यदि उनको मृत्यु कुनै दुर्घटना वा शंकास्पद परिस्थितिमा भयो भने त्यो दुर्घटना होइन, हत्या हुनेछ । र सोको लागि मधुसूदन, बिर्खलाल र हवलदार शेरबहादुर जिम्मेवार हुनेछन् ।

 

सुन्तली मरी भन्ने खबर जङ्गलमा डढेलो लागे झैं गाउँभरि तुरुन्तै फिंजियो । गाउँका सबै जना त्यहाँ जम्मा भए, पुरुषहरू घटनास्थल नजिक र महिलाहरू अलि पर उभेर रमिता हेर्न थाले । लास खोलाको ढुङ्गे बगरमा लडिरहेको थियो — आधी पानीमा, आधी बगरमा । ठ्याक्कै भन्ने हो भने टाउको बगरमा र खुट्टाहरू पानीमा । अनुहार सुन्निएको, शरीरमा डामैडाम र एउटा हात पिठ्युँले थिचेर बाङ्गो । लास नाङ्गो जस्तै थियो, च्यातिएको चोलोबाट एउटा दूध चियाइरहेको थियो भने कम्मरसम्म नाङ्गो एउटा खुट्टोले मान्छेको भीडलाई एकोहोरो हेरिरहेको थियो ।

शिकारीले पहिला लासलाई छोप्न खोजेको र पछि ‘आ, छोपेर के फायदा ऊ मरी त सकी’ भनेर छाडिदियो जस्तो बुझिन्थ्यो । दृश्य कुनै बलिउड फिल्मको मर्डर सेटअप जस्तै थियो, फरक के मात्र थियो भने त्यहाँ लाससँगै ब्याकग्राउन्ड सङ्गीत बजिरहेको हुन्छ, यहाँ त्यस्तो केही थिएन । भीडले पुलिसलाई पर्खिराखेको थियो तर महिला मुखहरू चुप थिएनन्, कुनै टिभी डिबेट जस्तै घटनामाथि आआफ्ना कमेन्ट दिंदै थिए ।

“यस्तो आइमाईको यस्तै अन्त हुन्छ । ऊ जसरी आफ्नो जीवन चलाउँदै थिई त्यसमा यस्तो त हुनु नै थियो । समाजको कलंक थिई ऊ, र त्यसैले उसको अन्त पनि नराम्रो भयो,” भनिन् एक जनाले ।

“कुरो ठीक हो,” अर्कीले थपिन्, “विधवी भएर पनि विधवीको कुनै लक्षण थियो र त्यसमा ? लोग्नेको मृत्युको दुःख पीडाको त एउटा चिनो समेत देखिएन उसको अनुहारमा । र त्यसको चालचलन, छिः ।”

“दुःख रे ? गाहकहरूसँग कसरी मस्कीमस्की कुरा गर्थी देखिनौ उसको हाँसो र कर्के हेराइ ? यो उसको आफ्नै कर्मको फल त हो नि !” अर्कीले आफ्नो राय पोखिन् ।

“म त के भन्छु भने भगवानले जे गर्छ राम्रै गर्छ । यस गाउँका सबै पुरुषहरूलाई बिगारिसकेकी थिई । २० वर्षका उरन्ठ्याउलादेखि ६० वर्षका बुढन्ठ्याउलाहरू समेत बिहान बेलुकी त्यसको पसलमा बिना नागा सधैँ हाजिरी लाउँथे, पसल भएन मन्दिर भै गो ।” अर्कीले अलि फरक दृष्टिकोण राखिन् ।

“तपाईं ढुक्क हुनुस् दिदी, अब भिनाजु घरमै बस्नुहुन्छ अनि मनभरि कुरा गर्नुहोला, जेजे मन लाग्छ सबै गर्नुहोला ।” सबै जना गलल हाँसे ।

“अँ त्यै आश गरौँ” एउटी पाकी महिलाले भनिन्, “गाउँका पुरुषहरू वास्तवमा त्यति नराम्रा त होइनन् । यो त यही चरित्रहीन आइमाईले बिगारेको हो ।”

“के भन्नु भएको त्यस्तो दिदी ? उनीहरूको केही दोष छैन ? मर्दको जात ! कुनै आइमाई आफ्नो बाटो गइरहेको छ भने मरेको मर्दको लासले पनि उठेर हेर्न थाल्छ । उनीहरूको दोष छैन ?”

