मेरी एउटी स्पानिस मूलकी रोजी नामकी साथी छिन् । शुरूमा मलाई उनको वेलनेसप्रतिको रुचि निकै राम्रो लाग्थ्यो । उनीप्रति म आकर्षित भएँ र मित्रताको हात अघि बढाएँ । आखिर आफ्नो स्वास्थ्य, खानपान र जीवनशैलीबारे सचेत हुनु नराम्रो कुरा पनि त होइन भन्ने लाग्थ्यो । हरेक भेटमा उनी नयाँ किताब, नयाँ अनुसन्धान वा आफूले सिकेका कुनै रोचक कुराहरू उत्साहका साथ सुनाउँथिन् । म पनि ध्यान दिएर, चासोका साथ सुन्थेँ । सुन्ने मान्छे पाउँदा उनी अझ खुल्दै जान्थिन्, कहिलेकाहीँ आफ्नै कुरामा बहकिन्थिन् । म भने चाख देखाएझैँ ठूला आँखाले ध्यान दिएर सुनिरहन्थेँ ।
तर बिस्तारै मैले एउटा कुरा याद गर्न थालेँ । हाम्रो कुराकानी जुनसुकै विषयबाट शुरू भए पनि अन्त्य वेलनेसमै पुग्थ्यो । म भात खान बस्छु, उनी प्लेटतिर हेरेर पोषण सन्तुलनको कुरा गर्न थाल्छिन् । कफीको कप हातमा लिन्छु, क्याफिनले शरीर र मनमा पार्ने प्रभावको चर्चा शुरू हुन्छ । कहिलेकाहीँ दिनभरको थकानपछि बस्दै, म वाइनको सानो चुस्की लिँदै जीवनका उतारचढावबारे सोच्न खोज्छु तर रोजी त्यहाँ पनि उनी ध्यान, सचेतना, तनाव व्यवस्थापन र स्वस्थ बानीहरूको कुरा निकालिहाल्छिन् ।
शुरूमा ती कुराहरू मलाई खुब रमाइला लाग्थे । पछि सल्लाह जस्ता लागे । त्यसपछि बानी जस्ता । अनि कहिलेकाहीँ त लाग्न थाल्यो, जीवनका साना-साना क्षणहरू पनि अब उनका लागि वेलनेसको पाठ पढाउने अवसर मात्र हुन् । म तातो भातको स्वादमा हराउन खोजिरहेको हुन्छु, उनी त्यसमा कार्बोहाइड्रेटको मात्रा खोजिरहेकी हुन्छिन् । म कफीको सुगन्धको आनन्द लिन खोज्छु, उनी निद्राको गुणस्तर सम्झाइरहेकी हुन्छिन् ।
एक दिन मनमनै हाँसेँ । सोचें, “रोजीले वेलनेसलाई जीवनमा अपनाएकी होइनन्, वेलनेसले नै रोजीलाई अपनाएको रहेछ ।” किनकि उनी जहाँ हुन्छिन्, त्यहाँ वेलनेस पनि सँगै हुन्छ ।
उनले बारम्बार गरेका वेलनेसका कुराबाट कहिलेकाहीँ आजित बनाउँछ । केही इन्कार गरूँजस्तो लाग्छ । तर पनि म चुपचाप बस्छु,
किनकि त्यो उनको माया गर्ने तरिका हो । फरक यति मात्र हो कि म जीवनलाई जिउन खोज्छु, उनी जीवनलाई अझ राम्रोसँग जिउने तरिका
सिकाउन खोज्छिन् । समस्या यत्ति हो कि त्यो सिकाइ प्रायः एउटै ठाउँमा पुगेर रोकिन्छ, त्यही पुरानो वेलनेस, सन्तुलन, ध्यान र जीवनशैलीको पाठ ।
कहिलेकाहीँ त म साँच्चै दिक्क हुन्छु । मेरा अरू साथीहरूले पनि उनलाई मजाकमै कहिले ‘हर्बलिस्ट’ त कहिले ‘आयुर्वेदिक डाक्टर’ भनेर बोलाउँछन् ।उनी जहाँ हुन्छिन्, त्यहाँ कुनै न कुनै रूपमा वेलनेसको चर्चा पनि उपस्थित हुन्छ ।
झोक चलेको बेला मनमनै भन्छु, “रोजी, म झन्डै आधा शताब्दी बाँचिसकेँ । संसारका धेरै रङ, धेरै ऋतु र धेरै अनुभव देखिसकेँ । तिम्रो वेलनेसले मलाई थप दश वर्ष उपहार दिए पनि, त्यसले जीवनको अर्थ नै फेरिनेवाला छैन ।” किनकि कहिलेकाहीँ जीवनलाई विश्लेषण गर्नु भन्दा पनि त्यसलाई महसूस गर्नु
