साहित्यपोस्ट डट कम

विश्व शान्तिको पदचाप: तीर्थयात्रीको यात्रामा समय, करुणा र चेतनाको संवाद

विश्व शान्तिको पदचाप: तीर्थयात्रीको यात्रामा समय, करुणा र चेतनाको संवाद

आजको विश्व बारुदको गन्धले होइन, करुणाको सुवासले बाँच्न खोजिरहेको छ । युद्ध, द्वन्द्व, असहिष्णुता र विभाजनले थिलथिलो बनेको मानव चेतनालाई शान्तिको सहारा चाहिएको यस घडीमा, कहिले अमेरिकाभरी पदयात्रा गरिरहेका बौद्ध भिक्षुहरू, भिक्षुहरूको साथ नछुट्ने कुकुर अलोका, त कहिले क्यान्भासमा कोरिएका सिद्धार्थका पदचिह्नहरू, यी सबै एउटै प्रश्न सोधिरहेका छन् – के मानव अझै पनि शान्ति रोज्न सक्छ ?

अमेरिकाको दक्षिण क्यारोलिनामा अलोकाको सफल शल्यक्रिया केवल एउटा पशु उपचारको खबर मात्र होइन; यो करुणा, सहअस्तित्व र अहिंसाको जीवित प्रतीक हो । टेक्सासदेखि वाशिङ्टन डी.सी. सम्मको ‘शान्तिको लागि यात्रा’मा सहभागी भिक्षुहरू र तिनको निस्वार्थ यात्राले आजको यान्त्रिक संसारलाई स्मरण गराउँछ । शान्ति कुनै नारा होइन, निरन्तर अभ्यास हो । यही अभ्यासलाई दृश्य भाषामा उतार्ने प्रयास हो, ‘सिद्धार्थ आर्ट ग्यालरी’, बबरमहलस्थित मिथिला चित्रकलाका कलाकार एससी सुमनको मिथिला कसमसको सातौं श्रृंखला ‘जर्नी आफ ए पिलग्रीम’ चित्रकला प्रदर्शनी सम्पन्न भएको छ ।

मिथिला कला : लोकबाट लोकातीत चेतनासम्म मिथिला कला परम्परागत रूपमा लोककथा, देवी–देवता, जन्म, विवाह र संस्कारसँग जोडिएको कलारूप हो । तर कलाकार एससी सुमनले यसै परम्परालाई समकालीन विश्वचिन्तनसँग गाँस्दै मिथिलालाई लोकबाट लोकातीत बनाएका छन् । हालै प्रदर्शित एकल चित्र मिथिला ब्रह्माण्ड: तीर्थयात्रीको यात्रामा मिथिला केवल भौगोलिक वा जातीय पहिचान होइन, यो एक दार्शनिक मार्ग हो, जहाँ रेखा ध्यान हो, रङ मौन हो, र रिक्तता स्वयं अर्थ बन्छ ।

सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनीको प्रारम्भ ‘श्रीगणेश’को शीर्षक चित्रबाट हुँदै दर्शकलाई बौद्ध कथाको मूलमा पुर्‍याइन्छ । श्वेत – श्याम रङमा गोदना शैलीको प्रयोग गर्दै कोरिएको ‘मायादेवीको सपना’ यो चित्र केवल एक धार्मिक मिथक होइन; यो चेतनाको गर्भाधान हो । कमलमाथि टेकेर जन्मँदै हिँडिरहेका सिद्धार्थका पाइलाहरूले मानव इतिहासको सबैभन्दा अहिंसात्मक क्रान्तिको संकेत दिन्छन् । यहाँ कमल शुद्धताको मात्र प्रतीक होइन, यो पीडाबाट उठ्ने सम्भावनाको संकेत हो ।

मिथिला कसमस–७ को मूलभाव यात्रा हो । मेरो विचारमा जसलाई आत्मिक, सांस्कृतिक र दार्शनिक यात्रा भन्न सकिन्छ । यहाँ ‘कसमस’ भनेको केवल आकाशीय ब्रह्माण्ड होइन, मिथिलाको सांस्कृतिक ब्रह्माण्ड हो । म स्वयंलाई यस प्रदर्शनीमा तीर्थयात्रीका रूपमा प्रस्तुत गरेको छु ।

