुगेका थिए । कान्छी बुहारी भएकाले उनकी पत्नीलाई भान्साको जिम्मेवारी आइलाग्ने नै भयो । त्यस दिन पहिलो लटको मासु पकाउनुपर्ने थियो । पूजाआजा सकेर मासु काटकुट गर्दा दिउँसो भइसकेको हुनाले उनी ठूलो भाँडोमा मासु पकाउन ठीक परिन् । त्यसैको लागि उनी तयारी गर्दै थिइन् ।

त्यसैबीच भाउजू आएर कराहीमा तेल हालिदिएर जानुभयो । दनदनी आगो बलिरहेको छ । ठूलो कराई बसाइएको छ । मासु ओइरिनलाई तेल हाल्न खोज्दा उनकी पत्नीले देखिन्— त्यसमा थोरै तेल हालिसकिएको छ । ‘शायद जेठानी दिदीले त्यही भाँडोमा पहिले साग पकाउन लाग्नुभयो होला’ भन्ने उनलाई लाग्यो । उनी सोधीखोजी गर्न थालिन्, ‘दिदी, यसमा के पकाउन लाग्नुभएको ? साग हो ?’ भन्दै । तेल हालेर बारीतिर लाग्नुभएकी भाउजूले सुनेको नसुन्यै गरिरहनुभयो । उनी अलमलिएको देखेर प्रोल्लास भित्र गए र तेलको भाँडो खोजेर दिँदै भने ‘ल तिमीलाई कति तेल हाल्नु छ हाल । तिमीले धेरै हाल्छौ भनेर भाउजूले खटाएर राखिदिनु भएको हो ।’

प्रोल्लास सुनाउँछन्, “भाउजूको साना–साना बट्टाहरूमा थोरै तेल, मसला राख्ने बानी थियो । एक–दुई छाक पुग्ने मात्र राख्नुहुन्थ्यो, हाल्दा धेरै पर्छ भनेर होला शायद । त्यो एकदम किफायती भनौं या के भनौं, त्यस्तो किसिमको बानी थियो । मजाले तेल, मसला नहाली पकाएको मीठो हुने कुरा दुर्लभै भइहाल्यो । अहिले त धेरै वर्ष भयो त्यो घटना भएको पनि । मीठो पकाउनुहुन्छ होला उहाँ । तर, त्यतिवेलाको स्थिति त्यस्तो थियो ।” तथापि, आफू अचेल पाहुना लाग्न जाँदा समेत दाजु आफै भान्सामा पसेको देख्दा भने अझै उस्तै होला कि भन्ने दुबिधा उनलाई छँदै छ ।

आमाले पकाएको निकै मीठो खाइरहेका प्रोल्लास भवितव्यमा परी त्यही भाउजूको भान्साको फेला परे । दाइहरूको शरणमा बाँच्नुपर्ने भएकाले म यस्तो खान्छु, उस्तो खान्न भनेर घुर्क्याउने, दंग्याउने स्वतन्त्रता उनलाई भएन । भोक लागेपछि जे हात पर्‍यो, खानै पर्‍यो ! तर, खाना खाँदा घाँटीबाट निल्न मुश्किल हुन्थ्यो । किक्लिक्क–किक्लिक्क हुन्थ्यो । यद्यपि उनी जबरजस्ती भए पनि खाना चाहिं सक्थे । त्यतिवेला देखि आफ्नो भागमा जे–जस्तो परेको छ, त्यसलाई सिनित्त सिध्याउने बानी बसेको उनी बताउँछन् । अहिलेसम्म उनी भागमा राखिदिएको मीठो-नमीठो जेजस्तो भए पनि खाएर सक्छन् ।

यही खानासँग सम्बन्धित त्यतिवेलाको एउटा रमाइलो किस्सा छ । अहिले पनि गाउँ जाँदा उनलाई छिमेकीहरूले “कान्छा, तँलाई मन पर्ने मोही छ, खाएर जा” भन्दै बोलाउँछन् । उनीहरूका लागि प्रोल्लासलाई मन पर्ने मोही भनेको अमिलो न अमिलो मोही हो । दिन त अचेल उनीहरू उनलाई मिठै दही दिन्छन्, अमिलो मोही दिँदैनन् तर खाँदै गर्दा “अमिलो पनि छ, खान्छस् ?” भनेर चाहिं सोध्छन् । त्यस बखत यसले किन अमिलो मोही मन पराउँथ्यो ? भन्ने रहस्य चाहिं अहिलेसम्म कसैलाई थाहा छैन ।

भाउजूको खानासँग यो कुरा जोडिन्छ । आमा हुँदा घरमा एउटा दुहुना गाई थियो । आमाको अन्त्येष्टिको समयमा त्यो गाई पुरेतलाई दान दिइयो । त्यसपछि घरमा दूधालु गाईभैँसी आएनन् । केही दिनको फरकमा छिमेकीहरूले मोही पार्ने गर्थे । यसरी मोही पारेको दिनमा लिन बोलाउँथे । उनी खुरुरु दौडिएर जान्थे र लिएर आउँथे । यसरी आएको मोही परिवारमा सबैले खाँदा एक छाकमै सकिन्थ्यो । अलिकति दूधदही भेटे त्यो छाक प्रोल्लासलाई चिठ्ठा परेझैँ हुन्थ्यो । एक छाक त स्वादले निलियो, अब अर्को छाकदेखि सुख्खाराम ! त्यो समस्यालाई टार्न उनले मनमनै एउटा उपाय निकाले । ताजा मोही लिन बोलाएको बेलामा प्रोल्लास छिमेकीलाई भन्न थाले, “अस्तिको मोही छैन ? अमिलो खालको ? मलाई त यो फिटिक्कै मन पर्दैन !”

