सन् २०२५ को शुरुवातसँगै दैनिक रूपमा विश्वका देशहरूबारे पोस्ट गर्न थालियो । शुरुको केही दिनमै अन्डोराको बारेमा लेखियो । पहिला खासै थाहा नभएको देशको बारेमा बुझ्दै जाँदा त्यहाँ पुग्ने रहर जाग्यो । हामी विवाहको वर्षगाँठमा सकेसम्म अन्य देशमा जाने गरेका छौं । यही मौकामा ३३औं वर्षगाँठ मनाउन बार्सिलोना जाने कुरा चल्यो । त्यसो भए अन्डोरा पनि पुगेर आउने निर्णय भयो । सन् २०२५ फेब्रुअरी २० देखि छ दिने घुमघाममा निस्कियौं ।
फ्रान्स र स्पेनको बीचमा, पाइरेनीज पर्वतको काखमा अवस्थित सानो तर विशिष्ट देश अन्डोरा आकारमा सानो भए पनि अनुभवमा अत्यन्तै विशाल छ । यस देशले हामीलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र अनौठो राजनीतिक संरचनाको अद्भुत संगम देखायो । बार्सिलोनाबाट बसमार्फत गरिएको हाम्रो यात्रा आफैंमा एक रमाइलो अनुभव थियो । करीब तीन घण्टाको घुमाउरो हिमाली सडक, सेता पहाडहरू र हरियाली उपत्यकाले बाटोभरि मन लोभ्याइरह्यो । यस्तो यात्राले गन्तव्यमा पुग्नु मात्र होइन, यात्रा स्वयंलाई पनि अविस्मरणीय बनाइदिने रहेछ ।
हामीले ‘एन्काम्प’, ‘सान्त जुलिया दे लोरिया‘ र ‘ला भेल्ला’ जस्ता सुन्दर शहरहरू घुम्यौं । यी शहरहरू साना भए पनि आफ्नै सौन्दर्य, आफ्नै सुवास र आफ्नै चरित्र बोकेका छन् । साँघुरा गल्लीहरू, साना तर आकर्षक पसलहरू र चारैतिर फैलिएका पहाडी दृश्यहरूले शहरलाई मनोहर बनाइदिएको छ । यहाँको शान्त वातावरणले शहरको हतारोबाट टाढा, प्रकृतिसँग नजिक बस्ने अनुभूति दिन्छ । भीडभाड कम, प्रदूषण न्यून र जीवनशैली सरल देखिन्छ, जसले यहाँका मानिसको दीर्घायु र स्वस्थ जीवनशैलीलाई पनि संकेत गर्छ ।
यहाँको बजार घुम्दा जताततै राखिएका मेचहरूमा स्थानीय मानिसको बाक्लो उपस्थिति देखिन्छ । हाम्रो गाउँघरको चौतारीमा बसेर गफ गरे जस्तै देखिन्छ । अन्य शहरमा जस्तो हतारो देखिँदैन । यसबाट पनि उनीहरूको जीवन सहज हुनुपर्छ भन्ने अनुमान लगाउन सकिन्छ । यहाँका मानिसहरूको औसत आयु करीब ८५ वर्ष रहेको छ, जुन विश्वका थोरै देशहरूमा मात्र पाइन्छ ।
अन्डोराको अर्को विशेष आकर्षण यहाँको खाना र आतिथ्य हो । साना रेस्टुरेन्ट र पबहरूमा स्थानीय परिकारको स्वाद लिँदा हामीले अत्यन्तै आत्मीय स्वागत पायौं । धेरैजसो स्थानीयले अंग्रेजी नबोले पनि संकेत, मुस्कान र थोरै स्पेनिस शब्दको सहायताले संवाद सहज बन्यो । भाषा फरक भए पनि सम्बन्ध नजिकियो, जुन यात्राको सबैभन्दा सुन्दर पक्ष हो । पब र पसलहरूमा भेटिएका अपरिचित मानिससँगको हाँसोमजाक र छोटो कुराकानीले अन्डोरालाई अझ आफ्नैजस्तो बनायो । त्यसैले पनि होला, करीब अस्सी हजार जनसंख्या भएको देशमा वार्षिक रूपमा झन्डै अस्सी लाख पर्यटकहरू आउने गर्दछन् ।
