गत फेब्रुअरीको २८ मा तक्पा कला दीर्घामा एउटा सामूहिक कला प्रदर्शनी भयो । साह्रै शक्तिशाली, अव्वल कलाको रूपमा देखा परेका यी कलाहरू वाचिङ्ग आउट/सिइङ्ग इन नाममा प्रदर्शनमा थिए । सर्वथा अचम्मको नाममा प्रदर्शित यी कलाहरू स्वरूपमा पनि अचम्मकै थिए ।
हिजोआज कलाहरूसँगसँगै यसको नामहरू वा थीम पनि छक्क पार्ने खालकै राख्ने प्रचलन छ । नेपालमै पनि फाउण्ड अव्जेक्ट वा रेडिमेड एप्रोचको चलनचल्ती निकै बढेर गएको छ । तथापि कला अवलोकन भइरहँदा यता नेपालतिर चाहिँ यस्ता कलाका थीमहरूमाथि खासै चर्चा गर्ने प्रचलन छैन । यसो हुँदा पनि यस्तो पनि कला हुन्छ र भन्नेको जमात, दर्शक माझ भेट्टाइयो भने अचम्म मान्न पर्दैन ।
नेपालमा विशेष गरेर काठमाडौं उपत्यकामा चाहिँ आजको कला निस्फिक्री दौडेको अवस्थामा देखिन्छ । यसर्थ आजको कलाले सिर्जनशील, उपयोगी वा व्यावसायिक कला बीच मतभेद हटाइसकेको छ भन्ने बोध हुन्छ । आज मूर्ति वा चित्र वा हस्तकला सब मिलेर, मात्र कामको (हिजोआज कलालाई काम भन्ने प्रचलन छ) रूपमा कला देखा पर्ने प्रचलन बनिसकेको छ । यसो हुँदा पनि यसलाई अवलोकन गर्ने कुरा, बुझ्ने, व्याख्या विश्लेषण गर्ने कुरा देखि लिएर किनबेचको सन्दर्भमा पनि नितान्त नौलो दृष्टिले हेर्नुपर्ने हुन्छ । हामी कहाँ अलि अचम्म जस्तो देखा परे पनि आज विश्व कला बजारमा यस्तै–यस्तै प्रचलन व्याप्त छ । यसैले त कलालाई विश्वभाषा भनिएको हुन सक्छ ।
आजको कलामा हुनैपर्ने अवधारणा आजका यी कलाहरूमा पनि स्पष्ट देखिन्छ । मिहिनेत पनि यथेष्ट देखिन्छ । लामो समयदेखि सोचेर, अध्ययन गरेर, खोज गरेर कलाहरू बनाएका हुन् भन्ने स्पष्ट महसुस पनि गर्न सकिन्छ । यसो हुँदा पनि झट्ट हेर्दा पनि कलाहरू गजबको राम्रो देखिन्छ । हिजोआज यस्तो कलालाई भिजुअल–आर्ट भन्ने चलन छ । अर्थात् हेर्ने कला । यसर्थ पनि आजका कलाहरू सौन्दर्यमा वशीभूत भएका हुन्छन् । नभन्दै यी कलाहरू पनि यस्तै नै थिए ।
हिजोआजको कलामा कन्सेप्ट (अवधारणा) सबैभन्दा महत्वका साथ बसेको हुन्छ । अनि यो कन्सेप्ट लेखेरै कलासँगै राख्ने प्रचलन पनि छ । जसमा कलाकारका आइडिया, विचार, दर्शन वा अनुभवहरू एकै ठाउँमा बसेका देखिन्छन् । जसलाई दर्शकले पढून् अनि मात्र कला अवलोकन गरून् भन्ने कलाकारको आशय पनि हुन्छ । जसले गर्दा भावकले यस्ता कलालाई परम्परागत हिसाबमा मात्र अनुभव नगरून् । अनि प्रभावमा मात्र पनि यसलाई सीमित नगरून् भन्ने पनि हो । बरु यसको साथसाथै कलाकारको विचार, आइडिया र अवधारणालाई पनि समसामयिक सन्दर्भमा बुझेर कलालाई हेरिदिऊन् भन्ने कलाकारको आग्रह पनि देखिन्छ । वास्तवमा कलामा आजको सर्वनवीन सोच पनि हो ।
