काठमाडौँ । लेखक विवेक ओझाको पहिलो कथासङ्ग्रह ‘मौन कोलाहल’ प्रकाशित भएको छ । नौ वटा कथा समेटिएको उक्त सङ्ग्रहलाई साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो ।
प्रकाशकका अनुसार सङ्ग्रहमा लेखक ओझाले समाजभित्र लुकेका संवेदना, सामाजिक विसङ्गति र कठोर यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नुभएको छ । कथाहरूले मानवीय अस्तित्व, सामाजिक ढोँग, नैतिक द्वन्द्व र चेतनाका जटिल पक्षलाई दार्शनिक शैलीमा अभिव्यक्त गर्दै पाठकलाई आत्ममन्थनतर्फ डोर्याउने प्रयास गरेका छन् ।
‘मौन कोलाहल’ लेखक ओझाको पहिलो कथासङ्ग्रह हो। यसअघि उहाँका ‘ऐँठन’ र ‘ऐलानी’ उपन्यास प्रकाशित भइसकेका छन् । ‘ऐँठन’का लागि उहाँले २०७९ सालको मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।

