भिन्न रुचि र स्वाद भएका पाठकहरूका लागि नेपाली साहित्यको विकासको पछिल्लो चरणमा नयाँ नयाँ सिर्जना भइरहेका छन् । जीवन जगत्का व्यापक परिदृश्य र भोगाइबाट उत्प्रेरित भई सर्जकहरू विभिन्न विधाको सिर्जनामा सक्रिय छन् । लेखनको परिमाणका दृष्टिले पद्यको आधिक्य भए तापनि गद्याख्यानका पाठकको सङ्ख्या बढ्दै गएको छ । कथा र उपन्यास लोकप्रिय विधा बनेका छन् । आजको पाठक खण्डितभन्दा सिङ्गो चरित्र र कथावस्तुको समष्टि पढ्न र बुझ्न चाहन्छ । यही पृष्ठभूमिमा नेपाली आख्यानमा नयाँ नयाँ प्रयोग भइरहेका छन् । ज्ञानेन्द्रराज काफ्लेद्वारा लिखित नौला शिक्षकहरू (२०८१) यस्तै एउटा नौलो उपन्यास हो । मेरो कथा, उसका कथाहरू र फेरि मेरो कथा गरी तीन भागमा लेखिएको यस उपन्यासको दोस्रो भागमा पाँच उपखण्ड छन् । दोस्रो खण्ड नै उपन्यासको नाभिकीय स्थल पनि हो । पहिलो खण्डलाई कथान्यास शीर्षक दिइएको छ र म पात्र (लेखक) ले उपन्यासको सूत्रधारको भूमिकामा रहेर कथावस्तु अगाडि बढाएको देखिन्छ । सातौँ खण्डमा पनि म पात्रबाट नै उपन्यासको उपसंहार भएको छ । यो कथान्यास र उपन्यास त हुँदै हो, साथै आत्मकथान्यास पनि हो । यसले तिथिमिति नलेखिएको दैनिकीको झझल्को पनि दिएको छ । वैचारिक दृष्टिले यो दर्शन हो । शङ्कर लामिछानेका ‘जीवन : एक प्राध्यापक !’ र ‘औपन्यासिक पात्र– जीवनको पृष्ठभूमिमा’ शीर्षकका दुईवटा निबन्धको चिन्तनसार अनुस्यूत हुनु र प्रस्तुति पनि निबन्धकल्प देखिनुबाट कतै कतै यो निबन्धन्यास पनि हो । यस कथनलाई उपन्यासको शीर्षक र दोस्रो भागको ‘जीवन नै शिक्षक’ भन्ने उपशीर्षकले नै पुष्टि गरेका छन् । प्रत्येक मानिस, ठाउँ, भोगाइ, परिस्थिति र अन्ततः आफू स्वयं पनि सबैभन्दा योग्य शिक्षक हो भन्ने वैचारिकताको प्रतिपादन उपन्यासको अभीष्ट हो । मूलतः काठमाडौँ, पीपलडाँडा र अमेरिकालाई आधारभूमि बनाई लेखिएको यस उपन्यासमा ख्यातिप्राप्त विश्वविद्यालयहरू र प्रतिष्ठित प्राध्यापकहरूबाट ज्ञान र ज्ञानप्राप्तिका लागि उत्प्रेरणा त प्राप्त हुन्छ तर जीवन चल्ने र चलाउने ज्ञान र मार्गदर्शन प्रकृति एवं आफ्नै आनुवंशिक सम्बन्धका मान्यजन र परिवार तथा विपन्न, निरक्षर र सीमान्तीभूत भुइँमान्छेबाट पाइन्छ भन्ने लेखकको जीवनदर्शनको परिधिभित्र औपन्यासिक तत्त्वको कुशल तारतम्य मिलाइएको देखिन्छ । निजी र सामाजिक कथावस्तुलाई संयोजन गरी पाठकमा साधारणीकरणको भाव उद्दीप्त गराउन सक्ने लेखकको अद्भुत सामर्थ्य निकै चित्ताकर्षक छ ।

नौला शिक्षकहरू धेरै घटना र चरित्रको गुम्फन भएको र विविध विषयवस्तुको विन्यास गरिएको उपन्यास हो । यहाँ प्रत्येक घटना र चरित्रको सहयात्रा भएको छ र उपन्यासकारको वैचारिकता स्थापित गर्ने गन्तव्य टुङ्गिएको छ । काठमाडौँको उच्चमध्यमवर्गीय परिवारको प्राञ्जनले इन्जिनियरिङ पढ्ने इच्छा भएर पनि एस.एल.सी.मा पहिला श्रेणीमा पास हुन नसकेपछि साहित्य पढ्न थाल्नु, उपत्यकाबाहिरबाट काठमाडौँमा कलेज पढ्न आएको म पात्र (लेखक) सँग ब्रिटिश काउन्सिलमा उसको भेट, चिनजानी र घनिष्ठता हुनु, छिमेकी भानु काकाकी छोरी सपनासँग प्रेम हुनु, अमेरिका गई दुई वर्ष पढेर घर फर्किनु, सपनाप्रतिको आसक्तिले व्याकुल बनेपछि मनोवैज्ञानिक डाक्टरको सल्लाहअनुसार मानसिक रूपमा स्वस्थ हुन पीपलडाँडा गई विद्यालयमा पढाउनु, त्यहाँ राजेन्द्र सरकी छोरी मोक्षदालाई प्रेम गर्नु, घर फर्केपछि विधवा सपनासँग विवाह गर्नु, बिरामी हुनु र क्यानाडा गएर बुद्धदर्शनकी प्रोफेसर बनेर शान्ति मेडमका नामबाट परिचित भई भेट्न आएकी मोक्षदाको हात बलियोसँग समातेपछि मृत्युवरण गर्नु उपन्यासका कथासूत्र हुन् । यिनै सूत्रलाई आधार बनाएर उपन्यासलाई कोट्याउन सकिन्छ ।

इन्जिनियरिङमा रुचि भएर पनि साहित्य पढ्न बाध्य भएको प्राञ्जन र कानून पढेको भए पनि साहित्यमा रुचि भएको म पात्रको भेट र निकट मैत्रीबाट उपन्यासको कथानक अघि बढ्छ । कानून र साहित्यको रसायन मिलेकै कारण उपन्यासमा तर्कको प्रखर प्रस्तुति भएको छ । संवाद, विषयवर्णन, टिप्पणी आदि प्रसङ्गमा आएको तार्किक अभिव्यक्तिले उपन्यासलाई कौतुकमय, कौतूहलपूर्ण र पठनीय बनाएको छ । साधारण चरित्रले पनि उच्च बौद्धिक र तार्किक कथन गर्नुबाट उपन्यासको स्तरोन्नयन भएको छ । हजुरबुबाले प्राञ्जनमा चाणक्यको जस्तो तर्क गर्ने क्षमता देख्छु भन्नुबाट पनि उपन्यास तर्कप्रधान भएको तथ्य सिद्ध हुन्छ ।