कला त्यसै बुझिँदैन भन्ने आजको अवस्थामा यी कलाहरू अझ जटिल भएको जस्तो चाहिँ देखिन्छ । तर यस्ता कलाहरू चाहिँ अझ आम मान्छेको नजिक जान खोजेको र सजिलै बुझ्ने प्रक्रियामा रहेका हुन्छन् । तर यसको लागि चाहिँ एजुकेट प्रक्रियालाई अलि बलियो बनाउन भने आवश्यक छ ।
विशेष गरेर यी कलाहरू शिल्प दक्षताको रूपमा निकै माथिल्लो स्तरको रूपमा देखिन्छ । शिल्पसँगसँगै नयाँ अवधारणा अनि संयोजन, प्रस्तुति पनि नयाँ हुँदा यसले एउटा बाटो समाएको देखिन्छ । यस्ता कलाहरूले आजको अवस्था, व्यवस्था अनि सवाल र मुद्दाहरूलाई समाउने हुँदा पनि यी कलाहरूले आम मान्छेका कथाहरू, ज्यादा रूपमा बोलिरहेका हुन्छन् ।
थोरै कलाबारे
यो कला प्रदर्शनीमा छ जना जल्दाबल्दा युवा कलाकारहरू सम्मिलित छन् । हरेकको अलग–अलग शैली र माध्यम छ । सोच अनि अवधारणा पनि नितान्त पृथक छ । यसमा सहभागी कलाकारहरूमा मीना कायस्थ, नवीन नाल्वो, प्रतिमा थकाली, सन्ध्या सिलवाल, सिद्धार्थ राई र सुजन डंगोल छन् ।
मीना कायस्थ
जहाँसम्म युवा कलाकारको सन्दर्भ आउँछ । महिला कलाकारहरूमा मीना कायस्थ एउटा स्थापित नाम हो । उनी फाउण्ड अव्जेक्टमा काम गर्ने प्रखर कलाकार पनि हुन् । उहिले सन् १९१६ ताका युरोपमा फाउण्ड अव्जेक्टमा (रेडिमेड एप्रोच) काम गर्ने (कला बनाउने) शुभारम्भ डुचेम्पले गरेका थिए । पछि यही सन् साठिको उत्तरार्धमा चरम उत्कर्षमा पुगेर उत्तरआधुनिक कलाको शुभारम्भ बनेको थियो । यसैलाई अलि फरक ढंगले वस्तुले आफूले गर्नु पर्ने काम गरिसकेपछि यसलाई रद्दीको टोकरीमा फाल्ने अवस्थालाई मिनाले प्रयोगमा ल्याएकी हुन् ।
पश्चिमी रेडिमेड एप्रोच अनि यो मिनाको कामलाई तुलनात्मक दृष्टिकोणले हेर्दा अलिकता फरक देखिन आउँछ । युरोपमा चाहिँ यो वस्तुको आफूले गर्नु पर्ने काम गरिरहेको अवस्थामै यसलाई कलाको वस्तु बनाएर केही दिनका लागि कलाको रूपमा प्रदर्शनमा राख्थे । अनि यो कलाको भूमिका सकिसकेपछि पुनः यसको वास्तविक कामका लागि उपयोगी वस्तुको रूपमा बेच्न राखिन्थ्यो । एक प्रकारको यो पुनर्व्याख्या, पुनःप्रयोगको सन्दर्भ पनि थियो । मीना चाहिँ वस्तु काम नलाग्ने भएर फालिसकेपछि स्थायी रूपमा प्रयोगमा ल्याएकी छिन् । उनले प्रयोग गरेको यो वस्तु पुनः बजारमा जाँदैन ।
