काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा जन्मिएका कवि आदि पुरुष विगत १२ वर्षदेखि जापानमा छन् । यो लामो उच्छ्वासपूर्ण बसाइले कविलाई देश,परदेश,राजनीति बुझायो । श्रम र त्यसको मूल्य,अर्थ र त्यसको ‘अर्थ’,भौतिकताको उच्चता,सामाजिक जनजीवनमा पूँजीवादको असर बुझायो । गाउँ, घर, परिवार र आफ्नो माटोको सम्झनाले बुझाएको आफ्नोपना,प्रकृति र संस्कृतिको महत्त्वलाई परबाट टुलुटुलु हेर्दै जीवन व्यतीत गर्नुका बाध्यताहरू नजिकबाट बुझ्न सिकायो ।अर्को तर्फ प्रेम, वासना, सम्बन्ध र तिनका भित्री आयामहरूलाई पनि यही बसाइँमा खोतल्न सकियो । अचेल कवि पुरुषका कलमहरूबाट यिनै अनुभूतिहरू निस्कन्छन् कहिले कविता बनेर त कहिले कथा बनेर ।

आदि पुरुष

आदि पुरुषको स्वभाव अलि भिन्न छ । उनी एकान्त रोज्छन् । होहल्ला, पार्टी, जमघट या मेला महोत्सवभन्दा निकै पर बसेर चूपचाप कविता लेख्नु उनको स्वभाव हो । खोलाका किनारहरूमा, शान्त तलाउका छेउछाउ, कुनै शारदीय उत्सव मनाइरहेको उद्यान या यस्तै ठाउँहरूमा बसेर पुस्तकहरूका साथमा ध्यानमग्न रूपमा भेटिन्छन् उनी ।

उनी आफै भन्छन्- म लेखक कम र ज्यादा पाठक हुँ । उनी पठनमा गम्भीर छन्। उनी पढ्नकै लागि मात्रै पढ्दैनन् । पढेका पुस्तकहरूको संख्या बढाउन मात्रै पढ्दैनन् ।

उनी भन्छन्, “पढ्नु ध्यान गर्नु हो । र लेख्नु आफैलाई खोज्नु हो ।कविता र आदि पुरुष अन्य लेखनीले एउटा इमानदार पाठक वा भावकसँगको संसर्ग पायो भने मेरो भावनाको उच्च कदर भएको ठान्दछु ।”

कवि आदि पुरुष आफ्नो बिचारमा स्पष्ट छन् । विचारले निखारिएको र कलाले पनि सिँगारिएको कविता कुनै न कुनै दिन पाठकसामु अवश्य पुग्छन्।जीवन दर्शनको गहिरो गर्तबाट अङ्कुरित उनका कविताहरू पढ्दा सरल भएर पनि गम्भीर प्रकृतिका छन् । बिकाउका लागि जे पनि लेख्ने र चर्चामा बसिरहने स्वभाव भएकाहरूबाट टाढै रहन रुचाउने उनी परिमाणमा भन्दा परिणाममा विश्वास गर्छन् । समाजको उच्चता र नीचताको जरासम्मै पुगेर केस्रा केस्रा केलाउँछन् उनी आफ्ना कविताहरूमा । कला र विचारको आफ्नै लय बनाएर हिँडिरहका कवि आदि पुरुषका चार वटा कविता आजको मुगलानी चराको  छैटौँ शृङ्खलामा प्रस्तुत गरेका छौँ ।

 

१.खतरा

 

भत्काइदिन्छन् सबै बनिबनाउ
सामाजिक व्यवस्था,
कु-व्यवस्था,

निमोठेर हिँड्छन्
बलेँसीमा पीपल उमार्ने जस्तो
हास्यास्पद
बा र दाजुको प्रतिष्ठा जोगाउने
चेष्टा,
धृष्टता,

पैतालाका डोबहरूमा
एकल युद्धको घोषणा
र विजिगीषाको निशान कुँदेर
सर्पले छोडेर गएको काँचुलीजस्तै
छोडेर जान्छन् पुराना
अति पुराना मैलिएका विचारहरू
‘मनाही’ लेखिएका चउर, चौकोस र भित्ताभरि ।

पाउनु ब्रह्माण्ड !
गुमाउनु शून्य !

छिनालेर दगुर्छन् जातको दाम्लो
नसके उखेलेरै लैजान्छन्
धर्म !
संस्कार !
पाप/पुण्यको गोठकिलो ।

उडाइदिन्छन् आँधीलाई !
डढेलो लगाइदिन्छन् आगोलाई !
सुकाइदिन्छन् सागरलाई !
अनि बिस्तारै
जङ्गल बनाइदिन्छन् रेगिस्तानलाई।

अस्तित्वको विराट खतरा
मडारिएर थाकेपछि
अन्ततः; झलल घाम झुल्किन्छ
झुल्किनलाई,

ऋतु मस्किन्छन्
फूल मुस्कुराउँछन्
आकाश खुल्छन्
ताराका परेली
र चाँदनीका आँखाका पुतलीहरू पनि हल्लिन्छन्
हल्लिनलाई /तैपनि