अन्डोराको मुख्य आम्दानीको स्रोत पर्यटन नै हो । यो सानो देशको आर्थिक गतिविधिको लगभग ८० प्रतिशत पर्यटनमा निर्भर छ । विशेष गरी स्कीइङ, पर्वतीय गतिविधि र प्राकृतिक सौन्दर्यका कारण फ्रान्स र स्पेनबाट ठूलो संख्यामा पर्यटक यहाँ आउने गर्छन् । साथै, अन्डोरा कर कम हुने क्षेत्र भएकाले किनमेल पनि पर्यटकहरूका लागि ठूलो आकर्षण हो । यहाँ फैशन, इलेक्ट्रोनिक्स र परफ्युमजस्ता सामान सस्तोमा उपलब्ध हुन्छन् । युरोपका धेरै देशहरूबाट यहाँ मदिरा र धूम्रपान किन्न आफैं गाडी लिएर आउने गर्दछन् । हामी आफैंले महसूस गर्यौं—पबमा व्हिस्की पिउनेहरूलाई बेलायतमा वाइन दिएजति दिने अनि त्यसको जम्मा दुई युरो मूल्य । अर्को दिन पसलमा जाँदा बेलायतमा ३५ पाउन्ड पर्ने व्हिस्कीको मूल्य यहाँ केवल ७ पाउन्ड देखेर छक्क परियो ।
अर्को महत्त्वपूर्ण स्रोत भनेको बैंकिङ र वित्तीय सेवा हो । लामो समय अन्डोरा कर-रहित बैंकिङ प्रणालीको रूपमा परिचित थियो र विदेशी पूँजीका लागि आकर्षक रह्यो । हाल केही नियम कडा भए पनि बैंकिङ प्रणाली अझै गोप्य र लाभदायी छ । साथै, सरकारको राजस्वमा उपभोक्ता कर, व्यापार कर र पर्यटन शुल्कको पनि ठूलो योगदान छ । यहाँको प्रति व्यक्ति आय करीब ४९ देखि ७२ हजार अमेरिकी डलरसम्म पुग्छ । यो विश्वकै धनी देशहरूमध्ये एक हो ।
डिजिटल दुनियाँमा अन्डोराको पहिचान यसको देशीय डोमेन एडि (ad) हो । सन् १९९६ मा शुरू भएको यो डोमेन २०२४ पछि विश्वभरका मानिसहरूका लागि खुला गरिएको छ । “ad” शब्द विज्ञापन (advertisement) को संक्षिप्त रूप भएकाले मार्केटिङ र डिजिटल व्यवसायमा यो डोमेन अत्यन्तै लोकप्रिय छ । अनुमानअनुसार यस डोमेनबाट अन्डोराले वार्षिक करीब १५ लाख अमेरिकी डलर बराबरको कारोबार गर्छ, जुन सानो देशका लागि स्थिर डिजिटल आम्दानीको स्रोत हो ।
सुरक्षाको दृष्टिले अन्डोरा उदाहरणीय मानिन्छ । यहाँ स्थायी सेना छैन र आपत्कालीन अवस्थामा फ्रान्स वा स्पेनले रक्षा गर्ने सम्झौता छ । देशभित्र अपराध दर न्यून छ । कैदीहरूको संख्या कम छ । La Comella नामक एउटै मात्र कारागार सञ्चालनमा छ । यो जेल मुख्य रूपमा साना अपराध गर्नेहरू (जस्तै चोरी, लागुऔषध सम्बन्धी मामिला) लाई राख्न प्रयोग गरिन्छ । यदि गम्भीर अपराध (जस्तै हत्या वा ठूला वित्तीय अपराध) भएमा, दोषीलाई स्पेन वा फ्रान्सको जेलमा पठाइन्छ । अन्डोरा युरोपकै सबैभन्दा सुरक्षित देशहरूमध्ये एक मानिन्छ ।
