गंगाबहादुर हमाल (१९९५–२०७८) नेपाली समाज र साहित्यका क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन् । जन्मस्थल स्याङ्जा र कर्मस्थल कास्कीलाई बनाएका हमाल भारतीय सेनामा भर्ती भई ७ वर्षको अवधिमा नोकरी छोडी स्वदेश फर्केर साहित्य साधना र समाज सेवामा संलग्न भएको पाइन्छ । उनको पहिलो कृति ‘पहिलो लहर’ (सन् १९७२), ‘दोस्रो लहर’ (सन् १९७८) र तेस्रो कृतिका रूपमा ‘तेस्रो लहर’ कवितासङ्ग्रह (सन् २०२३) प्रकाशित छ ।

बाह्य विशेषता

तेस्रो लहर कवितासङ्ग्रह जम्मा १३३ पृष्ठमा संरचित छ । आयाताकारमा रहेको यस कृतिको आवरण पृष्ठमा कृतिको नामसहित लेखकको नाम छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि चन्द्रमासम्म पुग्ने लक्ष्यको संकेत सुन्दर कलामार्फत प्रष्ट देख्न सकिन्छ । नगेन न्युज पब्लिकेसन प्रा.लि. द्वारा प्रकाशित यस कृतिमा वाङ्सिङ पोखरा एकता समाज कास्कीको शुभकामनासँगै प्रकाशकीय मन्तव्य र कविको भनाइ समेटिएको छ । मध्यमस्तरको कागज प्रयोग गरी आकर्षक छपाइका साथ प्रस्तुत पुस्तक पाठकसमक्ष प्रस्तुत भएको देखिन्छ ।

आन्तरिक विशेषता

तेस्रो लहर कविता सङ्ग्रहमा जम्मा ७५ वटा लामा छोटा आयामका पद्यात्मक सिर्जनालाई समेटिएको छ । सिर्जनाको अन्त्यमा धार्मिक, शैक्षिक, पर्यटकीय भ्रमणका रूपमा मिर्मी, कपिलवस्तु, स्वर्गद्वारीलगायतका परिवेशहरू समेटिएका छन् । पुस्तकका यिनै सिर्जनामा केन्द्रित रही आन्तरिक विशेषता पहिचान गरिएको छ ।

राष्ट्रप्रेम : हमालका धेरैजसो सिर्जनाहरू राष्ट्रप्रेमले ओतप्रोत छन् । नेपाल आमा, नेपालप्रति भारतको नीति, नेपाल खाने ब्वाँसो, लाग्दछ मलाई रमाइलो, नजाऊ विदेश, नेपाल, विडम्बनाजस्ता सिर्जनामा देशप्रेमका भावहरू अटेसमटेस भएर आएका छन् । भारतले नेपालको सीमा मिचेको, नेपाललाई हेपेको, आफ्नै प्रान्त मानेको, नेपालले स्वाधिनताका पक्षमा खुलेर बोल्न नसकेको लगायतका पक्ष हमालका सिर्जनामा अभिव्यक्त भएका छन् । जस्तै,

चिप्लो पार्ने भारतको नीति

थिचोमिचो ससाना देशमाथि (पृ. १०)

 

स्वतन्त्रमा जीवन राखी देशको सेवा गरी

उद्योग गरी कृति राखे हुन्छ अजम्बरी (पृ. २७)

सुशासनको सन्देश : हमालका कवितामा नेपालमा गणतन्त्र आएपनि सुशासन कायम नभएको चिन्ता प्रकट गरिएको छ । दलहरू भाँडिएका, गरीबले राहत नपाएका र देशले लय नलिएकामा उनको दुखेसो छ । तेस्रो लहरका शुभकामना, भन्छन् देशमा नयाँ युग आयो, नेता भन्छन् हक स्वामित्व रहने, सरकारको चाल, संविधान बनाऊ जस्ता कवितामा सुशासनको सन्देश प्रवाह गरिएको छ । जस्तै,

