साहित्यपोस्ट डट कम

वर्तमान राजनीति र पठन संस्कृति

वर्तमान राजनीति र पठन संस्कृति

मानव समाजको विकास केवल आर्थिक उन्नति वा भौतिक समृद्धिमा मात्र सीमित हुँदैन । यसको वास्तविक गहिराइ समाजको बौद्धिक चेतना, चिन्तनशीलता र ज्ञान–परम्परामा निहित हुन्छ । यसै कारण पठन संस्कृतिलाई कुनै पनि सभ्य समाजको चेतनात्मक मेरुदण्ड मानिन्छ । पठन संस्कृतिले केवल पुस्तक अध्ययनको साधारण अभ्यासलाई मात्र सङ्केत गर्दैन बरु ज्ञान, साधना, विवेकशील चिन्तन, तर्कप्रवण दृष्टि र बौद्धिक संवादको समष्टिगत परम्परालाई अभिव्यक्त गर्छ । अर्कोतर्फ राजनीति समाजको संस्थागत संरचना र शक्तिव्यवस्थाको नियामक तत्त्व हो । राज्य सञ्चालन, नीतिनिर्माण, न्यायिक व्यवस्था र सामाजिक दिशानिर्देशन राजनीतिबाट नै निर्धारित हुन्छ तर राजनीति कस्तो स्वरूपमा प्रकट हुन्छ भन्ने कुरा केवल शासक वर्गको इच्छाशक्ति वा क्षमता मात्रले तय गर्दैन । यसमा समाजको बौद्धिक स्तर र नागरिक चेतनाले पनि त्यसलाई गहिरो रूपमा निर्देशित गर्छ ।

प्राचीन चिन्तकहरूले ज्ञान र शासनबीचको सम्बन्धलाई विशेष महत्त्व दिएका छन् । दार्शनिक प्लेटोले आफ्नो कृति Republic मा भनेका छन्—“जबसम्म दार्शनिकहरू राज्यका शासक बन्दैनन्, वा शासकहरू दार्शनिक चेतनाले सम्पन्न हुँदैनन्, तबसम्म राज्यमा न्यायको स्थापना सम्भव हुँदैन ।” यो भनाइले ज्ञान र राजनीतिक नेतृत्वबीचको गहिरो सम्बन्धलाई स्पष्ट पार्छ । यसै सन्दर्भमा राजनीति र पठन संस्कृतिको अन्तरसम्बन्धलाई विवेचना गर्नु समकालीन समाजको बौद्धिक दायित्व हो । त्यसैले हामी केही बुँदागत विचारको दृश्यावलोकन गरौँ ।

१. पठन संस्कृति : सामाजिक चेतनाको दार्शनिक आधार

पठन संस्कृति समाजको बौद्धिक परम्परा र चेतनात्मक विकासको आधारभूत स्तम्भ हो । अध्ययन, मनन र विमर्शको परम्पराले नै कुनै पनि सभ्यताको वैचारिक संरचना निर्माण गर्छ । इतिहास साक्षी छ, प्राचीन सभ्यताहरूमा यूनानी, भारतीय वा चिनियाँ सबैको उन्नति ज्ञानसाधना र अध्ययन परम्परासँग गहिरो रूपमा सम्बन्धित थियो । भारतीय दार्शनिक परम्परामा पनि ज्ञानलाई मुक्ति र प्रबोधनको मूल साधन मानिएको छ । उपनिषदमा भनिएको छ

“विद्यया अमृतमश्नुते ।”अर्थात् ज्ञानमार्फत् नै अमरत्व अर्थात् उच्च चेतनाको प्राप्ति सम्भव हुन्छ । पठन संस्कृतिले मानिसलाई केवल सूचना प्रदान गर्दैन । यसले चेतनाको विस्तार गर्छ । इतिहास पढ्दा मानिसले सामाजिक परिवर्तनका गतिशील प्रक्रियालाई बुझ्छ । दर्शन पढ्दा अस्तित्व, सत्य र न्यायका प्रश्नहरूबारे चिन्तन गर्न प्रेरित हुन्छ र साहित्य पढ्दा मानवीय संवेदनाको गहिराइसँग परिचित हुन्छ । यसरी पठन संस्कृति समाजको बौद्धिक क्षितिज विस्तार गर्ने माध्यम हो । जब समाजमा अध्ययनको परम्परा बलियो हुन्छ तब त्यहाँ वैचारिक बहस, बौद्धिक संवाद र आलोचनात्मक चिन्तनको वातावरण विकसित हुन्छ । यही वातावरणले समाजलाई प्रगतिशील र जागरूक बनाउँछ ।