यस उपन्यासले बहुसङ्ख्यक भौतिकवादी नेपालीहरूको शिक्षाविषयक धारणा परिवर्तन गरिदिएको छ । यो उपन्यास पढ्नका लागि सन्तानलाई अमेरिका पठाउने र नेपालमा बसेर धाक लगाउने वर्गप्रति व्यङ्ग्य पनि हो र सुझाव पनि हो । प्राञ्जनले अमेरिकामा ख्यातिप्राप्त प्राध्यापकहरूबाट पढ्ने पढाउने कला सिकेको छ, र प्रत्येक विषयलाई हेर्नेबुझ्ने दृष्टिकोण निर्माण गरेको छ तर त्यसलाई फेसन र विज्ञापनको विषय बनाउने प्रवृत्तिप्रति उसको सहमति छैन । ऊ जीवन बुझ्न र आत्मशान्ति प्राप्त गर्न पाताले शिक्षाभन्दा अध्यात्मपरक पूर्वीय ज्ञान धेरै माथि छ र यसकै अनुसरण गर्नुपर्छ भन्ने चिन्तन प्रकट गर्छ । परदेश (अमेरिका) का प्रोफेसरहरू शिवाका, निकोलास र सुव्रतभन्दा घर, यात्रा र स्वदेशका हजुरबुबा, बुबाआमा, गोपाल दाइ, भानु काका, वैद्य बा, डङ्गोल, सपना, राजेन्द्र सर, मोक्षदा, अमलेको सन्काहा दाइ, दीर्घमान, भुवन शर्मा (कृष्णानन्द स्वामी), पोखरेल्नी बजै, कुलराम, माझी माइलो, डुम्जन दाइजस्ता चरित्र शैक्षिक उपाधिविहीन जीवनगुरु बनेका छन् । यसबाट उपन्यासकार पाश्चात्य जगत्को झिलिमिलिबाट प्राप्त कृत्रिम शिक्षाभन्दा पारिवारिक, स्वदेशज, प्राकृत र अनुभवसिद्ध पूर्वीय ज्ञानको उत्कृष्टता सिद्ध गर्दै शैक्षिक जगत्लाई यसतर्फ अभिमुख हुन उत्प्रेरित गर्छन् । यहाँ ज्ञानमात्र नभई स्वदेशको लोकसंस्कृतिको पनि जीवन्त शब्दचित्र उतारिएको छ । ठाउँ ठाउँमा आएका पौराणिक प्रसङ्ग, मिथक, किंवदन्ती, लोकविश्वास, लोकोक्ति, लोकगीत र लोककविताले नेपालको लोकसंस्कृतिको सुन्दर झलक प्रस्तुत गरेको पाइन्छ । भक्ति, भजन र भगवान्बारे प्रसङ्गवश आएका तर्क र बहसले आस्तिक भावको उद्दीपन गरेका छन् भने दशैंजस्ता चाडपर्वको वर्णनले हाम्रो सांस्कृतिक वैभव र विरासतको पहिचान दिएको छ । उपन्यासकारले पाठकमा पूर्वीय ज्ञान र संस्कृतिमा गौरवबोध गर्ने सामर्थ्य पैदा गराएका छन् ।

नौला शिक्षकहरू देशप्रेमको भावनाले भरिपूर्ण उपन्यास हो । अमेरिका बस्दा प्राञ्जन नेपाल सम्झेर जे जस्तो चिन्तन गर्छ त्यसमा देशप्रेमको सशक्त भाव व्यक्त भएको छ  । उसको भौतिक शरीर अमेरिकाको रागरमितामा भए पनि मन नेपालकै सम्झनामा पुलकित भएको छ । आमा हुनुहुन्न, स्वास्नीछोराछोरी छैनन् तैपनि यो नेपाल भन्ने ठाउँको माटो नै कस्तो रहेछ, यस्तो सफा सुग्घर ठाउँमा बस्दा पनि उतैको महक आइरहन्छ ।पृ.९३_यस्तो लाग्दथ्यो कि म नेपालमा जन्मेर नेपाली हुन पाएकोमा गौरवशाली छु ।पृ.१३५) भन्ने उद्गारले नेपालप्रेमको भाव द्योतन गरेका छन् । प्राञ्जनले अमेरिका पढ्न गएर उतै बस्ने सोचाइ नराख्नु, नेपालको स्थानीय जनजीवन र प्रकृतिसँग रमाउनु र सहरबाट टाढाको गाउँ पीपलडाँडा गएर शिक्षित व्यक्तिको कर्तव्य निर्वाह गर्नुबाट पनि देशप्रेम उद्घाटित हुन्छ । ‘न्याय नपाए गोर्खा जानु, डिप्रेशन भए पीपलडाँडा जानु’ भन्ने परिवर्तित उखानको प्रयोगबाट प्राकृतिक जीवनपद्धति मनोव्यथाको निःशुल्क उपचार मानिएको छ । यसरी नेपालको प्रकृतिको सूक्ष्म पर्यवेक्षण र चित्रण गरेर पनि देशभक्तिभावको सञ्चार गरिएको छ ।

यो उपन्यास एउटा प्रेमकथा हो र यसको नायक प्राञ्जन समझदार प्रेमी हो । प्राञ्जनको अमेरिका जानुपूर्व नै भानु काकाकी छोरी सपनासँग अङ्कुराएको प्रेम अमेरिका बसाइका क्रममा भएको प्रेमपत्रको आदानप्रदानमा पल्लवित भएको छ, र नेपाल फर्केर विधवा सपनालाई विवाह गरेपछि फलीभूत हुन पुगेको छ । उता पीपलडाँडामा राजेन्द्र सरकी छोरी मोक्षदासँग भएको प्रेम उस्तै चाखलाग्दो छ । मोक्षदा र पीपलडाँडामा दार्जिलिङबाट पढाउन आएको कुमार लामाबीच अर्को प्रेमकथा गाँसिएको छ । प्राञ्जन र सपना, मोक्षदा र कुमार अनि प्राञ्जन र मोक्षदाबीच प्रेमका तीनथरी हाँगाबिँगा फैलिएका भए पनि यहाँ प्रेमकै कारण कुनै चत्रिको जीवनमा ठूलो दुर्घटना भएको देखिँदैन । प्राञ्जनले सपनालाई प्रेम र विवाह तथा मोक्षदालाई प्रेम गरेको छ तर पनि दुवैलाई धोका नदिई, कलङ्कित नबनाई चरित्रको रक्षा गरेर र कसैलाई प्रताडना नदिएर प्रेमको मर्यादा र आदर्श कायम गरेको छ । कुमार र मोक्षदाको प्रेम पनि यही सीमामा बाँधिएको छ । प्रेमको नौलो रूप र कथा जोडिएकाले नौला शिक्षकहरू प्रेमाख्यान पनि बनेको छ ।