महत्त्वपूर्ण हुन्छ । तातो भात तातो भातकै रूपमा, कफी कफीकै रूपमा, र एउटा साधारण खुशी साधारण खुशीकै रूपमा स्वीकार गर्न पाउनु पनि त जीवनको एउटा सुन्दर पक्ष हो । तर रोजीलाई हेर्दा लाग्छ, जबसम्म संसारमा एउटा पनि असन्तुलित बानी बाँकी छ, उनी आफ्नो वेलनेस अभियान रोक्नेवाली छैनन् ।
रोजी मात्रै होइनन्, उनीजस्ता मेरा दर्जनौँ साथीहरू छन् जो स्वास्थ्यप्रति सचेत छन्, आफ्नो शरीर र जीवनशैलीलाई लिएर सचेत छन् । त्यो आफैंमा राम्रो कुरा हो, अस्वीकार गर्न मिल्दैन । तर कहिलेकाहीँ उनीहरूको अत्यधिक सचेतनाले मेरो साधारण जीवनलाई नै अनावश्यक रूपमा जटिल बनाइदिन्छ र अलमलमा परेको छ कि जस्तो लाग्छ ।
मेरो लागि खाना केवल पेट भर्ने प्रक्रिया मात्रै होइन त्यो जीवनको एउटा सानो उत्सव हो, एउटा मौन खुशी हो, जसलाई शब्दले होइन, स्वादले बुझ्नुपर्छ । बिदाको दिन बिहान अबेरसम्म निदाउन पाउनु पनि मेरो लागि जीवनका साना तर अमूल्य उपहारमध्ये एक हो । तर “किन अबेरसम्म सुतेको ?,” “अब यो समयमा उठ्नुपर्छ” भन्ने प्रश्नहरू सुन्दा कहिलेकाहीँ मन थकित हुन्छ । आखिर बिदा भनेकै शरीर र मनलाई आफ्नै तरिकाले सास फेर्न दिने दिन त हो नि !
जब जीवनका हरेक क्षण नियम, सुझाव र सिद्धान्तहरूले घेरिन थाल्छन्, तब मन आफैँभित्र एउटा सानो स्वतन्त्रता खोज्न थाल्छ । कहिलेकाहीँ जीवनलाई धेरै विश्लेषण नगरी, केवल एउटा कप कफीको न्यानोपन, तातो भातको स्वाद, र आरामदायी निद्राको शान्तिमा हराउन पनि त पाउनुपर्छ ।
रोजीले भन्ने कुरा पनि पूर्ण रूपमा गलत भने होइन । सन्तुलन नै जीवनको आधार हो । आफ्नो शरीरलाई बुझ्नु, आफूलाई ध्यान दिनु र रोगबाट जोगिनु आवश्यक छ । तर त्यो सन्तुलन खोज्ने यात्रामा जीवनको सरलता हराउनु हुँदैन । जीवनलाई किताबजस्तो पढ्ने होइन, अनुभवजस्तो जिउन सक्नुपर्छ ।
तर मलाई लाग्छ वेलनेस केवल उपदेश होइन, अनुभूति हो । बिहानको तातो कफी बिना कुनै विश्लेषण पिउँदा आउने शान्ति पनि वेलनेस हो । भोक लाग्दा मनभरि स्वाद लिएर खाएको भात पनि वेलनेस हो । कहिलेकाहीँ केही नसोची, केही नतौली, समयलाई आफ्नै गतिमा बग्न दिने क्षण पनि वेलनेस नै हो शायद सबैभन्दा सरल र साँचो वेलनेस ।
आजकल ‘वेलनेस’ भन्ने शब्द यति लोकप्रिय भएको छ कि यो अब केवल एउटा अवधारणा होइन, लगभग एउटा जीवनशैलीको पहिचानजस्तै बनेको छ । सामाजिक सञ्जालदेखि अस्पतालसम्म, योग कक्षादेखि कर्पोरेट अफिससम्म जहाँ गए पनि वेलनेसकै चर्चा सुनिन्छ । कसैले यसलाई स्वस्थ जीवनशैली भन्छन्, कसैले मानसिक शान्ति, त कसैले शरीर र आत्माबीचको सन्तुलन । तर प्रश्न अझै उस्तै रहन्छ । वेलनेस वास्तवमा के हो ? र यसको भाषा कस्तो हुन्छ ?
