हो, हो, तिमीले भनेको कुरा सही हो । यो व्यवस्थाले रूपान्तरणलाई बढी प्रश्रय दिएको छ । यो प्रशंसनीय कर्म हो । मुखियालाई धन्यवाद दिनैपर्छ । भर्खरै आएका नयाँ पुस्तकहरूमा ‘रूपान्तरण र प्रसिद्धि’ पनि एक हो । एक पटक पढी हेर न ।

… हो,‘महावीर कन्तुर’मा नै पाइन्छ । मैले त्यहींबाट लिएर पढेको हुँ ।’

… ‘हैन, हैन त्यो आख्यान हैन वैचारिक गद्य हो, तर बडो रोचक छ । कवितात्मक शैलीमा छ । भनौं भने इन्द्रबहादुर राईको भाषा सापट लिएर ‘पोथी गद्य’ भने हुन्छ । राजनीति र समाजको आलोचनात्मक पठनमा केन्द्रित छ ।

… किन हुन्थ्यो कठिन ? विषय र सन्दर्भले भाषा चयन हुन्छ । लेखक वैचारिक उचाइमा गयो भने या गुरू गम्भीर तत्वमा केन्द्रित भयो भने उसको अभिव्यक्ति दुरूह हुने न हो । प्रेम–पत्रको भाषा कहिले मृदु सरस हुन्छ कहिले ध्वनि र लक्षणमा रत्तिन्छ । विषय र अनभूतिले भाषा टिप्ने होइन र ?

… भन्दैछु नि ! भवानी भिक्षुको भाषा जटिल होला तर भाव मृदुल छ । मोहन कोइरालाको भाषा सरल होला तर भाव–जटिल छ, हातै पर्दैन । जगदीशशमशेरको भाषा र भाव दुवै जटिल दुर्ग्राह्य । तर आफ्नो रुचि अनुसार पुस्तक वा विषय छानेर पढ्न सकिन्छ नि ! बदरीनाथ भट्टराईको जस्तो सरल र दौलत विक्रम बिष्टको जस्तो काव्य भाषा सबै वेला पाइँदैन । इन्द्रबहादुर राईको भाषा साहित्यिक वर्गमा अप्रिय कहिले रह्यो र ? अवसन शरीर प्रिय मान्ने कि अवगुण्ठित ? आफैं सोच  ।

… त्यसैले त भन्दैछु नि ! राजनीतिले ल्याएको रूपान्तरण । अगि राज्यले (राजनीतिले) सन्धि–सम्झौताले सेनाका लागि युवा (पुरुष) पठाएको हो क्यार ! युवती जाँदा नदेखेजस्तो गरेर मौनता साँधेकै हो । अनि अहिले तावा तातेपछि जीव ज्यान बचाउन नउफ्रने होला र ? तावामा आगो पनि लाउने अनि उफ्रेर गयो पनि भन्ने ? कसले यस्तो कर्म गर्ने मन्त्रणा दियो र किन दियो भन्ने कुरा यो पुस्तकमा बडो मजासँग पढ्न पाइन्छ ।

