साहित्यपोस्ट डट कम

वातावरण संरक्षणको सन्देश फैलाउन ‘विश्व पर्या कविता प्रतियोगिता’ घोषणा

वातावरण संरक्षणको सन्देश फैलाउन ‘विश्व पर्या कविता प्रतियोगिता’ घोषणा

काठमाडौं । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) ले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘विश्व पर्या कविता प्रतियोगिता’ घोषणा गरेको छ ।

महासंघको केन्द्रीय समितिको २८ मार्च २०२६ मा बसेको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेपछि विश्व वातावरण दिवसको अवसर पारेर शुक्रबार प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक कविहरूले आगामी १५ पुस २०८३ (३० डिसेम्बर २०२६) भित्र आफ्नो कविता gfnl.litcontest@gmail.com मा पठाइसक्नुपर्नेछ ।

प्रतियोगिताका लागि वातावरण तथा पर्यावरणसँग सम्बन्धित विषयमा आधारित, नेपाली भाषामा लेखिएको मौलिक कविता मात्र स्वीकार गरिनेछ । कविता बढीमा २५० शब्दसम्मको हुनुपर्नेछ । कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर तयार पारिएका कविता प्रतियोगिताका लागि मान्य नहुने आयोजकले जनाएको छ ।

यसअघि कतै पनि प्रकाशित नभएका कविता मात्र प्रतियोगितामा सहभागी गराइनेछन् । साथै नतिजा घोषणा नभएसम्म ती कविता अन्यत्र प्रकाशन गर्न नपाइने व्यवस्था गरिएको छ ।

कविता युनिकोड वा प्रीति फन्टमा टाइप गरिएको हुनुपर्नेछ भने कविले आफ्नो पूरा नाम, ठेगाना, इमेल, मोबाइल नम्बर र फोटोसमेत संलग्न गर्नुपर्नेछ ।

प्रतियोगिताको संयोजन टोलीमा विजय हितान, देविका मगराँती, कृष्णप्रसाद गौतम, केबी पौड्याल, कविता राई, भीम बिरही राई तथा निता श्रेष्ठ रहनुभएको छ ।

प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट १० कविता विनेसामको डिजिटल पुस्तक ‘मूलबाटो’ मा प्रकाशन गरिनेछ । साथै उत्कृष्ट १० कविलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुने कविले ४० हजार रुपैयाँ, द्वितीयले ३० हजार रुपैयाँ र तृतीयले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बाँकी सात जना उत्कृष्ट कविलाई जनही २ हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कार तथा सम्मान कार्यक्रम आगामी ९ वैशाख २०८४ (२२ अप्रिल २०२७) मा पृथ्वी दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिने विनेसामले जनाएको छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.