चुनाव हुँदा भन्छन् नेता विकास गछौँ जीवनभरि

जितेपछि भुल्छन् तिनी द्रव्यका मोहमा परी (पृ. १९)

 

के आयो हावा र हुरी

नियम कानून तोडेर मनपरी (पृ. ६८)

 

के भयो सरकारको चाल

ताल छाडी नाच्दैछन् बेताल (पृ. ७३)

सत्कर्मको चाहना : हमालले यो जीवन क्षणिक भएको र जाँदा लानी केही नभएको भन्दै असल कर्म गरेर आफूलाई अमर राख्न पर्ने चाहना राख्छन् । उनका मरेपछि केही छैन लानी, संसार दुःखको घर हो, सृष्टि गर, सोचेर बोल्नु, रक्सी नखानुजस्ता सिर्जनामा नैतिक सन्देश र सदाचारी भाव अभिव्यक्त भएको छ । जस्तै,

दानपुण्यधर्मकर्म त्यही हो हामीले लाने 

धनसम्पत्तिजहानप्रिय सबै छाडी जाने (पृ. २८)

 

तेरो र मेरो लडाइँ र झगडा

बाँच्नु छ दुई दिन नगर लफडा (पृ. ३१)

 

रक्सी खाँदा फुसफुसी गन्हायो

नखाऊ रक्सी बेइज्यत बनायो (पृ. ५३)

पर्यावरणीय चेतना : हमालले तेस्रो लहरभित्रका सिर्जनामार्फत पर्यावरण बिग्रेको, यसबाट बाढी, पहिरो र धनजनको क्षति भएको भन्दै पर्यावरण जोगाई प्राणीको कल्याण गर्नुपर्ने मान्यता राख्दछन् । उनका नेपाल आमा, वातावरण बिग्रियो, २०६४ सालको बाढी, पहिरो र डुबान, सेदीको पहिरो, वातावरण खारापानीको हिमाली सुनामी, २०७२ सालको भूकम्प, जाजरकोटको माहामारीजस्ता सिर्जना मार्फत् पर्यावरणीय सन्तुलनको चाहना राख्दछन् । जस्तै,

जडीबुटी औषधी नेपालभरि पाइन्छन्

प्रशोधन यहाँ नहुँदा विदेशले लैजान्छन् (पृ. २)

 

घरका अगाडि बनाएका पानी खस्ने प्वालहरू

गिटी बालुवाले प्वालहरू भरिँदा कोही छैनन् हेर्नेहरू (पृ. ५२)

 

के आयो ०६४ साल

बाढीपहिरो जनताको बेहाल (पृ. ५८)

 

मुसलधारे पानी पर्‍यो गड्याङ्गुडुङ भई

भिरजग्गाको बोटवृक्ष बगिआए त्यहीँ (पृ. ७५)

शान्तिकामी भावना : तेस्रो लहरका सिर्जनामार्फत कविले भय, युद्ध र त्रासले प्राणीमा नकारात्मक प्रभाव पार्ने हुँदा द्वन्द्वलाई त्यागी शान्तिको मार्ग रोज्न आह्वान गर्छन् । उनका तराईको गति, आन्दोलन, बुद्धजयन्ती, देशको चाल, विडम्बना, तराईको आन्दोलनजस्ता सिर्जनामा युद्धको विरोध गरी शान्तिको सन्देश फैलाइएको छ । जस्तै,

कर्मचारीपत्रकार मार्दाखेरि पनि

टुलुटुलु हेरी बस्ने सरकारले छ नि (पृ. ७८)

 

तराईमा कत्ति पनि शान्ति आएन

अझै पनि मारकाट गर्ने बानी गएन (पृ. ९३)

