बेमौसमी माघे झरीमा चिसो रात थप कठ्याङ्ग्रिएको छ ।
मेरो अँगालोमा रुँदारुँदै निदाएकी सरितालाई हेर्छु ।
कालो कपालका बिचमा छरपस्ट छापामार शैलीमा घुसेका सेता केशहरू । कसिएको सुर्के थैलीझैँ गहिरिँदै गएका आँखा छेउका चाउरीहरू । आँखामुनिको धोल्लिँदै गएका छालाहरूमा बाक्लिँदै गएका चायाँ- पोतोका बादलहरू । भिजेका परेला र फुटेका सुक्खा ओठहरूको बिच नाकमा भर्खर निभेको मैनबत्तीको सलेदो जस्तै उभिएको फुली जसबाट धुवाँ निस्कन मात्रै बाँकी छ ।
जिन्दगीले दिएका सबै पिर, सुर्ताहरूसँग सम्बन्ध विच्छेद गरेर उसको अनुहार अँध्यारो र शान्त छ ।
सायद निद्रा नै सबैभन्दा ठुलो साम्यवादी हो किनकि निद्रामा सबै जना समान हुन्छन् । हाँस्दा–हाँस्दै निदाएको होस् या रुँदा–रुँदै, सुन्दर सपना कल्पेर आह्लादित हुँदै निदाएको होस् या क्रूर भविष्यको कल्पनाले त्रसित हुँदै, सुन्दर हवेलीमा निदाएको होस् या काल कोठरीमा, मधुमासमा निदाएको होस् या अस्पतालको शय्यामा । निद्रामा सबै समान हुन्छन् ।
निद्रामा सबै जना समान भए पनि निद्रा सबै जनालाई समान तरिकाले प्राप्त हुँदो रहेनछ । सरिता पहिले हप्तौँ निदाइन । औषधिको भरमा मात्र निदाउन थालेकी छ ।
सरिता निदाइसकेपछि बल्ल मेरा आँखा रसाउन थाल्छन् । ऊ रुँदा मेरा आँसुहरू पनि सायद उसकै आँखाबाट पोखिन्छन् होला । उसका आँखा थाकेपछि मेरा आँखाले पालो पाउँछन् ।
छोरो कानमा आएर साउतीमा बोल्छ । आँखा अगाडि आएर निस्फिक्री हाँस्छ र सोध्छ, “किन रोएको बाउ” । एक्लो छोरो, पुलपुल्याएर पालेको छोरो, मलाई लाडिएर “बाउ” भनेरै सम्बोधन गर्थ्यो । मनमनै भन्छु , “तँलाई पो थाहा छैन मलाई थाहा छ तँ मरिसकिस् । हामीलाई छाडेर टाढा गइसकिस्” । छातीमा भक्कानो फुट्छ । सिरानीको फेर टोकेर आवाज दबाउँछु ।
जसरी प्रेसरकुकरमा खाना पकाउँदा लामो समय सिठी लाग्दैन र लाग्न थालेपछि एकपछि अर्को झन्झन् छिटो र झन्झन् लामो समयसम्म लाग्छ, भक्कानो पनि अझै गहिरो र ठुलो भएर आउँछ । सरिताको निद्रा नबिग्रियोस् भनेर म भुइँको ओछ्यानमा झर्छु ।
निद्रा नपरेर कोल्टे फेर्दा सरिता ब्युँझिन थाले पछि मैले नै ढाड दुखेको र कडा ओछ्यानमा सुत्नुपर्ने भएको बहाना बनाएर भुइँमा ओछ्यान लगाउन थालेको छु । जाडो बढेकाले मेरा लागि आज बाक्लो सिरकको बन्दोबस्त गरेकी रहिछ । सिरक गह्रुङ्गो छ, खुट्टाको भरले उचाल्न पनि नसकिने । सिरकभित्र निसास्सिन्छु । छोरोको मृत्युपछि जिन्दगी यस्तै निस्सार लाग्दो खोलभित्र छिरेको छ ।
रात कति लामो हुन्छ, अनिदो मान्छेलाई सोध्नुपर्छ । सिरकले ऐँठन गरिरहन्छ, सिरानी बिझाइरहन्छ । तर बिचरा सिरक र सिरानीको के दोष, छोरा बिते पछिको शून्यले मनमा जो ऐँठन गरिरहेको छ, छोराको सम्झनाले मनलाई जो बिझाइरहेको छ ।