उपन्यासकारमा युगबोध प्रबल छ भन्ने प्रमाण प्रशासनिक र राजनीतिक भ्रष्टाचारको नग्न चित्र देखाउनुबाट पुष्टि हुन्छ । भुवन शर्माको विगतको चरित्र चित्रण गरेर कर्मचारीतन्त्र कतिसम्म भ्रष्ट र पतित हुन्छ भन्ने यथार्थ देखाइएको छ । उपन्यासकार भ्रष्ट र पतितहरू भेष बदलेर साधु महात्मा बनेर हिँड्ने प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै विद्रोहीसमेत बनेका छन् । व्यक्तिमात्र नभई राजनीतिक दलसमेत पदको किनबेचमा लागेको कटु सत्य देखाउँदै राजदूतको मोल छ लाख (अहिले सायद छ करोड) पुगेको बीभत्स दृश्य प्रस्तुत गरिएको छ । गोबरको थुप्रोमा विदेशी पार्टीको चिह्न अङ्कित गरिएको सन्दर्भ उल्लेख गरेर नेपालमा स्वदेशका पार्टीको मात्र होइन विदेशका पार्टीको पनि प्रभाव छ भन्ने तथ्य उजागर गरिएको छ । मुलुकमा खुलेका राजनैतिक दुकानहरूमा आजै जानुहोस् त्यहाँ बिक्रीमा राखिएका प्रतिष्ठाहरू छानी छानी किनेर प्रतिष्ठित आकासे मानिस बन्न सकिहाल्नु हुनेछ । (पृ.२७५) जस्ता वाग्बाणबाट राजनीतिक दल र नेतृत्वप्रति कठोर प्रहार गरिएको छ । यसबाट समकालीन नेपाली राजनीतिको एउटा बीभत्स र विकराल रूप देखाउन खोजिएको छ ।

यो उपन्यास भुइँमान्छेहरूको कथाव्यथा भएकाले यसमा वर्गीय चेतना शक्तिशाली बनेर आएको छ । कुलराम र माझी माइलो यस वर्गका प्रमुख चरित्र हुन् । भुइँमान्छेहरूलाई मानिसले मात्र होइन भगवान्ले पनि न्याय गर्देन भन्ने माझी माइलोको भनाइ उपन्यासकारकै शब्दमा भन्नुपर्दा रिँगटा लाग्ने खालको छ। ऊ भन्छ:

भगवान् त आकाशमा बस्छ नि त्यही हुनाले उसलाई हामी धर्तीमा बस्नेहरूको बारेमा राम्रोसँग थाहा हुँदैन नि । फेरि आकाशबाट हेर्नेले हाम्रो सबै कुरा छ्याङ्ग कहाँ देख्छ र ? आकाशबाट हेर्दा त धनी मान्छेको टाउकोको कपाल, टोपी, फेटा, श्रीपेच, पगरीहरू देख्छ तर हामीजस्तो गरीबको निधारमा बसेको नाम्लाको डाम, हत्केलाको ठेला र चिरा परेर छरछर रगत बगेको पैताला देख्न सक्छ र ? धनीहरूको घर महल त देख्छ होला तर हाम्रो स्याउले बुकुरो (झुपडी) देख्दैन । … त्यही हुनाले हामी जस्ताको जिन्दगीमा भगवानले रेखदेख गर्दैन । … हामी गरीबलाई त भूत, प्रेत, मसान, देउता, पित्र (पितृ) सहारा दिन बनेकै होइन । तिनीहरू त हामी निमुखाहरूलाई तर्साउन बनेका हुन् । सबैले सक्नेलाई हेप्ने त हो नि । धनीलाई त भगवानले पनि हेप्नु सक्दैन अनि माया गर्छ । (पृ. १६८–६९)।

धनी, गरीब र भगवान्बारे गरिएको यो गहिरो टिप्पणीले एकातिर वर्गीय चेतनाको अभिव्यञ्जना गरेको छ भने अर्कातिर ईश्वरीय न्यायबारे प्रश्न र संशय उब्जाएको छ । यसरी गरीबलाई ईश्वरले पनि नहेर्ने तर्क गरेर वर्गीय विभेद अनादि कालदेखि छ, र अनन्तः कालसम्म रहिरहनेछ भन्ने वैचारिकताको स्थापना गरिएको देखिन्छ ।

नौला शिक्षकहरू आञ्चलिकताको स्पर्श पाएको उपन्यास हो । प्राञ्जनको कथित शहरिया रोगको उपचारका लागि राजेन्द्र सरका साथ महेन्द्र राजमार्गको कुनै एक ठाउँदेखि पीपलडाँडासम्म गरिएको यात्रा र त्यसको वर्णनमा आञ्चलिकताको स्वरूप झल्किएको छ । राजमार्गदेखि करीब तीस किलोमिटरको दूरीमा रहेको पीपलडाँडासम्म खास स्थान, समय, परिस्थिति, समाज, संस्कृति, भाषा र वनस्पतिको मिहीन वर्णन गरिएको छ । गाडामा बसेर गरेको यात्रा, जँघार तर्दै हिँड्नुपर्ने खोलाको बाटो, ठूला पहाडका भित्ता, अक्करे पहरा, घाँस काट्दै गीत गाइरहेका युवती, उनीहरूले गाली गर्दा प्रयोग गरेको भाषा र कुलरामको त्यस्तै उत्तर, बनकरबाट बचेको वनकेरा, वनदेवतालाई गरेको पुकारा, कोइलाघाट, अमले, पीपलडाँडाको चौतर्फी परिदृश्य सबै आञ्चलिकताका सूचकहरू हुन् । काठमाडौँमा घर भएको र अमेरिकामा पढेको प्राञ्जनले सैद्धान्तिक ज्ञान अमेरिकामा र व्यावहारिक ज्ञान पीपलडाँडामा पाएको देखाउनुबाट पनि के सङ्केत गरिएको छ भने देश र जीवन बुझ्न स्थानीय भूगोल, समाज, संस्कृति र परिस्थिति बुझ्नु आवश्यक छ । सिङ्गो उपन्यासलाई आञ्चलिक भन्न नसकिए पनि उपन्यासको सारवस्तु आञ्चलिकताकै आँतमा सन्निहित देखापर्छ ।

