साँझ ९ बज्यो, अब सुत्ने बेला भयो । यो मैले कतै घडीमा अलार्म लगाएर राखेको होइन, बाहिर घन्टीको आवाज आउँछ—त्यही संकेत हो । म हलबाट निस्कन्छु, आफ्नो कोठामा जान्छु । मुख धुन्छु, हातखुट्टा धोएर सुत्न तयार हुन्छु ।
कोठामा एक्लै छु । एट्याच बाथरुम छ, ऐना छ । एकछिन ऐनामा आफैँलाई हेर्छु, मुस्कुराउँछु । मनमनै सोच्छु—“म यहाँ के गर्न आएको हुँ ?” छोटो संवाद आफैँसँग गर्छु, फेरि एक पटक मुस्कुराउँछु । साँच्चै, खै किन हो, यसपटक मलाई आफू मन परिरहेको छ । त्यसपछि ओछ्यानमा पल्टिँदै भन्छु—“बिहान चार बजेको घन्टी सुन्ने गरी म बिउँझिनुपर्छ ।” आफैँलाई आदेश दिएजस्तै गर्छु र सुत्छु ।
बिहान चार बजेको घन्टी बज्छ । त्यो घन्टीका लागि मैले छुट्टै अलार्म लगाउनु पर्दैन । मैले त आफैँलाई त्यो आवाज सुन्नु मात्र भनेको हुन्छु । चार बजेसँगै उठ्छु, शौचालय जान्छु, फ्रेस भएर कोठाबाट निस्कन्छु । त्यतिबेला ४:३० को दोस्रो घन्टी बज्छ । पहिलो घन्टीले भन्छ—“तिमी उठ्ने बेला भयो ।” दोस्रो घन्टीले भन्छ—“अब धम्म हलमा पुग ।”
यदि मैले यी घन्टी नसुनी गहिरो निदाएँ भने, ४:३० देखि ४:४५ बीच धर्मसेवक ढोकामा आएर बिस्तारै ढोका ढकढक्याएर जान्छन् । अझै थाहा पाएन भने, ४:४५ देखि ५ बजेसम्म दोस्रो पटक भित्र आएर सिरानी हल्का हल्लाउँछन् । आँखा खोलेर हेर्दा उनीहरूले नमस्कार गर्छन् । त्यसपछि आफैँ बुझ्नुपर्छ—“ओहो, हलमा पुग्न ढिला भएछ ।”
घरमा अलार्म बन्द गरेर फेरि सुत्ने बानी, आमाको उठाउने स्वर गीतझैँ मधुर मान्दै अटेर गर्दै सुतेको बानी, अनि बुबाको आवाज सुनेपछि आँखा मिच्दै ढोकामा पुगेर “उठिसकेँ” भन्दै उठेका बानी—यी सबैभन्दा, नितान्त फरक थियो यहाँ । कसैले चुपचाप, उठाउँदा मलाई दुख्ला कि झैँ गरेर बिस्तारै उठाइरहेको थियो ।
हलमा पुग्दा करिब ९० जना पुरुषको लाइन छ, उतिनै महिला पनि । कोही बिस्तारै हिँड्दा पनि थाहा हुन्छ—यति शान्त वातावरण ।
ए भन्नै बिर्सिएछु, कोठामा ओछ्यान मिलाइएको हुन्छ । हलमा बस्न म्याट्रेस र ओढ्ने कम्बल हुन्छ । कसैलाई बस्न गाह्रो भयो भने आवश्यकता अनुसार कुर्सी वा सानो सिरानी पनि उपलब्ध हुन्छ । त्यहाँको बसाइमा वर्ग, धर्म, स्वदेशी–विदेशी भन्ने कुनै भेद हुँदैन ।
४:३० देखि ६:३० सम्म सामूहिक ध्यान हुन्छ । ६:३० मा घन्टी बज्छ । यसले भन्छ—“तिम्रो खाजा तयार भयो, भोजन कक्षमा जाऊ ।” आफूलाई दिइएको थाल, कटौरा र गिलास लिएर पालैपालो लाइनमा बस, थालमा खाना थाप, अनि तोकिएको स्थानमा बसेर खाऊ । खाइसकेपछि थाल–गिलास आफैँ सफा गरेर आफ्नै स्थानमा राख ।
