तपाईँ आफ्नो विद्यालयलाई कसरी सम्झनुहुन्छ ? तपाईँ आफ्नो विगतलाई कसरी नियाल्नुहुन्छ ? विद्यालयमा छुटेका कुराहरूभित्र के के पर्छन् ? विद्यालयले दिएका कुराहरूभित्र के के पर्छन् ?

आज हामी बुधबारेको वार्ड नं १ तिर जाऔँ । वार्ड नं १ को मैले थाहा पाउँदाको त्रिभुवन निमावितिर जाऔँ । अहिले त उक्त विद्यालय उच्च मावि भइसक्यो क्यार..।

हेडसरः बसन्तकुमार तिम्सिना

यो संस्मरण त्यही विद्यालयको सेरोफेरोमा हुर्केकालाई रोचक लाग्न सक्छ । विद्यालयभन्दा बाहिरकाले पनि पढौँ न ! पढ्दा पाप नै लागेछ भने त्यसको क्षतिपूर्ति मै तिर्छु, कसम ।

म बुधबारे फर्केर गइरहन्छु । म उक्त विद्यालय फर्केर गइरहन्नँ, घरबाट टाढा छ क्या.. । बाटो पर्‍यो भने पस्न मन लाग्छ तर कङ्क्रिटको वालले भित्र जाने आदेश दिँदैन । खैर, बाह्रखरी घोकेको विद्यालय हो, माया लाग्छ ।

हेडसरको कुरा गरौँ न…

प्रिन्सिपलको स्पेलिङ नआएर वा प्रिन्सिपलको अर्थ थाहा नभएर अग्रजले हेडसर भने होलान् वा किन हेडसर भने मलाई थाहा छैन । प्रधानाध्यापकलाई हेडसर भन्ने चलन सरकारी विद्यालयमा छ्यापछ्याप्ती नै छ । वसन्त कुमार तिम्सिनालाई विद्यालयको प्रधानाध्यापक भएकै कारण हेडसर भनेका हुन भन्नेसम्म चाहिँ मैले बुझेँ ।

डर भनेको के हो ? त्रिभुवन माविमा वसन्त कुमार तिम्सिना विद्यालयको प्रधानाध्यापक भएको बेला पढ्ने विद्यार्थीलाई सोध्नू । मुटु काँप्नु भनेको के हो ? त्यो बेलामा त्रिभुवन माविमा पढ्नेलाई सोध्नू । रामेधुलाई भनेको के हो ? त्यो पनि त्यतै सोध्नू ।

केही दिन अगाडि हेडसरको फोटो फेसबुकमा देख्दा मुटु चिसो भएको थियो । केटाहरूको चर्चित फेसबुक ग्रुप ‘मेन्स रुम रिलोडेड (एमआरआर)’ मा हेडसरको बारे केही लेखेँ । कसो कसो हेडसरको छोरा सुनिल दाइको म्यासेन्जरमा स्क्रिन सट पुगेछ । वालमा मै पोस्ट भएपछि चाहिँ डर लाग्यो दसैँमा घर गएको बेला ‘तँ कुकुरले मेरो बारे के लेखिस् रे ?’ भन्दै बाघे भेटिने हो कि भनेर । तर सम्झेँ, त्यसरी त अब कुट्नुहुन्न होला । (हेडसरको मोबाइलको स्क्रिनमा यो संस्मरणको यो लाइन पुग्यो र पढ्नुभयो भने मुसुक्क हाँस्नुभयो होला )

हेडसरको निक नेम टाइगर थियो । टाइगर कसले ? किन ? कसरी ? कहिले ? के अर्थमा ? राख्यो भन्ने मलाई थाहा छैन । तर जसले राख्यो सही नाम राख्या हो । छेउमै पर्न डर लाग्छ भनेपछि टाइगर भन्नु के गलत भयो ? निक नेम स्वीकृत ।

अहिले त त्रिभुवन माविको संरचना पूरै बदलियो । हामी रहँदाको भवन सायदै छैनन् ।

हेडसरकै कुरा गरौँ,

मैले हेडसरले कुनै पनि विद्यार्थीलाई उसको नामले बोलाएको कहिल्यै पनि सुनिनँ । ‘ ए ! दाहाल, ए ! मिश्र, ए ! पोखरेल, ए ! भुर्तेल, ए ! ढुङ्गेल’ ( यहाँ आफ्नो थरले आफैँलाई बोलाउन तपाईँलाई छुट छ ।)