वेलनेसको भाषा र औषधिको भाषाबीच गहिरो फरक छ । औषधिको भाषा आवश्यकताको बेला जीवन बचाउने स्पष्ट, कठोर र ठोस भाषा हो । त्यसमा अनुमान हुँदैन, भावनाभन्दा बढी तथ्य हुन्छ, र कहिलेकाहीँ त्यो भाषा डर र उपचारको बीचबाट बोल्छ । तर वेलनेसको भाषा भने जीवनलाई बिस्तारै बुझाउने, नरम र धैर्यपूर्ण भाषा हो । यो तत्काल समाधान होइन, दीर्घ समझदारीको यात्रा हो ।
वेलनेस भनेको मानिसले आफूलाई सुन्न सिकेको भाषा हो । जस्तै शरीर थाक्दा ‘आराम चाहिन्छ’ भन्ने संकेत बुझ्ने कला, मन दुख्दा त्यसलाई दबाउने होइन, स्वीकार गर्ने हिम्मत र सम्बन्धहरू कमजोर हुँदा मौन बस्ने होइन, संवाद गर्ने चेतना । यी सबै वेलनेसका शब्दहरू हुन् जो किताबमा होइन, अनुभवमा पढिन्छन् ।
तर यसको सुन्दरता त्यहीँ समाप्त हुँदैन । वेलनेस केवल “के गर्नु पर्छ ?” भन्ने सूची होइन, बरु “किन महसुस भइरहेको छ” भन्ने प्रश्न हो । यसले शरीरका संकेतहरूलाई आदेश होइन, सन्देश मानेर सुन्न सिकाउँछ ।
अन्ततः, जब हामी औषधिको कठोर भाषा र वेलनेसको नरम भाषा दुवैलाई सन्तुलनमा राख्न सिक्छौँ, तब स्वास्थ्य केवल शरीरको अवस्था मात्र रहँदैन रहेछ यो त सम्पूर्ण जीवनको अनुभव बन्न्ने रहेछ । शरीर मात्र होइन, मन पनि बिस्तारै सन्तुलित, सचेत र जीवित हुन थाल्छ ।
हाम्रो समाजमा स्वास्थ्यको अर्थ प्रायः रोग नहुनुलाई मात्र मानिन्छ । तर वेलनेस रोग नहुनु मात्र होइन, जीवनसँग स्वस्थ सम्बन्ध राख्न सक्नु पनि हो । दिनभर हाँसेको मानिस भित्रभित्रै टुटिरहेको पनि हुन सक्छ । राम्रो जागिर, राम्रो घर र राम्रो आम्दानी भएको व्यक्ति पनि मानसिक रूपमा थकित पनि हुन सक्छ । त्यसैले वेलनेसको भाषा बाहिरी सफलताभन्दा भित्री अवस्थालाई बढी महत्त्व दिनेरहेछ ।
मलाई मन परेको वेलनेसको एउटा सुन्दर शब्द हो – सन्तुलन । धेरै काम र धेरै आराम दुवै असन्तुलन हुन सक्छन् । धेरै बोल्नु र कहिल्यै नबोल्नु दुवै समस्याका कारण बन्न सक्छन् । जीवनको प्रत्येक क्षेत्रमा सन्तुलन खोज्ने प्रयास नै वेलनेसको आधार रहेछ ।
मैले बुझेको वेलनेसको भाषा करुणाको भाषा पनि त रहेछ । आफूलाई निरन्तर रूपमा दोष दिने होइन, आफ्ना सीमाहरू स्वीकार्ने कला हो । हामी प्रायः अरूका लागि दयालु हुन्छौं तर आफ्नै लागि कठोर बनिरहेका हुन्छौ । वेलनेसले सिकाउँछ कि आफ्नो शरीरलाई सम्मान गर, आफ्नो मनलाई समय देऊ, र आफ्ना कमजोरीहरूसँग पनि मित्रता गर ।
प्रविधिको तीव्र विकासले मानिसहरूलाई नजिक ल्याएको छ, तर कतिपय अवस्थामा आफैँबाट टाढा पनि बनाएको छ । मोबाइलको स्क्रिनमा घण्टौं बिताउने मानिसलाई आफ्नै मनभित्र के चलिरहेको छ भन्ने थाहा नहुन सक्छ ।