यस उपन्यासको प्रमुख प्रतिपाद्य दार्शनिकता हो । यो चिन्तन प्रत्येक चरित्रको संवाद, घटना र वर्णनमा अन्तर्निहित छ तापनि तीन केन्द्रस्थलमा यसको मर्म ठम्याउन सकिन्छ — नारीदर्शन, साहित्यदर्शन र जीवनदर्शन । यहाँ शिक्षा, विवाहजस्ता विषयमा नारीमाथि हुने विभेदको वर्णनमात्र छैन उनीहरूले आफ्नो जीवनबारे आत्मनिर्णय गर्न पाउनुपर्ने अधिकार र स्वतन्त्रताको स्वरलाई दार्शनिक जलप दिएर प्रस्तुत गरिएको छ । प्राञ्जन अमेरिका जानुपूर्व सपनाले बोलेको संवाद, उसले अमेरिकामा प्राञ्जनलाई लेखेका पत्रका वाक्यहरू, आठ वर्षको उमेरमा विवाह भएकी पोखरेल्नी बजैको कथन र पीपलडाँडामा मोक्षदाले प्राञ्जनसँग गरेको कुराकानी नारीदर्शनका ज्वलन्त उदाहरण हुन् । मोक्षदा प्राञ्जनसँग यसरी वकालत गर्छे:

स्वभावैले स्वास्नीमानिसहरूलाई लोग्नेमानिसबारे बुझ्ने चाहना बढी हुन्छ तथापि ती केटीले तपाईँलाई केही सोधिनन् वा सोध्न सकिनन् बरु केवल मुस्कुराइरहिन् । उनले चाहना हुँदाहुँदै पनि सोध्न नसक्नु के उनीसँग लोग्नेमानिस जत्तिको ठूलो र साहसी मगज नभएर हो ? होइन, यो सबै सामाजिक दबाब र सांस्कृतिक कुरीतिमा हुर्किनु परेकाले त्यसो भएको हो । यसरी महिलाहरूमा स्वाभाविक रूपमा जान्न चाहेको कुरा पनि दबेको हुन्छ तर त्यही दबेको मानसिकता लिएर पुरुषसँग प्रतिस्पर्धा गरेर बाँच्नुपरेको हुन्छ । (पृ.२२३)। यसले नारीको मनोविज्ञान, सामर्थ्य, बाध्यता र असन्तुष्टिलाई दार्शनिक पुट दिएर व्यक्त गरेको छ ।

भुइँमान्छेको साहित्य बनेको यस उपन्यासमा साहित्यदर्शन स्वाभाविक रूपमा आएको छ । यो कृति आफैँ एउटा रोचक साहित्य हो र साहित्यको दर्शन पनि हो । प्राञ्जनले अमेरिकाबाट सपनालाई लेखेको पत्र, अमेरिकाको कलेजमा आयोजित सेमिनारमा गरिएको विचारणा र प्रोफेसर शिवाकाको कथनमा साहित्यदर्शनको अभिव्यक्ति भएको छ । मनमा लागेको कुरा निर्बाध पोखिन्छसाहित्यमा ।पृ.८८), … साहित्य मानव जातिको साझा सम्पदा हो ।पृ.८९) र …तपाईँको आफ्नै भोगाइको कथा र हृदयको अनुभव नै सच्चा साहित्य हो ।पृ.९९) जस्ता कथनहरूमा साहित्यदर्शनको सार सन्निहित भएको पाइन्छ ।

जन्म, मृत्यु, जीवन, कर्तव्य, प्रकृति, ईश्वर, ब्रह्माण्ड, सृष्टि, प्रलय आदि विषयमा गरिएको चिन्तन, व्याख्यान र प्रतिपादन जीवनदर्शन हो । उपन्यासका ठाउँ ठाउँका आएका कथन र टिप्पणीहरूमा जीवनलाई दार्शनिक कोणबाट हेरिएको छ । सुनलाई पारख गर्न जानेपछि गहनाहरू त स्वतः चिनिन्छन् । परमात्मा (ईश्वर) लाई चिनेपछि आत्मा (मानिस) लाई स्वतः चिनिन्छ । त्यो स्तरमा पुगेका मानिसहरू ऋषि (विद्वान्) हुन् ।”  पृ.१०६) भन्ने कथनमा ईश्वर, परमात्मा र आत्माबारे सरल रूपमा स्पष्ट पारिएको छ । यी दुवै सम्झना (भूत) र सपना (भविष्य) दुवैको सम्मिश्रण नै जीवन हो । (पृ.२८०) मा जीवनको गहिरो परिभाषा गरिएको छ । जन्मसँगै गाँसिएको मृत्युबारे यस्तो चिन्तन गरिएको छ:

जन्मन लाग्दा पनि आफूलाई म जन्मँदै छु भन्ने ज्ञान हुँदैन र मर्न लागिसक्दा पनि अब म मर्दैछु भन्ने ज्ञान हुँदैन । तर, जसलाई म जन्मँदै छु भन्ने थाहा हुन्छ त्यो महामानव हो । त्यस्तै म यो बेला मर्दै छु भनेर जसले थाहा पाएको हुन्छ उसले महानिर्वाण प्राप्त गर्छ । यसैले मानव जीवनका यी दुई अति महत्त्वपूर्ण घटनाहरू उत्सवझैँ मनाउन सक्नुपर्छ । (पृ.२९२–९३)।

यहाँ विसङ्गतिवादी–अस्तित्ववादी दर्शनको प्रभाव परेको छ ।

पूर्वीय आर्य संस्कृतिमा चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्षमध्ये मोक्ष चरम परम पुरुषार्थ मानिन्छ । काव्यशास्त्रीहरूले चार पुरुषार्थको प्राप्ति र प्रतिपादनलाई काव्यप्रयोजन मानेका छन् । नास्तिक र आस्तिक दुवै धारका दर्शनले मोक्षको स्वरूप देखाएका छन् । जन्म र मरणको बन्धनको आत्यन्तिक निषेध मोक्ष मानिन्छ । संसारका तीन ताप (आधिभौतिक, आधिदैविक र आध्यात्मिक) बाट सदाका लागि छुटकारा पाउनु मोक्ष हो । शिवगीतामा मोक्षको स्वरूप यस्तो देखाइएको छ :

मोक्षस्य न हि वासोऽस्ति न ग्रामान्तरमेव वा।

        अज्ञानहृदयग्रन्थिनाशो मोक्ष इति स्मृतः ।। (१३ ।३२)

