तुलसीपुर दाङकी गजलकार सारदा धिताल हाल अमेरिकाको कोलम्बस्, ओहायोमा बसोबास गर्छिन् ।
सपनाको आयतन फैलिंदै फैलिंदै अमेरिकासम्मै पुग्यो उनको । गुहार खोला र पातुखोलाले बगाउँदै बगाउँदै लगेको उनको बाल्यकालको उमेर बबई हुँदै समुद्रमा मिसाइदियो वयस्क बनाएर । अचेल उनी अमेरिकाको ओहायोमा आफ्नो भविष्यको चित्र कोर्न व्यस्त छिन् । तर त्यही व्यस्ततामा पनि उनको साहित्यप्रतिको रुचि घटेको छैन । अमेरिकाका विभिन्न ठाउँमा हुने साहित्यिक गतिविधिमा उनी सक्रिय रूपमा देखा पर्छिन् । उनी एक कुशल साहित्य संगठक पनि हुन् । हाल उनी अनेसास ओहायो च्याप्टर अध्यक्षसमेत रहेकी छिन् । विशेषगरी गजल लेख्ने सारदा धिताल कविता लेखनमा पनि रुचि राख्छिन् । साहित्यसँगै उनको रुचि लोक गीत संगीतमा पनि उत्तिकै छ । उनका केही लोक तथा तीजका गीतहरू पनि सार्वजनिक छन् ।
गजलकार सारदा धितालका गजलहरू मूलतः प्रेम रसले भरिएका हुन्छन् । तर ती विपरीत लिङ्गीप्रति हुने आकर्षणमा मात्र सीमित छैनन् । ती प्रेममा स्वच्छता, त्याग र आदर्शयुक्त भावना छन् । सामाजिक राजनीतिक चेतनाको मसीले लेख्ने सारदा धितालका गजलहरू समाजको यथार्थ धरातलका आवाजहरू पनि हुन् । खासगरी उनका गजलहरू प्रेम, प्रतिरोध र चेतनाको सन्तुलित संगम हो । जसले गजलकारलाई कोरा भावुक र संवेदनशील मात्र होइन जिम्मेवार सर्जकको रूपमा स्थापित गरेको छ । आजको मुगलानी चराको १२ औँ शृङ्खलामा उनै गजलकार सारदा धितालका तीन वटा गजलहरू प्रस्तुत गरेका छौँ ।
१.

सारदा धिताल
तिमी आऊ अथवा जाऊ, के फरक पर्छ !
झुटा आरोपहरू लगाऊ, के फरक पर्छ !
मर्नै पर्छ सबले एकदिन, बिर्सियौ तिमीले,
मारेर अरूलाई, खुशी मनाऊ, के फरक पर्छ !
मलाई लडाउन खोज्दा आफै लड्यौ थाहा छ,
फेरि उठ्न मेरै हात समाऊ, के फरक पर्छ !
सडकमै छोड्यौ साथी, म धेरै माथि पुगिसकेँ
उदाङ्ग तिम्रो कर्तुत अझै लुकाऊ, के फरक पर्छ ।
= = =
२.
सानो हाम्रो पिरतीको, घर बनाउनु छ ।
तिमी र म बस्ने सुन्दर, शहर बनाउनु छ ।
रहर छ मनमा एउटा, कहिले पूरा होला
बाबाको थर हटाई तिम्रो, थर बनाउनु छ ।
जोडिएका दुइटा मुटु, मिलाएर सधैँ
जिन्दगीको एउटै हाम्रो, सफर बनाउनु छ ।
बचाएर राखौँ चोखो, माया प्रेम हाम्रो
जोगाएर जुगौँ जुग, अमर बनाउनु छ ।
विश्वासमा अडियोस्, गलत नहोस् प्रेम
मलाई तिम्रो-तिम्रो, मलाई भर बनाउनु छ ।
= = =
३ .
म मन्दिरमा पसेँ पुजारीले भगवान् बेचेछन् ।
न्यायालय पसेँ न्यायाधीशले विधान बेचेछन् ।
देशभक्ति कहलिँदै नेता विदेश भ्रमण हिँडेथे,
फर्किँदै गर्दा आज उनैले देशको इमान बेचेछन् ।
कहाँ जानु खै जीवनमा उज्यालो खोज्नलाई,
सूर्यले पनि बादलसँग मिर्मिरे बिहान बेचेछन् ।
देश फुलाउनेको खातिर मृत्युलाई वरण गर्दै,
यहाँ त शहीदले नै शहीदको स्वाभिमान बेचेछन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१८ माघ २०८२, आईतवार 