यद्यपि, मन नपरेर उनले त्यसो भनेका होइनन् । उनलाई मन त ताजा, बाक्लो मोही नै मन पर्थ्यो । उनले यस्तो भन्नुको दुइटा कारण हुन्थ्यो । एक- छिमेकीले आजको मोही त बोलाएरै दिने भए, भोलि, पर्सिसम्म रहेभएमा बरु कुँडोमा हाल्थे, अपजस आउँछ भनेर अमिलो मोही अरूलाई दिंदैनथे । प्रोल्लासले यति भनेपछि उनीहरू भोलि, पर्सि, निकोर्सि भए पनि उनलाई सम्झिने भए । “कान्छोले मन पराउँछ” भन्दै कुँडोमा हाल्न लागेको मोही समेत बोलाएर दिन्थे । अर्को कुरा-अमिलो मोही घरमा कसैले नछुने भए । एक जग ल्यायो भने बिहान, बेलुका, अर्को दिनसम्म पुर्‍याईपुर्‍याई खान पाइयो ! अनि त प्रोल्लासको दुई छाकको जोहो मज्जाले भइहाल्यो !

प्रोल्लास आफ्नो दिवङ्गत जेठो दाजुले कुनै दिन भनेको सम्झन्छन्, ‘हेर कान्छा ! आफूले मीठो बनाउन जानेन भने कसैले पनि मीठो ख्वाउँदैनन् ।’ त्यतिवेला उनले दाजुको उक्त कुराको भेउ नपाए पनि पछि कुरा बुझे । प्रोल्लास र उनको दाजुको उमेर बुबा–छोराझैँ फरक थियो । दाजुको विवाह भएको दिन उनी २३ दिनका थिए । दाजुले त्यसो भन्नुका पछाडि पनि एउटा रमाइलो कुरा रहेछ । जेठो छोरो दाजु अलि पुलपुलिएरै हुर्किनुभएको थियो । १७–१८ वर्षको उमेरमा उहाँको विवाह भयो । आमाको खानाको बारेमा त यहाँहरूले थाहा पाइहाल्नुभयो ! जेठो अनि पुलपुलिएर हुर्किएको छोरो, त्यस माथि आमाको हातको खाना खाएको बानी । तर, आमाले पकाएको खाना उहाँले केही अपजस नलगाई कहिल्यै खानुहुँदो रहेनछ । कहिले के, कहिले के भनिरहनु हुन्थ्यो, ठीक छ भने पनि नून थपेर खाइदिने गर्नुहुन्थ्यो ।

विवाह भएपछि भान्सा बुहारीलाई छाड्दिनै पर्‍यो । आमालाई ‘अब यसले के गर्दो रहेछ ?’ भन्ने लागेछ । ‘मैले जस्तो मीठो बनाएर दिंदा पनि यसले अपजस नलगाई खाँदैन थियो, आफ्नै पत्नीले पकाएको के गर्ने रहेछ’ भन्ने कुरामा आमालाई खूब चासो थियो । भाउजूको माइतमा विवाह नगरेकी छोरीलाई भान्सामा छिर्न नदिने चलन रहेछ । यसको मतलब उहाँलाई केही पनि पकाउन आउँदैन थियो । किनभने, उहाँले अहिलेसम्म भान्सामा छिर्नै पाउनुभएको थिएन । अहिले भने ठूली भाउजूले निकै मीठो पकाउने प्रोल्लास बताउँछन् ।

“हाम्रो परिवारमा अहिले सबैभन्दा मीठो पकाउने नै ठूली भाउजू हो ।” उनी भन्छन् ।

जस्तो पकाएर दिए पनि गुनासो गर्ने दाजुलाई अप्ठ्यारो पर्‍यो । आफ्नै पत्नीले पकाएको खानालाई केही भन्नु पनि भएन ! पहिलो दिन त दाजु चूपचाप केही नभनी खाएर जानुभएछ । दोस्रो, तेस्रो दिनपछि भाउजू भान्सामा छिरेर पकाउने बेला ‘खोइ, खोइ, छोड, छोड ! यति तरकारी चाहिं म हेरिदिन्छु’ भनेर दाजु आफैले पकाउन थाल्नुभएछ । प्रोल्लास भन्छन्, “खासमा दाइले आफ्नै अनुभव सुनाउनुभएको रहेछ ।”

यसरी प्रोल्लासका तीतामीठा स्मृतिहरू सुन्दासुन्दै मलाई पनि भोक लागे जस्तो भयो । उनले पनि मेरो मनोभावना बुझे शायद, एक जम्बो कप मीठो कफी बनाएर खुवाए । हिंड्ने बेलामा “समय छ भने तपाईंले चिनेकै एक जना मान्छेकहाँ लैजान्छु” भनेर आफ्नो बाइकमा बसाले । उनले छिनभरमै उनको घरभन्दा अलिक माथि गोठाटारमा गजलकार नारायण काइँलाको सातु पसलमा पुर्‍याए । काइँलाले ज्यादै स्वादिलो मिक्स सातुको एउटा–एउटा पोका थमाएपछि एक दिन प्रोल्लासले बनाएको मीठो खाना खाने अपेक्षा सहित मैले उनीसँग बिदा लिएँ ।