सामाजिक विकृतिको विरोध : हमालले आफ्ना सिर्जनामार्फत मुलुकमा बढ्दो अपराध, भ्रष्टाचार, बेथिति र असमानताप्रति तीव्र असन्तुष्टि व्यक्त गर्छन र समतामूलक, न्यायपूर्ण समाजको चाहना राख्छन् । उनका नेतालाई अपिल, भन्छन् देशमा नयाँ युग आयो, वैज्ञानिक युग, परिवर्तित नयाँ जमना, भ्रष्टाचार, सराङ्कोटबाट आएको बस दुर्घटना, लोडसेडिङ, नेपाल आयाल निगम, अनौठो गणतन्त्र, महङ्गी नियन्त्रणजस्ता सिर्जनामार्फत हमालले समुन्नत समाजको इच्छा राख्छन् । जस्तै,

चोली भन्ने शब्द अहिले ब्लाउजटिसर्ट भयो

आधा अङ्ग देखाइकन लाउनी चलन आयो (पृ. ५६)

 

भ्रष्टाचार नियन्त्रण गराऊ

सचेत जनता अभियान चलाऊ (पृ. ६२) 

राष्ट्रिय विभूतिप्रति सम्मान  : कवि हमालले आफ्ना सिर्जनामार्फत लोक गायक अलिमिया, पृथ्वीनारायण शाह, गौतमबुद्धजस्ता राष्ट्रिय विभूति र कलाकारप्रति सम्मान प्रकट गर्छन् । उनका पृथ्वीनारायण शाह, गौतम बुद्ध, अलिमियाजस्ता सिर्जनामा राष्ट्रिय विभूतिको योगदानको चर्चा गर्दै उनीहरूको सम्मान हुनुपर्ने भाव अभिव्यक्त भएको छ । जस्तै,

पूर्व किल्ला टिस्टा थियो पश्चिम काँगडा सम्मन

जोगाई राख्न सकेनौँ कमीकमजोरीबिडम्बना (पृ. ५)

 

अलिमिया सम्झदाखेरि

गर्नुभयो लोकगीतको चिनारी (पृ. ७१)

 

विश्वलाई शान्ति छर्ने गौतमबुद्ध हुन्

बत्तीमुनि शान्ति छैन नेपालमा झन् (पृ. ९३)

गणतन्त्रप्रति विश्वास  : हमालका कवितामा परिवर्तनलाई आत्मसात गरिएको छ । राजतन्त्र हटेर आएको लोकतन्त्र र गणतन्त्रप्रति विश्वास छ र यसको संस्थागत विकासको पनि अपेक्षा छ । जस्तै,

शासकबाट मुक्त गर्ने संविधान सभा गर्न देऊ

संविधान सभा हुन सकेन भने लाग्ने छौँ तल्ला छेउ (पृ. ३९)

 

जनता मारी खाने राजा हामीलाई चाइएन

अब हाम्रो अधिकार खोस्न पाइएन (पृ. ४०)

 

जातजाति माग नगरी पहाड तराई गरी

संघीय राज्य कायम गरे हुनेछ अजम्बरी (पृ. ९५)

युवाहरूप्रति भरोसा : तेस्रो लहरका धेरै सिर्जनाहरूमा युवाप्रति भरोसा गरिएको छ । युवामा तातो रगत र साहसी स्वभाव हुन्छ । त्यसैले उनीहरूबाट परिवर्तन सम्भव छ भन्दै युवालाई अघि बढ्न आह्वान गरिएको छ । अघि बढौँ वीर युवा हो, आधुनिक युग, वैज्ञानिक युगजस्ता सिर्जनामा युवा आवाज घन्काइएको छ । जस्तै,

न्याय खोजौं अघि बढौँ वीर युवा हो

हाम्रो हक अधिकार खोज्नै पर्ने भो (पृ. ३)

 

राम्रो बनाऊ नेपाल भूमि

पञ्चशीलका नीतिलाई अँगाली (पृ. १३)

भाषाशिक्षा र कलाप्रतिको अनुराग : हमालका सिर्जनामा नेपालको कलाकारिता भाषा र शिक्षाप्रति अनुरागको भाव पाइन्छ । कला क्रान्तिलाई अगाडि बढाऊ । गरीबको पुकारा, छोरेपाटन उच्च मा.वि. जस्ता सिर्जनामा शिक्षा, भाषा र कलाको विकासबाट मात्र राष्ट्रको विकास हुनसक्ने भाव पोखिएको छ जस्तै,

