साहित्यपोस्ट डट कम

यादवचन्द्र भुर्तेलको कला र जीवन

यादवचन्द्र भुर्तेलको कला र जीवन

पोखराको नीलो आकाशमुनि, फेवातालको ऐनाजस्तो पानीमा माछापुछ्रे हिमालको सुन्दर प्रतिविम्ब तैरिँदै गर्दा, म बारम्बार सोच्छु– कला आखिर कहाँ जन्मिन्छ ? के त्यो रङ र रेखाको संयोजन मात्र हो, कि जीवनका कम्पनहरूबाट उम्रिएको संवेदनाको ध्वनि हो ? प्रकृतिले नै स्वतः कलाकार जन्माउँछ कि ?

यस्तै प्रश्नहरूको बीचमा मेरो स्मृतिमा एउटा नाम उज्यालो हुँदै आउँछ– पोखरेली कलाकार ‘यादवचन्द्र भुर्तेल’ । उहाँ नेपाली चित्रकलाको क्षेत्रमा एक स्रष्टा होइन, संवेदनशील समयको साक्षी कलाकारको रूपमा उभिनुहुन्छ ।

पहिलोपटक उहाँका चित्रहरूसँग मेरो साक्षात्कार हुँदा मैले रङहरू मात्र देखिनँ; मैले प्रकृतिको सौन्दर्य देखेँ, जीवनका धड्कनहरू सुनेँ । क्यानभासमा उकेरिएका आकृतिहरू निस्तब्ध थिए, तर तिनले बोलिरहेका थिए– माटोको सुगन्ध, पहाडको शान्ति, श्रमको पसिना र मानिसको अव्यक्त पीडा । ती चित्रहरू हेर्दा कलाकारले दृश्य उतारेका छैनन्; समयलाई थामेर त्यसको आत्मा रङ्गाउनुभएको छ ।

पोखराको प्राकृतिक सौन्दर्य, तालको तरल नीलोपन, हिमालको उज्यालो मौनता र ग्रामीण जीवनको सरलता यी सबै तत्वहरू उहाँका सिर्जनामा सूक्ष्म तर शक्तिशाली रूपमा उपस्थित देखिन्छन् । उहाँका चित्रहरूमा प्रकृति पृष्ठभूमि होइन; त्यो जीवित पात्र हो । कहिले ती रेखाहरू हावाजस्तै हल्का हुन्छन्, कहिले चट्टानझैँ दृढ । रङहरू कहिले प्राकृतिक स्वरूपमा, कहिले अमूर्त संरचना प्रतीत हुन्छन् ।

म सोच्छु– कलाकार किन चित्र बनाउँछ ? शायद आफूभित्र थुनिएको अनुभूति मुक्त गर्न । भुर्तेलका सिर्जनाहरूमा यही मुक्ति–आकांक्षा स्पष्ट देखिन्छ । उहाँको क्यानभास मानौँ आत्मस्वीकृतिको एउटा विस्तृत मैदान हो, जहाँ मानिस, प्रकृति र समय एकअर्कासँग संवाद गर्छन् । त्यहाँ कुनै कृत्रिमता छैन; छ भने जीवनको नाङ्गो सत्य र त्यसको सौन्दर्य ।

उहाँका चित्रहरू हेर्दा मेरो आफ्नै जीवनका पाना पल्टिन्छन् । गाउँका उकाली–ओराली, धूलाम्य बाटाहरू, खेतका गह्रा, बारीका पाटा, श्रमिकका हात र महिला अनुहारहरू– सबै सम्झना अचानक रङ्गीन भएर फर्कन्छन् । यसरी कलाकार व्यक्तिगत अनुभूतिको पुल बनेर सामूहिक स्मृतिलाई पुनर्जीवित गरिदिन्छन् ।