सरिता निदाउनुभन्दा अघि ऊसँगको पछिल्लो संवाद सम्झन्छु ।
“कति रुन्छौ सरिता, नरोऊ न ।”
“आमाको मन हो । बाबुको जस्तो साह्रो हुँदैन । तपाईंलाई त खासै आँसु पनि आउँदैन है । ”
तर सरितालाई के थाहा यो बाउको आँसु उसको मुटुमा बरफ जमेर बस्छ । यादहरूले बेलाबेला पग्लिन्छ पनि । देखाउँदिन र पो । सरिता रुँदा म पनि रोए, उसलाई कसले सम्हाल्ला । बरु म रातको एकान्तमै रुन्छु । अरू बेला बाथरुममा धारा खुल्ला छोडेर कमोडमा बसेरै रुन्छु, हिक्का छुट्दा फ्लस दबाउँछु ।
पुत्रशोकमा परेको बेला धेरैले धेरै भाष्यका सहानुभूतिहरू दिए । तर म सबैबाट आजित हुन्थेँ । मलाई कसैले मेरो दुख्ने घाउ छोएको मन पर्थेन । मेरो दुखको पोको कसैसँग खोलिन ।
घरमा जोसुकै आए पनि सरिता उनीहरूसँग रुवाबासी गर्थी । मलाई घरमा कोही आएकै मन पर्न छोड्यो । सरिताका सानोबा–सानिमा अस्ट्रेलिया जान काठमाडौँ आए । हाम्रैमा बसे । उनीहरूलाई नाति जन्मेकोमा तेल भिसामा जानु थियो । हाम्रो छोरो बितेकोमा एक चोटि सोधिखोजी पनि गरेका थिएनन् होला सायद । उनीहरूसँगै छोरालाई सम्झेर रोएकी थिई सरिता । हाम्रो न छोरो थियो न नाति । मलाई उनीहरूको ओठे सान्त्वना पटक्कै पचेन । उनीहरू दुई दिनसम्म बस्दा म दुईचार वाक्यभन्दा धेरै बोलिन । उनीहरू गएपछि सरिताले मलाई भनेकी थिई, “तपाईं त कस्तो जङ्गली मान्छे पाहुनासँग पनि नबोल्ने । ”
कहिलेकाहीँ घर फर्किदा छोरोको सम्झना बिर्साउन बियरको चुस्की मार्थे । एक बोतलसम्म खाँदा घरमा खासै पत्तो हुन्थेन । त्यो दिन रक्सी पसलमा म अलि अबेरसम्म बसेँ । पसलनीका दुई नाबालक छोराहरू थिए । उनीहरू अर्को टेबलमा खाना खाँदै थिए । मलाई छोरोको खुब याद आयो । बरर्र आँसु झारेँ । अर्को बियर मागेँ । त्यो दिन सरिताले चाल पाई । रिसाई र रुन्चे पारामा भनी – “छोरो बितेको वर्ष दिन भा’को छैन रक्सी खाएर आउने, पाप-धर्मको ख्याल नभा’को जँड्याहा मान्छे”।
= = =
चैत्र ७, २०७७ ।
भर्खर मात्रै बी.ई सकेर छोरो सफ्टवेयर कम्पनीमा काम थालेको थियो । महाराजगञ्ज, चप्पल कारखानामा पछाडिबाट अनियन्त्रित गतिमा आइरहेको बसले उसको मोटरसाइकललाई ठक्कर दिँदा उसको घटनास्थलमै मृत्यु भयो । त्यो समाचार सुन्दा मेरो सम्पूर्ण शरीर गल्यो र म ढलेँ । अफिसका साथीहरूले पानी छम्कँदै मलाई त्रि.वि. शिक्षण अस्पतालको शवगृहमा लगेका थिए । सरिता रुँदारुँदै बेहोस भएर भुइँमै लडेकी थिई । म भक्कानिँदै थिएँ, शव बुझ्न मलाई साथीहरूले शवगृह भित्र लगे ।