सरकारको शिक्षा नियम कहिले बन्ने होला

गरीबका छोराछोरी कसले पढाइदेला (पृ. ३३)

 

कलाक्रान्तिको अगुवाई गर्ने नगेनसिंह ठकुरी

चित्रकलामा मन जाओस् फलोसफुलोस् बेस्सरी (पृ. १५)

यात्रा वर्णन : तेस्रो लहर कृतिका सिर्जनामा स्वर्गद्वारी, कपिलवस्तु, मिर्मी, तराई, जाजरकोट, म्याग्दी, दामोदरकुण्डजस्ता स्थानको यात्रा गर्दा त्यहाँदेखि यता धार्मिक, सांस्कृतिक, प्राकृतिक एवम् सामाजिक पक्षको चित्रण पाइन्छ । जाजरकोटको माहामारी, म्याग्दी जिल्ला, दामोदरकुण्डको महिमा र बाटोको संक्षिप्त वर्णन, छोरेपाटनको चिनारी, स्वर्गद्वारी भ्रमणजस्ता शीर्षकका सिर्जनामा यात्रा वर्णन गरिएको छ । जस्तै,

बेनीबजार पश्चिमतिर म्याग्दी खोलातिर

तातोपानी नुहाउने टोली हिँड्छन् भिडको भिड (पृ. १०३)

आध्यात्मिक भावना : हमालका सिर्जनामा पूर्वीय दर्शनको प्रतिबिम्बन देखिन्छन् । नेपालका मठमन्दिर, देवीदेवताप्रति श्रद्धा राख्छन् । बुद्ध, कृष्ण, विष्णु, शिव, देवी, भगवतीप्रति आस्था राख्दै आफूलाई सत्मार्गमा हिँडाउन रुचाउँछन् । कृष्णजीको लीला, शिवजीको रूपजस्ता सिर्जनामा आध्यात्मिक भावना अभिव्यक्त गरिएको छ ।

सीमान्तीय चिन्तन : हमालले आफ्ना सिर्जनामार्फत समाजमा पछि परेका गरीब, अल्पसंख्यक र नारीवर्गप्रति संवेदना प्रकट गर्दै उनीहरूलाई संगठित भई आफ्नो हक, अधिकार खोज्न आह्वान गर्छन् । जाग, उठ, किसानी दाजुभाइ, गरीबी हटाउन खुलेका पार्टी, महिलाजस्ता सिर्जनामा सिमान्तीय अभिव्यक्त भएको छ । जस्तै,

समान हक खोज्नुपर्छ महिला एकजुट भई

३३ प्रतिशले हुन्न भनौँ महिला एकजुट भई (पृ. ८७)

 

ऋण लिँदा घरजग्गा सकियो

सुकुम्बासी भएर बसियो (पृ. ३२)

लयगत सन्तुलन : हमालका सिर्जनामा लयलाई महत्त्व दिइएको छ । यस्तो लय मुख्यतः लोकलयमा आधारित देखिन्छ । धेरै सिर्जनामा स्थायी पंक्ति र अन्तराको संयोजन भएको देखिन्छ । नेपाल आमा, नेपालप्रति भारतको नीति, मरेपछि केही छैन लानी, लागुऔषध, रक्सी नखाऊ, परिवर्तित नयाँ जमना, ०६४ सालको बाढी पहिरोजस्ता सिर्जनामा स्थायी पंक्ति वा टेकोका साथ अन्तराहरू जोडिएका छन् । जस्तै,

के आयो ०६४ साल

बाढीपहिरो जनताको बेहाल (पृ. ५८)

 

परिवर्तन के आयो जमना

बजारमा नौला छन् सामान (पृ. ५६)

 