त्रिभुवन माविमा पढ्ने २०५० साल पछि जन्मेका विद्यार्थीहरूका प्राय अभिभावकलाई हेडसरले सुम्ला बस्ने गरी कुटिसक्नुभएको थियो । वा भनौँ प्राय अभिभावकले नै धुलाई खाइसकेकाले छोराछोरीले भेट्नु कुनै नौलो कुरा भएन ।

हाम्रो पालामा प्यारेन्ट्स मिटिङ अझ भनौँ न अभिभावक बैठक भन्ने त भुतोभाङ केही हुँदैन थियो । अभिभावक नै हेडसरसँग डराएपछि त्यो बैठक राखेर पनि हुनेवाला केही थिएन भन्ने आजकाल लाग्छ । अभिभावक विद्यालय पुग्ने भनेकै चैतमा रिजल्ट आउने दिनमा हो ।

हाम्रा बाहरूले हेडसरको भाटा खाएरै हुर्कनुभयो । हाम्रा बाहरूले जति हामीले खाएनौ तर सम्झना रहने गरी डरायौँ, यो चाहिँ सत्य हो ।

हेडसर भन्नु नै डर थियो । डर भन्नु नै हेडसर । मियो दह्रो हुनु आवश्यक छ । त्रिभुवन माविको लागि मियो हेडसर नै हुनुहुन्थ्यो ।

हातमा भाटा बोकेर अफिस अगाडि हेडसर उभिएको देखिसक्दा चउरमा भाग्नेहरूका छुटेका चप्पल मात्र बाँकी रहन्थे । हेडसरको चस्मा त्यस्तो हो कि खै के हो ? त्यो चस्माले मलाई नै हेरेको भन्ने भान हुन्थ्यो । हेडसरसँग दोहोरो कुरा गर्न सक्ने विद्यार्थी ज्यादै कम थिए ।

आउनुहोस् केही डायलगहरू सुनौँ । हेडसरलाई सुनेकाहरूले वहाँकै लवजमा पढ्नू । हेडसरलाई नसुन्नेले डायलग मात्र पढ्नू ।

१. तँहरूलाई कसरी ठिक पार्नुपर्छ मलाई राम्रोसँग थाहा छ । 

२. तेरो बाउ नि यही चउरमा कट्टु तान्दै दौडिन्थ्यो । 

३. तँजस्तो थापालाई पापा खुवाउन मैले जानेको छु ।

४. बङ्लादेशमा चट्याङ हान्छ तिमारु यहाँ चिच्याउने ?

५. तँ जगल्टेको जगल्टा हँसियाले काट्दिन्छु ।

६. तेरो बाउले तेरो बीउ राख्दादेखि तेरो बाउलाई चिन्छु अहिले बाउको हस्ताक्षर चोर्छस् ?(यहाँ सेन्सर आफैँ राखेर पढ्नू ल ?) प्रत्येक विद्यार्थीको अभिभावकको हस्ताक्षर चिन्ने क्षमता मैले हेडसरबाहेक अन्यमा देखेको छैन । 

७. बाँदरको चाकजस्तो ओठ बनाएर न आइज भोलिबाट क्लासमा । (यहाँ सेन्सर आफैँ राखेर पढ्नू ल ?)

८. तँ..तँ..तँ.. कुकुरलाई कुट्दै कुट्दै कुट्दै कुट्दै कुट्दै मेची कटाएर आइन छु भने हेर्दै जा… 

तपाईँलाई अन्य डाइलग याद भए, तल कमेन्ट गर्न मिल्छ । त्यहाँ कमेन्ट गर्नू ल ?

हामीले थाहा पाउँदा हाम्रै गाउँको शेरबहादुर बडा पिएन हुनुहुन्थ्यो । (केही वर्ष अगाडि बडाले आत्महत्या गर्नुभयो ) हेडसरले ती बढालाई जहिल्यै दाजु नै भन्नुभयो । शेरबहादुर बडाको कुरा किन यहाँ म जोड्दै छु भने यदि कुनै पनि विद्यार्थी कारबाहीमा पर्‍यो र हेडसरको अफिसमा जानुपर्‍यो भने हेडसरको शब्द यही हुन्थ्यो कि ‘दाजु ! भाटा ल्याउनू’ । अब सोच्नुहोस् त्यो विद्यार्थीको मनमा के बितिरहेको हुन्छ ?