“जे भए नि हामीले एउटा कुरा त स्वीकार्नै पर्छ कि त्यो आइमाई आँटी रहिछ । एक्लै एक्लै पसल थाप्नु र चलाउनु हामी तपाईं गर्न सक्दैनौँ ।”

“पसल चलाउनु जाबो त्यस्तो कुन ठूलो कुरो हो र ? अलिकति मस्किनु पर्छ, अलिकति नखरा गर्नुपर्छ, मर्दहरू मिठाइमा माखा जस्तै झुम्मिन्छन् ।”

“किन चलाउँदैनस् त ? भन्नु जस्तो सजिलो कहाँ छ र बाबै । खोल न तेरो पसल ।” भीडमा हाँसोको फोहरा छुट्यो ।

“तँ बढी न हो है ! किन खोल्नु मैले पसल ?”

“कसले मार्‍यो होला उसलाई ?” कसैले विषय बदलिन् ।

“थुप्रै मान्छे थिए उसको । मौका नपाएकाले गरे होलान् नि । मलाई त दया लागेर आउँछ । यो सिङ्गै गाउँमा र शायद सिङ्गै संसारमा उसको आफ्नो भन्ने कोही पनि रहेनछ । मर्द मानिसहरूले चलाएको यस क्रूर संसारमा ऊ एक्लै बाँच्ने प्रयास गर्दै थिई । बिचरी !” कसैले सहानुभूतिका केही शब्दहरू सुन्तलीका लागि पोखेको यो पहिलो पल्ट थियो ।

“त्यो पनि हो तर ऊ आफै पनि चोखो चाहिँ थिइन है । उसको चरित्र र बानी ब्यहोराले गर्दा नै त उसको यस्तो अन्त हुन गएको हो ।”

“जे भए पनि अब ऊ यस दुनियाँमा छैन अनि उसको बारे नराम्रो कुरा किन गर्ने ? छाडिदिऊँ सब कुरा । बरु कहाँ गए ती सब असल मान्छेहरू जो दिनरात उसको होटेल धाइरहन्थे ? लासलाई छोपिदिने सज्जनतासम्म पनि देखाएन सज्जन वृन्दहरूले । एक जना मान्छे छैन उसको मृत्युमाथि एक थोपा आँसु बगाउने । बिचरी !”

उता पुरुषहरूको कमेन्ट्स महिलाहरूभन्दा भिन्न खालका थिए ।

“कसले गर्‍यो होला यस्तो ? कुनै गाउँलेको काम त यो होइन । हत्यारा वा हत्याराहरू बाहिरिया हुनुपर्छ ।” एक जनाले भन्यो ।

“जसले गरेको भए पनि कसरी गर्नपर्छ भन्ने राम्ररी थाहा रहेछ उसलाई । यो काम चाहिँ पक्कै पनि आधी राततिर गरिएको हुनुपर्छ,” भन्यो अर्कोले ।

“अब उसको पसलको के हुन्छ ?” कसैले सोध्यो ।

“तै मधुसूदनको त हुन्छ होला नि । खोल्न पनि उसैले मदत गरेको थियो क्यारे । अब सुन्तली छैन । हुँदा उसैको थिई अब मरेपछि उसको पसल पनि मधुसूदन कै हुन्छ, अरू कसको हुन्छ र ?” यस कुरामा सबै गलल हाँसे ।

“होइन, मदत त मधुसूदनले मात्र कहाँ गरेको हो र ? बिर्खलाल र हवलदार शेरबहादुरले पनि कम मदत गरेको होइन नि । सबैको अंश बराबर हुन्छ होला ।” यस पालि पनि हाँसो छुट्यो ।

“मदत त तैंले पनि गर्न खोजेको होइन र । तर उसले मानिनन् क्यारे । त्यसैले तँ रिसाएको है ।” एउटाले अर्कोलाई घोंच्यो ।

“अनि तँ नि ? स्वास्नीको चाँदीको बाला ‘हें–हें’ गर्दै दिंदा तेरै अगाडि हुत्याइदिएकी होइन त्यसले ?” दुवैले एक अर्कालाई डढाइदिउँला जस्तो गरी हेरे ।

“सुन्तली राम्री त राम्री हो गाँठे, कति हिस्सी परेकी । फेरि कति आँटिली र दृढ चरित्रकी ।” विषयान्तर ।

“राम्री त ठीकै हो तर दृढ चरित्रकी कसरी ?” विरोधको स्वर सुनियो ।

“मैले भन्न खोजेको के भने … उसलाई खराब आइमाई भनिन्छ तर के ऊ साँच्ची नै खराब थिई त ? ऊ बाँच्न एक्लै संघर्ष गरिरहेकी थिई, होइन र ?”

