न्यूयोर्क शहरको बिहान कहिल्यै एकनासको हुँदैन । कहिले ट्राफिकको निरन्तर गुञ्जनले, कहिले मोबाइलमा सेट गरिएको चर्को अलार्मले, त कहिले मानिसहरूको हतार र दौडधुपले दिन सुरु हुन्छ । यहाँका बिहानहरू बाध्यता र यान्त्रिकताले कडा गरी बाँधिएका हुन्छन् । घडीको सुईसँगै दौडिनु यहाँको नियति जस्तै लाग्छ मानौँ समयभन्दा एक सेकेन्ड पछाडि पर्नु नै जीवनको ठूलो हार हो ।
तर यिनै भीडभाड र कोलाहलबीच कहिलेकाहीँ मेरो मन अनायासै बाल्यकालको गाउँतिर फर्किन्छ । बिहानै सिंगो गाउँभरि, डाँडावारि पारिसम्म फैलिएको भाले बासेको ध्वनि अझै पनि मेरो स्मृतिमा जिउँदो छ । त्यो क्षणले घर र गाउँको उपस्थिति एकैचोटि महसुस गराउँछ । त्यो आवाज केवल एउटा पंक्षीको स्वर थिएन त्यो स्वयं प्रकृतिले बिना हतार, बिना दबाब जीवनलाई आफ्नै गतिमा अघि बढाउन दिने समयको घोषणा गरिरहेको जस्तो लाग्थ्यो ।
अहिले, यो विशाल सहरमा, मलाई हरेक बिहान कर्कश लाग्ने अलार्मले उठाउँछ । यहाँ कसैको पनि निद्रा पूरा हुँदैन । मेरो त झन् कहिल्यै पुगेको जस्तो लाग्दैन । निद्रासँगै मेरा सपनाहरू जुन मैले देख्नुपर्ने थिए तर अधुरै भएर कतै छुटिरहेका छन् र कतै अड्किरहेका छन् । बिहानको नयाँ सुरुवातभन्दा पनि हिजोकै थकानको निरन्तरता जस्तो लाग्छ । दिन फेरिन्छन्, तर जीवन भने उहीँ कतै अड्किएको अनुभूति हुन्छ ।
यस्ता बोझिला बिहानहरूमा घरदेशको सम्झना आउनु पनि स्वाभाविकै हो ।सहरका मान्छेका कथा धेरै सुनिए र कसैका कुरा सम्झन लायक पनि ठानिन । धेरैका कथा लेखेर शब्दहरू पनि थाकिसकेका थिए । यस्तो अवस्थामा मेरो मन फेरि सानो साधारण जीवनतिर फर्कियो । मलाई बरु मान्छेको कथा भन्दा कुखुराको कथा धेरै साँचो लाग्छ ।उसले राजनीति गर्दैन, भाषण दिँदैन, ठूलो सपना पनि देख्दैन । ऊ केवल बिहान उज्यालोसँग उठ्छ, दाना टिप्छ, आफ्ना चल्लाहरू पछाडि दौडिन्छ, अनि साँझ पर्दा थकित भएर कुनै कुनामा गएर बस्छ । त्यही सानो जीवनभित्र पनि संघर्ष हुन्छ, माया हुन्छ, डर हुन्छ, बिछोड हुन्छ ।
मान्छेले जस्तै उसले पनि आफ्नो सानो संसार जोगाउन खोजिरहेको हुन्छ । अनि कुखुराको कथा लेख्दा केवल कुखुराको कथा मात्र लेखिँदैन । त्यसभित्र गाउँ लेखिन्छ, गरिबी लेखिन्छ, भोक लेखिन्छ, धुवाँले कालो भएको भान्सा लेखिन्छ, माटोको आँगन लेखिन्छ, र चुपचाप बाँचिरहेका मान्छेहरूको जीवन लेखिन्छ । समाजका धेरै सत्य बोकेको कुखुराको कथा जहाँ ठूलो नाटक हुँदैन तर जीवन भने हुन्छ भनेजस्तो लाग्यो ।
यो शहरको रमझममा घर, किस्ता, गाडी र जिम्मेवारीहरूको भीडमा ती सबै अनुभूति तिलाञ्जली दिनुपर्ने बाध्यता आउँछ । बिहान अब केवल उठ्ने समय मात्र भएको छ तर बाँच्ने होइन । कुखुरा बिहानै, मान्छेभन्दा अगाडि नै बिउँझिन्छ । उसको संसार सानो छ र त्यही सानो संसारभित्र पनि ऊ हिम्मतसहित बाँचिरहेको हुन्छ । सायद मान्छेका कथामा मैले ठूलो अर्थ खोज्दै थाके र कुखुराको कथामा बाँच्नुको सरलता भेटे ।
र मैले यो शहर समय र कुखुराको कथा लेख्दैछु । शहरमा सबैलाई समयले यसरी नै तानेर हिँडाइरहेको छ । मानिसहरू घण्टा हान्दै अघि बढिरहेका छन्, मानौँ समयलाई नै धकेल्दै जित्न खोजिरहेका छन् । अनुहारहरू प्रायः थकित, असन्तुष्ट र तनावले भरिएका देखिन्छन् । घडीतिर बारम्बार आँखा पुर्याएर हरेक सेकेन्डसँग कुनै न कुनै हिसाबकिताब चलिरहेको हुन्छ । बोल्दा पनि शब्दहरू मितव्ययी लाग्छन् मानौँ हरेक वाक्यसँग पैसा जोडिएको छ र हरेक मौनतामा खर्च बसेको छ ।
