साहित्यपोस्ट डट कम

व्यङ्ग्य निबन्ध : श्रेष्ठवाद

व्यङ्ग्य निबन्ध : श्रेष्ठवाद

वि.सं. २०१९ मा देखा परेको आधुनिक भोलिवाद पछिको तात्तातो वाद हो ‘श्रेष्ठवाद’ । यो आदर्शवाद र मानवतावादको उल्टो र नठोसे पनि बल्ने अगुल्टोलाई फस्टाउन र फैलाउन विधिगत विधान, मान-सम्मान, सत्यको सन्धान, नैतिक उत्थान, सैद्धान्तिक अभियान, ज्ञान-विज्ञान, परिषद्को निर्माण तथा लोककल्याण कसैको खाँचो र चासो पर्दैन । श्रेष्ठवादको पृष्ठभूमिलाई हेर्दा करिब ४४७ करोड वर्षभन्दा पहिलेदेखि नै यसको शुरूवात भएको हो । जहाँ भगवान र राक्षस जातिको बीचमा भएको सबैभन्दा श्रेष्ठ को ? भन्ने तर्क चलेको थियो । र यसको वर्तमान सम्मको इतिहासलाई अवलोकन गरेर हेर्ने हो भने केवल चार महान् जातिले मात्र श्रेष्ठवादीको पदक हासिल गर्नमा सफल बनेको देखिन्छ। किनकि श्रेष्ठवादी बन्नका लागि श.बु.आ. (शक्ति, बुद्धि र आफू खुशी) श्रेष्ठ खोजी परिषद्को मापदण्डअनुसार आफूलाई सफलतापूर्वक साबित गर्नुपर्छ ।

त्यसैले श्रेष्ठवादीहरूमा सबैभन्दा पहिलो नाम राक्षस र भगवान यी दुई जातिको नै देखिन्छ । त्यसपछि – “मित्र गोहीधर भुडेकी घर बुढीको अलच्छिनकी रहिछ, मेरो मुटु खानलाई घर बोलाउने कुनीति रचिछ ।” भन्दै आफ्नो बुद्धिले ज्यान बचाए बाबजुद दोस्रो श्रेष्ठ प्राणी र श्रेष्ठवादीको सूचीमा बाँदरलाई नराख्ने त कुरै भएन । र अन्त्यमा भगवान र राक्षसलाई काल्पनिक कथा भन्ने, भगवानको मृत्यु भएको घोषणा गर्ने, तथा बाँदरलाई नचाएर मनोरञ्जनको वस्तु बनाउने सबैभन्दा सर्वश्रेष्ठवादी प्राणी — ‘मानिस !’

मानिस विवेकशील प्राणी हो । मैले पनि नवौँ श्रेणीको पाठ्यपुस्तकमा पढेको कुरा । जसको अर्थ मानिसमा सोच्ने, राम्रो–नराम्रो छुट्याउने र निर्णय गर्ने क्षमता अन्य प्राणीको भन्दा बढी मात्रामा हुन्छ भन्ने बुझिन्छ ।

तर विडम्बना हेर्नुहोस् — एक त अन्य प्राणीको मत नै नसोधी “म नै सबैभन्दा विवेकशील प्राणी हुँ” भन्दै ढ्याङ्ग्रो पिट्ने पनि मानिस आफैँ र अर्को आफूले आफैँलाई सर्वश्रेष्ठ घोषित गरेर पनि श्रेष्ठताको अपुगमा – सेतो जनै देखाउँदै “मेरो जाति तेरोभन्दा श्रेष्ठ” भन्दै डराउने !

“मेरो सोच तेरोभन्दा श्रेष्ठ” भन्दै राजनीतिक जमघटमा टेबल ठटाएर कराउने !

“मेरो मस्तिष्क अरूको भन्दा श्रेष्ठ” भन्दै सोझा-सिधालाई लडाउने !

