काठमाडौं । युगकवि सिद्धिचरण प्रतिष्ठानले विश्वका विभिन्न महादेशमा रहेका नेपाली मूलका बालबालिकाबीच वक्तृत्व कला प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतिष्ठानले नेपालभित्र सीमित साहित्यिक कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्दै नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।
प्रतियोगितामा १८ वर्षसम्मका नेपाली मूलका बालबालिकाले सहभागिता जनाउन सक्नेछन्। प्रतिष्ठानका अनुसार नेपाली भाषा र साहित्यप्रति बालबालिकामा रुचि विकास गराउने तथा सांस्कृतिक पहिचान जोगाइ राख्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
प्रतिष्ठानले कार्यक्रममार्फत युगकवि सिद्धिचरण श्रेष्ठको योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्य पनि राखेको छ। नेपाली वाङ्मयको श्रीवृद्धिमा सिद्धिचरण श्रेष्ठले कविता, कथा, निबन्ध र यात्रा संस्मरण लगायत विविध विधामा महत्वपूर्ण योगदान दिनुभएकाे थियाे । राणाशासनविरुद्ध चेतनात्मक साहित्य सिर्जना गर्दै उहाँले परिवर्तनकारी विचार अभिव्यक्त गर्नुभएकाे थियाे ।
प्रतिष्ठानका अनुसार प्रतियोगिताको पहिलो चरण अमेरिका, क्यानडा र अष्ट्रेलियामा आयोजना गरिनेछ भने दोस्रो चरणमा अन्य महादेशहरूमा विस्तार गरिने योजना रहेको छ। अमेरिका र क्यानडामा रहेका नेपाली मूलका बालबालिकालाई प्रतियोगितामा सहभागी गराउन प्रतिष्ठानले अभिभावकहरूलाई आग्रह गरेको छ।
उक्त प्रतियोगिताको संयोजन प्रतिष्ठानका डायस्पोराका लागि काव्यदूत सुरेन उप्रेतीले गर्ने जनाइएको छ।

