स्याङ्जा। वालिङ् उद्योग वाणिज्य संघ, वालिङ् स्याङ्जाद्वारा आयोजित ‘वालिङ् महोत्सव’को नवौँ संस्करणअन्तर्गत साहित्यिक उत्सव कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। साहित्यिक अभियानमा स्याङ्जाली नारी र भेषजराज साहित्य प्रतिष्ठान, वालिङ् स्याङ्जाको संयुक्त संयोजनमा सम्पन्न उक्त कार्यक्रम महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक खगेन्द्रप्रसाद अर्यालको अध्यक्षतामा तथा जेष्ठ नागरिक एवं अग्रज साहित्यकार निलकण्ठ लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
जिल्लामा सक्रिय स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा दुई दर्जनभन्दा बढी साहित्यकारले आफ्ना सिर्जनाहरू वाचन गर्नुभएकाे थियाे । रचना वाचन गर्ने स्रष्टाहरूमा खगेन्द्रप्रसाद अर्याल, निलकण्ठ लम्साल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, चण्डीका प्रसाद भट्टराई, बोधराज न्यौपाने, दमकला बगाले, कमलप्रसाद बगाले, लेखनाथ काफ्ले, अग्निकुमार रेग्मी, भवीश्वर पङ्गेनी, लक्ष्मी काफ्ले, सरस्वती अर्याल काफ्ले, कमला अधिकारी, भोजकुमारी पाण्डे, सावित्री अर्याल, ढालबहादुर केसी, इन्द्रप्रसाद पाठक, डोलराज सुवेदी, विष्णु पङ्गेनी पाण्डे, स्मारिका अर्याल, दिलीप मगर, विप्लव खनाल र वसन्त खनाल रहेकाे थियाे ।
कार्यक्रममा साहित्यिक अभियानमा स्याङ्जाली नारीकी सचिव लक्ष्मी काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने भेषजराज साहित्य प्रतिष्ठानका सचिव श्याम ढुङ्गानाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
स्थानीय साहित्यिक चेतनालाई थप सशक्त बनाउँदै स्रष्टाहरूलाई साझा मञ्च प्रदान गर्ने उद्देश्यले आयोजित उक्त साहित्यिक उत्सवले वालिङ् महोत्सवलाई थप अर्थपूर्ण बनाएको सहभागीहरूको धारणा थियो।