सजिलोको लागि कलागत भाषामा यसलाई जंक–आर्ट भनिन्छ । उनी जंक आर्टमा अहिले सबैभन्दा अग्रपंक्तिमा देखिन्छिन् । यसो हुनुमा उनको गुणात्मक काम त छँदैछ सँगसँगै, उनका कलाहरू एउटा अर्थ बोकेर देखा पर्दछन् । अर्को कुरा भनेको उनी यसै विधामा लामो समयदेखि निरन्तर लागिपर्नु पनि हो । अहिले जंक आर्ट स्वयं पनि विश्वमा प्रचलनमा रहेको सर्वनवीन कला–प्रवृत्ति पनि हो । नेपालकै सन्दर्भमा पनि यसले दुई दशकभन्दा लामो समय काटेको छैन । जंक आर्ट भनेको टुटेफुटेका काम नलाग्ने भनी फालिएका विशेष गरेर धातुका सामानहरूलाई पुनः जोडेर कलाको रूपमा बनाइन्छ । जोडजाड हुँदा यसले मूर्त/अमूर्तता दुवै स्वरूप बोकेको हुन्छ । अमूर्त देखिँदा देखिँदै मूर्त जस्तो लाग्ने यसको स्वभाव हुन्छ । यही नै यसको विशेषता पनि हो । स्वाभावतः यसले मूर्तिको स्वरूप धारण गर्छ । अनि सामान्यतया गहकिलो अवधारणा समात्दै पुरानो आधुनिक मूर्ति भन्दा फरक ढंगले प्रस्तुत हुने गर्दछ ।
मीना गएको दशकदेखि नै यस्ता यस्तै काम गर्दै आइरहेकी छन् । अनि उनी यो कलाको धारामा अन्तर्राष्ट्रिय रूपमै एक अलग्गै पहिचान बनाइसकेकी छन् । खेर गएका काम नलाग्ने सामानहरूलाई जोडजाड गरी रूपहरू बनाउनु त छँदैछ, यसैमा उनले यसपल्ट चाहिँ यसैभित्र चित्रांकन गरी नयाँ लुक दिएका छन् । जुन अझ आकर्षक ढंगले देखा पर्दछ । विशेष गरेर धातुबाट बनेका यस्ता मूर्तिहरूमाथि आफ्नै ढंगले थप किसिम–किसिमका रंगहरू लेपन गरी पस्कनु पनि उनको थप विशेषता हो । नेपालको वैकल्पिक कलाको धारमा जंक आर्ट गर्ने अरु कलाकार पनि छन् । तर आफ्नै एक अलग्गै सिग्नेचर बनाई निरन्तर यसैमा लागिपर्ने कलाकार चाहिँ कम छन् । यसर्थ पनि उनको स्थान एक अलग्गै ठाउँमा अवस्थित छ ।
यो प्रदर्शनीमा उनका पाँचवटा यस्तायस्तै कामहरू प्रदर्शनमा छन् । नामहरू पनि अलि अलग्गै छन् जस्तो कि वाकिङ्ग द म्यूजिक, महादेव इनर कसमस, एनाटोमी अफ बिकमिङ्ग, हेराल्ड अफ द डन, सोलफुल मोन्स्टर आदि । मूर्ति साह्रै ठूलो साइजमा छैन तथापि मूल्य चाहिँ निकै चर्को अर्थात् चार लाख तीस हजारदेखि पाँच लाखसम्मका राखिएका छन् । वाकिङ्ग द म्यूजिक सबैभन्दा महँगो अनि आकर्षक काम पनि हो । जहाँ कुरूप वृद्ध महिलाको मुखाकृतिबाट शुभारम्भ भई तल जनावरमाथि आरूढ साक्षात् देवको रूप देखिन्छ ।
कमलको फूल प्रतीकात्मक बिम्बको रूपमा देखिन्छन् । अनि धातुको सुनौलो चमकले यो एक रहस्यपूर्ण कलाको रूपमा दृश्यावलोकन हुन्छ । मिथकको प्रयोग भई समसामयिक सन्दर्भलाई पस्कनु उनको यो चोटिलो प्रहार हो । यस्तै प्रकारको अर्को महादेव नामक मूर्ति छ । जसलाई उनले आन्तरिक ब्रह्माण्डको रूपमा प्रस्तुत गरेका छन् । समग्रमा भन्दा उनी रूपान्तरणको प्रसङ्ग उठाउँदै वस्तुले आफ्नो पहिचानलाई कसरी परिवर्तन गर्दै जान्छ । अनि आफूले अलग मूल्यलाई कसरी कायम गर्छ । यसको उत्खनन गर्नु पनि उनको आशय देखिन्छ ।