थाल थाप्नुअघि कसैलाई थाहा हुँदैन—आज के बनेको छ । थालमा आएपछि मात्र थाहा हुन्छ । नियमअनुसार कसैको मुख हेर्न पाइँदैन, साङ्केतिक संकेत गर्न पाइँदैन । बोल्न पाइँदैन । पढ्न पनि शिविरभित्र टाँसिएका सूचना बाहेक अन्य केही पढ्न पाइँदैन । अरूको थालमा हेर्ने–नहेर्ने कुरा आफ्नै नैतिकतामा भर पर्छ ।
त्यहाँ कसैले अघिल्लो दिन “मलाई के मनपर्छ” भनेर अर्डर दिएको हुँदैन । को धनी, को गरीब, कुन जात, कुन धर्म—यी कुराको कुनै अर्थ हुँदैन । यदि केही छ भने, त्यो हो—भोक र खाना ।
६:३० देखि ७:३० सम्म खाजाको समय हुन्छ । त्यसपछि व्यक्तिगत समय । कोठामा आराम गर्न, बिस्तारै हिँड्न, बाहिरका फूल, रूख र चराको आवाज सुन्न पाइन्छ । नजिकै साना पाइप र कुलोबाट बग्ने पानीको आवाज सुन्दै समय बिताउन सकिन्छ ।
१० १५ भन्दा धेरै शौचालय छन्, दिशा पिसाब लाग्यो भने ३० सेकेन्ड देखी १ मिनेट भित्रमा पुग्न सकिन्छ, सबै शौचालय एकदमै क्लीन, पानी प्रशस्त छ । बाथ्रुममा तातो चिसो पानी आउँछ, शुद्ध पिउने चिसोतातो पानी आउने धारा २-३ ठाउँमा राखिएको छ, पिउनका लागि गिलास पनि जनिकै राखिएका छन् ।
८ बजे घन्टी बज्छ—“अब धम्म हलमा आऊ ।” ९ बजे फेरि घन्टी बज्छ—५ मिनेट बाहिर आएर फ्रेस हुनू । १० बजे फेरि ५ मिनेटको विश्राम । ११ बजे घन्टी—“अब खाना खाने समय भयो ।” खाना पनि खाजाजस्तै हो, थाल उठाएपछि मात्र थाहा हुन्छ ।
१२ देखि १२:३० सम्म गुरुसँग व्यक्तिगत रूपमा प्रश्न सोध्न सकिन्छ । १ बजेसम्म आफ्नै समय—नुहाउने, कपडा धुने, घाम ताप्ने ।
१ बजे घन्टी—“अब ध्यान शुरु भयो ।” ५ बजेसम्म ध्यान, बीचमा छोटा विश्राम । त्यसपछि नयाँ साधकका लागि फलफूल, चिया वा हल्का खाजा; पुराना साधकका लागि कागती पानी मात्र । ६ बजेसम्म आराम गर्न पाइन्छ ।
६ बजे फेरि घन्टी—“अब साँझको अन्तिम साधना ।” ७ बजेसम्म ध्यान । छोटो विश्रामपछि अर्को घन्टी—अब दिनभरको अभ्यासबारे करिब १–१:३० घन्टाको प्रवचन, सत्यनारायण गोयन्का गुरुद्वारा । आफूलाई सहज लाग्ने भाषाको प्रवचन सुन्न छुट्टाछुट्टै हलमा जान सकिन्छ । त्यहाँ हामीले के गरिरहेका छौँ र किन गरिरहेका छौँ भन्नेबारे स्पष्टता पाइन्छ ।
८:३० मा प्रवचन सकिन्छ । ५ मिनेटको विश्रामपछि पुनः छोटो ध्यान । ९ बजे अन्तिम घन्टी बज्छ । यदि कुनै प्रश्न छन् भने गुरुज्यूलाई सोध्न सकिन्छ । नभए, त्यो घन्टीले भन्छ—“अब तिम्रो सुत्ने बेला भयो । तिम्रो ओछ्यान तिमीलाई पर्खिरहेको छ ।”