यहाँ कसैलाई “कफी पिउन जाऊँ” भन्ने प्रस्ताव राख्दा पनि पहिले सोधिन्छ कसले पैसा तिर्छ? मानौँ त्यो भेटघाट होइन, सानो कारोबार हो । हरेक भेटमा समय र खर्चको मूल्य तोकिएको हुन्छ र प्रत्येक चुस्की कुनै अदृश्य सम्झौतामा बाँधिएको जस्तो लाग्छ ।
कफीको सामान्य बहानामा शुरू भएका सम्बन्धहरू पनि विस्तारै समय र पैसाको तराजुमा तौलिन्छन् । कसैसँग नजिकिनुअघि नै अदृश्य हिसाबकिताब सुरु हुन्छ ऊसँग के छ? कति छ? कति खर्च गर्न सक्छ? कति समय दिन सक्छ? प्रेम पनि कतै न कतै सर्त र सम्भावनाको गणनामा अड्किएको हुन्छ । यसरी हेर्दा, यहाँ सम्बन्धहरूमा आत्मीयताभन्दा आवश्यकता, अनुभूतिभन्दा पहिले हिसाब बोल्छ र मूल्य हाबी हुन्छ ।
भलै हामी गरिब देशकै हौँ, तर त्यहाँ “कफी पिउन जाऊँ” भन्नु केवल सँगै बसेर कुरा गर्ने बहाना हुन्थ्यो । न पैसाको हिसाब, न समयको डर । मान्छका क्षणहरू खर्चिँदैनथे सहज रूपमा बाँडिन्थे । समय आफ्नै लयमा बग्थ्यो र मानिसहरू त्यससँगै बग्थे तर हराउँदैनथे । बरु आफूलाई अझ स्पष्ट, अझ नजिक पाउँथे । सुख दुःख, हाँसो रोदन सबै निःशुल्क साटिन्थे र सायद त्यही साटासाटमै जीवन अलि बढी पूर्ण, अलि बढी न्यानो लाग्थ्यो ।
फरक यति हो यहाँ जीवन समयको पछि दौडिन्छ, त्यहाँ समय जीवनसँगै हिँड्छ । यही अन्तरले हरेक बिहानसँगै एउटा सानो खालीपन जन्माउँछ । बाहिर उज्यालो भए पनि भित्र कतै अँध्यारो बाँकी रहिरहन्छ । र मानिस यही हतार र हिसाबकिताबबीच आफैंलाई हराउँदै गइरहेको छ ।
प्रसङ्ग बदलेर कुखुरा, भाले र अन्डाकै कुरा गरौँ । भालेको भित्रै एउटा प्राकृतिक ‘जैविक घडी’ हुन्छ । उज्यालो हुनुअघि नै उसको दिमागले बिहान नजिकिँदैछ भन्ने संकेत पाउँछ र त्यसैले ऊ बास्न थाल्छ । तर रोचक कुरा के छ भने, भाले अँध्यारो कोठामा राख्दा पनि आफ्नो अनुमानित समयमा बास्न सक्छ जस्तो कि उसले समय महसुस गर्छ ।
भाले केवल बिहान मात्र होइन, आफ्नो क्षेत्र वा इलाका घोषणा गर्न पनि बास्छ । उसले बासेर अरू भालेलाई सन्देश दिन्न्छ कि यो मेरो ठाउँ हो । त्यसैले दुई भाले नजिक हुँदा बास्ने प्रतिस्पर्धा जस्तो देखिन्छ ।
अर्को रोचक कुरा, भालेहरूमा पहिलो बास्ने भन्ने प्रतिस्पर्धा पनि हुन्छ । समूहमा सधैं एक प्रमुख भाले हुन्छ, जसको बास सबैभन्दा अगाडि र शक्तिशाली हुन्छ ।
भालेको बास्ने आवाज १०० डेसिबलसम्म पुग्न सक्छ, जुन करिब एउटा मोटरसाइकलको आवाज बराबर हो । तर अचम्म के छ भने, ऊ आफैं आफ्नो आवाजले बहिरो हुँदैन बरु उसको कान संरचनाले उ आफैंलाई जोगाउँछ ।
वैज्ञानिक रूपमा, भालेहरूको समूहले एक किसिमको समन्वित बिहानको संकेत दोहोरी खेलेर दिन्छन् । एकले सुरु गर्छ, अरूले जवाफ दिन्छन्, र केही मिनेटमै पूरा गाउँ जागाउँछन् ।
म सधैं सोचिरहन्छु समयको यात्रा बोकेको कुखुरा किन यति सामान्य देखिन्छ ? किन हामी उसलाई केवल भान्साको परिकार, बजारको सामान वा बिहानको घडीका रूपमा मात्र हेर्छौं ? के आजको सानो कुखुराभित्र कतै अदृश्य रूपमा एउटा विशाल अतीत अझै बाँचिरहेको छैन ?
