हरिराज,

लीला छोड । धेरै भो । अनर्थ नगर । अराजक प्रभुत्व स्थापित गर्ने यत्न नगर । गर्ने भए राम्रो काम गरेर देखा, अन्यथा न तेरो जीवनको औचित्य सिध्द होला न कर्मको ! सावधान !!

मलाई आक्रोश पोख्ने अधिकार छ । म तेरो गुरू पनि हुँ, मित्र पनि हुँ । पाठक पनि हुँ र आलोचक पनि । म तेरो पूजा गर्दिन । मैले चाटुकार भएर तँलाई हौस्याउनु पनि छैन र बिगार्नु पनि छैन । तलाईं सकेसम्म बाटोमा ल्याउनु हो । यत्न गर्छु । नसके त्यागिदिन्छु । ठानुँला तँ कसैको हुन सकिनस् । संझुँला एउटा फुल फुट्यो । तर याद रहोस् तँ रिसाए पनि मेरो केही बिग्रँदैन र तँ खुसाए पनि मेरो केही सप्रदैन किनकि म आफ्नो स्वार्थका लागि भनिरहेको छैन । औचित्य संगति र परिवेशकै आधारमा म दृष्टिपात गर्दैछु र कठोर पनि छु । तँ नसंझी– विद्रूप कलाको भोग गर्ने चरण शुरू भो । त्यसैले तँ जुत्ता–चप्पल, थुक–खकार, लाठी–मुक्का खप्न तयार हो । अब छाडा हुन पाउँदैनस् । तैले दण्डित हुनै पर्छ । शठे शाढ्यम् ।

पख, पख । तँ पहिले मेरा आरोप सुन् । तँलाई मैले सफाइ दिन मौका दिएँ भने सफाइ देलास्, त्यो पछिको कुरा भो ।

आरोप

तैंले विद्यार्थी आन्दोलनमा कलम चलाएर शैक्षिक वातावरणलाई भाँड्ने र धुँवा दिने काम गरिस् । यो कुरा तेरा धेरै जसो लेखनमा छ । विद्यार्थीको विवशता र शैक्षिक संस्थाको दुरावस्थामाथि लेखेर तँ लेखक बन्ने अनि रमाउने ? तँमा र आततायीमा के फरक भो ? नीति, शिक्षा र आदर्शलाई पूरै छोड्ने ? काशीजस्तो पवित्र भूमिमा बसेर अपराधलाई उक्साउने रोगी मनोवृत्तिको लेखक हुने ? के गरेको यो ? कहाँ पुग्ने ?

आरोप-२

हरिराज,हुस्नालाई नायिकाको भूमिकामा ल्याएर अरुलाई पराजित गराउने सोच तँमा आयो कसरी ! त्यो सांस्कृतिक नगरीमा त्यत्रा विद्यार्थीको बीचबाट त्यो यवन–सुन्दरीलाई नै टिप्नुको औचित्य के ? एकातिर काशी हिन्दू विश्वविद्यालय र अर्कातिर मुश्लिम नायिका ? यत्रो असंगतिमा संगति कहाँ खोज्ने ? तैं भन् यस्तो भावविद्रूप र लक्ष्यविद्रूप किन ? रङ् रोगनको ठाउँमा प्रहार, रक्तपात र कालिमा किन ? हुँदाहुँदा फाँसी ? मुटु नै अमिलो हुने घटनाको गुम्फन किन ? कलामा त्याज्य, ह्येय वा वर्जित सन्दर्भहरुको स्मरण गरिनस् तैंले ? कि तँ खराब, असंस्कृत गुरूकुलको निर्माण होस् ? अप्रिय र अवाञ्छित कुरा नै किन घुम्छन् चेतनामा ? कोमल, सुन्दर र शीतल कुरा किन फुर्दैनन् तेरो सिर्जनामा ?

हरिराज, हुस्नाको योग्यता, अनुभव र चेतनामाथि मेरो सम्मान छ । उसको मृत्युमा पनि गौरव छ, किन्तु माटोको पनि धर्म हुन्छ । मृत्युको विकल्प दिन सोचिनस् ? शायद तेरो विवेक पुगेन । फेरि यौवन विलासको संस्कृतिलाई त्यति जटिल, प्रश्लिष्ट र रहस्यपूर्ण ढंगले हतारमा थोरै शब्दमा पूर्णता दिएर उम्कन खोज्नुको औचित्य के ?