सुमन भन्छन् – मिथिलाको मिथक, देवता, लोककथा, स्त्री चेतना, प्रकृति र मानव जीवनका तहहरूभित्र यात्रा गर्दै मैले अनुभूत गरेको सत्यतालाई क्यानभासमा उतारेको छु । यो प्रदर्शनीले केही प्रश्न सोध्छ—हामी को हौँ, हाम्रो जरा कहाँ छ, र आधुनिकताले हामीलाई कता लैजाँदैछ ? यही प्रश्नहरूको खोज नै यसको मूलभाव हो भनी भन्न सकिन्छ ।

यसै सँग अर्को चित्रमा सिद्धार्थको बाल्यकालीन कथा – जहाँ आफ्नै दाजुले हाँस मार्दा उत्पन्न विवाद दरबारसम्म पुग्छ । यस चित्रमा कपिलवस्तुको शान्त वातावरणभित्र सिद्धार्थको बालहृदय उजागर भएको छ । आकाशबाट खसेको घाइते हाँसलाई काखमा च्यापेर उभिएका सिद्धार्थ करुणा र अहिंसाको प्रतीक बनेका छन् । अर्कातर्फ शिकारी देबव्रत शक्ति र अहंकारको प्रतिनिधि देखिन्छन् । सुमनले सिद्धार्थको कोमल दृष्टि र हाँसको पीडामा मानवता देखाएका छन् । यो दृश्य केवल बाल्यकालको घटना होइन, भविष्यमा बुद्धत्वतर्फ अग्रसर हुने करुणामय यात्राको पहिलो संकेत हो । जीवन लिने हातभन्दा जीवन बचाउने हात महान् हुन्छ । चित्रले यही मौन सन्देश दिन्छ । आज पनि उत्तिकै सान्दर्भिक छ । मार्ने कि बचाउने ? भन्ने प्रश्नको उत्तर विश्वले अझै पूर्ण रूपमा पाएको छैन । युद्ध, मृत्युदण्ड, हिंसात्मक राष्ट्रवाद—यी सबै यही अनुत्तरित प्रश्नका आधुनिक रूप हुन् ।

ज्ञान प्राप्तिपछि पनि सिद्धार्थ, अब गौतम बुद्ध आलोचनाबाट मुक्त भएनन् । नर्तकी सुजाता (कतिपय कथामा) ले दिएको खीर स्वीकार गर्दा भोग्नु परेको कटु आलोचनालाई कलाकार सुमनको चित्रमा अत्यन्त मार्मिक प्रतीकमा रूपान्तरण भएको छ । रूखमा झुन्डिएको नाग, यो केवल भयको बिम्ब होइन; यो समाजको विषालु जिब्रो हो, जसले करुणालाई पनि शंका गर्छ ।

यो चित्र अगाडि उभिँदा दर्शक निःशब्द हुन्छ । किनकि आज पनि, जब कोही शान्तिको कुरा गर्छ, उसलाई कमजोर ठानिन्छ; जब करुणा देखाइन्छ, त्यसलाई राजनीति भनिन्छ । नाग अझै झुन्डिएको छ र हामी अझै मौन छौँ ।

सुमनले बौद्ध कथाको यो प्रसङ्गलाई गोदना शैलीमा, श्वेत – श्यामको गहिरो रङमा उतारेका छन् । मिथिला कला मा गोदना (ट्याटु) परम्परागत सौन्दर्य र धार्मिक – सांस्कृतिक विश्वाससँग गहिरो रूपमा जोडिएको छ । मिथिला समाजमा विशेष गरी महिलाहरूले गोदना लगाउने चलन थियो, जसलाई शुभ, रक्षात्मक र पहिचानको प्रतीक मानिन्छ । गोदनामा देवी–देवता, सूर्य, चन्द्रमा, कमल, मयूर, माछा, बाँस, बेलबुट्टा जस्ता प्रतीकात्मक आकृतिहरू बनाइन्छ । यी आकृतिहरूले उर्वरता, समृद्धि, सुरक्षा र दीर्घायुको संकेत गर्थे । गोदनालाई जीवनभर साथ रहने ‘सजावट’ पनि मानिन्छ । सांस्कृतिक पहिचान, आस्था र परम्पराको जीवन्त अभिव्यक्ति हो ।