“यो थोत्रो गाउँमा एउटा ठाउँ थियो जहाँ गएर केही रमाइलो हुन्थ्यो, त्यो पनि रहेन ।”

“हो, जाऔं यार । पुलिस आउँदै होला । यहाँ बसियो भने चाहिने–नचाहिने प्रश्न सोधेर हैरान पार्छ । अब हेर्ने लायक यहाँ केही छैन ।”

० ० ० ०

यहाँ पाठकले सुन्तलीको बारेमा केही जान्नुपर्छ :

गाउँको पुछारबाट गएको रोडसँगै बगेको खोला किनारमा उसको सानो पसल छ, थियो । रोड बनाउँदा ठेकेदारले फालेका अलकतराका पुराना ड्रमहरूलाई काटेर पसलको छाना बनाइएको छ । पुराना टीन र काठका टुक्राटाक्रीहरूले पसलको दीवाल तयार भएको छ । २० बाय १६ को यो महललाई एउटा पुरानो मैलो तन्नाले पाटिसन गरेर दुई कोठाको बनाइएको छः बाहिर रोडतर्फ उघ्रिने कोठामा सुन्तली गाहकहरूको सेवा गर्थिन् जहाँ चार ओटा बेन्चडेस्क, एउटा ग्याँस चुलोमाथि बसेको केट्ली र छेउमै रहेका केही ग्लास प्लेटहरूले अहिले पनि गाहकहरूलाई पर्खिबसेका छन् ।

भित्र खोलातिर खुल्ने कोठामा एउटा तीन खुट्टे खाट छ जसको चौथो खुट्टो पाँच ओटा ईंटहरूलाई तलमाथि राखेर बनाइएको छ, एउटा टीनको सानो बाकस खाटसँग अडेस लाएर बसेको छ, एक जोडी कुर्ता सलवार कुनाको डोरीमा झुन्डिएको छ, एउटा किलामा एउटा ऐना पनि झुन्डिरहेको छ जसले अब सुन्तलीको अनुहार कहिल्यै हेर्न पाउने छैन । उसले निकै पैसा कमाएको छ भन्ने गाउँभरिको हल्लाहल्ला नै रै छ — धनको त ध पनि छैन । कोठादेखि स्यानो बाटो खोलातर्फ जान्छ । यही बाटो हिंडेर सुन्तली खोलामा नुहाइ–धुवाइ गर्न जान्थिन् जहाँ आज उसको निर्जीव शरीर निश्चेष्ट लडिरहेको छ ।

यो पसललाई एउटा बहुउद्देश्यीय पसल भन्न सकिन्छ । किनभने यहाँ चिया साथै सेलरोटी, चना, बिस्कुट, चाउचाउ, चिउरा, चुरोट जे पनि पाइन्थ्यो । स्पेशल गाहकका लागि अमलेट, र ट्रक बसका गुरुजीहरूका लागि मासुभात पनि, तर शर्त के थियो भने कुखुराको व्यवस्था गाहकले आफैं गर्नुपर्थ्यो ।

तपाईंलाई एउटा गोप्य कुरा पनि भनिदिन्छु — यहाँ तपाईं जाँड रक्सी पनि पाउन सक्नुहुन्थ्यो तर सुन्तली जो त्योलाई जाँड रक्सी दिन्न थी किनभने गाहक गाहकबीच झगडा र पसलको नराम्रो प्रचार उनी चाहँदैन थिन् ।