त्यो शव देखेपछि थाहा छैन मेरो दिमागको कुन चाहिँ नशा टुट्यो, म सबै कुरा देख्न र सुन्न त सक्थेँ तर के देख्दै छु र के सुन्दै छु पहिल्याउनै नसक्ने भएँ । डोर्याएर मलाई जसले जता लग्यो उतै जाने भएँ । शव बुझिलिएको दस्तखत गर्नु थियो, मैले आफ्नै दस्तखत बिर्सेँ, आफ्नै नाम बिर्सेँ । सोधेँ, “म को हुँ ?” । पछि उनीहरूले ल्याप्चेले काम चलाए । मैले रोइरहेकी सरितालाई चिनिनँ । सोध्न खोजेँ “को हो ? किन रोएको ?” मलाई अपरिचित लागेका मान्छेहरूले अपरिचित लागेको आर्यघाटमा लगेर अपरिचित लागेको छोरोको अपरिचित लाग्ने कर्मकाण्ड गराए ।
काजक्रियाको दोस्रो रात मात्रै मैले निद्रामा छोरोलाई देखेँ, “बाबु” भनेर बोलाएँ । सरितालाई देखेँ, उसलाई पनि चिनेँ । झसङ्ग भएर ब्युँझिएँ । अनि मात्र मलाई यथार्थबोध भयो । दुई दिन देखि रोकिएका आँसु बल्ल पोखिए, क्रन्दन र चिच्याहटले बल्ल आवाज पाए ।
पुत्रशोकमा परेपछि थाहा भयो । अब जिन्दगी पहिले जस्तो कहिल्यै हुने छैन । सरिता जागिरमा फर्कने स्थितिमा थिइन । केही महिना पछि म जागिरमा फर्केँ, नत्र आर्थिक सङ्कट गहिरिने वाला थियो ।
छोरो बित्नु केही अगाडि मात्रै मेरो प्रमोसनको निर्णय भएको थियो । मलाई नयाँ पद र नयाँ जिम्मेवारी बहन गर्ने सामर्थ्य भएन । हाकिमसँग आफूलाई पहिलेकै पदमा काम गर्न दिनुहुन बरु सहकर्मीलाई प्रमोसन गरिदिनुहुन अनुरोध गरेँ ।
अफिसमा सुरुका केही दिनहरू त मेरो शोकको ख्याल गरियो । मेरो वरिपरि हुँदा स्टाफहरू प्राय शान्त नै हुन्थे । पछि उनीहरू आफ्नै लयमा फर्किए । गगनजीलाई पत्रिकामा पढेका हरेक घटना र समाचारमा आफ्नै विश्लेषण मिसाएर सुनाउन पर्ने । अब नेपाल अफगानिस्तान बन्छ, यो काण्डले अब फलानो नेताको राजनीतिक भविष्य समाप्त हुन्छ, अबको चुनाव स्वतन्त्रले जित्छ, आदि, आदि । उदेक लाग्छ, कर्कश आवाजहरू सुनेर ।
पत्रिका पल्टाउँछु र हेर्छु श्रद्धाञ्जली र समवेदनाहरू, पत्रिकाको कुनै परित्यक्त कुनामा सधैँ बसिरहने समाचारहरू– “हिजो उपत्यकामा दस वटा सवारी दुर्घटना भयो जसमा दुई जनाको मृत्यु भयो ।” जसमा कसैको टिप्पणी हुँदैन । पर्नेलाई पो थाहा हुन्छ ।
घरमा सरिता अक्सर छोराकै कोठामा देखिन थाली । उसकै यादमा डुब्थी । छोरो डायरी लेख्थ्यो – डायरीको सुरुमा लेखिएको थियो– “प्रतीक्स् वल्र्ड” ।
सरिता डायरीका अक्षर–अक्षर ध्यान दिएर पढ्थी । कोठाका सामानहरू उस्तै गरेर राखेकी थिई । प्रतीक कविताहरू लेख्थ्यो । घुम्न खुब रुचाउँथ्यो । ट्रेकिङ जानमा खुब सोख राख्थ्यो । आध्यात्मिक पुस्तकहरू पनि पढ्थ्यो । एक चोटि दस दिनसम्म विपश्यना गएको थियो । सरिता प्रतीकका यादहरूलाई पछ्याउँदै प्रतीकलाई अनुभव गर्नतिर लागी ।
तर म प्रतीकका यादहरूबाट त्रस्त हुन्थेँ । म प्रतीकको कोठामा पस्दा भयङ्कर सन्तापमा प्रवेश गरे जस्तो लाग्छ । सायद मैले प्रतीकको मृत्युलाई अझै स्वीकार गर्न सकेको छैन । जब म उसकै मृत्युलाई स्वीकार गर्न सकेको छैन म उसका यादहरूलाई कसरी पछ्याउन सक्थेँ र ?