हुन त उनी यी कलाको मूल स्रोतमा आफू अनि माध्यमबीचको संवादलाई मान्दछन् । जस्तो कि उनी भन्छन् – मूलतः मेरा मूर्तिहरू म आफैसँग अनि काम नलाग्ने भनी फालिएका सामग्रीबीचको संवाद नै हो । म धातुका टुक्राहरूसँग वा मेसिनका बचेखुचेका टुक्राहरू वा अवशेषसँग खेल्दै काम गर्छु । अनि यसैको प्रतिफलको रूपमा मेरा कलाहरू जन्मने गर्दछ ।
नवीन नाल्वो
नवीन चाहिँ मूलतः पेन एन्ड इंकमा प्रखर भएर खेली बस्ने कलाकार हुन् । स्केचहरूमा उनको बढी झुकाउ भएको कारणले गर्दा पनि विशेष गरेर उनी क्यारेक्टरहरू खुबै बनाउँछन् । उनको क्यारेक्टर अरु भन्दा दुईवटा कुरामा फरक देखिन्छन् । विषयवस्तुमा ठूला–ठूला नेता वा मान्छेलाई छान्दैनन् । सामान्य कलाकारहरूलाई छान्छन् । अनि अर्को चाहिँ संयोजन अनि पात्र विशेषको प्रकृतिलाई गहिरो गरी प्रस्तुत गर्ने गर्दछन् । यसो गर्न युवा अनि पाका दुवै खाले कलाकारहरूलाई छान्छन् । जसलाई उनले राम्ररी चिनेका छन् । व्यवहार पनि देखेका छन् । अनि यसैलाई क्यारेक्टरमा उतार्दा उनका कामहरू एक अलग्गै प्रकार देखा पनि पर्दछ ।
यसपल्ट भने उनका थोरै अलग्गै रूपमा कामहरू देखा परेको छ । होम–टाउन उनको यसपल्टको कला सिरिज हो । जहाँ रेखांकनबाट आफ्नै गाउँघरलाई (अझ आफ्नै घर) दुरुस्तमा उतारेका छन् । जहाँ उनको आफ्नुत्व अनि पहिचान लुकेको छ । अर्थात जहाँ उनको बचपन बित्यो, जहाँ उनले गाउँले जीवनको दिनचर्यालाई भोगे । जहाँका मान्छेहरू प्रकृतिसँग नजिक भएर जीविकोपार्जन गर्दथे । आफैले उब्जाएको अर्गानिक खाना खान्थे । खुशी थिए । आनन्दको जीवन व्यतीत गर्दथे । यसैमा उनी पनि एउटा भाग थिए । यी आदि इत्यादिलाई सम्झनामा ल्याई एउटा कथाको रूपमा उनले यथार्थ चित्र बनाएका छन् ।
जस्तो कि उनले ३५ वर्ष अगाडि उनैकै फुपूलाई पात्र बनाएर सम्झनालाई ताजा पारेका छन् । यति मात्र होइन, पहिचानको सन्दर्भमा यसै बेलाका भेषभूषा, गरगहना आदि लाई सर्लक्कै उतारी त्यतिबेलाको जीवनलाई वास्तविकतामा उतारेका छन् । कतै चित्रहरूमा फुपूसँग भेडा, बोका अनि कुखुराहरू देखिन्छन् । कतै गाउँको सुन्दर हरियाली जंगल अनि बारीतिर फुपूहरू उभिरहेका देखिन्छन् अनि कतै आफ्नै घरको सग्लो तस्बिर देखाउँदै गाउँको सौन्दर्यपूर्ण वातावरणलाई प्रस्तुत गर्दछन् ।
प्रतिमा थकाली
प्रतिमा चाहिँ गजबको शीर्षकमा टु प्ले देयर आर नो वर्ड्स नामक सिरिजमा काम गर्दछन् । जहाँ ६ वटा स–साना एकनासका एकै रंगका चित्रहरू बनाउँछन् । विश्वभरिका केटाकेटी कुनै पनि तरिकाले जस्तासुकै खेल खेल्दै गर्दा मनोरम दृश्य देखिन्छ । कुनै पनि सीमाले यसलाई बाँझो हाल्दैन । अनि यसले केटाकेटीले खेल्दै गरेको मुभमेन्ट अनि यसैको सम्झनालाई इन्टरयाक्ट गरिरहेको हुन्छ, भन्ने भाष्यलाई उनको कलाले प्रकटन गरिरहेको देखिन्छ ।