उठजाग किसान दाजुभाइ

आफ्नो हकअधिकार खोज्नलाई (पृ. ३६)

अन्य : तेस्रो लहर भित्रका केही कवितामा नेतृत्वप्रति अविश्वास (पृ. १९) गरिएको छ । आफ्नो पहिचानको खोजी गरिएको छ (पृ. ८४, ९८, ११६), परिवर्तनको चाहना पाइन्छ (पृ. ९), पेशाकर्मीलाई जिम्मेवारी बोध गराइएको छ (पृ. ७७), मानवेतर प्राणीको हिंसा नगर्न भनिएको छ (पृ. ७६) |

प्राप्ति

साहित्य समाजको प्रतिबिम्बन हो । यसर्थ हमालका कवितामा समाजमा विविध विषयको चित्रण गरिएको छ । विषयगत विविधता तेस्रो लहरको मूल विशेषता हो । यसैगरी कवितामा हुनुपर्ने पक्ष भाव हो, भावका दृष्टिले पनि तेस्रो लहरका प्रायः कविता सशक्त नै छन् । कविताको निश्चित संरचना हुन्छ । यस कृतिका धेरैजसो कविता पद्यात्मक गीतलयमा संरक्षित देखिन्छन् । छन्द मिलाउनतिर भने कविको ध्यान गएको देखिँदैन । बरु कवितामा लोक वा झ्याउरे लयको प्राधना भेटिन्छ । कवितामा मिश्रित भाषाका शब्दको प्रयोग गरिएको छ । अङ्ग्रेजी,  हिन्दी, संस्कृत र नेपाली भाषाको मिश्रण कवितामा देखिन्छ । अनुप्रास मिलाउन खोजिएको भए पनि यसको परिष्कार हुन सकेको देखिँदैन । यस कृतिका सिर्जनालाई गीतितत्त्वका कोणबाट हेर्दा धेरै ठाउँमा लय अन्तरा र स्थायी पंक्तिको संयोजन भएको देखिन्छ ।

सीमा

तेस्रो लहर कृतिमा केही कमजोरी वा सीमा पनि देखिन्छ । कृतिलाई कविता सङ्ग्रह भनिए पनि यसभित्रका धेरै सिर्जना गीतिलयमा देखिन्छन् । ०६४ सालको बाढी, पहिरो, गणतन्त्र, संविधान सभाजस्ता शीर्षकका सिर्जनामा पुनरावृत्ति भएको छ । तेश्रो (तेस्रो), नेपाल प्रति (नेपालप्रति), बढाउ (बढाऊ), बैज्ञानिक (वैज्ञानिक), रमाईलो (रमाइलो) नफली (नफाली) जस्ता शब्दमा वर्णविन्यासगत समस्या देखिन्छन् । सिर्जनाका धेरै पङ्क्तिमा परिष्कार आवश्यक छ ।

निष्कर्ष

कवि हमाल नेपाली भाषा साहित्यका सेवक हुन् । विषयगत विविधता र लयागत अनेकता हमालका सिर्जनामा देख्न सकिन्छ । आफ्नो जीवनभर तीन ओटा कृति प्रकाशन गरेर उनले नेपाली साहित्यको विकास र समाज परिवर्तनको पक्षमा योगदान पुर्याएका छन् । युवालाई व्युँझाएका छन् भने नेतृत्वलाई झकझकाएका छन् । सामाजिक विकृतिका विषयमा बोलेका छन् र सुशासनका पक्षमा उभिएका छन् । कवितामा हुनुपर्ने भावगत सन्तुलन मिलाउन खोजेका छन् । समग्रमा पद्यात्मक सिर्जनामार्फत सिंगो समाज र जीवनलाई बोकेका छन् । अन्त्यमा, स्वर्गबासी बुबाप्रति हार्दिक श्रद्धाञ्जली ।

स्वर्गमा गीत गाउन परे नेपाली गाउनू ।

धर्तीमा जन्म लिएर फेरि नेपालमै आउनू ।।