अर्थात् मोक्ष कुनै एक ठाउँमा राखिएको वस्तु होइन । यसलाई पाउनका लागि कुनै ठाउँ वा प्रदेश जानु पनि पर्दैन । हृदयको अज्ञानग्रन्थिको नाश हुनु नै मोक्ष हो ।

मोक्षको दाता मोक्षद हो र दात्री मोक्षदा हो । यस उपन्यासकी मोक्षदा यहीँनेर जोडिन पुग्छे । उपन्यासकारले प्राञ्जनकी पहिले प्रेमिका र पछि पत्नी सपना र प्रेमिका मोक्षदाको नाम उपन्यासको जीवनदर्शन प्रकाशन गर्न पूर्वतयारी गरेर राखेको वा संयोगमात्र हो, त्यो भन्न सकिँदैन तर यी नाममा जीवनदर्शन अनुस्यूत भएको तथ्यचाहिँ निःशङ्क भन्न सकिन्छ । प्राञ्जनले सपनासँग प्रेम गर्‍यो, विवाह गर्‍यो र जीवन बितायो । दुवै एक अर्कालाई पाएर खुशी र सन्तुष्ट भए । विवाहपछि जुनसुकै अवस्थामा सपना प्राञ्जनको साथमा छ । उसको प्राणान्त वेलामा अमेरिकाबाट म पात्र (लेखक) र क्यानाडाबाट प्रोफेसर शान्ति मेडमका नामबाट परिचित मोक्षदा उसलाई भेट्न आएका छन् र सँगै बसेका छन् । पक्षाघातले लामो समयदेखि थला परेको प्राञ्जन अर्धचेत अवस्थामा सपना र म पात्रको सट्टा मोक्षदाको हात बलियोसँग च्याप्प समात्छ र तत्काल हात छुट्छ । उसको हातले जीवनमा समातेको अन्तिम कुरा नै मोक्षदाको हात थियो भन्ने रहस्योद्घाटन गर्दै त्यसपछि उसको देहान्त भएको सूचना दिइएको छ र ऊ विदेहमुक्त भएको देखाइएको छ । गीतामा भनिएको छ :

विहाय कामान्यः सर्वान्पुमांश्चरति निस्पृहः।

      निर्ममो निरहङ्कारः स शान्तिमधिगच्छति ।। (२। ७१)

अर्थात् जो मनुष्य सम्पूर्ण कामनाहरू त्याग गरेर आकाङ्क्षा र अहङ्कारले रहित भई विचरण गर्दछ उसले शान्ति प्राप्त गर्दछ ।

ओछ्यानमा थला परेको प्राञ्जन स्थितप्रज्ञ (स्थिरबुद्धि) ऋषिमुनि वा महापुरुष त होइन तर इच्छा र कामनारहित (निःस्पृह), घरपरिवार र संसारप्रति अनासक्त (निर्मम) र चित्तका आवेग–संवेग शिथिल भएको (निरहङ्कार) अवस्थामा पुगेको छ । उसले मोक्षदारूपी मूर्तिमती शान्तिलाई भेटेको छ र मोक्षदाकै हात बलियोसँग समातेपछि ब्रह्मनिर्वाण (ब्रह्मानन्द वा मोक्ष) प्राप्त गरेको छ । उसको जीवन गीताप्रतिपादित ब्रह्मवादमै लीन भएको छ । यसबाट जगतको सुखभोग र सन्तुष्टि जतिसुकै प्रिय भए पनि उपन्यासकी सपना जस्तै स्वप्नमय छ र मोक्षदा जस्तै प्रत्येक व्यक्तिको विदेहमुक्तिका लागि चरम परम पुरुषार्थ मोक्ष छ भन्ने अर्थ ध्वनित गरिएको छ । मोक्षदा नै क्यानाडामा बुद्धदर्शनकी प्रोफेसर बनेपछि शान्ति मेडमका नामबाट चिनिएकी छ । प्राञ्जनले अन्तिम अवस्थामा मोक्षदा र शान्तिको बलियो संस्पर्श पाउनु र सजिलै मृत्युवरण गर्नुबाट मृत्यु सन्त्रासमय र शोकजनक होइन शान्त र मोक्षदायक हुनुपर्ने चिन्तनसमेत व्यक्त गरिएको छ । यसरी ब्रह्म सत्य र जगत् मिथ्या मान्ने अद्वैत वेदान्त दर्शनको मान्यता स्थापित गर्दै उपन्यासको समापन गरिएको छ ।

श्रीमद्भागवत महापुराणमा भगवान् विष्णुका चौबीस अवतारमध्ये एक मानिने ऋषि दत्तात्रेयले राजा यदुलाई चौबीसवटा गुरुबाट शिक्षा लिएको कुरा गरेका छन् :

पृथिवी वायुराकाशमापोऽग्निश्चन्द्रमा रविः ।

  कपोतोऽजगरः सिन्धुः पतङ्गो मधुकृद् गजः ।।

   मधुहा हरिणो मीनः पिङ्गला कुररोऽर्भकः ।

   कुमारी शरकृत् सर्प ऊर्णनाभिः सुपेशकृत् ।।

   एते मे गुरवो राजँश्चतुर्विँशतिराश्रिताः ।

शिक्षा वृत्तिभिरेतेषामन्वशिक्षमिहात्मनः ।। (११। ७। ३३–३५)

अर्थात् हे महाराज ! पृथिवी, वायु, आकाश, पानी, आगो, चन्द्रमा, सूर्य, परेवा, अजिङ्गर, समुद्र, पुतली, माहुरी, हात्ती, मह काढ्ने व्यक्ति, माछा, पिङ्गला नामकी वेश्या, न्याहुला, बालक, कन्या, बाण बनाउने व्यक्ति, सर्प, माकुरो र कुमालकोटी — यी चौबीसवटा मैले स्वीकार गरेका गुरुहरू हुन् । उनीहरूको प्रवृत्तिद्वारा मैले आफूलाई शिक्षा लिएको छु ।