सुन्तली एक सन्तानहीन विधुवी हो, होइन थिइन् । ३५ वर्षकी सुन्तलीलाई पुरुषहरू अझै पनि आकर्षक र राम्री देख्थे । झन्डै दुई वर्ष अगाडि उनले यस गाउँमा आएर पसल थापिन् र पसल छिटै चल्न पनि थाल्यो । गाउँका धेरै भद्र भलाद्मीहरूले पसल थाप्न उनलाई मदत गरे । गाउँका सबैभन्दा धनी र प्रभावशाली व्यक्ति तथा गाउँको स्कूलको संचालक समितिको अध्यक्ष मधुसूदनजीले स्कूलका चार ओटा बेन्च डेस्क सुन्तलीको पसललाई उपहार मात्रै दिएन कि उहाँ आफ्नो अमूल्य समय खर्चेर आफू पनि रातदिन त्यहीँ रहेर पसल थाप्न, चलाउन सहयोग गरे ।

यस्तो सज्जन मान्छे कहाँ पाइन्छ आजकाल ! यो कलियुगमा कसले यसरी मदत गर्छ कुनै नातागोता नपर्ने एक अनजान अपरिचित नारीलाई । हुन त पसलमा कहिलेकाहीँ मध्यरातमा मधुसूदन र सुन्तली बाझाबाझ भएको सुनिन्थ्यो भनेर  छिमेकीहरू भन्छन् । तर यस्ता खालका अफवाहमा हामी तपाईं जस्ता सभ्य व्यक्तिहरूले ध्यान दिनुहुँदैन । सुन्तली त मरिसकी तर यसमा कुनै शंका छैन कि ऊ जिउँदो हुँदा उसको सफल व्यापारको पछाडि मधुसूदनजी नै हुनुहुन्थ्यो ।

अर्को सज्जन जसले सुन्तलीलाई मदत गर्नुभयो उहाँको नाम हो बिर्खलाल, जनता बसको गुरुजी । उहाँको उदारता उदाहरणीय छ । उहाँले सुन्तलीले मदत माग्ला भनेर पर्खिनु भएन बरु आफै मदतको प्रस्ताव गर्नु भयो:

“सुन्तली बैनी, तपाईंलाई पसलको सामानको लागि जहिले पनि बजार जानु पर्‍यो भने म मेरो बसमा लगिदिन्छु तपाईंलाई । भाडा तिर्नु पर्दैन ।”

उहाँले बसका सबै प्यासेन्जरले सुन्ने गर भन्नुभयो, “उहाँ एक महिला हो त्यसमा पनि विधुवी — उहाँको आफ्नो भन्ने कोही छैन । मान्छे नै मान्छेको काम लाग्छ । म त्यही गर्दै छु जो मानवताको नाताले एक व्यक्तिले गर्नु पर्ने हो ।”

आफ्नो वचनको पक्का बिर्खलालजीले सुन्तलीलाई एक पल्ट होइन कैयौं पल्ट पसलदेखि बजार र बजारदेखि पसल आफ्नो बसमा लानुभयो । यो कुरो अर्कै हो कि पसलमा उहाँ चियासिया फ्री पाउनुहुन्थ्यो र कहिलेकाहीँ पसलभित्रको कोठामा पल्टेर आराम गरिराखेको पनि देखिनुहुन्थ्यो रे । पछिपछि सुन्तलीले बिर्खलालको बसमा जान छाडिदिइन् जुन कुरा बिर्खलालजीलाई पटक्कै मन परेको थिएन । सुन्तलीले नाइँ भने पनि उहाँ मदत गर्न चाहनुहुन्थ्यो — यस्तो भलाद्मी कहाँ पाउनु !

शेरबहादुर, गाउँको पुलिस पोस्टको हवलदार साबले पनि सुन्तलीलाई गाउँका हुल्याहा केटाहरूसँग जोगाएर निकै सघाएको हो । कस्तो सज्जन मान्छे है ! उहाँ नभए सुन्तलीलाई शान्तिपूर्वक आफ्नो व्यापार चलाउन निकै गाह्रो थियो । दयालु स्वभावका हवलदार साब मदतको लागि सधैँ तयार । उहाँ प्रायजसो पसल आउनुहुन्थ्यो र सोध्नुहुन्थ्यो, “सबै ठीक छ, हैन सुन्तली ? कसैले, कुनै समस्या …?”