राजनीतिक रूपमा अन्डोरा विश्वमै दुर्लभ संरचना भएको देश हो । यो संवैधानिक सह-राजसत्ता (Co-Principality) अन्तर्गत चल्छ । यहाँ फ्रान्सका राष्ट्रपति र स्पेनको उर्गेल बिशपलाई राष्ट्रप्रमुख मानिन्छ । यद्यपि, वास्तविक शासन संसद र निर्वाचित सरकारमार्फत सञ्चालन हुन्छ । सन् १९९३ मा लागू भएको संविधानपछि अन्डोरा आधुनिक लोकतान्त्रिक अभ्यासमा प्रवेश गरेको हो ।
अन्डोराको संसदलाई General Council भनिन्छ र यसमा २८–४२ सदस्य हुन्छन्, जसको कार्यकाल चार वर्षको हुन्छ । सदस्यहरूको आधा सातवटा पेरिशबाट र आधा राष्ट्रिय निर्वाचन क्षेत्रबाट पूर्ण समानुपातिक रूपमा निर्वाचित हुन्छन् । मतदाताले पार्टीलाई मतदान गर्छन् र पार्टीले उम्मेदवार छनोट गर्छ ।
चुनावपछि General Syndic र Subsyndic General निर्वाचित हुन्छन्, र त्यसपछि सदस्यहरूमध्ये प्रधानमन्त्री चयन गरिन्छ । प्रधानमन्त्रीको उम्मेदवार कम्तीमा एक-पाँचौं सदस्यको समर्थनमा प्रस्ताव गर्न सकिन्छ र पूर्ण बहुमत पाउँदा नियुक्त हुन्छ । संसदले कानुन पारित गर्न, बजेट अनुमोदन गर्न र राजनीतिक नियन्त्रण (प्रधानमन्त्री हटाउने वा परिषद् विघटन गराउने) जिम्मेवारी राख्छ । प्रधानमन्त्रीसँग सन्तुष्ट नभए co-princes मार्फत परिषद् विघटन गराउन सक्छन्, र परिषदले पनि motion of censure मार्फत प्रधानमन्त्री हटाउन सक्छ ।
अन्डोराको नागरिकता नीति अत्यन्त कडा मानिन्छ । यहाँको नागरिकता पाउन मुख्य तीन मार्ग छन् । सबैभन्दा सामान्य दीर्घकालीन बसोबास हो, जहाँ २० वर्ष बस्नुपर्छ (६–१६ वर्षको उमेरमा शिक्षा अन्डोरामा पूरा भए १० वर्ष) र कातालान भाषा, इतिहास र भूगोलको परीक्षा पास गर्नुपर्छ । दोस्रो, अन्डोराली नागरिकसँग विवाह गरेपछि तीन वर्षमा नागरिकताको लागि आवेदन दिन सकिन्छ । तेस्रो, लगानी/निष्क्रिय बसोबासमार्फत नागरिकता पाउन सकिन्छ । जसका लागि कम्तीमा तीन लाख पचास हजार युरो सम्पत्ति र पचास हजार युरो (अन्य परिवार सदस्य भए प्रति व्यक्ति दश हजार युरो) Andorran National Institute of Finance मा जम्मा गर्नुपर्छ र वर्षमा कम्तीमा ९० दिन अन्डोरामा बस्नुपर्छ । बसोबास अवधि पूरा भएपछि भाषा र इतिहासको परीक्षा उत्तीर्ण गर्नुपर्छ र अन्य देशको नागरिकता त्याग्नुपर्छ । यति कडा नियम भए पनि अन्डोरामा रैथानेभन्दा बाहिरका मानिसहरू नै बढी नागरिकका रूपमा बसोबास गर्छन् ।