वेलनेसको भाषा कहिलेकाहीँ मौनताको भाषा पनि हो जहाँ केही समय संसारबाट होइन, आफ्नैभित्र फर्किने अवसर मिल्छ । प्रकृतिसँगको सम्बन्ध पनि वेलनेसको महत्त्वपूर्ण शब्द हो । बिहानको घाम, खुला आकाश, रूखहरूको हरियाली, चराहरूको आवाज— यी कुनै विलासिताका वस्तु होइनन् । यी त मानिसको मानसिक र भावनात्मक स्वास्थ्यका प्राकृतिक औषधि हुन् । आधुनिक जीवनले बिर्साउँदै लगेका यिनै साधारण कुराहरूले कहिलेकाहीँ जीवनलाई पुनः सन्तुलित बनाइदिन्छन् ।
अन्ततः वेलनेसको भाषा कुनै विदेशी शब्दावलीमा सीमित छैन । यो त आमाको माया, साथीको साथ, आफ्नै मनसँगको इमानदार संवाद, र जीवनप्रतिको कृतज्ञतामा पनि बोलिन्छ । यसको व्याकरण सरल छ सचेतना, सन्तुलन, करुणा र आत्मस्वीकार ।
वेलनेस केवल एउटा शब्द होइन, आजको समयको एक ठूलो सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थ हो । यसको मूल उद्देश्य मानिसलाई स्वस्थ, सचेत र सन्तुलित जीवनतर्फ डोर्याउनु हो, तर यसको यात्रा अहिले केवल व्यक्तिगत अभ्यासमा सीमित छैन । यो विश्वव्यापी अर्थतन्त्रको एक शक्तिशाली हिस्सा बनिसकेको छ ।
विश्वव्यापी रूपमा वेलनेस उद्योगको तीव्र वृद्धि कुनै आकस्मिक घटना होइन । सन् २०२४ मा करिब ६.८ ट्रिलियन अमेरिकी डलर पुगेको यो क्षेत्र २०२९ सम्म झन्डै ९.८ ट्रिलियन डलरसम्म पुग्ने अनुमान गरिएको छ । यो वृद्धिले स्पष्ट संकेत दिन्छ कि मानिसहरूको जीवनशैली, प्राथमिकता र स्वास्थ्यप्रतिको दृष्टिकोणमा ठूलो परिवर्तन आएको छ । दीर्घकालीन रोगहरूको बढ्दो प्रभाव, मानसिक तनावको विस्तार, वृद्ध जनसंख्याको वृद्धि, र आधुनिक जीवनको तीव्र गतिले मानिसलाई आफ्नो शरीर र मनप्रति बढी सचेत बनाएको छ ।
तर यो सचेतना केवल व्यक्तिगत स्तरमा सीमित छैन । जब स्वास्थ्य ‘आवश्यकता’बाट ‘सेवा’ र ‘उत्पादन’मा बदलिन्छ, तब वेलनेस एक उद्योगमा रूपान्तरण हुन्छ । सप्लिमेन्ट, फिटनेस प्रोग्राम, योग प्याकेज, मानसिक स्वास्थ्य एप्स, डाइट प्लान र लाइफस्टाइल कोचिङ यी सबै अब स्वास्थ्यको विस्तार होइनन् । यी त स्वास्थ्यकै व्यापारिक रूप बनेका छन् । मानिसहरू आफ्नो असन्तुलनलाई समाधान गर्न खोजिरहेका हुन्छन्, र बजारले त्यही असन्तुलनलाई अवसरमा बदलिरहेको हुन्छ ।