यसो भन्दै उहाँ आफ्नो बायाँ हातको हत्केलामा दायाँ हातले पुलिसको डन्डा बिस्तारै ठोक्नुहुन्थ्यो जो पसलमा बसेकाहरूलाई प्रस्ट वार्निङ हुन्थ्यो । केही मान्छेहरू उहाँको सज्जनता माथि शंका गर्थे, ‘ऊ रात रात किन पसल आउँछ ?’ भनेर तर यस्ता शंकालु मान्छेहरूलाई थाहा हुनुपर्छ कि हवलदार साब पुलिस हो र प्रहरीको कर्तव्य नै जनताको सुरक्षा हो । हामीले के पनि बिर्सिनु हुँदैन भने प्रहरी जहाँ पनि र जुन बेला पनि जान सक्छ । त्यसैले सुन्तलीको पसलमा हवलदार साब रातमा जानुहुन्थ्यो या दिनमा, १२ बजे रात जानु हुन्थ्यो या ३ बजे बिहान । त्यसमा हामीले शंका गर्ने कुनै ठाउँ नै छैन ।

यो कुरा बेग्लै हो – पछि सुन्तली हवलदार साब नआओस् भनी चाहन्थी । तर उसको चाहनु–नचाहनुले के हुन्छ र ! हवलदार साबको आफ्नो पेशा प्रतिको इमानदारी र सज्जनताले गर्दा एक्ली सुन्तलीको सुरक्षा र सहयोगका लागि रात–बिरात आइरहनु हुन्थ्यो ।

यी तीन जना भलाद्मीबाहेक गाउँमा अरू पनि धेरै थिए जो सुन्तलीलाई मदत गर्न चाहन्थे । कतिले सुन चाँदीको गहनाले मदत गर्न खोजे, कसैले रातमा पसलको पहरेदार गरिदिन्छु भने . सुन्तलीलाई मदत गर्न चाहने मान्छेको लामो लाइन थियो तर उनले विनम्रतापूर्वक सबैलाई नाइँ भनिदिइन् । उनी कोहीसँग पनि बढी हिमचिम नगरी आफ्नो कामसँग मतलब राख्थिन् । उनलाई थाहा थियो मान्छेहरू पिठ्युँ पछाडि उनलाई के के भन्थे तर उनी न त कहिल्यै रिसाइन्, न त कुनै प्रतिवाद गरिन् । चुपचाप बसिन् किनभने उनी पुरुषहरूले चलाएको संसारमा एक्ली थिइन्, नितान्त एक्ली र उनीलाई आफ्नो पेट पाल्नलाई पसल चलाउनु थियो ।

 ० ० ० ०

अन्ततः प्रहरी घटनास्थलमा आइपुग्यो । हवलदार साबको खास निगरानीमा लासका फोटोहरू खिचिए । उपस्थित व्यक्तिहरूसँग सोधपुछ गरिए । तलासीमा पुरानो टीनको बाकसभित्र प्रहरीले टुटेफुटेको नेपालीमा सुन्तलीले लेखेको एउटा पत्र पायो । पत्रमा उनलाई आफ्नो हत्या हुने शंका व्यक्त गरिएको थियो ।

पत्रमा के पनि लेखिएको थियो भने, यदि उनको मृत्यु कुनै दुर्घटना वा शंकास्पद परिस्थितिमा भयो भने त्यो दुर्घटना होइन, हत्या हुनेछ । र सोको लागि मधुसूदन, बिर्खलाल र हवलदार शेरबहादुर जिम्मेवार हुनेछन् ।

पत्र पढियो तर त्यसमा लेखिएका कुरामा कसैले पनि विश्वास गरेनन्, प्रहरीले त झनै गरेन । मधुसूदन, बिर्खलाल र हवलदार शेरबहादुर जस्ता समाजका गन्यमान्य भद्र भलाद्मीहरू जसले सुन्तलीलाई त्यतिका मदत गरेका थिए कसरी त्यस्तो जघन्य अपराध गर्न सक्छन् ? कस्तो कृतघ्न आइमाई रहिछ ! जुन भद्र भलाद्मीहरूमाथि पत्रमा आरोप लगाइएको थियो, तिनै महानुभावहरूले बडो उदारतापूर्वक लासको क्रियाकर्म गरिदिनु भयो ।

यसरी आफ्नो भन्ने कोही नातागोता नभएका सुन्तली हत्याकाण्डको कहीँ कुनै सुनवाइ भएन । मिडियाले पनि खासै चासो लिएन । प्रहरीले केस डिसमिस गरेर फाइल बन्द गरिदियो ।