अन्ततः, जब म फेवातालको शान्त सतहमा हिमाल र आकाशको छायाँ टल्किएको देख्छु, तब मलाई लाग्छ– त्यही प्रतिविम्ब जस्तै उहाँका चित्रहरू हाम्रो मनमा झल्किन्छन् । हामी आफूलाई त्यहाँ देख्छौँ, आफ्नो समय देख्छौँ र जीवनलाई नयाँ दृष्टिले अनुभूति गर्न थाल्छौँ । यसरी भुर्तेल नेपाली चित्रकलामा रङभित्र स्थापित जीवनको स्पन्दन हुनुहुन्छ ।

पहिलो भेटको स्मृतिले अझै पनि मनमा कोमल तरङ्ग उठाउँछ । त्यो दिन नेपाल कला परिषद्, बबरमहलमा आयोजित पोखरेली कलाकारहरूको सामूहिक जलरङ प्रदर्शनीमा म प्रवेश गर्दा क्यानभासहरूको बीचमा एउटा शान्त, आत्मलीन व्यक्तित्व देखेँ– त्यहीँ पहिलो पटक कलाकार भुर्तेलसँग साक्षात्कार भयो । चित्रहरू जति तरल थिए, उहाँको स्वभाव पनि उस्तै संयत र सौम्य लाग्यो । जलरङको पारदर्शिताभित्र पोखराको आकाश, पहाड । अन्नपूर्ण, माछापुच्छ्रे र मानवीय संवेदनाका सूक्ष्म तहहरू खुल्दै जाँदा मैले कलाकारको आत्मिक संसारलाई नजिकबाट अनुभव गरेँ ।

त्यसपछि विभिन्न कलाप्रदर्शनीहरूमा भेटघाट हुँदै गयो । प्रत्येक भेट औपचारिकभन्दा बढी आत्मीय हुन्थ्यो । मानौँ रङ र रेखाले पहिले नै हाम्रो संवादको आधार तयार गरिसकेका थिए । उहाँसँग कुराकानी गर्दा लाग्थ्यो, कला उहाँका लागि पेशा मात्र होइन; जीवनको नैसर्गिक विस्तार हो ।

पोखरा जाँदा उहाँको आर्ट ग्यालरी पुग्ने अवसर मिलेको क्षण पनि मेरो लागि विशेष स्मरणीय छ । पोखरा विमानस्थल नजिक नागढुङ्गामा अवस्थित त्यो सानो तर जीवन्त कला–आवासमा प्रवेश गर्दा मैले सिर्जनाको धड्कन प्रत्यक्ष सुनेँ । भित्ताभरि टाँगिएका चित्रहरू, रङले भरिएका प्यालेटहरू, सुक्दै गरेका ब्रसहरू– सबैले मिलेर एउटा संगीत सिर्जना गरिरहेका थिए । त्यहाँ उहाँ चित्र बनाइरहनुभएको थिएन; कला सिकाउँदै पनि हुनुहुन्थ्यो । विद्यार्थीहरूलाई रेखाको अनुशासन र रङको स्वभाव बुझाउँदै गर्दा उहाँको अनुहारमा देखिने धैर्य र ममता आफैँमा जीवित पाठशाला जस्तै थियो ।

त्यो ग्यालरी सिर्जनाको कार्यशाला र संवेदनशील मनहरूलाई कलामार्फत् जीवन बुझ्न सिकाउने आश्रमजस्तो लाग्थ्यो । त्यहाँ बस्दा मलाई अनुभूति भयो– कलाकारले क्यानभासमा मात्र होइन, मानिसहरूको चेतनामा पनि रङ भरिरहेका छन् ।

पछिल्लो पटक पोखरा पुगेको बेला फोनमा कुरा भए पनि उहाँसँग प्रत्यक्ष भेट हुन सकेन । समयले सानो दूरी खडा गरिदियो । त्यस दिन नागढुङ्गातर्फ हेर्दा मनमा एउटा अधूरोपनको अनुभूति उठ्यो– यसपटक उहाँका नयाँ सिर्जनाहरू हेर्न नपाएको खिन्नता मनभित्र अल्झिरह्यो । कलाकारको नयाँ रङयात्रा देख्न नपाउँदा, एउटा अध्याय पढ्न नपाई पुस्तक बन्द गर्नुपरेजस्तो अनुभूति मलाई भयो ।

तर सायद कला र भेटहरू यस्तै हुन्छन्– कहिले साक्षात्, कहिले स्मृतिमा । भेट हुन नसकेको त्यो क्षणले उल्टै उहाँका चित्रहरूलाई अझ गहिरो रूपमा सम्झन बाध्य बनायो । अहिले पनि म कल्पना गर्छु– नयाँ क्यानभासमा उहाँले कस्तो आकाश रचिरहनुभएको होला ? कस्तो मौन कथा आकार लिँदै होला ?