सायद हामीले कहिल्यै उसको भित्र लुकेको इतिहासतर्फ ध्यान नै दिएनौँ । कुनै समय कुखुरालाई केवल जनावर होइन, जीवित अस्तित्वका रूपमा हेरिन्थ्यो । तर समयसँगै शहर आयो, बजार आयो, मूल्य आयो र बिस्तारै कुखुरा वस्तुमा रूपान्तरित भयो । जब कुनै जीव मूल्यमा सीमित हुन्छ, त्यसको अर्थ विस्तारै हराउन थाल्छ ।
खोज्दै जाँदा थाहा हुन्छ कुखुरा केवल आजको जीव होइन, ऊ समयको यात्रु हो । उसले आफ्नो रगतमा प्राचीन संसारको स्मृति बोकेको छ । समयले उसलाई बदल्यो सानो बनायो, नम्र बनायो, मानिसको नजिक ल्यायो । उसले उडान छोट्यायो, जंगलीपन त्याग्यो, र मानिससँगै बाँच्न सिक्यो । यो परिवर्तन एउटा मौन सम्झौता थियो बाँच्नका लागि गरिएको बलिदान थियो ।
आज हामी उसको तौल, मूल्य र मासुको गुणस्तर मात्र हेर्छौँ तर कुखुराको आँखाभित्र बाँकी रहेको बाँच्न खोज्ने कथा देख्दैनौँ ।
कुखुरा केवल शरीर मात्रै होइन ऊ स्मृतिको भण्डार हो ।अझ रोचक कुरा त ऊ जन्मिनुअघि नै संसारसँग जोडिन थाल्छ । अण्डाभित्र हुँदा पनि आवाज सुन्छ, प्रतिक्रिया दिन्छ । अन्धकारबाट सुरु भएको त्यो संवाद जीवनभरि चलिरहन्छ मानौँ जन्म केवल शरीरको होइन सम्बन्धको पनि हुन्छ ।
कुखुराको जीवन सानो देखिए पनि त्यसमा गहिरो दर्शन लुकेको छ । ऊ वर्तमानमा बाँच्न जान्दछ न भविष्यको चिन्ता, न विगतको बोझ । ऊ आजको घाममा रमाउँछ, आजकै दानामा सन्तुष्ट हुन्छ ।
हामी भने सधैं दौडिरहेका हुन्छौँ भोलिको लागि, सफलताको लागि, पहिचानको लागि । यसरी दौडिँदा हामी वर्तमान गुमाउँछौँ । कुखुरा जस्तो छ, त्यस्तै बाँच्छ ।मान्छे भने जस्तो देखिन चाहन्छ त्यस्तो बन्न खोज्दै आफ्नो वास्तविकता र धरातल पुरै बिर्सिन्छ । काम, पैसा, पहिचानको खोलभित्र सम्बन्धबाट टाढिएर भूमिकामा सीमित हुन्छ ।
तर कुखुरा वर्तमानमै पूर्ण आनन्दित हुन्छ । र दुवैको दौड भने जीवित रहनकै लागि हो । कुखुराले अण्डा दिन्छ जीवनको सम्भावना बोकेर । मान्छेले सपना दिन्छ र सचेत भएर पनि कहिलेकाहीँ आफ्नै जीवनको अर्थ हराउँछ ।
सायद त्यसैले, कुखुराको कथा केवल कुखुराको होइन हाम्रो पनि हो । कुखुरा जस्तै, अण्डा पनि मलाई सधैं एउटा साधारण खोलभित्र लुकेको रहस्यमय जीवन जस्तो लाग्थ्यो । मान्छेहरूले कहिले उमाल्छन्, कहिले फुटाउँछन् तर त्यसको मौनताले सधैं केही गहिरो कुरा भनिरहेजस्तो लाग्छ । जीवन सानो आकारमा पनि पूर्ण हुन्छ भन्ने लाग्छ मलाई ।
गाउँमा कुखुरा र अण्डा केवल वस्तु थिएनन् उनीहरू समयका साथी थिए, बिहानका संकेत थिए, जीवनका सामान्य तर अर्थपूर्ण अंश थिए । तर समय बदलियो म शहर आएँ सहरमा कुखुराको अर्थ बदलियो । ऊ अब बिहानको आवाज रहेन, बजारको वस्तु बन्यो तौल, मूल्य र गुणस्तरले परिभाषित गर्यो ।