केटाकेटीले जस्तोसुकै खेल खेलिरहँदा पनि आफ्नै संस्कृति, भूगोल अनि समयलाई अँगालिरहेको हुन्छ । यी चित्रहरूको सबैभन्दा रमाइलो पक्ष भनेको हरेक चित्र अलग–अलग देखिएता पनि यो एउटा मालाको रूपमा देखिन्छ । एउटा सिङ्गो कथाको रूपमा देखिन्छ । अनि नितान्त पृथक संयोजन, धमिलो मधुरा पात्रहरू तर भाव र गति अनि खेलको प्रकृतिलाई सर्लक्कै उठाएको देखिन्छ ।
क्यानभासमा एउटै रंगले एकैजसो पारामा गति र सम्झनाबीचको इन्टरयाक्टलाई उतार्न कोसिस गरेका छन् । अर्कै दृश्य अनि अनौठो कलागत संयोजनले भावकलाई निकै नै आकर्षक दिन्छन् । यो आकर्षक हुनु भनेको उनका काममा केटाकेटीको खेललाई केन्द्रविन्दुमा राखेर अनौठो कलागत संयोजन नै हो । सपाट रंगीय धरातलमा केटाकेटीहरू विभिन्न खेल खेल्दै गरेका सेता बिम्बहरूलाई पस्कनु फेरि उनको थप कलागत विशेषता हो ।
सन्ध्या सिलवाल
सन्ध्याले लोक्टा पेपरमा काटकुट गरेर अनौठा कलाहरू बनाएका छन् । युरोपमा साठिको उत्तरार्धमा देखा परेका पप–आर्टको यथेष्ट झलक दिने उनका चित्रहरू पूर्वीय परम्परा हेऱ्यौँ भने चाहिँ ध्यानमा बस्ने वस्तुको रूपमा देखिन्छ । यस्ता रूपहरू पूर्वीय दर्शनमा हजारौँ वर्षदेखि प्रचलनमा छन् । पश्चिमाहरूले यसैलाई साठिको उत्तरार्धमा सिर्जनशील कलाको रूपमा विकास गरेका हुन् ।
बढो मिहिनेत र धैर्यताका साथ बनाएको यो कलामा ठूलो ध्यान र एकाग्रता त छँदैछ । साँचो भन्न पर्दा गहिरो आध्यात्मिकता, ज्ञान र प्रबोधन यथेष्ट मात्रामा समावेश भएको देखिन्छ । स–साना बुट्टाहरू जस्तो मात्र देखिने यो कलामा अलि गहिरिएर अवलोकन गरे ठूलो जालोभित्र मान्छे ध्यानमग्न अवस्थामा देखिन्छ । एन आइ अफ होप नामक यो कला एउटा बढेमाको हस्तकलाको वस्तु जस्तो देखिन्छ । तथापि यो उनको सिर्जनशील अनि ठूलो अर्थ बोकेको कला हो ।
यस्तै प्रकारले ॐ साउण्ड अफ युनिभर्समा भाइब्रेशन आइरहेको ठूलो गोलाकारको चक्र देखिन्छ । अप आर्टको विशेषता बोकेको यो कला ध्यान दिएर एकाग्र भएर अवलोकन गरे ॐको ध्वनि स्पष्ट अनुभव हुन्छ । डे अफ माइ लाइफमा पनि यस्तै चक्र देखिन्छ । उनी ब्रह्माण्डको सृष्टि अनि ॐको सन्दर्भ निकाल्दै आध्यात्मिक चिन्तनमा गहिरो भाष्य तयार पार्छन् । अनि पञ्चतत्त्व, आकाशगंगा, ग्रह, नक्षत्र अनेकानेक सन्दर्भहरू निकाल्दै यसैमा समाहित भएर उनको कलाको निर्माण भएको देखिन्छ ।