म अहिलेसम्म चार पटक भयो यहाँ आउन थालेको, पहिलो पटक शिविर आउँदाको यादले म बेलाबखत मुस्कुराउँछु मेरो बुझाइ कति दरिद्र थियो भनेर । मलाई थाहा थिएन, खास ध्यान भनेको के हो ? कसरी गरिन्छ ? मलाई पहिला लाग्थ्यो—मान्छे चुपचाप चाकल माडेर, ढाड सिधा बनाएर, घुँडामाथि हात तन्काएर, बुढी औँला र चोरी औँला जोडेर माथितिर फर्काएर, आँखा बन्द गरेर बस्नु नै ध्यान हो । मैले बुझेको ध्यान यत्ति नै थियो । यसभन्दा बढी कसैले मलाई बुझाएको थिएन र मैले पनि यसभन्दा बढी केही हुन्छ र त्यो जान्नुपर्छ भनेर कसैलाई सोधेको पनि थिइनँ ।
तर मलाई जान्नु थियो—के ध्यान मैले बुझेको जति मात्र हो ? यसरी बस्दा कसरी मन शान्त हुन्छ ? कसरी शास्त्रहरू लेख्ने ज्ञान आउँछ ?
यस्तै सोच्दै म पहिलो पटक शिविर गएको अनुभव सम्झिन्छु । ध्यान बस्न हलमा लगियो । मैले जानेकै तरिकाले बसेँ । केहीबेरमा विधिको जानकारी दिइयो—“तपाईंले मुख बन्द गरेर नाकभित्र आउने र जाने सासको मात्र जानकारी राख्नुहोस् । सास आफैं तान्ने होइन, आफैं फाल्ने पनि होइन । जसरी सास फेरिरहनुभएको छ, त्यसैलाई ध्यानपूर्वक हेर्नुहोस् ।”
म छक्क परेँ। ओहो ! ध्यान भनेको त सास फेर्न सिक्नु पो रहेछ । हामी बाँचिरहेकै सासले त हो तर यही सासको बारेमा कत्ति थाहा नभएको ! ध्यान भनेको बस्नु मात्र होइन रहेछ, सास फेर्न जान्नु पो रहेछ । अब मैले ध्यान जानेँ भन्ने लाग्यो ।
यो शुरुवात भयो— बिस्तारै सास शरीरभित्र कहाँ–कहाँ जान्छ भनेर सिक्ने होला । यस्तै सोच्दै आँखा बन्द गरेर सास हेर्न थालेँ तर चार–पाँच सेकेन्ड नहुँदै म आफ्नै मनमा आउने कुरासँग कुराकानी गर्न थालेछु । कहिले बचपनका कुरा, कहिले गाली खाएका घटना, कहिले भर्खरका काम—मनभित्र हुरी चलिरहेको थियो । सास कति पटक आयो–गयो, अत्तोपत्तो नै भएन ।
गुरुले भनेको विधि र मैले भोगिरहेको अनुभव मिल्यो । म पहिलो पटक दङ्ग परेँ— म अहिले यो कुरा सोचिरहेको छु भन्ने मलाई थाहा भयो, यसले मलाई चकित अनुभूति गराएको थियो ।
मान्छेले भन्छ—मन, दिमाग, बुद्धि, हृदय । म सोच्थेँ यी सबै एउटै हुन् । छुट्याउन खोजे पनि सक्दिनथेँ तर त्यही बेला पहिलो पटक अनुभवबाट यी फरक पो रहेछन् भन्ने अनुभुति शुरु भयो । ध्यानप्रति मेरो जिज्ञासा बढ्यो ।
दोस्रो दिन गुरुले भन्नुभयो—“अब सास हेर्दै–हेर्दै बिस्तारै मनले पुरै शरीरको ‘अपरेशन’ गर्नेछौँ ।”