प्रस्तुत उपन्यासको प्राञ्जनले हजुरबुबा, बुबा, आमा, ब्रिटिश काउन्सिलमा भेटेको म पात्र (लेखक), गोपाल दाइ, सुमित्रा दिदी, केशरी वैद्य (वैद्य बा), दाजु प्रबल, राजेन्द्र सर, कवि भुकुण्ड, भानु काका, अनिरुद्ध, डङ्गोल अङ्कल, नानीशोभा काकी, सपना, पेट्रिक, अमेरिकामा भेटेका साथीहरू, कोअर्डिनेटर, प्रोफेसरहरू शिवाका, निकोलास र सुव्रत, गोन्जालेज र सुजान, सपनाको श्रीमान् निरञ्जन, कुलराम, माझी माइलो, अमलेका सन्काहा दाइ, दीर्घमान, मोक्षदा, पोखरेल्नी बजै, डुम्जन दाइ, राजेन्द्र सरकी पत्नी, कृष्णानन्द स्वामी, कुमार लामा (मोक्षदाबाट नाम र काम सुनेको), पीपलडाँडाका शिक्षक र विद्यार्थीहरू, बस यात्रामा भेटेको बूढो मानिस र आफ्नै जीवनबाट शिक्षा लिएको छ । यात्राको अनुभव र प्रकृति पनि उसका शिक्षक बनेका छन् । प्राञ्जन जहाँ पुगेको छ, उसले जसलाई भेटेको छ र जे गरेको छ ती सबैबाट शिक्षा लिएको छ । ऋषि दत्तात्रेयले पिङ्गला वेश्याबाट ज्ञान पाउनु र प्राञ्जनले कृष्णानन्द स्वामी छद्मनाम भएको भुवन शर्माजस्तो पाखण्डी, भ्रष्टाचारी र व्यभिचारीबाट पनि शिक्षा पाउनुमा तात्त्विक भिन्नता देखिँदैन । सङ्ख्यात्मक हिसाबले ऋषि दत्तात्रेयका भन्दा प्राञ्जनका गुरु धेरै बढी छन् । यीमध्ये केहीबाट उसले जीवन बदल्ने ज्ञान पाएको छ भने केहीबाट जीवन बुझ्ने शिक्षा पाएको छ र अन्ततः सिङ्गो उपन्यासले पाठकलाई पनि शिक्षा दिएको छ । यस मेसोबाट हेर्दा यो उपन्यास पुराणको कथासँग पनि जोडिन पुग्छ ।

सामाजिक रूपान्तरण र सुधारको स्वर र त्यसबाट प्रगतिवादतर्फको झुकाव उपन्यासको अर्को मुख्य पाटो हो । प्राञ्जनले विधवा सपनालाई विवाह गर्नु सामाजिक रूपान्तरणको एउटा उदाहरण हो । यहाँ प्राञ्जन पीपलडाँडामा प्राविधिक रूपमा शिक्षक बढे तापनि उसले अमेरिकाका प्रतिष्ठित प्रोफेसरलाईभन्दा नेपालका भुइँमान्छेलाई ठूला गुरु मानेको छ । कुलराम, माझी माइलो, पोखरेल्नी बजै, डुम्जन दाइजस्ता चरित्रबाट उसले शिक्षा लिएको छ । शिक्षित व्यक्तिहरूको काम आफू र आफ्नो परिवारको मात्र होइन पिछडिएको वर्गको पनि उत्थान गर्नु हो । काठमाडौँको हुनेखाने रैथाने र अमेरिकामा पढेको प्राञ्जनले पीपलडाँडामा गएर पिछडिएको वर्गलाई शिक्षित र सचेत बनाई समाज सुधारको सन्देश दिएको छ । यहाँ शिक्षाका साथै शिक्षणविधिको पनि सुधार गरिएको छ । सानो उमेरका विद्यार्थीलाई कुटपिट गरेर र आतङ्कित पारेर भन्दा मनोविज्ञान बुझेर दिइने शिक्षा फलदायी हुने मान्यता स्थापित गरिएको छ । उपन्यासले विदेश र विकसित ठाउँबाट भन्दा आफ्नै परिवार, छरछिमेक, साथीभाइ, सीमान्तीभूत वर्ग, गाउँठाउँ र प्रकृतिबाट ज्ञान लिनुपर्ने प्रेरणा दिएको छ । यहाँ डुम्जन दाइको देउता र भूत जसले मान्यो उसैले दुःख पाउँछ, उसैलाई सताउँछ भन्ने कथन आएको छ । मोक्षदाले पितृ, आफ्नो शरीर र पाप धर्मबारे परम्परागतभन्दा भिन्न धारणा प्रकट गरेकी छ । उसले तत्कालीन राज्यव्यवस्थाप्रति असन्तुष्टि जनाएकी छ भने मानवीय मर्यादा (हुमन डिग्निटी), नारी मनोविज्ञान, मानव अधिकार, पढाइ, पेशा र आजीविका तथा कुमारको मार्क्सवादी–निरीश्वरवादी अवधारणाको व्याख्यान पनि गरेकी छ । अञ्चलाधीशको बेतुकको भाषण सुनेर असह्य भई प्रतिक्रियास्वरूप मानव अधिकार र शोषणरहित समाजबारे कविता लेखेर धेरै प्रति बनाई गोप्य रूपमा छरेको अभियोगमा कुमारलाई पक्रिएर बेपत्ता बनाई मारेको घटना र त्यसबाट मोक्षदामा उत्पन्न पीडाबाट राजनीतिक विद्रोहको चेतना सञ्चारित गरिएको छ । यहाँनेर माझी माइलाले गाएको गीतका केही हरफ अघि सार्न सकिन्छ:

धनीको थाप्लोमा, देउताको हात,

गरीबको छातीमा, देउताको लात,

        …………..

धनीका घरमा, फालाफाल भात,

गरीबको छाप्रोमा, भोकै बित्छ रात, -पृ.१७०)

मोक्षदाको यो भनाइ पनि सान्दर्भिक हुन्छ : म कुमार दाइलाई मन पराउँथेँ तर उहाँ मलाईभन्दा देश र क्रान्तिकारितालाई नै मन पराउनुहुन्थ्यो । (पृ.२३३)। यस्तै डुम्जनले प्राञ्जनलाई सुनाएको गीतमा एउटा हरफ छ: सामन्ती हातले, सारङ्गी रेट्दा, हाम्रो धून बज्दैन ।पृ.२०६)। डुम्जनको देउताबारे सोधीखोजी नगर्ने बरु मीठो जाँड खाने कुराले भौतिकवादी चेतलाई सबल बनाएको छ:

देउताको कुरा बीचबीचमा नउठाऊ । देउताको पूजा गर्नु मन लागे गर्नु, देउताको गुणगान गर्नु मन लागे गर्नु । तर देउता कहाँ बस्छ ? के लाउँछ ? के खान्छ ? दिसापिसाब गर्छ कि गर्दैन ? गर्छ भने कहाँ गर्छ ? अनि त्यो देउता भन्ने कुरा छछैन भन्नेतर्फ खोज्दै नखोज ।… हेर्नु त यो जाँड कति मीठो छ ?पृ.२०८)।