२. पठन संस्कृतिले राजनीतिक चेतना निर्माण गर्ने प्रक्रिया

लोकतान्त्रिक राज्य व्यवस्थाको मूल आधार नागरिक चेतना हो । यदि नागरिक विवेकशील र सूचित छैनन् भने लोकतन्त्र केवल औपचारिक संरचना मात्र बन्न सक्छ । पठन संस्कृतिले नागरिकलाई राजनीतिक प्रक्रियाको गहिरो बोध प्रदान गर्छ । इतिहास, राजनीतिशास्त्र र सामाजिक चिन्तनको अध्ययनले मानिसलाई राज्य सञ्चालनका सिद्धान्तहरू बुझ्न मद्दत गर्छ । यस विषयमा दार्शनिक अरस्तुले भनेका थिए “मानव स्वभावतः राजनीतिक प्राणी हो ।” यस भनाइले मानव जीवनमा राजनीतिक चेतनाको अनिवार्यता सङ्केत गर्छ । पठन संस्कृतिबाट विकसित भएको नागरिक चेतनाले मानिसलाई नेताको भाषण र नीतिगत यथार्थबीचको अन्तर पहिचान गर्न सक्षम बनाउँछ । अध्ययनशील नागरिक केवल लोकप्रिय नाराबाट प्रभावित हुँदैन । बरु उसले शासनको संरचना, नीतिको परिणाम र ऐतिहासिक सन्दर्भलाई पनि विश्लेषण गर्छ । यसरी पठन संस्कृतिले आलोचनात्मक चेतना विकास गर्छ । आलोचनात्मक चेतना भएको समाजमा राजनीतिक नेतृत्व स्वतः उत्तरदायी बन्न बाध्य हुन्छ किनकि त्यहाँ नागरिकले प्रश्न गर्ने र जवाफ माग्ने परम्परा स्थापित भइसकेको हुन्छ ।

३. पठन संस्कृतिको अवनति र राजनीतिक सतहीकरण

जब समाजमा अध्ययन र बौद्धिक विमर्शको परम्परा कमजोर हुन्छ तब राजनीति पनि क्रमशः सतही र भावनात्मक चरित्रमा रूपान्तरित हुन थाल्छ । दार्शनिक फ्रान्सिस बेकनले भनेका छन्:

“ज्ञान नै शक्ति हो ।” यस कथनको उल्टो अर्थ पनि त्यत्तिकै महत्त्वपूर्ण छ । जहाँ ज्ञानको अभाव हुन्छ, त्यहाँ शक्ति विवेकविहीन बन्न सक्छ । पठन संस्कृतिको अभावमा नागरिकको राजनीतिक विवेक कमजोर हुन्छ । यस्तो अवस्थामा जनमत निर्माण तर्क र विवेकभन्दा भावनात्मक उत्तेजना, प्रचार र भ्रममा आधारित हुन सक्छ । इतिहासले देखाएको छ कि जब नागरिक चेतना कमजोर हुन्छ तब राजनीतिक शक्तिहरूले जातीयता, धार्मिकता वा क्षेत्रीय भावनालाई प्रयोग गरेर जनसमर्थन हासिल गर्न सक्छन् । यस्तो परिस्थितिमा राजनीति विचारको प्रतिस्पर्धा नभई भीड मनोविज्ञानमा आधारित सङ्घर्षमा रूपान्तरित हुन सक्छ । यसरी पठन संस्कृतिको अवनतिले लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउने खतरा पैदा गर्छ ।

४. राजनीतिले पठन संस्कृतिमा पार्ने संरचनात्मक प्रभाव

राजनीति र पठन संस्कृतिको सम्बन्ध केवल एकतर्फी होइन; यो परस्पर प्रभावकारी सम्बन्ध हो । जसरी पठन संस्कृतिले राजनीतिक चेतनालाई प्रभावित गर्छ, त्यसरी नै राजनीतिक संरचनाले पनि पठन संस्कृतिको विकासलाई निर्धारण गर्छ । यदि राज्यले शिक्षा, अनुसन्धान, पुस्तकालय र बौद्धिक गतिविधिलाई प्राथमिकता दिन्छ भने समाजमा अध्ययनको वातावरण विस्तार हुन्छ । विश्वविद्यालयहरू ज्ञान उत्पादनका केन्द्र बन्न सक्छन् ।