सरिताले प्रतीक दुर्घटनामा परेको मोटरसाइकल मर्मत गरेर घरमै ल्याएर राख्ने सोच गरी । म त्यो चाहन्न थेँ कि हरेक दिन त्यसले मलाई त्यो दुर्घटनाको दिन सम्झाओस् । तर सरिताले रुन्चे भएर भनी– “आखिर मसँग प्रतीक नभए पनि प्रतीकका यादहरू छन् नि, तपाईं मसँग प्रतीकका यादहरूलाई किन छिन्न खोज्नुहुन्छ ?”
घरमा मोटरसाइकल आयो । म त्यसलाई छलेर हिँड्छु ।
आफू बित्नु अगाडि प्रतीकले आफ्नो गर्लफ्रेन्डसँग आमालाई भेटाएको थियो । सरितालाई पनि उनीहरूको जोडी खुब मन परेको थियो । रुबी । कलेजमा प्रतीकको एक व्याच जुनियर । रुबीको पढाइ सकिएपछि विवाह गर्ने उनीहरूको सोच थियो । सरिता र रुबीको निरन्तर कुरा भइरहन्छ । एक दिन रुबी घरमै आएकी थिइन् । पावरदार चस्मा भित्र गहिरा आँखा । ती आँखाले प्रतीकका कति सपना देखेका थिए होलान् । प्रतीकले ती आँखामा कति सपना देखेको थियो होला । उसको अभिवादनलाई फर्काउँदै मैले यति भनेँ “के गर्नु नानी, जे नहुनु भइहाल्यो” । सरिता र रुबी लामो समय प्रतीककै कोठामा बसे । खोइ दुःख बिसाए कि घाउ बल्झाए । रसिला आँखा बनाएर निस्के ।
घरमा प्रतीकका मिल्ने साथीहरू नरेश, सुमन र सन्तोस आइरहन्छन् । उनीहरू आउँदा सरिताको आँखाको छेउमा थोरै भए पनि चमक आउँछ । सरिता उनीहरूलाई “तिमीहरूलाई देख्दा प्रतीकको न्यास्रो मेट्छ, आउँदै गर्नू ” भन्छे । प्रतीकका यादहरूलाई पछ्याउँदै उसका साथीहरू र सरिता, प्रतीक अन्तिम पटक गएको शिवपुरीको नागी गुम्बा गएर आए । मलाई पनि जाऊँ भनेर कर गर्दै थिए, गइनँ ।
कहिलेकाहीँ सरिता प्रतीकको कोठामा पलेटी कसेर, आँखा चिम्म गरेर ध्यानको मुद्रामा बसिरहेको भेट्छु । छोराको वार्षिकी सकेर विपश्यना जान्छु भन्छे ।
अक्सर सरिता कम्प्युटरमा केही टाइप गरिरहेकी हुन्छे । प्रतीकका कविताहरू, आलेखहरू र साथीहरूले प्रतीकलाई सम्झेर लेखेका स्मृति बटुलेर वार्षिक तिथिमा स्मृति ग्रन्थ प्रकाशन गर्ने धुनमा छे । त्यसले उसलाई अलिकति सन्तुष्टि दिएको छ – सायद प्रतीकसँग वर्तमानमा सँगै हुन नपाए पनि यादहरूमा सँगै हुन पाएकी छे ।
तर म प्रतीकका यादहरूबाट भाग्नै खोजिरहन्छु ।
सोच्दा–सोच्दै निदाउँछु ।
बिहान सरितालाई भुइँकै ओछ्यानमा पाउँछु ।
मलाई ऊ त्यसरी नै हेरिरहेकी थिई जसरी राती ऊ निदाउँदा मैले उसलाई हेरेको थिएँ ।
प्रेमिल तरिकाले मलाई गालामा मुसार्दै भनी– “सिरानी पुरै चिसो थियो तपाईंको । तपाई एक्लै रुनु हुँदो रहेछ ।”
आँखाको डिलले मेरा आँसुलाई बाँध्न सकेनन् ।
मलाई आफ्नो अँगालोमा बाँधेर सरिता पनि रोई र भनी– “बाबा, थाहा छैन के भनेर चित्त बुझाउने । तर म छु नि तपाईंलाई माया गर्न । सँगै रुन । मिल्यो भने अलिकति सँगै हाँस्न ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