एकातिर यो आत्म-समझदारी, सचेत जीवन र आन्तरिक शान्तिको अभ्यास हो; अर्कोतिर यो तीव्र गतिमा फैलिँदो उपभोग र उत्पादनको अर्थतन्त्र हो । यहीँनिर वेलनेसको सबैभन्दा ठूलो विरोधाभास देखिन्छ । एकातर्फ शरीरलाई सुन्ने मौन अभ्यास, अर्कोतर्फ शरीरलाई सुधार्ने अनगिन्ती उत्पादनहरूको भीड । तर यसको अर्थ वेलनेस केवल व्यापार हो भन्ने होइन । यसको गहिरो सत्य अझै पनि मानव अनुभवमै लुकेको छ । कुनै सप्लिमेन्ट वा प्याकेजभन्दा बाहिर, वेलनेसको वास्तविक रूप त्यतिबेला देखिन्छ जब मानिस बिना अपराधबोध आराम गर्न सक्छ, थकानलाई संकेतका रूपमा बुझ्छ, र जीवनलाई अत्यधिक नियन्त्रण गर्न खोज्दैन ।
यसरी हेर्दा वेलनेसको सार दुई तहमा बाँचिरहेको जस्तो लाग्छ । एक तहमा अर्थतन्त्र र बजारको विशाल संरचना, अर्को तहमा मानिसको निजी अनुभव र अनुभूति । यी दुईबीच सन्तुलन नहुँदा वेलनेस केवल उत्पादन बन्दोरहेछ तर जब सन्तुलन हुन्छ, तब यो जीवनशैली बन्नेरहेछ ।
त्यसैले निष्कर्षमा भन्न सकिन्छ वेलनेस न त पूर्ण रूपमा व्यापार हो, न त केवल व्यक्तिगत अभ्यास । यो आधुनिक युगको यस्तो दुवै पक्षीय वास्तविकता हो, जहाँ स्वास्थ्यको खोजीले अर्थतन्त्रलाई चलाउँछ, र अर्थतन्त्रले फेरि स्वास्थ्यको परिभाषा विस्तार गर्छ ।
तर मेरो बुझाइमा सबै विश्लेषण, तथ्य र बजारको ग्राफभन्दा पर, वेलनेसको सबैभन्दा गहिरो सत्य अझै पनि सरल नै छ । स्वस्थ हुनु भनेको केवल बाँच्नु होइन, आफूभित्रको जीवनलाई सचेत रूपमा अनुभव गर्न सक्नु हो ।
मेरी साथी रोजी मेरो जीवनमा एउटा अचम्मको उपस्थिति बनेकी छिन् । कहिलेकाहीँ साथीझैँ, कहिलेकाहीँ प्रश्नझैँ, र कहिलेकाहीँ हल्का असहजता झैँ पनि लाग्छिन् उनी । जब म वाइनको सानो चुस्की लिन खोज्छु, ‘वेलनेस’ दिमागमा आइपुग्छ र मेरो सन्तुलन, सचेतना, जीवनशैली खलबलिएको महसूस हुन्छ । जब म तातो पुरी तरकारीको स्वादमा रमाउन खोज्छु, फेरि उही रोजी र उनको वेलनेस सम्झनामा आउँछन् ।
कहिलेकाहीँ लाग्छ, रोजी मेरो जीवनमा केवल व्यक्ति होइनन्, एउटा निरन्तर चलिरहने आवाज हुन्, जसले हरेक साधारण क्षणलाई पनि विश्लेषण गर्न खोज्छ । म रमाउन खोज्छु, उनी अर्थ खोज्छिन् । म स्वाद लिन खोज्छु, उनी कारण खोज्छिन् । यही दोहोरोपनले कहिलेकाहीँ मेरो मन पुरै थकाइदिन्छ ।
तर फेरि एकछिनपछि म आफैंसँग मुस्कुराउँछु र आफैंलाई भन्छु “म झन्डै आधा शताब्दी बाँचिसकेँ । मैले जीवनका धेरै रंग देखिसकेँ । अब म हरेक क्षणलाई व्याख्या गरेर होइन, महसूस गरेर बाँच्न चाहन्छु ।”
शायद रोजीको वेलनेस पूर्ण रूपमा गलत होइन, र मेरो सरलता पनि मेरो कमजोरी होइन । फरक यति मात्र हो कि उनी जीवनलाई सुधार्न खोज्छिन्, म जीवनलाई जस्तो छ त्यस्तै स्वीकारेर बाँच्न चाहन्छु ।
र अन्ततः, यिनै दुई दृष्टिकोणको बीचमा रोजी र मेरो एउटा अदृश्य संवाद चलिरहन्छ उनको वेलनेसको भाषा र मेरो मौन स्वीकारोक्तिको भाषा । शायद जीवन यही हो कसैले अर्थ खोजिरहन्छ, कसैले अनुभूति । र म अब सिक्दैछु, कहिलेकाहीँ अर्थभन्दा अनुभूति नै पर्याप्त हुनेरहेछ ।