यी विचार र घटना, उपन्यासको उत्तरार्धमा उल्लिखित कविता र गीत एवं कुमारको कर्म, सिर्जना, क्रान्तिकारिता र बलिदानलाई साक्षी राखेर हेर्दा यो उपन्यास प्रगतिवादी–भौतिकवादी कित्तातर्फ ढल्किएको स्पष्ट देखिन्छ । कृष्णानन्द स्वामीको नक्कली आवरणमा परिणत हुनुभन्दा पहिलेको भुवन शर्माले के दुराचार गर्‍यो भनेर खोतलखातल पार्नुभन्दा के चाहिँ गरेन भनेर बुझ्न सजिलो हुन्छ । ऊ परम्परागत दर्शनका दृष्टिले चरम चार्वाकवादी र आधुनिक वादका दृष्टिले खुङ्खार प्रकृतवादी नग्न चरित्र हो । यसरी सिङ्गो उपन्यास चार्वाकवाद र प्रकृतवादको किनारै किनार, प्रगतिवाद–भौतिकवादको बलियो भङ्गालो र अध्यात्मवादको मूलधारबाट अघि बढेको देखिन्छ ।

कौतूहलको सिर्जना उपन्यासको सबल पक्ष हो । पात्रको  प्रत्येक संवाद, घटना र लेखकको वर्णन र टिप्पणीमा पाठकको उत्सुकता जगाउने सीप लेखकले देखाएका छन् । पात्रको स्तरअनुसार भाषाको प्रयोगले उपन्यास स्वाभाविक बनेको छ । आर्थिक, शैक्षिक र सामाजिक दृष्टिले पात्र भुइँमान्छेको तहमा भए पनि उनीहरूको कथ्य महान् ज्ञानी, महात्मा र तर्कशास्त्रीको जस्तो छ । कुलराम, माझी माइलो, पोखरेल्नी बजै, डुम्जन दाइजस्ता चरित्र उपाधिविहीन प्रोफेसरझैँ लाग्छन् । उपन्यासमा संस्कृत वर्णमालाका ३३ वटा व्यञ्जनहरूको क्रमबद्ध र सार्थक प्रयोग गरी रचिएको श्लोक उल्लेख गरिएको छ जसले पाठकहरूलाई संस्कृत साहित्यप्रति रुचि जगाइदिन सहयोग पुर्‍याएको छ । कतै कतै नाटकीय परिदृश्य आएका छन् । अमेरिकामा प्राञ्जनले सपनामा सपनासँग भेटवार्ता गर्नु, बाबुले प्रस्ताव गरेपछि ऊ विधवा सपनालाई विवाह गर्न तयार पर्नु, म पात्रले क्यानाडाबाट आएकी बुद्धदर्शनकी प्रोफेसर शान्ति मेडम (मोक्षदा) लाई एअरपोर्टमा अगुवाइ गरी आफ्नो घरमा राख्ने प्रबन्ध गर्नु, ऊ र म पात्र बिरामी प्राञ्जनलाई भेट्न नेपाल आउनु र ती दुवैलाई भेटेपछिमात्र उसको देहान्त हुनु नाटकीय मोड ल्याउने घटना हुन् । उपन्यासको बाह्य संरचनाअन्तर्गत मूल भागका रूपमा रहेको ‘उसका कथाहरू’ शीर्षकको दोस्रो भागलाई शुरुमा ‘मेरो कथा’ र अन्तिममा ‘फेरि मेरो कथा’ शीर्षकका भूमिका र समापनबाट सम्पुटित गरिएको छ । यसले कथासूत्रलाई बुझ्न सजिलो बनाएको छ । प्राञ्जनले आमालाई लामो कान हुने खसीलाई ‘कान लामे खसी’ नभनेर किन ‘लामकाने खसी’ भनेको भन्ने प्रश्न गरेको छ । जोकर चरित्रको चक्रवर्ती काकाले रक्सीले मातेको सुरमा भोज्य पदार्थलाई खाँदा वा पिउँदा मातिनेलाई मात्य र नमातिनेलाई अमात्य भनेर विभाजन गरेको प्रसङ्ग आएको छ भने हाम्रो शरीरमा मुक्ताङ्ग, गुप्ताङ्ग, अर्धाङ्ग र अन्तराङ्ग गरी चार प्रकारका अङ्ग छन् भन्ने वर्णन गरेको छ । पीपलडाँडातर्फको पैदल यात्राका क्रममा घाँस काट्ने युवती र कुलरामका बीच झर्रो भाषामा भएको दोहोरो गालीगलौजमा मौलिक नेपालीपन झल्किन्छ ।

उपन्यासका कुनै पङ्क्ति सूक्तिमय छन् र तिनले पाठकलाई बौद्धिक र वैचारिक मार्गदर्शन गराउँदै संवेदनशील बनाउँछन् ।

मान्छेको अध्ययनको एउटा स्तर पूरा भएपछि यी छालाका आँखाले किताब पढिरहनु पर्दैनपृ.२४) मा ध्यान, योग र अध्यात्मप्रधान शिक्षाको दर्शन सन्निहित छ ।

विदेशमा पढ्न आउने भन्ने रहर स्वदेशमा रहँदा लाग्ने एक किसिमको हुटहुटीको कुरा मात्र रहेछपृ.८४) ले सही शिक्षा विदेशमा मात्र पाइन्छ भन्ने वर्गलाई सचेत गराएको छ ।

गोरुले पनि सधैँ पल्लो डाँडो नै हरियो देख्छपृ.९०) मा सुलभभन्दा दुर्लभ वस्तु राम्रो देख्ने स्वभावप्रति कटाक्ष गरिएको छ ।

कुनै व्यक्ति वा वस्तु नराम्रो लाग्छ भने हेर्ने तरिका फेर्नुपर्छ भन्ने शिक्षा यस्तो छ: दृश्य मन नपरे दृष्टि परिवर्तन गर्नु । (१०९)।

सम्पत्ति भनेको त पढेलेखेका छोराछोरी पो हुन् त, खेतबारी हो र ?’पृ.२०९) मा सम्पत्तिभन्दा सन्तानको शिक्षालाई महत्त्व दिइएको छ ।

प्रेम, स्नेह र ममताले भरिएको एउटा स्पर्शमात्रले पनि जन्म जन्मान्तरसम्म सँगै बिताएको अनुभव गराउँछ भन्दै सूक्ष्म मानवीय संवेदनाको प्रकाशन यसरी गरिएको छ: कुनै मान्छेको एक पलको पवित्र स्पर्श पनि ऊसँग सयौँ जन्मभरि साथ बिताएको अनुभूति हुने खालको हुन्छ। (पृ.२३१।