हेडसरसँग स्कुल नै डरायो भरपुर । हामीसँगै पढ्ने साथी थियो, निकेश तिम्सिना । हेडसरको भाइको छोरो । हामी त कमसेकम स्कुलसम्म हेडसरको डरको वरिपरि थियौँ । निकेशको डर त स्कुलदेखि घरसम्म  र घरदेखि स्कुलसम्म थियो । हामीसँगै त्यसले नि भेट्या छ दुईचार झापड त !

ठिक छ स्कुलमा विद्यार्थी त डराए । के यो डर हेडसरको घरमा पनि छ्यापछ्याप्ती थियो त ? सुनिल दाइलाई हेडसरको छोरो भनेर चिनेको थिएँ । एक जना दिदी रेडियोतिर कार्यक्रम चलाउनुहुन्छ भन्नेसम्म थाहा थियो, नामचाहिँ थाहा छैन । साँच्चै हेडसर घरमा पनि कडा नै हो ?

हेडसर स्कुल नआएको दिन विद्यार्थीलाई दसैँ आएजस्तो हुन्थ्यो ।  हेडसर आएको दिन दसैँ सकिएको जस्तो भान हुन्थ्यो । खैर, धेरै विद्यार्थीको विद्यालय डरैडरमा बित्यो ।

हेडसरको झापड खाएपछि कतिले विद्यालय नै छाडेका छन् भन्ने मैले भर्खरै सुनेको हुँ । निर्णय उनीहरूको गलत हो ।

बुधबारे क्षेत्रका अधिकांश विद्यालय पार्टीले गरेको बन्दमा चुपचाप बन्द हुन्थे । तर होक्से स्कुल भने हेडसरको कडा स्वभावले कहिल्यै बन्द भएन । यो राम्रो पक्ष थियो ।

अब हेडसरसँग नडराऔँ ल ? कक्षाकोठाभित्रको हेडसरलाई एक पटक सुनौँ ।

हेडसरको कक्षा लिनेहरूलाई थाहा हुनुपर्छ कि हेडसरले पढाएको जस्तो रमाइलो कक्षा अन्य शिक्षकको कक्षामा कहिल्यै आएन भनेर । किताब खोलेर सररररर पाठ पढेर सुनाउनु पढाउनु हो भन्ने कुराको विरोधी भनेर म हेडसरलाई चिन्छु ।

पढाउनुपर्ने शीर्षक कालोपाटीमा चकले लेखेपछि (हेडसरसँग विद्यार्थी मात्र होइन शिक्षक पनि डराएको मैले देखेको छु । आफ्नो पिरियडभन्दा पछाडि यदि हेडसरको पिरियड त्यही कक्षामा छ भन्ने थाहा पाएको खण्डमा । कक्षा सकिएपछि शिक्षक आफैँले कालोपाटीमा आफूले पढाएको कुरा डस्टरले मेटेर कालोपाटी सफाचट बनाएको कुरा सत्य हो ।) म कहाँ थिएँ ? अँ, हेडसरको कक्षामा ।

पढाउनुपर्ने शीर्षक कालोपाटीमा चकले लेखेपछि ‘म यो किताबले भनेको कुरा मान्दिनँ’ भनेर हेडसरले किताब टेबलमा राखेपछिको कक्षामा मैले जति बुझेको छु त्यति अन्य कसैको कक्षामा बुझेको छैन । हरेक शीर्षकलाई दैनिकीका कुरासँग जोडेर ठ्याक्क बुझाउने बानी अन्य शिक्षकमा थिएन ।

हेडसरको कक्षामा मात्र विदेशका कुरा सुन्न पाइन्थ्यो । साहित्यका कुरा बुझ्न पाइन्थ्यो । हेडसरलाई भाटा बोकेको भन्दा पनि भाटा नबोकी कक्षामा छिरेर पढाएको मलाई खुब मन पर्थ्यो ।

दाँत देखिएला कि भने जसरी दाँतलाई लुकाउन खोज्दै मुस्काउने हाम्रो टाइगर हेडसरलाई मैले नडराई सम्झेको छु ।