‘अपरेशन’ सुनेर म फेरि छक्क परेँ । मैले जानेको—अपरेशन भनेको त शरीर चिरफार गरेर गरिन्छ, सासले कसरी अप्रेशन गर्छ ? म एकछिन अलमलमा परेँ, फेरि मनले भन्यो, सास त शरीरको कुना–कुनामा पुग्छ, साससँगै मन कुना–कुनामा पुगेर अपरेशन गर्ने विधि रहेछ, कस्तो दामी उपाय ! मनले मलाई झन् उत्साहित बनायो ।
सास आयो–गयो मात्र थाहा पाउनेमा म रोकिइनँ, सास नाकबाट भित्र हुँदै टाउको, पेट, हातखुट्टा कता–कता जान्छ, भित्रै यात्रा गर्न थालेँ । मलाई अनुभवको भान हुन थाल्यो—साससँगै संवेदनाहरू टाउकोतिर, पेटतिर, हातखुट्टातिर गएको जस्तो लाग्न थाल्यो ।
त्यही क्रममा मेरो माइग्रेन झन् चर्कियो । टाउको फुट्लाजस्तो गरी दुख्न थाल्यो । नाकबाट पाकेको पहेँलो सिँगान आउन थाल्यो । खोकी बढ्यो । ग्यास्ट्रिक पनि शुरु भयो । पाद निरन्तर आउन थाल्यो । ढाड यति दुख्यो कि भाँचिन मात्र बाँकी छ जस्तो लाग्थ्यो ।
सानोमा घरमा काम गर्दा ढाडको सहारा बिना केही नउचाल भनेर बुबाले गाली गर्नुहुन्थ्यो । तर म लुकेर सामाजिक कामहरूमा खत्रा सावित हुन भारी काम गर्थेँ—हलो जोत्नेदेखि असारमा रोपाइँसम्म । त्यतिबेलादेखि हल्का ढाड दुख्ने बानी बसेको थियो । काठमाडौँ आएपछि बाइक चलाउँदा पनि सपोर्ट नबाँधी चलाउथेँ । अब लाग्यो—मेरो ढाड अन्तिम अवस्थामा पो रहेछ !
घुँडा पनि बेस्सरी दुख्न थाल्यो । बुबाको घुँडा दुखिरहन्थ्यो । म नै बुबासँग अस्पताल गएको थिएँ । एक्स–रे हेरेर डाक्टरले भन्नुभएको थियो—“घुँडा खिइएको छ, ख्याल गर्नुहोला ।” त्यतिबेला सोचिनँ तर अहिले लाग्यो—बुबालाई हुने उमेरको दुखाइ मलाई नै शुरु भएछ ।
तीन दिन बिते तर ती तीन दिन मलाई तीस वर्षजत्तिकै लामो लाग्यो । प्रत्येक सेकेन्ड पूरा दिन जस्तै लाग्थ्यो । कहिले लाग्थ्यो—अब बस्न सक्दिनँ, निस्कनुपर्छ । शरीर हलका दुख्दा कम्तीमा तीन जनालाई सुनाउने बानी । मनमा नयाँ विचार आयो भने पाँच–छ जनालाई सुनाउने बानी । यहाँ भने बोल्न पाइँदैन, लेख्न पाइँदैन, पढ्न पाइँदैन ।
शरीरभरि असह्य दुखाइ हुँदा पनि भन्न नपाउने । मनमा आठ–दसवटा किताब हुने खालका विचार आउँदा पनि एक शब्द लेख्न वा भन्न नपाउने । सहायक गुरुसँग भनेँ—“म टाउकोको बिरामी हुँ । औषधि छोडेको केही महिना भयो । यहाँ बस्दा झन् बढेको छ । म यहाँ बसिरहे भने झन् बिग्रन्छ, त्यसैले म जान्छु ।”
गुरुले भन्नुभयो—“यहाँ बसेर रोग बढ्दैन । गुरुलाई पनि यो रोग थियो, विपश्यना बसेरै निको हुनुभएको हो । तपाईंको पनि रोग कम हुनेछ । गुरुले जे भन्नुहुन्छ, त्यसमा फोकस गर्नुहोस् ।”