जीवनमा ज्ञानी कुरा गर्न एक खेपचाहिँ जोगी हुनैपर्ने रहेछपृ.२६३) र मानिसको जीवन ईश्वर, सुख, शान्ति र सन्तुष्टिको खोजीको क्रम मात्र रहेछपृ.२७०) ले पनि जीवन बुझ्ने र भोग्ने बाटो देखाएका छन्।

पीपलडाँडमा प्राञ्जनलाई डिक्सनरी वा इन्साक्लोपेडिया जस्तो ठानेर गाउँलेहरू, विद्यार्थीहरू, गन्यमान्यजनहरू र बुद्धिजीवीहरूले अनौठा प्रश्नहरू सोध्ने गरेका छन् । जस्तै: आकाशको रङ किन नीलो हुन्छ ?, खोला किन दक्षिणतिर मात्रै बग्छ ?, डा. तुलसी गिरी मानिसको उपचार गर्ने डाक्टर हुन् कि पिएचडी डाक्टर हुन् ?, भगवान् हुन्छन् कि हुँदैनन् ?, के चन्द्रमामा इन्द्रपुरी सभा लाग्यो भने धर्तीमा पानी पर्छ ?, के हवाईजहाजको पनि हर्न हुन्छ ? यस्ता प्रसङ्ग र प्रश्नहरूले एकातिर तार्किक क्षमताको विकास गर्न मदत गरेका छन् भने अर्कातिर उपन्यासलाई औधि चखिलो र रमाइलो बनाएका छन् । नौला शिक्षकहरूमा यी केही नौला प्रयोगहरू हुन् ।

उपन्यासका कतिपय ठाउँमा भाषाप्रेमीहरूलाई बिझाउने विचलन देखिन्छ । प्रारम्भको ‘स्वीकारोक्ति’ मा प्रयोग भएका ‘तीब्र’, ‘श्रृंखला’ शुद्ध रूप होइनन् । ‘हरेक कुराहरू’ (पृ.१३), … ‘रङ्गीन चङ्गाहरू सजाएर बेच्न राखिएको हुन्थ्यो’ (पृ.१५(, ‘अनिरुद्द’ (पृ.३९), ‘अदुवितीय’ (पृ.८७)), ‘उहाँ छक्क पर्दै मतिर हेर्नु भयो’  (पृ.१०५), ‘सुब्रत’ (पृ.१०६), ‘श्रीङ्गार’ (पृ.१०८), ‘उदण्डता’ (पृ.१६१), ‘बिपद’, दुर्भाग्यबस्’ (पृ.२३८), ‘मृत्योत्सव’ (पृ.२९२) जस्ता पद, पदावलि र वाक्य पनि त्रुटिपूर्ण छन् । पृ. १९९ मा ‘सिलसिला’ र पृ.२२४ मा ‘शिलशिला’ भएको छ । अन्तिम पृष्ठमा ‘भुइँमान्छे’ ‘भुइमान्छे’ बन्नुबाट वर्णविन्यासमा अझ बढी सावधानी आवश्यक छ भन्ने देखिन्छ । अन्तिम पृष्ठमै ‘मौलिने दाग लाग्ने’ मा अनुष्टुप् छन्दको नियमअनुसार आठ अक्षर हुनुपर्नेमा सात अक्षरमात्र छन् । यसै पृष्ठमा ‘पोखिएर सकिन्न है, छातीका यी व्यथाहरू । लेखिएर सकिन्न है, बेचैनीका कथाहरू ।।’  का दुवै ‘सकिन्न’ मा वचनसङ्गति भएको देखिँदैन । कतै कतै आदरार्थीको सङ्गति पनि मिलाउनुपर्ने देखिन्छ । पीपलडाँडा जाने क्रममा बसको यात्रा गर्दा खाना खाने ठाउँ चन्द्रनिगाहपुर उल्लेख भएको तर बेलुका ४–५ बजे महेन्द्र राजमार्गको कुनै एक ठाउँमा आएर बस रोकिएको र प्राञ्जनहरू ओर्लिएको भनिएको छ, ठाउँ उल्लेख गरिएको छैन । बसबाट ओर्लिएको ठाउँ पनि उल्लेख भएको भए पाठकको जिज्ञासा शान्त हुने र वस्तुविन्यासमा थप विश्वसनीयता पैदा हुने थियो भने आञ्चलिकता अझ सबल बन्ने थियो होला । यी ठूला दोष होइनन् र यिनले उपन्यासको मर्म–मूल्यमा आघात पुर्‍याएका पनि छैनन् तापनि आगामी संस्करणमा भाषाका यी कसिङ्गर र वस्तुविन्यासमा संशोधन गर्नु आवश्यक छ ।

नाट्यशास्त्रमा ‘उपन्यास’ शब्द प्रसादन वा खुशी अर्थमा लिइएको छ भने मनुस्मृतिमा कथा वा लोकहितकारी मत भन्ने अर्थमा प्रयुक्त छ । अमरकोशमा वाक्यारम्भ वा बोल्न थाल्नु भन्ने अर्थ गरिएको छ । यी सङ्केतबाट खुशी बनाउने र लोकको हित गर्ने वाणी उपन्यास हो भन्ने अभिप्रायको छेउछाउमा पुग्न सकिन्छ । आधुनिक उपन्यास पाश्चात्य साहित्यको देन मानिन्छ र मानव जीवनको सम्पूर्णता समेट्ने लामो गद्याख्यान भनेर परिभाषित गरिन्छ । यसलाई गद्यात्मक महाकाव्य पनि भनिएको छ । यो उपन्यासका परिभाषा हेरेर र सिद्धान्तको रूढ पालना गरेर लेखिएको उपन्यास होइन तापनि यी आधारभूत लक्षणबाट भिन्न छैन । भुइँमान्छेको यथार्थ कथा लेख्ने क्रममा यो उपन्यासको ढाँचामा तयार भएको आत्मकथा, दैनन्दिनी र निबन्धको समेत बान्कीतर्फ ढल्किएको नेपाली आख्यान साहित्यको एउटा नयाँ प्रयोग र उपलब्धि हो । नेपाली समाजको वस्तुसत्य बुझ्न, बुद्धि, तर्क र विवेक बढाउन, जीवनबोध गर्न र जीवनका प्रत्येक घटनाबाट ज्ञान आर्जन गर्न नौला शिक्षकहरूले भुइँमान्छेदेखि आकाशमान्छेसम्मलाई शिक्षा दिएको पाइन्छ ।