साहित्यपोस्ट डट कम

विवशजीसँग नजिकिएका नाताहरू

विवशजीसँग नजिकिएका नाताहरू

ज्ञानेन्द्रजीलाई विवश, विवशजी भनिन्थ्यो । यो ‘विवश’ भनेको के हो, को हो ? उहाँको थर त पक्कै होइन भन्ने लाग्थ्यो । यस्तै लहडको उपनाम मात्र होला भन्ने ठान्थेँ । तर यसबारे मैले उहाँलाई सोधिनँ ।

उहाँले दिनुभएका उहाँका ‘मृत्यु उत्सव’, ‘सुन्दरीचोक’ ‘अर्धकदको अवसान’ आदि यस्तै किताबहरू मैले पढेको छु । तर उहाँका किताबमा कतै पनि मैले उहाँको खास थर थाहा पाएको थिइनँ । निकैपछि मात्रै थाहा पाएँ– उहाँ ‘श्रेष्ठ’ हुनुहुँदो रहेछ ।

उहाँसँगको मेरो सम्बन्ध निकै अगाडि देखिकै हो । सिर्जना आर्ट ग्यालरी जमल छँदा उहाँ कलाप्रदर्शनीहरूमा आइरहनुहुन्थ्यो । यसरी ग्यालरीमा आउने र जाने मात्र होइन उहाँले कलासमीक्षा लेख्नुहुन्थ्यो । शायद २०४८–४९ सालतिर हुनुपर्छ त्यो बेला उहाँ ‘सुरुचि’ साप्ताहिक पत्रिकामा लेख्ने गर्नुहुन्थ्यो । त्यस पत्रिकामा पत्रकार र साहित्यकार शिव अधिकारी थिए, तर उनी चाँडै बितेर गए ।

ललितकला क्याम्पसबाट अवकाश पाएको केही वर्ष मेरा निकै फुर्सदका दिन थिए । जमलमा जाने अनि ग्यालरीमा आउने साथीभाइसँग भेटघाट गरेर दिन बिताउने । त्यति बेला प्रसिद्ध गायक नारायण गोपाल खुब आउँथे । हामी चेस (बुद्धिचाल) खेलेर आ–आफ्नो बुद्धि जाँच्थ्यौँ । २०४७ साल मंसिर १९ गते उनको निधनपछि हाम्रो खेल कार्यक्रम मात्र होइन भेटघाटको रमाइलो नै सदाका लागि सकिएको थियो ।

त्यस्तै सिर्जना कलेज अफ फाइन आर्ट्समा म प्रिन्सिपल हुँदा पनि उहाँसँग झन नजिक हुन पाएको थिएँ । कार्यक्रममा उहाँ आइरहनुहुन्थ्यो । केही न केही जिज्ञासा बोकेर आउने र फर्किंदा उहाँले धेरै कुराका खुराकहरू लिएर फर्किनुहुन्थ्यो । मलाई गजब लाग्थ्यो कि भर्खर कलेज पढिरहेको नवयुवामा कला र साहित्यप्रति कति धेरै जान्ने उत्सुकता छ ?

यसरी उहाँले मेरो बारेमा, स्किब समूहको बारेमा उहाँले धेरै लेख्नुभएको छ । अरू धेरै कलाकार र कलाका बारेमा पनि उहाँले लेख्दै आइरहनुभएको छ । २०७८ सालमा उहाँले लेख्नुभएका नेपाली कलाकारहरूको जीवनीमूलक किताब ‘प्रतिनिधि नेपाली कलाकार’मा मलाई उहाँले केही मन्तव्य लेखिदिन अनुरोध गर्नुभयो । मैले उहाँका लागि मेरा केही शब्दहरू शुभकामना मन्तव्यका रूपमा लेख्ने अवसर पाएको थिएँ ।

यसरी उहाँ साथीभाइ, शुभचिन्तक, गुरुचेलाको नाता र यस्तै कलाकार र कलालेखक, समीक्षक खै के–के हो निक्कै गहिरो सम्बन्ध रहेको पक्का हो । जे होस् मैले उहाँलाई चिन्ने र उहाँले पनि मलाई राम्ररी चिन्ने मात्र होइन मेरो बारेमा ठोस तथ्य कुरा लेख्न सक्ने सही व्यक्तिहरूमा उहाँ प्रमुख व्यक्तिमध्ये पर्नुहुन्छ ।

उहाँ ‘श्रेष्ठ’ जातले पक्का नेवार भए तापनि संयोगले काठमाडौँको नभई खोटाङमा जन्मनुभएको हुँदा उहाँको बोलीलवजमा पर्वतेहरूले बोल्ने जस्तै अति शुद्ध बोली छ । काठमाडौंमै हुर्केबढेका भए उहाँको बोलीमा शुद्ध नेपाली शब्दको उच्चारण सुन्न सकिँदैनथ्यो । एउटा उदाहरण फेरि नारायण गोपाललाई सम्झन्छु । उनी सिर्जना ग्यालरीमा आइरहनुहुन्थ्यो । उहाँ आउँदा ‘बुद्धिचाल’ खेलले हाम्रो समय बितेको पत्तै हुँदैनथ्यो । त्यति बेला उनको बोली झट्ट बुझ्न मुश्किल पर्थ्यो । तर जब उहाँले हार्मोनियम समाएर गीत गाउन थाल्नुहुन्थ्यो त्यति बेला दैवीगुन हुनुपर्छ कुनै पनि अशुद्धताको आभास पाइदैनथ्यो । त्यसैले उहाँ महान् गायक हो । उहाँको गीत सुन्दा साँच्चिकै हिमाल, पहाड र तराई आदिबाट उडेका फूलबारीका सुगन्ध जस्तै लाग्थ्यो ।