प्रारम्भमा
खतरा हुन्छ खतरा
जब दुई आत्मा पहिलो पटक प्रेममा पर्छन् ।

     * * *

२.घाउ

 

एक हातमा झण्डा
अर्को हातमा राहदानी बोकाएर
देशले मलाई निद्रा बेच्न पठाइदियो ।

त्यो साँझ गुडिया हराएपछि
रुँदा रुँदा थाकेर निदाएकी मेरी छोरीले
निद्रामा पनि सुँक्कसुँक्क गरिरहेकै बेला
मैले बादल छोएको थिएँ,

यसबीच
मेरा के के हराए ?
आँखाबाट चन्द्र, सूर्य हराए
शिरबाट ढाकाटोपीको अग्लाइ हरायो
गोडाबाट नदी हरायो, माटो हरायो
उमेरबाट यौवन हरायो
अन्ततः; जानी नजानी स्वाभिमान हरायो,

कोठाको कुनामा झुन्डिएको झण्डाले
टाउको निहुराएर भने’झैँ लाग्छ ‘तैँले मेरो सामु रुनु हुँदैन’
तखतामा पल्टिएको राहदानीले
पाखुरा सुर्किएर भने’झैँ लाग्छ ‘तैँले थाक्नु हुँदैन’

यसरी
झण्डा र राहदानीलाई शिरोपर गरिरहँदा
म ‘गँड्यौला’ बनिसकेँ
म जोतिरहन्छु पृथ्वीको एउटा त्यस्तो मरुस्थल
जो मेरो ‘देश’ होइन,
जहाँ गुराँस फुलोस्,

अब त छातीभित्र घाउ बाहेक केही रहेन
–छोरीले चिन्दिन
–आमाका आँखा धमिलिए
– बा’को दम बढ्यो
लेकवेसीले परदेशी मात्रै ठान्छन्
छिमेकी/आफन्तले ‘कति जोडिस् ?’ मात्रै सोध्छन्
साथीभाइ घुर्की मात्रै लगाउँछन्,

एउटा खोला छ मलाई बोलाइरहेझैँ लाग्ने
एउटा पहाड छ मलाई ढुकिबसेझैँ लाग्ने
बर्खा छ गीत गाइरहेझैँ लाग्ने
हिउँद छ हाँस्न सिकाइरहेझैँ लाग्ने

तर किन किन
अचेल लाग्छ
विशाल समुद्रभित्र
ठूलो माछाले स-साना भुरा निलेझैँ
म कुनैदिन यतै निलिनेछु
देशले फगत एउटा परदेशी गुमाउनेछ
मेरी प्राणप्यारीले बाँकी जीवनका रङ्गहरू गुमाउनेछिन्
तैपनि
मेरो हातमा झण्डा र राहदानी छुट्नेछैन
देशले यो घाउ धेरैलाई दिनेछ
कहिलै निको नहुने घाउ।
कहिलै ।

   * * * 

३.आशा

 

कसैले सुनाइदिएछ
साँझ/बिहान पानी दिइरहे
– त्यहाँ टुसा उम्रिनेछ
– त्यहाँ मुना पलाउनेछ
– त्यहाँ कोपिला ब्युँझनेछ
– त्यहाँ फूल जन्मनेछ

फूल जीवनको अर्को नाम हो ।

अचेल बालक
साँझ/बिहान
आमालाई गाडेको चिहानमा गएर पानी पोखिरहन्छ ।

सोच्दो हो,
फूल जीवनको अर्को नाम हो,
एकदिन – आमा फुल्नेछिन् ।

* * * 

४. बुझ्नुपर्छ

घाम
कसैलाई रिझाउन आएको होइन,

जून
कसैसँग दाँजिन आएको होइन,

न त ताराहरू
आफ्नो दूरी बताउन आएका हुन्,

न बतास
स्पर्श बोकेर हिँड्ने
हल्कारा बन्न आएको हो,

कति कुरा स्वतः हुन्छन्
कति कुरालाई खाँचो हुँदैन
अनुमोदनको
बुझ्नुपर्छ/

न त बादल सूर्यलाई चिढाउन आएको हो
न त बर्खा बिस्कुन भिजाउन आएको हो
कति कुरा अकस्मात् हुन्छन्
कति कुरालाई खाँचो हुँदैन
तैयारीको
बुझ्नुपर्छ/

जीवन बुझ्न चाहनेले
जीवन बुझ्न छोड्नुपर्छ
बुझ्नुपर्छ/

कति कुरा घाम जस्तै उज्याला हुन्छन्
देख्न सकिन्न
बुझ्नुपर्छ/

कति सत्य तारा जस्तै दूरीमा हुन्छन्
पुग्न सकिन्न
बुझ्नुपर्छ/

कति सुख बतास जतिकै समीप हुन्छन्
छुन सकिन्न
बुझ्नुपर्छ/

कति कुरा बर्खा जतिकै सुन्दर हुन्छन्
जोगाउन सकिन्न
बुझ्नुपर्छ/

जीवन बुझ्न चाहनेले
बुझ्नुपर्छ/
जीवन बुझेर बुझ्न सकिन्न ।
छोड्नुपर्छ ।