र केही आपत् आइपरेमा “म त लाटो मान्छे हुँ” भन्दै सुइँकुच्चा ठोकी हराउने पनि मानिस आफैँ ।

अब तपाईं आफैँ भन्नुहोस् कुन जाति सबैभन्दा श्रेष्ठ ? र यदि मलाई सोध्नुहुन्छ भने म सुटुक्क भनौँला बाँदर नै सर्वश्रेष्ठ प्राणीको असली हकदार हो । किनकि मानव जीवनको उक्तिदेखि जुक्तिसम्म, उत्पत्तिदेखि उदाहरणसम्म तथा विचारदेखि व्यवहारसम्ममा बाँदरको नै ठूलो योगदान रहेको छ । कसरी भन्नुहुन्छ भने – बाँदरलाई हनुमानको रूप मानेर पूजा गरिन्छ, मान्छेको साक्खै पुर्खा पनि बाँदर स्वयम् हो । उदाहरण जस्तै- महात्मा गान्धीको मृत तीन बाँदरहरू, अनि मान्छे र बाँदर बीचको साम्य व्यवहारको चर्चा के गर्नु ? यस विषयमा अब तपाईं आफैँ ज्ञानी हुनुहुन्छ । तर मानिस जातिले यहाँ पनि आफू खुसी गरेर “बाँदरको हातमा नरिवल” वा “बाँदर बढी जान्ने भए आफ्नै पुच्छर च्याप्छ” जस्ता नकारात्मक उखानहरू प्रस्तुत गरिदिए । अब यसको बिरुद्धमा केही त अवश्य नै गर्नैपर्छ भन्ने हेतुले गुनासो पोख्न बाँदर जाति श.बु.आ परिषद् मा पुगेर हेर्छ त परिषद्को अध्यक्ष कुर्सीमा त उही गोहीधर सोती पो अंगूरको वाइनको स्वाद लिनमा मस्त ! अब भो त ? के गरोस् बेचारा बाँदर जाति ।

खैर, मान्छे–मान्छे बीच नै श्रेष्ठताको खोसाखोस चल्छ भने अरूको के लागोस् ? आर्थिक, शारीरिक, मानसिक, धार्मिक जस्ता सबै पक्षमा श्रेष्ठताको होडबाजी नै देखिन्छ । प्रत्येक तन्नेरी सोच्छ अरू सबै बकम्फुसे आफू मात्रै उत्कृष्ट छ, प्रत्येक तरुणी सोच्छे आरू सबै बुढी बाँदरनी आफू मात्रै कनिष्ठ छ, र प्रत्येक मानिसको प्राकृतिक श्रेष्ठवादी स्वभाव हो तपाईं भन्दा मपाईं नै श्रेष्ठ छ !

अब हेरिहाल्नुहोस् ….

तपाईंको कुरामा पत्यार लागोस् वा नलागोस् पट्यार अवश्य लाग्छ र‌ मपाईंलाई मूर्ख मानोस् या नमानोस् महान् अवश्य मान्छ । वास्तवमा मानिस जातिलाई श्रेष्ठवादी बनाउनको श्रेय उसको जुक्ति लगाउने क्षमता र छल गर्ने कलालाई दिँदा बेठिक नहोला ।

भनिन्छ, प्राचीन कालमा लेडी न्यायकुमारी स्वयम् धरतीमा विराजमान थिइन् रे, सबै प्राणीलाई बराबरी न्याय र बुद्धि बाँड्नका निम्ति । तर मानिसले छल गरेर उनको आँखामा कालो पट्टी बाँधिदियो र न्यायकुमारीको तराजुमा हेरफेर गर्दै बढी बुद्धि र न्याय आफ्नै झोलीमा पार्यो । सायद त्यसैले होला आजसम्म पनि अदालतमा राखिएको उसको मूर्तिको आँखामा कालो पट्टी बाँधिएको देखिन्छ ।

तर जे भए पनि निष्कर्षमा हेर्नु हो भने परिषद्को मापदण्ड अनुरूप शक्तिदेखि बुद्धिसम्म, बुद्धिदेखि आफू खुसीसम्म सबैमा मानिस नै अग्रसर देखिन्छ । चाहे तपाईं अटिलालाई हेर्नुहोस् या औरंगजेबलाई, चाहे आइन्स्टाइनलाई हेर्नुहोस् या एरिस्टोटललाई, चाहे नागासाकी र हिरोसिमालाई हेर्नुहोस् या आफूले आफैँलाई । मानिस नै सर्वश्रेष्ठ जाति हो । र यो कुरा म सुटुक्क होइन सगरमाथाको टुप्पोबाट चिच्याएर भन्न सक्छु किनकि यसले मेरो जातिप्रेमलाई दर्शाउँछ र अन्य जातिहरूको तुलनामा मलाई सर्वश्रेष्ठ बनाउँछ । जय श्रेष्ठ जाति मानिस र जय श्रेष्ठवाद !

ट्याग: अवस राई
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.