त्यसपछि केही हौसला आयो । टाउकोकै रोग निको भएको कुरा सुनेपछि जे भए पनि बस्छु भनेर अठोट गरेँ । अठोटमा गुरुकै कुरा मात्र होइन, आफैँभित्र केही फरक पाइरहेको अनुभूति पनि थियो ।
तीन दिन आनापान गर्नुपर्छ । यसको अर्थ —आँखा बन्द गरेर बसेपछि सास आयो कि गयो भन्ने मात्र थाहा पाउनु । सास आउँदा नाकको प्वाल वरिपरि कहाँ छुन्छ, त्यो अनुभव गर्नु तर यसलाई ध्यान भनिँदैन रहेछ । यसको उद्देश्य—हाम्रो मन कहिल्यै पनि वर्तमानमा, आफूसँग बस्न सकेको हुँदैन । त्यसैले सास आउने–जाने कुरामा ध्यान केन्द्रित गराएर मनलाई शरीरमै राख्ने अभ्यास गरिन्छ । जब मन शरीरमै, वर्तमानमा बस्न थाल्छ, तब मात्र हामी मनलाई शरीरसँग ‘कुरा गर्न’ लगाउन सक्छौं—शरीरको खबर सोध्न सक्छौं ।
पहिलो पटक म साससँगै भित्रै गएर ‘अपरेशन’ गर्ने जस्तो अनुमान गर्दै बसेको थिएँ तर चौथो दिनपछि त्यो बुझाइ गलत सावित भयो । जब मन केही हदसम्म नियन्त्रणमा आउँछ, तब हामी मनलाई टाउकोमा लगेर राख्छौं र त्यहाँ के भइरहेको छ भनेर अवलोकन गर्न थाल्छौं—चिलाइरहेको छ कि पोलिरहेको छ, अरू के संवेदना छन् ? त्यसरी बिस्तारै टाउकोबाट शुरु गरेर शरीरका सबै अङ्गहरूमा मनलाई लैजाँदै, त्यहाँ भइरहेको अनुभूतिको जानकारी लिन थालिन्छ । यहीँबाट विपश्यना ध्यान शुरु हुन्छ ।
विपश्यनाको विधि पहिलो पटक लिँदा दुई घण्टा हलमा बस्नुपर्छ । हात–खुट्टा वा शरीर नचलाउने, आँखा पनि नखोल्ने । गुरुले मनलाई जहाँ–जहाँ राख्न भन्नुहुन्छ, त्यहीँ–त्यहीँ मन राख्दै शरीरभरि यात्रा गरिन्छ ।
विधिका क्रममा गुरुले पुनर्जन्मका कुरा पनि कहिलेकाहीँ गर्नुहुन्थ्यो । “तपाईंको शरीरमा बसेका पीडा वा सुखद संवेदनाहरू, मनले गरेका विकारका परिणाम हुन् । त्यसलाई तटस्थ भएर हेर्नुहोस् । पीडा छ भने ‘आया आच्चो’ नगर्नुहोस्, सुखद अनुभूति छ भने ‘वाह, कति रमाइलो’ भनेर उत्साहित नहुनुहोस् । प्रकृतिको नियम हो—केही पनि स्थिर हुँदैन, बदलिरहन्छ । अहिले पीडा छ भने केहीबेरपछि त्यही ठाउँमा सुखद संवेदना पनि आउन सक्छ । कुनै प्रतिक्रिया नदिई तटस्थ रहनुहोस् ।”