कुनै चर्को दृश्य छैन, तर मौन रेखाहरूले दर्शकलाई असहज बनाउँछ । यही असहजता नै कला हो । क्यान्भासमा प्रयोग गरिएको नेपाली कागजको प्राकृतिक रङले चित्रलाई बौद्ध युगको स्मृतिमा पुर्‍याउँछ, जहाँ प्रश्नहरू थिए, तर उत्तर अहिंसामा खोजिन्थे ।

भूमि स्पर्श मुद्रामा लीन बुद्धको चित्र यस प्रदर्शनीको केन्द्रबिन्दु हो । यहाँ कुनै आडम्बर छैन । हरिण, वन्यजन्तु, चराचुरुङ्गी सबै निर्भय छन् । शान्ति यहाँ भाषण होइन, अवस्था हो । बुद्ध ध्यानमा छैनन्; बुद्ध स्वयं ध्यान बनेका छन् ।

चित्रकार सुमनको रङ प्रयोग यहाँ विशेष उल्लेखनीय छ । प्राकृतिक रङ, माटोको सुवास, कागजको बनावट, यी सबैले चित्रलाई केवल दृश्य नभई अनुभूति बनाउँछन् । बौद्ध भिक्षुहरूको ध्यान मुद्रा पनि यही शृङ्खलामा पर्छ । जहाँ व्यक्ति हराउँछ, तर चेतना बाँकी रहन्छ । यसरी अगाडि बढ्दै जाँदा तीर्थ यात्रीको यात्रा उपत्यका कथामा प्रवेश गर्छ । यहाँ पशुपतिनाथ शीर्षकका दुई चित्रले जीवनको अर्थ प्रश्न गर्छन् । जन्म, मृत्यु र पुनर्जन्मको चक्रभित्र मानव कहाँ उभिएको छ ?

बौद्धनाथ र स्वयम्भूनाथका चित्रहरूमा रङ्गीचङ्गी पताका हवामा फरफराइरहेका छन्, तर ती उत्सवका लागि मात्र होइन, । विश्वलाई शान्तिको छानोभित्र समेट्ने प्रयास हुन् । यी ध्वजाहरू हावामा फरफराउँदा, मानौँ प्रार्थनाहरू अझै उडिरहेका छन् । बौद्ध भिक्षुहरूको लहरै पदयात्रा लुम्बिनीबाट शुरू भएको यात्रा अझै जारी छ । यो यात्रा केवल भौगोलिक होइन, यो नैतिक यात्रा हो । यही यात्राको समकालीन प्रतिरूप हो अमेरिकामा भइरहेको ‘शान्तिको लागि यात्रा’ ।

अलोका – ती भिक्षुहरूसँगै हिँड्ने कुकुर, आजको संसारलाई एउटा सरल पाठ सिकाउँछ: शान्ति मानवको एकाधिकार होइन । जब अलोकाको खुट्टामा शल्यक्रिया हुन्छ, र विश्वभरका मानिसहरू त्यसको स्वास्थ्यको कामना गर्छन्, त्यहाँ धर्म, राष्ट्र वा जाति हुँदैन जो केवल करुणा हुन्छ ।

कला, करुणा र उत्तरदायित्व मिथिला ब्रह्माण्ड: तीर्थ यात्रीको यात्रा केवल चित्रकला प्रदर्शनी होइन; यो चेतनाको यात्रा हो । एससी सुमनले मिथिला कलालाई विश्व शान्तिको भाषामा अनुवाद गरेका छन् । उनका क्यान्भासहरू प्रश्न गर्छन्, मौन बस्छन्, र अन्ततः दर्शकलाई जिम्मेवार बनाउँछन् । आज विश्वलाई सबैभन्दा धेरै चाहिएको कुरा यही हो—नयाँ हतियार होइन, नयाँ दृष्टि । बुद्धका पदचिह्नहरू, भिक्षुहरूको पदयात्रा, र अलोकाको असहज चाल तर नरोकिने । यी सबैले भन्छन्: शान्ति सम्भव छ, यदि हामी हिँड्न तयार छौँ भने यही हिँडाइ नै तीर्थ यात्रा हो ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.