अन्ततः, रोजी र मेरो सम्बन्ध कुनै सीधा सहमति वा असहमतिको कथा भने होइन । यो त हामी दुई फरक दृष्टिकोणबीच निरन्तर चलिरहने एक मौन संवाद हो । उनी जीवनलाई सुधार्ने भाषामा बोल्छिन् वेलनेस, सन्तुलन, सचेतना र जीवनशैलीको सूक्ष्म विश्लेषणमा । म भने जीवनलाई जस्तो छ त्यस्तै महसूस गरेर जिउन खोज्छु । यी दुई संसार कहिलेकाहीँ एकअर्कासँग ठोक्किन्छन् । कहिलेकाहीँ एकअर्कालाई बुझ्न सक्दैनन्, तर पूर्ण रूपमा छुट्टिन पनि सक्दैनन् ।
तर समयसँगै एउटा कुरा बिस्तारै स्पष्ट हुँदै जान्छ कि न उनी पूर्ण रूपमा गलत हुन्, न म पूर्ण रूपमा सही । वेलनेसको भाषा आवश्यक छ, किनकि त्यसले शरीरलाई सुन्न सिकाउँछ, मनलाई सचेत बनाउँछ, र जीवनलाई क्रमबद्ध गर्छ । तर जीवनको सरल अनुभूति पनि उत्तिकै आवश्यक छ, किनकि त्यसले बिना कारण मुस्कुराउन, बिना विश्लेषण रमाउन र बाँच्न सिकाउँछ ।
अन्ततः, यही दुई ध्रुवबीच कतै एउटा अदृश्य सन्तुलन बाँचिरहेको हुन्छ, जहाँ सुधार र स्वीकार सँगसँगै चल्छन्, जहाँ प्रश्नहरू पनि हुन्छन् र अनुभूतिहरू पनि । र शायद जीवनको सबै कुरा बुझ्न खोजेर थकित हुनु मात्र होइन, कहिलेकाहीँ नबुझेरै पनि शान्त भएर बाँच्न सक्नु पनि सबैभन्दा गहिरो सौन्दर्य यही हो ।
र अन्ततः, रोजीको वेलनेस र मेरो जीवनको अनुभूति दुवै एउटै जीवनका फरक भाषा भएर पनि, एउटै मित्रताको कथा लेखिरहेका छन् । उमेरले उनी मभन्दा दुई वर्ष जेठी छिन् । कहिलेकाहीँ उनी भावनात्मक उतारचढावसँग जुझिरहेकी जस्ती लाग्छिन्, आफ्ना कुरा बुझ्न र सम्हाल्न विशेषज्ञको सहयोग खोजिरहन्छिन् । एपोईन्टमेन्ट लिन्छिन र यो र भनिरहन्छिन् । म भने त्यस्ता कुरालाई धेरै विश्लेषण नगरी, जीवनलाई जस्तो छ त्यस्तै स्वीकार गरेर अघि बढ्छु ।
त्यसपछि पनि उनी दिनमा एकपटक मसँग कुरा नगरी बस्न सक्दिनन् । अमेरिका त्यसमाथि पनि उनी वेलनेस, योग, ध्यान केन्द्र र अर्ग्यानिक स्टोरको महँगो संसारमा आफूलाई खोजिरहेकी हुन्छिन् । म भने त्यही बीचमा आफ्नो सरल खुशी खोजिरहन्छु । तातो भातको स्वाद, तातो पुरी, न्यूयोर्कका विविध देशका स्वाद, स्ट्रिट फूड फेस्टिभलको भीड, कफीको न्यानोपन, र कहिलेकाहीँ बारको हल्का शान्त साँझमा पनि जीवनलाई जस्तो छ त्यस्तै महसुस गर्ने प्रयासमा हुन्छु ।
शायद यही फरकले नै हाम्रो मित्रतालाई जीवित राखेको छ । उनी आफूलाई सुधार्न खोजिरहन्छिन्, म आफू कसरी र केबाट खुसी हुन्छु भनेर खुसी खोज्दै जिउन सिकिरहेकी हुन्छु । रोजी र म दुवै वेलनेसको नयाँ भाषा खोजिरहेकै छौँ ।