यी कुरा सुन्दा मलाई कहिलेकाहीँ निकै रिस उठ्थ्यो । पुनर्जन्म जस्ता कुरा मलाई वाहियात लाग्थे । “मलाई लाखौँ जन्म लिन परे पनि गुनासो छैन तर अहिले यो शरीरको पीडा हटोस् !” भन्ने लाग्थ्यो । शरीर दुखिरहेको, हलचल गर्न नपाएको, रून्छु झैँ भएको अवस्थामा गुरु पुनर्जन्मको कुरा गरिरहनुहुन्थ्यो । मलाई लाग्थ्यो—म विज्ञानको युगको मान्छे हुँ, २५०० वर्षअघि बुद्धले सिकाएको कुरा सही मानेर म अहिले यहाँ बसेको छु ! म मात्र होइन, यहाँ आएका सबैजना नै कस्ता बेकुब हुन् जस्तो लाग्थ्यो । विदेशीहरू देख्दा त झन् अचम्म लाग्थ्यो—“ठिक छ, नेपालीहरूले विज्ञान नबुझे होलान्, यी विदेशीहरू के तमासा गर्न आएका होलान् ?”
शरीर भित्र–बाहिर जताततै दुखिरहेको थियो । घुँडा निकालेर राखूँजस्तो हुन्थ्यो । आँखा खोल्दा ७० प्रतिशत दुखाइ कम हुन्थ्यो, बाहिर निस्किँदा ८० प्रतिशत हराउँथ्यो । त्यसैले कहिलेकाहीँ आँखा खोलेर पीडा कम गर्ने कोसिस गर्थें । अति गाह्रो भयो भने पानी पिउने वा पिसाब फेर्ने बहानामा बाहिर जान्थें तर बाहिर उभिन, घाम ताप्न वा अरू केही गर्न पाइँदैनथ्यो । धर्मसेवकले देखे भने नमस्कार गर्दै नजिक आइहाल्थे तर आँखा बन्द गरेर आधा घण्टा बस्दा शरीर आगोले पोलेजस्तो, भिरबाट लडेजस्तो दुख्थ्यो । यति हुँदाहुँदै पनि म नियम मानेर बसेको थिएँ । नियम पालना गर्ने बानी त जीवनमा खासै थिएन तर यहाँ किन हो, नियम मान्नैपर्छ भन्ने भावना बलियो भएको थियो ।
विपश्यना शुरु भएपछि दिनमा तीन घण्टा ‘अधिष्ठान’ बस्नुपर्छ—एक–एक घण्टाका तीन सत्र । बिहान ८–९, दिउँसो २–३, बेलुका ६–७ । अधिष्ठान भनेको—एक घण्टासम्म जति पीडा भए पनि हात–खुट्टा नचलाउने, आँखा नखोल्ने प्रतिज्ञा गरेर बस्नु । यो समय निकै गाह्रो लाग्थ्यो ।
पाँच दिनपछि घुँडामा केही सहजता आयो । छैटौँ दिन दुईवटा अधिष्ठान सजिलै पुरा गरेँ । पुरुष र महिला छुट्टै बस्ने–खाने व्यवस्था हुन्छ, सामूहिक साधना मात्र एउटै हलमा हुन्छ, बीचमा सिमाना हुन्छ । एकअर्कातिर नहेर्ने नियम हुन्छ । तर पाद्ने, खोकिने जस्ता कुरा रोकिँदैनन् ।
एक दिन —पुरुषतिरबाट हल गुन्जिने गरी पाद निस्कियो । उता रोकिनासाथ महिलातिरबाट त्यत्तिकै जोडले आवाज आयो । तीन–चार पटक यसरी दोहोरी चल्यो । हाँसो रोक्नै सकिएन । मैले पनि आँखा खोलेर पछाडि फर्किएँ । अरू पनि हाँसिरहेका थिए । केहीबेरमा शान्त भयो ।
अर्को दिन खाना खाएर, यहाँ चाहिँ म पूर्ण नियम मानेर बसिरहेको छु, सोच्दै थिएँ, त्यही बेलामा धर्मसेवकले “गुरुले बोलाउनुभएको छ”, भनी छेउमा बिस्तारै भन्नुभयो । गुरुज्यूले सोध्नुभयो—“हिजो किन हाँस्नुभयो ? किन पछाडि फर्कनुभयो ? त्यसो नगर्नुहोस्, त्यसले तपाईंहरूलाई नै गाह्रो बनाउँछ ।” त्यही भन्न बोलाउनुभएको रहेछ । मलाई रिस उठ्यो—सबै हाँसेका थिए, मलाई मात्र किन ?