हाम्रो ज्ञानेन्द्रजीले साँच्चैकै ठूलो नाम पाउनुभएको रहेछ । ‘ज्ञानेन्द्र’ नेपाल राष्ट्रकै बिर्सिन नसकिने ठूलो नाम हो । एउटै देशमा दुई–दुई पटक राजा हुनुभनेको संसारकै इतिहासमा नौलो कुरा हो ।

हुन त, हाम्रा ज्ञानेन्द्रजीको नाम पनि संयोगले ज्ञानेन्द्र हुनु यौटा संयोग मात्रै हो । उहाँ नेपाली कला र साहित्यमा लेखक, समीक्षकका रूपमा आफ्नो क्षेत्रमा उदाहरणीय जल्दोबल्दो र चम्किलो नक्षत्र जस्तै नै छन् ।

यति कुरा लेख्दालेख्दै फेरि म कलासमीक्षक तथा लेखक ज्ञानेन्द्रजीको बारेमा सोच्छु । कहाँ म पुर्ख्यौली धादिङतिरको पहाडी मान्छे र कहाँ त्यो पूर्वेली ठाउँ खोटाङ ! तैपनि मेरो त्यो खोटाङसँग कसरी–कसरी नजिक हुने संयोग पर्‍यो यो पनि अचम्म लाग्दो छ । मेरो घर कोपण्डोलमा मेरा सहयोगी पारिवारिक सदस्य जस्तै करीब चालीस वर्षदेखि हामी सँगै छन् । उनीहरूकै सम्पर्कमा खोटाङको विषयमा मेरो जिज्ञासा बढेको हो । खोटाङको भौगोलिक अवस्था र त्यहाँका प्रसिद्ध हलेसी महादेव तथा बराहपोखरीको किम्बदन्ती पहिल्यैदेखि मैले सुन्दै आएको हो ।

उनै मेरा खोटाङे सहयोगीहरूको सम्पर्कमा अरू तथ्य पनि बुझ्न पाउँदा मलाई धेरै नै फाइदा भएको छ । यसबाहेक यही खोटाङ जिल्लाको कुनै गाउँमा (मैले पढेअनुसार बाङ्देल गाउँ) राई जातिको धेरै बसोबास हुने स्थान रहेछ । हाम्रो परिवारको सहयोगी सदस्यहरू पक्का निरौला थरका बाहुन हुन् भने उता राई थर ठेट बाङ्देल हुनु पनि अर्को संयोगै हो जस्तो लाग्छ । यही बाङ्देल गाउँ पुर्ख्यौली थलो भएका प्रसिद्ध कलाकार तथा साहित्यकार लैनसिंह बाङ्देल हुन् । उनको पुर्खाहरू गतिलो काम र अवसरको खोजीमा दार्जीलिङतिर चियाबगानमा पुगेका रहेछन् । हुन त राई थरलाई दार्जीलिङमा हुँदा बाङ्देल थर लेख्न थालेको र त्यही नै पहिचान बनेको कुरा बाङ्देलकै जीवनीमा पढ्न पाइन्छ ।

यहाँनिर म फेरि सम्झिन्छु– ज्ञानेन्द्रजी, मेरो पारिवारिक सदस्य सहयोगीहरू र प्रसिद्ध कलाकार लैनसिंह बाङ्देलजी एउटै जिल्लाबासी र एउटै धागोमा उनिन आउनु पनि एउटा अर्को संयोग मात्र हो ।

ज्ञानेन्द्रजीको व्यक्तित्व र कृतित्व बारेमा मैले यहाँ लेख्नुपर्ने हो तर कुरा अरू पनि आयो । तर उहाँको खास लेखकीय व्यक्तित्व केही लेखिएन भनौँ भने यसबारे लेख्ने मेरो कुनै ल्याकत छैन । म साधारण कलाकार मात्र हुँ । कुनै लेखक वा समीक्षक हुँदै होइन । म बबुरो साधारण कलाकारले अरू के लेख्नु ! ज्ञानेन्द्रजीको लेखकीय क्षमताबारे राष्ट्रकवि माधवप्रसाद घिमिरेले उहाँको निबन्ध संग्रह ‘सुन्दरीचोक’मा राम्रो चित्रण गर्नुभएको छ ।

अन्त्यमा मलाई उहाँले उपहार दिनुभएका किताबहरूको अध्ययनका आधारमा म उहाँको लेखन शैलीको प्रशंसक हुँ भन्दा फरक पर्दैन । किनभने उहाँले चाहे कलाको समीक्षा लेख्दा होस् कि निबन्ध लेख्दा वा यात्राको विवरणहरू लेख्दा उहाँको भाषाशैली मलाई एकदमै मन पर्ने किसिमको लाग्छ । सरल भए पनि त्यसमा गहिरो किसिमको अनुभव पोख्न उहाँ सिपालु लेखक हुनुहुन्छ । अर्को कुरा उहाँ कलाकार पनि भएकोले उहाँको शब्द चित्रणमा कलाकारी मनोभावनाहरू पनि स्वतः नै आउँछन् । यो उहाँको विशेषता पनि हो भन्ने मलाई लाग्छ ।

विवशजीसँग नजिकिँदाका नाताहरू फर्केर हेर्दा गजबकै संयोग गाँसिएको पाउँदा मलाई आनन्द पनि लाग्छ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.