अन्डोरा विश्वका निकै कम देशहरूमध्ये एक हो जहाँ कुनै रेल वा हवाई मार्ग छैन । यहाँ केवल सडक मार्गहरू मात्र छन् । गजबको अनुभव के भयो भने हामीले कहीँकतै पासपोर्ट देखाउन परेन । कति बेला देशको सीमाभित्र प्रवेश गरियो पत्तो नै भएन । तर बेलाबेलामा धेरै सामानहरू ल्याएको भनेर गाडीहरू रोकेर जाँच गर्ने चलन रहेछ । सामान्यतया धेरैले दुई ठूला युरोपियन देशभित्र रहेको र त्यसमाथि छुट्टै मुद्रा नभएकोले (युरो मात्र चल्छ यहाँ) यसलाई युरोपियन युनियनभित्रको देश भनेर अनुमान गर्ने गर्दछन् । तर वास्तविकता त्यस्तो होइन । यो देश शेन्जेन क्षेत्रभित्र मात्र मानिन्छ । २७ सदस्य राष्ट्रको राजनीतिक नेतृत्व युरोपियन काउन्सिलमा छैन । तर ४७ युरोपेली देशहरूको मानवअधिकार र लोकतन्त्र प्रवर्द्धन गर्ने संस्था Council of Europe मा भने सन् १९९४ देखि सदस्यता लिएको छ र यसमा प्रतिनिधित्व रहेको छ ।
क्याटालान भाषा अन्डोराको आधिकारिक भाषा हो र यहाँको सांस्कृतिक पहिचानसँग गहिरो सम्बन्ध राख्छ । यो भाषा मुख्य रूपमा स्पेनको क्याटालुनिया क्षेत्र, भ्यालेन्सिया, बालेयरिक टापुहरू, फ्रान्सको केही भाग र अन्डोरामा बोलिन्छ । क्याटालान भाषा रोमान्स भाषाको परिवारमा पर्छ, जसले फ्रेन्च, स्पेनिस र इटालियनजस्ता भाषासँग सम्बन्ध राख्छ । यसको आफ्नै व्याकरण, उच्चारण र शब्दावली छ । अन्डोरामा सरकारी कामकाज, शिक्षा, सञ्चार र दैनिक जीवनमा क्याटालान प्रयोग हुन्छ र यसले देशको राष्ट्रिय गर्व र पहिचानको प्रतीकको रूपमा भूमिका खेल्छ ।
यहाँका मानिसहरूले प्रायः क्याटालान, स्पेनिस वा फ्रेन्च नाम राख्छन् । यहाँको जनसंख्याको लगभग ९०% क्याथोलिक धर्मावलम्बी छन् । नयाँ वर्षमा घरको झ्यालबाट पैसा फाल्ने र १२ वटा अंगूर खाने परम्पराले वर्षभरि सौभाग्य ल्याउने विश्वास गरिन्छ । स्वच्छ वातावरण, पहाडी जीवनशैली र सन्तुलित खानपानका कारण अन्डोराका नागरिकहरू युरोपमै दीर्घायु समूहमा पर्छन् । फेब्रुअरीमा मनाइने Escudella पर्वमा ठूला भाँडामा मासु, सिमी, आलु र तरकारी मिसाएर सामूहिक परिकार तयार गरिन्छ भने सेप्टेम्बर ८ को Our Lady of Meritxell Day धार्मिक र सांस्कृतिक कार्यक्रमसहित राष्ट्रिय दिवसको रूपमा मनाइन्छ ।