यसरी उहाँसँगका भेटहरू भेटहरू होइनन्; ती समय, स्मृति र संवेदनाका उज्याला बिन्दुहरू हुन्, जसले मेरो आत्मानुभूतिमा अझै रङ थपिरहेछन् ।

जीवन कहिलेकाहीँ एउटा क्यानभासजस्तै हुन्छ– जहाँ समयले रेखा कोर्छ, अनुभवले रङ भर्छ र पीडाले त्यसलाई गहिरो अर्थ दिन्छ । भुर्तेलको जीवन पनि यस्तै एउटा जीवित क्यानभास हो, जसमा संघर्षका रेखाहरू छन्, सरलताका रङहरू छन् र जीवन–दर्शनको छाप छ ।

अहिले ८२ वर्षको उमेरमा पुग्दा उहाँको शरीरलाई युरिक एसिडको पीडाले केही थकित बनाएको छ । हिँड्न कठिन भएकोले ग्यालरीसम्म पुग्न पनि नसकेको उहाँ बताउनुहुन्छ । तर कलाकारको मन भने अझै पनि रङहरूसँगै विचरण गरिरहेको छ । शरीरले थकान महसूस गरे पनि सिर्जनशील आत्मा भने थाक्दैन भन्ने कुराको जीवित उदाहरण हुनुहुन्छ उहाँ ।

यादवचन्द्र भुर्तेल नेपाली लोकजीवनका चित्रकार हुन् । उहाँका चित्रहरूमा नेपालको गाउँ, प्रकृति, मानिसको श्रम, संस्कार र सहज जीवनशैली जीवन्त भएर देखा पर्छन् । पानीरङ, एक्रेलिक र रेखाचित्रका माध्यमबाट उहाँले नेपाली समाजका दृश्यहरूलाई सरल र आत्मीय स्वरूपमा क्यान्भासमा उतार्नुभएको छ । मूर्त शैलीमा मात्र सीमित नभई अमूर्त चित्रकलामा पनि उहाँले आफ्नो अनुभूति व्यक्त गर्नुभएको छ ।

बाल्यकाल सम्झिँदा उहाँका आँखामा विगतका दिनहरू झलझलाउँछन् । घरमा धेरै परिवार हुँदा कहिलेकाहीँ आमाले सबैलाई भात हाल्नै नसक्ने अवस्था हुन्थ्यो । ‘हाम्रा बाआमाको ग्यालग्याल्ती सन्तानले गर्दा कहिलेकाहीँ त मेरो थालमा भात हाल्न पनि आमाले बिर्सिन्थेँ ।’ उहाँ मुस्कुराउँदै विगत सम्झनुहुन्छ । त्यो अभावको समयले नै उहाँलाई जीवनको कठोर यथार्थ बुझायो ।

उहाँको जीवनदर्शन स्पष्ट छ– ‘पैसा कमाउने भनेको बेइमानीले मात्रै कमाउँछ, सच्चा इमान्दार मानिस त आफ्नै कर्ममा सन्तुष्ट भएर बाँच्छ ।’ यो वाक्य केवल अनुभवको निष्कर्ष मात्र होइन, जीवनभरको साधनाको सार पनि हो ।

यादवचन्द्र भुर्तेलको विचारमा संसारको सबैभन्दा ठूलो सम्पत्ति पैसा होइन– सम्मान र सन्तोष हो । त्यसैले उहाँ भन्नुहुन्छ– ‘माया सबैलाई गर्नुस्, विश्वास कमैलाई गर्नुहोस् ।’ यो भनाइ जीवनका अनेक उतारचढाव पार गरेको एउटा अनुभवी मानिसको गहिरो निष्कर्ष हो ।