पूर्वीय दर्शन, वेद अनि उपनिषद्, शून्यमा रहेको शक्ति, मानवमा हुन पर्ने ज्ञान, बुद्धि, विवेक आदि इत्यादि पूर्वीय परम्परागत अवयवहरूलाई उनको कलाले गजबले समाएको देखिन्छ । इच्छा र कामनाको अर्को महत्वपूर्ण सन्दर्भलाई पनि उनी आफ्नो कलाको अभिन्न अङ्ग बनाउँछन् । आफूलाई जान्न, बुझ्न, चिन्न आवश्यक छ भन्ने भाष्यहरू उनको कलामा जताततै पाइन्छ । आफूलाई जान्न योग र साधना गर्न पर्दछ । हामीभित्र नै ब्रह्म छ । हामी सबै एकअर्कामा जोडिएका छौँ । परब्रह्म परमात्मालाई बुझ्न आफूलाई बुझ्न जरुरी छ, आदि आदि नै उनका कलाका आधारभूमि बन्न गएको देखिन्छ ।
सुजन डंगोल
सुजनले पहिचानको प्रतिबिम्बको रूपमा सहरलाई चित्रपटमा उतारेका छन् । नेवार समुदायको संरचनागत सामूहिकताले सदियौँदेखि भौतिक अनि अस्तित्वलाई बचाइरहेको परम्परालाई उनको कलाले राम्ररी समाएको देखिन्छ । अनि शक्तिको रूपमा प्रदर्शन गरिरहेको गुजुमुज्ज घरको परिकल्पनालाई सगोलमा पस्कने उनको अभिप्राय देखिन्छ । काठमाडौं उपत्यकादेखि नेपालभर कुनै पनि नेवार बस्तीमा नेवार समुदाय यसरी नै घरजाम गरेर बसेका देखिन्छन् । एउटै संस्कार, संस्कृति, चाडपर्व अनि दैनिकीलाई मिलेर संयुक्त रूपमा जीवनयापन गर्ने यो परम्परा नै सुजनको कलाको मुटु हो, मर्म हो । स्वस्फूर्तता उनको कलाको अर्को प्रक्रियागत विशेषता हो ।
उनी यसैलाई प्रतिबिम्बित गर्दै मसिना शक्तिशाली रेखाहरूबाट घर, मठ–मन्दिर अनि पहाड आदि सबैलाई आफ्नो क्यानभासमा अटाउने चेष्टा गर्दछन् । अति मिहिन रेखाहरूबाट बनाइएका यी चित्रहरूमा हजारौँ घरहरू एकआपसमा खप्टिएर बसेका देखिन्छन् । अति मिहिनेसाथ स–साना रेखाहरूलाई जतनसँग खेलाएर यो कृतिको निर्माण गरिएको छ । झट्ट हेर्दा अमूर्तताको आभास भए पनि गहिरिएर हेर्दै गर्दा सामूहिकताको स्पष्ट आभास हुन्छ । नेवार समुदायले जीवन जिउनुलाई कसरी संस्कृति अनि एकाबद्धतालाई गाँसेको छ, यसैको प्रतिबिम्ब उनको कलामा देख्न सकिन्छ । उनका कलाहरू पनि चार लाखको छेउछाउ पुग्नुले पनि यसलाई कति गहिरोसँग निर्माण गरे होलान् भन्ने आकलन गर्न सकिन्छ ।
सिद्धार्थ राई
सिद्धार्थले सम्थिङ नामक सिरिजमा धेरै अर्थ लाग्ने भाषालाई, शब्द–वाक्यहरूलाई रमाइलोसँग प्रस्तुत गरेका छन् । घरीघरी दोहोरिने यो भाषाले विलम्ब अनि आग्रहहरूलाई प्रत्याभूति गरिरहेका हुन्छन् । ट्युब अर्थात् ग्यास वा बत्तिहरूलाई (एलईडी नियोन लाइट) ठूलो बोर्डमा विज्ञापन भाँति सजाएर यी विचारहरूलाई भन्न लगाएका छन् । वास्तवमा देखिँदा बोर्डमा टाँगिएका झलमल्ल बत्ती मात्र देखिन्छन् । रमाइलोका लागि रमझम गर्नका लागि बालिने यस्ता बत्तिहरू यहाँ उनले चाहिँ एउटा गहिरो कुरामा प्रस्तुत गर्न पुगेका छन् । देखिँदा यो एउटा अनौठो कलाको रूपमा देखा पर्दछ । फाउण्ड आर्टको यो अर्को नमूना यो कला प्रदर्शनीको अर्को आकर्षक काम हो ।
कलाकार / कला समीक्षक