अन्डोराको इतिहास प्राग्ऐतिहासिक कालदेखि नै निरन्तर विकसित हुँदै आएको छ । यहाँ ईसा पूर्व करीब ९,५०० वर्षअगाडि मानव बस्ती रहेको प्रमाण भेटिन्छ, जहाँ पिरेनीज पर्वत पार गर्ने शिकारी समूहहरू अस्थायी रूपमा बसोबास गर्थे । नवपाषाण युगमा स्थायी बस्तीको सुरुआत भयो र कृषि, अन्न उत्पादन, पशुपालन तथा छिमेकी क्षेत्रसँगको व्यापार विकसित भयो । कांस्य युगमा साना बस्तीहरू विस्तार हुँदै गए र धातु प्रयोग सुरु भयो, जसका अवशेष आज पनि पुरातात्त्विक स्थलहरूमा देखिन्छन् ।
पछिल्ला शताब्दीहरूमा अन्डोरामा आइबेरियन र रोमन सभ्यताको प्रभाव पर्यो । रोमन कालमा व्यापारिक मार्गहरू बने र स्पेन तथा फ्रान्सतर्फको आवतजावत बढ्यो । रोमन साम्राज्य पतनपछि भिसिगोथ र त्यसपछि फ्र्याङ्क साम्राज्यको प्रभाव रह्यो, यही क्रममा इसाई धर्म विस्तार भयो । मध्ययुगमा अन्डोराले अनौठो राजनीतिक संरचना अपनायो, जहाँ फ्रान्सका शासक र उर्गेलका बिशपले संयुक्त रूपमा शासन गरे, जसलाई सह-राजकुमार प्रणाली भनिन्छ ।
हाम्रो यात्राको उत्कृष्ट अन्त्य ग्रान्डभालिरा स्की रिसोर्टमा भयो । हिउँले ढाकिएको संसारमा खेल्दै, हिउँका डल्ला हान्दै रमाउनेहरू असंख्य देखिए । हामीसँग यस्तो तयारी नभएको कारण त्यहाँ भएको एक जोडीले आफ्ना सामग्रीहरू प्रयोग गर्न दिएका थिए । हामीले धन्यवादसहित रमाउँदै उनीहरूसँग फोटो पनि खिच्यौं । केबलकार चढेर माथिबाट हेर्दा देखिने हिमाल र उपत्यकाको दृश्य साँच्चै अविस्मरणीय थियो । ग्रान्डभालिरा पाइरेनीजको सबैभन्दा ठूलो स्की क्षेत्र हो, जसमा २१५ किमि भन्दा बढी स्लोपहरू र ७५ लिफ्टहरू छन् । जाडोमा स्कीइङ र स्नोबोर्डिङका लागि प्रसिद्ध यो रिसोर्ट गर्मीयाममा हाइकिङ र माउन्टेन बाइकिङका लागि पनि उत्कृष्ट हुने जानकारी पाइयो ।
यी सबै विशेषताहरूका कारण अन्डोरालाई ‘पान्डोराको बक्स’सँग तुलना गर्न पनि सकिन्छ । सानो आकारको देश भए पनि यसका विशेषताहरू केलाउँदै जाँदा पान्डोराको बक्सझैं नयाँ-नयाँ यथार्थहरू उजागर हुँदै जान्छन् । यसरी हेर्दा, अन्डोरा ‘सानो देश’ मात्र होइन, अनुभव, संरचना र सम्भावनाले भरिएको एउटा ‘ठूलो संसार’ हो । हाम्रो यात्राले अन्डोरा केवल स्की रिसोर्ट वा ड्युटी-फ्री किनमेलको गन्तव्य मात्र होइन, शान्त जीवन, मैत्रीपूर्ण समाज, समृद्ध संस्कृति र अनौठो राजनीतिक इतिहास बोकेको विशिष्ट राष्ट्र हो भन्ने देखायो । यही कारण, अन्डोरा छोड्दा हामीले केवल सम्झनाहरू मात्र होइन, एउटा गहिरो अनुभूति पनि साथमा लिएर फर्कियौं । यो सानो देशले सरलता, शान्ति र प्रकृतिसँगको सामञ्जस्यले जीवन कति सुन्दर हुन सक्छ भन्ने ठूलो पाठ सिकाउँछ ।
युके



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१८ माघ २०८२, आईतवार 