त्यसपछि म अधिष्ठान बस्न सकिनँ । घुँडा यति दुख्यो कि खुट्टा नतन्काउँदासम्म नसहने । साँझतिर लाग्यो—रिसकै कारण गाह्रो भएको हो कि ? त्यसपछि मैले रिसभन्दा पनि आफ्नो गल्ती स्वीकारें । “मैले गरेको कुरा ठूलो के भयो र ?” भनेर मन बुझाएँ । अर्को दिन ध्यान पहिलेभन्दा सजिलो भयो । पहिलो पटक अलिकति विश्वास लाग्यो—मनका कारण शरीरमा पीडा बढ्ने–घट्ने रहेछ ।
तर कहिलेकाहीँ फेरि स्वर्ग, मुक्ति, यही मात्र बाटो जस्ता कुरा सोच्न थालेँ । धेरै सोच्दा फेरि ध्यान गर्न गाह्रो भयो । अर्को दिन ती सोच रोकेँ । गुरुका कुरा मलाई ७० प्रतिशत हावा लाग्थे ।
नवौँ दिन शरीर ‘भ्वाङ’ पार्ने अभ्यास गरियो—मनलाई निधारमा राखेर टाउको पछाडिबाट निकाल्ने, छातीमा राखेर ढाडबाट निकाल्ने, दाहिने कानमा राखेर देब्रेबाट निकाल्ने । यसरी शरीर हलुका भएको अनुभव भयो—जस्तो तौल नै छैन । तर यो निरन्तर थिएन—कहिले शरीर भारी, कहिले हलुका । एक साँझदेखि अर्को दिनसम्म निकै हलुका महसुस भयो । “यदि पुनर्जन्म हुन्छ भने पनि म त मुक्त भइसकेँ” जस्तो भाव आयो । ९ दिनको साँझ गुरुले प्रवचनमा भन्नुभयो, तपाईंहरूले यहाँ १० दिन भिक्षुको जीवन बिताउनुभयो, थालमा थापेर जे दिन्छन् त्यही खानुभयो, यो अरू कसैले दान दिएको थियो । मलाई यो कुरा सुनेर पश्चताप लाग्यो । मैले जोगीको जीवन बिताएँ, कसैले दानमा दिएको चिज खाऍं । कताकता आत्मग्लानि पनि भयो, यो हुनुको पछाडि मैले ती कुरालाई सत्य मानेको थिएँ । समाजमा भनिन्छ नि, अरू केही गर्न नसके जोगी हुनु, घरको काम नगर्ने भए गेरू वस्त्र लगाएर हिँड जस्ता कुरा सुनेका यी कानले, आज जोगीको जीवन बिताउनुभयो भनेर सुनिरहेका थिए । जे भए पनि जोगी नै पो भैयो, धेरै पटक मनले भनिरहेको थियो तर त्यसपछि टाउको दुखाइ फेरि बढ्न थाल्यो ।
दसौँ दिन बोल्न पाइने भयो । १० बजेपछि सबैले अनुभव साट्न थाले । हामी नयाँहरूको टोलीले मुक्ति र बुद्धका कुरा गर्दै बहस गर्यौं । बोलिसकेपछि शरीरको दुखाइ घट्यो, तर टाउको दुखाइ झन् बढ्यो ।