… अँ, भन्दैछु । माछो पानीमा बलियो हुन्छ हो ? त्यस्तै मानव–जन्तु पनि आफ्नो माटोमा, आफूले टेकेको ठाउँमा बलियो हुन्छ । माटोबाट विच्छेद गरेपछि शक्तिहीन हुन्छ । अथवा तिमीलाई हिंड्दा हिंड्दै कसैले उचालिदियो, खुट्टाले भुइँ छुन सकेन भने तिमीसँग बल होला र ? बस, यति नै संझ– युवा जनशक्ति मुलुकबाट टाढा राखिदिएपछि तिम्रो घर जोगाउने कसले ? घरका प्रत्येक जीवलाई लुट्न र तिनको पूँजी सोहोर्न बाटो सरल पारेको होइन र ? तिम्रा देशको राजनीति यसै बाटोबाट अकन्टक सत्ता हाँक्तै छ र द्रव्य पनि सञ्चित गर्दैछ भन्ने कुरा यो पुस्तकले पढाउँछ । स्थानान्तरणबाट गरिने रूपान्तरण यही होइन र ! फेरि फर्किए भने– रोग लिएर आउँछन् र समाज सखाप पार्छन् रोग फैलाएर । परिवार जोडेर फर्किए भने विजाति,  विधर्मी पत्नी र सन्तान लिएर आउँछन् । यो कदमले पनि समाजको रूपान्तरणमा बलियो औजारको काम गर्ने नै भो । फेरि जुन संकल्पले धर्म निरपेक्षलाई महत्व दिइएको हो त्यसले यहाँको सांस्कृतिक सद्भाव र समृद्धिलाई निचोर्न र धक्का दिन बलै पुर्याउने भो । धेरै कुरा छन् यसमा ।

… हो, भन्दैछु नि ! यसो हेर्दा साहित्यकार हुस्सु, बौलाहा जस्तो, अज्ञानी वा शठ जस्तो देखिन्छ तर उसको सूक्ष्म दृष्टि अरुले बुझ्न सक्तैन हैन ? त्यस्तै राजनीतिको चाल र लक्ष्य सजिलै बुझ्न सकिंदैन । देशकै रूपान्तरणका लागि यहाँको राजनीति रात दिन सक्रिय छ । त्यसैले नागरिकताको लागि चाहिने आवश्यक सीमा र शर्त खुला गरिएको हो । यस कुराको विवेचनामा लेखकले प्रशस्त शब्द छरेको छ ।

… ए, पूरा कुरा त सुन । भन्दैछु नि ! देशको रक्षाका लागि भनौं कि राजनीतिक कदमका बदलाका लागि भनौं विदेशी तत्वले ‘युवा आपूर्ति’ कम्पनी खोलेर अफगान लडाका, रसियन लडाका र चिनियाँ–यन्त्रमानव ल्याएर लडाका सन्तान जन्माउने र सीमारक्षा गर्ने अभियान थाल्ने निर्णय लिएका छन् नि बुझ्या छस् ?

… द्रव्य ? ए, द्रव्यको त कमी नै हुँदैन । बालेन र शोभिताले एक पटक विदेश–यात्रा गरेर अनुरोध गरे भने विदेश पुगेका नेपालीले नेपाल आमालाई सधैं सिंगारेर सुरक्षित राख्न प्रशस्त सहयोग पुर्याउने छन् । उनीहरू आमालाई कसैले बलात्कार गरोस्, आमा फच्चा जाउन् या कसैले अपहरण गरोस् भन्ने चाहँदैनन् । जब कि आजको राजनीति आमालाई कतै गैहालुन् भनेर सकेसम्म निचोर्न र यातना दिन पछि परेको छैन । राजनीतिको यो खेल गज्जब छैन ?

… पख, पख, मेरो कुरा सकिहालौं । दक्षिणतर्फ हेर्यो भने लुटिने र क्षति बेहोर्नुपर्ने कुरा ऐतिहासिक टिपोटबाट सिद्ध गरेको देखिन्छ र उत्तरतिरको मित्रताले कुशल र पुष्ट रहने संकेत पनि गरेको छ । तीन च्याप्टर अझै भन्न बाँकी छ । अब म तिम्रो कुरा सुन्छु । भन ।

… हो महावीर पुनले ‘कन्तुर’ बनाएर पुस्तक सुलभ हुने जुन योजना थाले त्यो कार्य ‘स्यालुट’ योग्य छ । अब ठाउँ ठाउँमा स–साना पुल निर्माण गरिदिऊन् । बालेनले सहयोग पुर्याउने छन् भन्ने आशा गर्न सकिन्छ किनभने आज भौतिक रूपान्तरणको खाँचो छ ।