तर जब राजनीति केवल सत्तासङ्घर्ष, स्वार्थ र भ्रष्ट संरचनामा केन्द्रित हुन्छ, तब शिक्षा प्रणाली पनि औपचारिकतामा सीमित हुन सक्छ । यस्तो अवस्थामा ज्ञानसाधना र अनुसन्धानको परम्परा कमजोर हुन्छ । जर्मन दार्शनिक हेगेलले राज्यलाई “नैतिक चेतनाको मूर्त रूप” भनेका छन् । यदि राज्य नैतिक र बौद्धिक दृष्टिले सक्षम छ भने त्यसले समाजको सांस्कृतिक र बौद्धिक विकासलाई पनि दिशा दिन सक्छ । यसैले जिम्मेवार राजनीति पठन संस्कृतिको संरक्षण र विकासका लागि अनिवार्य मानिन्छ ।

५. साहित्य, बौद्धिक वर्ग र वैचारिक आन्दोलन

साहित्य र बौद्धिक चिन्तन पठन संस्कृतिको जीवन्त आधार हुन् । साहित्यकार, चिन्तक र दार्शनिकहरूले समाजको अन्तर्विरोध, विसङ्गति र अन्यायलाई उजागर गर्ने कार्य गर्छन् । कविता, निबन्ध, उपन्यास र आलोचनात्मक लेखनले मानिसको चेतनामा गहिरो प्रभाव पार्न सक्छ । साहित्यले समाजको यथार्थलाई मात्र चित्रण गर्दैन; यसले वैकल्पिक दृष्टि पनि प्रस्तुत गर्छ । यस विषयलाई दार्शनिक कार्ल मार्क्सले भनेका छन्—“दार्शनिकहरूले संसारलाई विभिन्न रूपमा व्याख्या गरेका छन्; तर मुख्य कुरा यसलाई परिवर्तन गर्नु हो ।” यो भनाइले विचार र सामाजिक परिवर्तनबीचको सम्बन्धलाई स्पष्ट पार्छ । जब साहित्य र चिन्तनले समाजको चेतनालाई स्पर्श गर्छ तब राजनीतिक परिवर्तनको सम्भावना पनि उत्पन्न हुन्छ । यसरी साहित्यिक र बौद्धिक आन्दोलनहरूले पठन संस्कृतिलाई समृद्ध बनाउँछन् र समाजलाई वैचारिक रूपमा गतिशील बनाउँछन् ।

६. समकालीन परिवेश र पठन संस्कृतिको सङ्कट

समकालीन युग सूचना प्रविधिको तीव्र विकासले परिभाषित भएको युग हो । डिजिटल माध्यम र सामाजिक सञ्जालले सूचनाको प्रवाहलाई अत्यन्त तीव्र बनाएका छन् तर यसले पठन संस्कृतिका लागि एक नयाँ चुनौती पनि सिर्जना गरेको छ । मानिसहरू गहिरो अध्ययनभन्दा तात्कालिक सूचना र संक्षिप्त सामग्रीमा सीमित हुन थालेका छन् । दार्शनिक नीत्सेले चेतावनी दिएका थिए, “जसले धेरै छिटो पढ्छ, उसले गहिरो रूपमा बुझ्न सक्दैन ।”आजको डिजिटल संस्कृतिमा यही समस्या देखापरेको छ । सूचनाको अत्यधिकता भए पनि गहिरो चिन्तनको अभ्यास घट्दै गएको छ । यदि समाजले पठन संस्कृतिलाई जोगाउन सकेन भने राजनीतिक निर्णयहरू पनि क्रमशः सतही र प्रचारमुखी बन्न सक्ने खतरा रहन्छ ।

निष्कर्ष

राजनीति र पठन संस्कृति समाजका दुई परस्पर सम्बद्ध आधार हुन् । पठन संस्कृतिले नागरिक चेतनालाई विकसित गर्छ र विकसित नागरिक चेतनाले राजनीतिलाई उत्तरदायी बनाउँछ । अध्ययनशील समाजले नेताको भाषण मात्र होइन, नीतिको सार पनि विश्लेषण गर्छ । यसले लोकतन्त्रलाई केवल औपचारिक संरचनाबाट उठाएर बौद्धिक र नैतिक अभ्यासको स्तरमा पुर्‍याउँछ तर जहाँ पठन संस्कृति कमजोर हुन्छ त्यहाँ राजनीति पनि भावनात्मक, प्रचारमुखी र अवसरवादी चरित्रमा रूपान्तरित हुन सक्छ । त्यसैले समाजको दीर्घकालीन प्रगति सुनिश्चित गर्न केवल राजनीतिक परिवर्तन पर्याप्त हुँदैन । यसमा आवश्यक हुन्छ ज्ञान–साधनामा आधारित पठन संस्कृतिको निर्माण । किनकि अन्ततः ज्ञानले नै चेतनालाई उजागर गर्छ र चेतनाले नै समाजलाई न्याय, विवेक र प्रगतितर्फ अग्रसर बनाउँछ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.