रोचक कुरा के छ भने उहाँ आफूलाई सन्तोषी मानिस भन्नुहुन्छ, तर साथसाथै अर्को गहिरो वाक्य पनि उच्चारण गर्नुहुन्छ– ‘म असन्तुष्ट छु । असन्तुष्टिले नै सधैँ सुखी छु ।’

यस कथनमा कलाकारको सिर्जनात्मक मनोविज्ञान लुकेको छ । किनकि कलाकार पूर्ण सन्तुष्ट भयो भने सिर्जना रोकिन्छ । असन्तुष्टि नै नयाँ चित्रको खोज हो, नयाँ रङको खोज हो, नयाँ अनुभूतिको यात्रा हो ।

यादवचन्द्र भुर्तेलले जीवनको ठूलो हिस्सा शिक्षण पेशामा बिताउनुभयो । ३७ वर्षको शिक्षण यात्रामा उहाँका हजारौँ चेलाचेलीहरू बने । आज पनि धेरै विद्यार्थीहरूले उहाँलाई गुरु भनेर सम्मान गर्छन् । यही कुरा सम्झँदा उहाँ भावुक हुँदै भन्नुहुन्छ– ‘यति धेरै चेलाचेली हुनु मेरो अहोभाग्य हो ।’

साँचो अर्थमा शिक्षकको सम्पत्ति बैंकको खातामा होइन, आफ्ना विद्यार्थीहरूको हृदयमा हुन्छ । उहाँको अर्को विचार अझ गहिरो छ– ‘राज्यले मलाई के दियो भनेर नसोच्नुस्, बरु राज्यलाई मैले के दिएँ भनेर सोच्नुस् ।’ यो वाक्य एउटा जिम्मेवार नागरिकको नैतिक चेतना हो ।

जीवन र मृत्युबारे पनि उहाँको दृष्टि रोचक छ । अहिले ८२ वर्ष पुगेका भुर्तेल आत्मविश्वासका साथ भन्नुहुन्छ– ‘म ९१ वर्ष पुगेपछि मात्र यो संसारबाट बिदा हुन्छु ।’

यो कुनै ज्योतिषीय भविष्यवाणी होइन; यो जीवनप्रतिको उहाँको अदम्य विश्वास हो ।

विगत सम्झँदा उहाँलाई अझै पनि आफ्नो बाबुको एउटा दृश्य स्पष्ट याद आउँछ । बाबुले कहिलेकाहीँ सुनचाँदीका सिक्का राखिएको डाला देखाउँदै गर्वका साथ भन्नुहुन्थ्यो– ‘मसँग जोडी नखोज, सुनका पैसाले झटारो हान्न सक्छु ।’

तर जीवनले उहाँलाई सिकाएको पाठ फरक थियो । आज उहाँ बुझ्नुहुन्छ– ‘धन एकदिन खरानी बन्छ, तर नाम र सम्मान भने समयको स्मृतिमा अमर भएर रहन्छ ।’

त्यसैले उहाँको विश्वास छ– ‘चित्रको मूल्य हुँदैन, साहित्यको मूल्य हुँदैन । तर कलाकार हुनु नै मेरो सन्तोष हो ।’

यादवचन्द्रको जीवनलाई हेर्दा लाग्छ– उहाँले केवल चित्र मात्र कोर्नुभएन, जीवनलाई पनि एउटा चित्रझैँ सजाउनुभयो । संघर्षका रेखाहरू, सादगीका रङहरू र दर्शनका गहिरा छायाँहरू मिसाएर उहाँले आफ्नो जीवनलाई एउटा सुन्दर कलाकृतिमा रूपान्तरण गर्नुभयो ।

शायद यही कारण हो– जब शरीर थाक्छ, तब पनि कलाकारको मन थाक्दैन । क्यानभासमा झैँ, जीवनको अन्तिम रेखासम्म पनि कलाकारले रङ भर्न छोड्दैन ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.