आरोप-३

सिक्किम इंडियामा विलय भएपछिको लेखनमा तेरो दुईटा जिब्रा देखिए । एकातिर तँ भन्छस्, सिक्किममा मेरो जातिले सत्ता शासन गरेको छ र उसकै सम्प्रभुता छ । भूपरिवेष्टितबाट उठेर त्यहाँको नेपाली जाति खुला आकाश विशाल भारतभूमि अथाह समुद्र र यत्रो जनसंख्या आफ्नै  भएको गर्व गर्छ भनेर गौरवबोध पनि गर्छस् र फेरि अर्कोतिर लेखक र सचेत मानुष भएको कारण तँ एउटा देश अर्को देशको गर्भमा पसेको देखेर पीडा पनि लिन्छस् यो किन ? यसरी दुईमुखे देखिनुको औचित्य ?

आरोप-४,

प्रेम, शिक्षा र राजनीतिलाई एउटै चुल्टी बनाएर उल्याउनुको तात्पर्य के ? के पृथक् पृथक् महत्व दिएर तीन ग्रन्थ तयार नगरेर विषयको खाँदाखाँद किन ? तीन खुट्टे ओदानमा मीठै पकवान पकाएको हो भने हामी पनि जानौं । एकै पटक तीन–तीनवटा गहकिलो खाने कुरा खायो भने पचाउन वा स्वाद लिन असहज हुने हो कि ? नत्र मासु, दूध र महको एकसाथ भोजनलाई निषेध गर्नुको कारण के ?

आरोप-५,

विधा संमिश्रणतिर किन आशक्ति ? गद्य गीत र कविता यी पृथक् पृथक् विधा हुन् । प्रत्येकलाई भिन्नाभिन्नै महत्व दिएर लेखनमा निरन्तरता दिनैपर्छ ? रुचि परिवर्तनमा शायद यसलाई लिइन्न । यो तेरो आफ्नो नितान्त व्यक्तिगत रुचि हो भन्ने लाग्छ । विधा संमिश्रणको विधि र प्रयोजन कृतिपरक हो कि कर्तापरक हो ? यसको आस्वाद्यता पाठकमा निहित छ कि लेखकमा ? कतै विज्ञ–पंडितहरुलाई घोचेको त होइनस् तैंले ?

आरोप-६,

हरिराज, कतै तैंले डायसपोरा साहित्यको सर्जक भनेर आफूलाई पनि स्थापित गर्न खोजेको होस् भने तँ पुच्छारमा पनि आउँदैनस् । भारतीय नेपाली साहित्यको घेराभित्र नपर्ने नेपाली साहित्य पनि डायसपोराकै होलान् नि ! तर गनिमत छ भारतीय साहित्य भनेर छुट्टै चिनारीका साथ त्यहाँका नेपालीहरुले आफ्नो साहित्यको संवर्द्धन र संरक्षण गरे । भारतीय नेपाली साहित्यले पनि डायसपोरिक प्रवृत्ति स्वीकार गर्ला विदेश पुगेका नेपालीहरुबाट । आशा गरौं डायसपोराको व्याधिले (हुटहुटी) त्यहाँ दुष्प्रभाव नपरोस् । किन्तु हरिराज तेरो सिर्जना डायसपोरिक भएन । तौलनै पर्छ । पर्खी ।

प्रोफेसर कृष्ण गौतमको नाम सुन्याछस् ? सबैभन्दा पछि अर्थात् सन् २००५ मा आजभन्दा झण्डै १८ वर्ष पहिले प्रोफेसर गौतमले डायसपोरिक साहित्यबारे चर्चा गरेका हुन् । यसअघि क–कसले यसबारे चर्चा गरे त्यसको पनि ऐतिहासिक मूल्य रहनेछ । तँ पनि वेलावेला बौलाउँछस् । तेरो आवेग र आक्रोशले धेरैलाई अप्ठेरोमा पार्छ । तलाईं यो चेतावनी पनि हो – चिन्तन नगरी सिर्जना परिपक्व हुँदैन । यदि यस्तै थाङ्ने कुरा लेखेर उचाइँ छुन्छु भन्छस् भने म तँलाई सिधै भन्छु– कलम भाँच र कसैको झोले बन् । यदि प्रभुको द्वारमा उपस्थिति दिएर बाँचेको ठहर्छ र सिध्दि मिल्छ भने त्यसै गर । त्यसैले यो खबरदारी हो तेरा लागि, छाडा न हो । सावधान हरिराज ! तैंले आरोप मुक्त हुनैपर्छ ।