अर्को दिन घर फर्किन भन्दा केही घन्टा अगाडि जना १३ वर्षदेखि साधनामा नै लाग्नु भएको एक साधकसँग भेट भयो, उहाँ नयाँ शिविरमा धर्मसेवकका लागि आउनुभएको रहेछ । मुसलिमहरूले गर्ने साधना, हिन्दु धर्मका ऋषिमुनिहरूले किन पैतलाबाट नुहाएको मात्र देखिन्छ, यी कुराहरू उहाँले सामान्य बुझाइमा बुझ्न सक्ने गरी भन्नुभयो । अनि सामान्य जिन्दगीबाट पनि त यी गर्न सकिन्छ होला नि, जोगी, भिक्षु नै हुनुपर्छ ? मलाई यो कुरा मन परेन, जे भएनि मलाई जोगी हुनु चाहिँ छैन भनेर मैले भनेको थिएँ, जवाफमा उहाँले भन्नुभएको थियो, “तपाईँ ११ कक्षा पढदा, शुरुमा कति जना चिनेका साथी थिए ? त्यो कक्षा कति सहज महसुस भएको थियो ? पक्कै पनि स्कुलमा जस्तो सहज त भएको थिएन होला, साथीहरू नि स्कुलको जस्तो कुरा मिल्ने त लागेको थिएन होला ! तपाईं यहाँ पहिलो पटक आउनुभएको छ । सामान्य मान्छेले यो भन्दा बाहिरी जीवन नै राम्रो भन्छन् । यस्तो बेलामा तपाईँको मनमा जोगी हुन, भिक्षु हुन, सहज लाग्दैन तर जसरी बिस्तारै ११ कक्षाका साथीहरू आफ्ना लाग्न थालेका थिए, कलास आफ्नो लाग्न थालेको थियो, त्यसरी नै बानी पर्ने हो । तर जरूरि छैन, जोगी नै हुन पर्छ भन्ने । पवित्र जोगी हुन भन्दा धेरै सजिलो हुन्छ राजा बन्न”, उहाँले आन्नदसँग भन्नुभएको थियो । त्यसपछि त झन् धेरै कुरा मनमा चल्न थाले । एकछिनमा शिविरबाट निस्केर कोठामा पुग्दा टाउकोको बिरामी जस्तै भएँ । औषधि खानुपर्ला जस्तो लाग्यो तर दुई दिन नखाने निर्णय गरेँ । दुई दिनपछि बिस्तारै शरीर हलुका हुँदै गयो । केही दिनमै सिँगान बन्द भयो, खोकी हरायो, टाउको र ढाड दुखाइ पनि कम हुँदै गयो— यस्तो फिल भयो अपरेशन गरेर शरीरका सबै रोग निकालिदिएजस्तै ।
काम गर्ने जोस आयो । राति १० बज्दा निद्रा लाग्ने, बिहान उठेपछि अल्छी नलाग्ने । खाना समयमै पकाएर खाने । फुर्तिलो भएको अनुभूति । कसैप्रति पहिले जस्तो रिस नउठ्ने । कहिलेकाहीँ रिस उठे पनि—“म रिसाउँदै छु” भन्ने थाहा हुने । दोष दिन लाग्दा पनि—“म दोष दिइरहेको छु” भन्ने चेतना हुने । यही सचेतनाले जीवनमा हल्कापन र सहजता ल्यायो । र म निरन्तर ६ वर्षमा ४ पटक शिविरमा उपस्थित भएको छु ।
यस पटक मलाई लागिरहेको छ, यो भन्दा अघिल्लो पटक त मैले ध्यानका बारेमा थोरै कुराहरू मात्र बुझेको रहेछु । धेरै कुराहरू बुझ्न त बाँकी नै रहेछ ।
चार पटक आउँदाको अनुभव, म क्रमैसँग सुनाउनेछु ।

