महापण्डित राहुल साँकृत्यायनको चर्चित कथाकृति ‘भोल्गा से गंगा’ को नेपाली अनुवाद ‘भोल्गादेखि गंगा’ लोकार्पण गरिएको छ । उक्त कृतिको अनुवाद प्रा. डा. कुमारप्रसाद कोइरालाले गर्नुभएको हो ।
काठमाडौंमा आयोजित लोकार्पण तथा विमर्श कार्यक्रममा प्रा. डा. माधवप्रसाद पोखरेल र प्रा. डा. गोविन्दराज भट्टराईले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएकाे थियाे ।
कार्यक्रममा बोल्दै प्रा. डा. माधवप्रसाद पोखरेलले ‘भोल्गा से गंगा’ काव्य र शास्त्र दुवै भएको उल्लेख गर्दै त्यसजस्तो गहन कृतिलाई नेपाली भाषामा अनुवाद गर्नु चुनौतीपूर्ण कार्य भएको बताउनुभयो । उहाँले मानव सभ्यता र विकाससँग सम्बन्धित जटिल विषयलाई आमपाठकले सहज रूपमा बुझ्न सकून् भन्ने उद्देश्यले साँकृत्यायनले कथाको माध्यम रोजेको धारणा व्यक्त गर्नुभयो । साथै उहाँले अनुवादक कोइरालाको भाषिक दक्षताको प्रशंसा गर्नुभयो ।
कृतिमाथि विमर्श गर्दै प्रा. कृष्ण खनालले पुस्तकले मानव सभ्यताको विकासक्रमलाई प्रभावकारी ढङ्गले चित्रण गरेको बताउनुभयो । उहाँले नेपाली अनुवादमा अनुवादक केवल भाषान्तरकर्ता नभई स्रष्टाका रूपमा पनि प्रस्तुत भएको उल्लेख गर्दै कृतिमा दर्शन, इतिहास र सभ्यताको गहिरो चेतना समेटिएको धारणा राख्नुभयो ।
अर्का वक्ता हेमचन्द्र नेपालले प्रस्तुति र शैलीगत दृष्टिले अनूदित कृतिलाई उत्कृष्ट कृतिका रूपमा मूल्याङ्कन गर्नुभयो । उहाँले रामायण र महाभारतले नसमेटेका अनेक ऐतिहासिक तथा सांस्कृतिक प्रसङ्गहरू साँकृत्यायनले यस कृतिमा समेटेको बताउनुभयो ।
आख्यानकार नारायण ढकालले आफूले ‘भोल्गा से गंगा’ २०३० को दशकमा हिन्दी भाषामै पढेको स्मरण गर्दै डा. कुमारप्रसाद कोइरालाले अत्यन्त प्रभावकारी ढङ्गले नेपालीमा अनुवाद गर्नुभएको टिप्पणी गर्नुभयो ।
प्रा. डा. अञ्जना वस्ती भट्टराईले ‘भोल्गादेखि गंगा’ कथा मात्र नभई इतिहासको महत्वपूर्ण दस्तावेजसमेत भएको बताउनुभयो ।
अनुवादक प्रा. डा. कुमारप्रसाद कोइरालाले अनुवाद आफैँमा चुनौतीपूर्ण सिर्जनात्मक कार्य भए पनि आफूले त्यसलाई सफलतापूर्वक सम्पन्न गर्न सकेको अनुभव सुनाउनुभयो ।
समारोहमा प्रा. डा. गोविन्दराज भट्टराईले महापण्डित राहुल साँकृत्यायनको बहुआयामिक लेखनको चर्चा गर्दै ‘भोल्गा से गंगा’ उहाँको अमर कृतिका रूपमा स्थापित भएको बताउनुभयो ।