त्यहीसँगै म पनि बदलिएँ । कहिल्यै नखाने कुखुरा मैले सहरमा आएपछि खान थालेँ । तर अचम्म त्यो स्वाद कहिल्यै मन परेन । मानौँ भित्र कतै एउटा पुरानो सम्झनाले प्रतिरोध गरिरहेको हो ।
अण्डा पनि यहाँ प्रोटिन, भिटामिन, क्यालोरीमा नापिनेरहेछ । तर मेरो लागि अण्डा अझै एउटा बन्द सम्भावना हो जहाँ जीवन चुपचाप आकार लिइरहेको हुन्छ ।
सायद हामी पनि त्यस्तै हौँ अण्डाजस्तै । बाहिरबाट कडा, भित्रबाट सम्भावनाले भरिएका ।
यहाँ न्यूयोर्कमा कुखुरा आफ्नो जीवनभन्दा धेरै समय चिसो भण्डारणको डिफ्रिजमा सुरक्षित थन्किएर बस्छ । उसको शरीर समयको यात्रा पूरा नगरी नै फ्रिजभित्र जमेको सम्झनाजस्तै हुन्छ ।
र अन्ततः, मान्छेको पेट नै त्यो जीवनको अन्तिम चिहान वा स्टेशन बन्छ । यो कुरा केवल मासुको होइन । प्रकृति, उत्पादन र उपभोग बीचको दूरी कति बढिसकेको छ भन्ने कुराको गहिरो संकेत पनि हो ।
मैले जीवनमा अनेक मान्छे भेटेकी छु । कोही कुखुराको खुट्टा मात्रै खाने, कोही पखेटा मात्रै, कोही छाती मात्रै, कोही मृगौला, कलेजो, टाउको त कोही हड्डीको सुप बनाएर जीवनको स्वाद खोज्ने ।
तर अचम्म लाग्छ एउटै कुखुरा, स्वाद सबैको फरक । कसैले मासुमा रस देख्छ, कसैले हड्डीमा सार खोज्छ । किनकि यहाँ स्वाद पनि रोजाइ हो, र जीवन र भोगाइ पनि । कसैले सजिलो भाग रोज्छ, कसैले गाह्रोभित्रको अर्थ खोज्छ ।
यो सहरले हरेक दिन लाखौँ कुखुरालाई टुक्र्याउँछ र सायद हामीलाई पनि टुक्र्यायो परिवारसँग, नातागोतासँग, र कहिलेकाहीँ आफ्नै भित्रको मानवतासँग पनि । सायद यही टुक्रिएको जीवनभित्र नै हामी अझै आफूलाई खोजिरहेका छौँ ।
तर म भित्र भने त्यो कुखुरा अझै पूरा छ टुक्रिएको होइन, जिउँदो । त्यसैले म भाग भागमा होइन, सम्पूर्णतामा सम्झिन्छु । र त्यसैले होला मलाई कुखुरा परिकारभन्दा पनि कथा जस्तो लाग्छ । जसलाई म टुक्र्याएर होइन, महसुस गरेर बुझ्नुपर्छ जस्तो ठान्छु ।मेरो लागि कुखुरा र अण्डा खाना पनि होइनन् । एउटा चलिरहेको जीवन, अर्को सम्भावनामा लुकेको जीवनका दुई रूप हुन् । कुखुराबाट अण्डा, अण्डाबाट कुखुरा यो चक्र कहिल्यै टुट्दैन ।
त्यसैले म कुखुराको मासु खान मन पनि गर्दिन । स्वादको कारणले होइन, आफ्नै स्मृतिले मलाई रोक्छ । जब कसैले कुखुराको परिकार मेरो अगाडि राखिदिन्छ अनि म स्वादभन्दा पहिले एउटा त्यो बिहान सम्झिन्छु । किनकि त्यो कुखुरा अझै पनि मेरो मनभित्र जीवित छ कहिले घडी भएर, कहिले गाउँ भएर, कहिले बिहान भएर, त कहिले सम्भावना भएर मेरो अगाडि उभिरहन्छ ।
म ती दुई संसार कुखुरा र अन्डाको बीचमा अड्किएर तिनैको स्मृतिमा बाँचिरहेकी छु । न माथि उक्लने बाटो छ, न तल झर्ने हिम्मत । बस, यही बीचको मौनतामा म आफूलाई हराउँदै खोजिरहेकी छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










