धुवाँले ढाकिएको बेरुतको आकाश
शान्तिको सपना खरानीमा परिणत ।
गोलीले लेख्यो संवाद
र बमले सुनायो न्यायको कथा ।
इजरायली सेनाले भन्यो “सुरक्षा”,
तर भत्किएका घरहरूले सोधे
सुरक्षा कसको ?
आँसु कसका लागि ?
हिजबुल्लाहको प्रतिध्वनि
रकेट बनेर फर्कियो आकाशमा
मानौँ बदला होइन
पीडाको प्रतिलिपि मात्र हो ।
विडम्बना हेर !
शान्तिको सम्झौता अझै तातै थियो
तर मानवता चिसिएको थियो ।
कलमले सम्झौता लेख्यो
तर बन्दुकले त्यसलाई काटिदियो ।
बेन्जामिन नेतान्याहुको आवाज कठोर
“युद्ध अझै बाँकी छ ।”
तर एक आमाको मुटु भन्छ
“मेरो संसार त सकियो ।”
मसुद पेजेस्कियानले देखे शान्तिको सर्त
तर सर्तहरू बमझैँ पड्किए
कागजमा सीमित रहे
रगतमा होइन ।
मानिसहरू मोटरसाइकलमा बोकिए
जीवन अब एम्बुलेन्सभन्दा सस्तो थियो
र अस्पतालहरू
आशा होइन, अभावको प्रतीक बने ।
सभ्यता उचाइमा पुगेको दाबी गर्छ
तर अझै पनि मानवता माटोमै गाडिन्छ ।
र शान्ति कुनै सम्झौता होइन
न त शक्तिको प्रदर्शन
यो त केवल नरोएका आमाहरूको अधिकार हो ।
तर यहाँ धुवाँ अझै उठिरहेछ
र शान्ति… अझै कतै हराइरहेछ ।

