साहित्यपोस्ट डट कम

विमलाको ‘प्रेमाश्रु’को परिचर्चा

विमलाको ‘प्रेमाश्रु’को परिचर्चा

‘प्रेम पैयाँ’, दिवस र झुमाको विवाह भएपनि माननीयले उनकी छोरी कवितासित नक्कली विवाह गराई अमेरिका पठाउँछ । अमेरिकामा प्रथम चरणका डायस्पोराका समस्यासित जुधेर कविताले पारससित विवाह गर्छे । दिवससित डिभोर्स गर्छे ।

‍‍‍‍====

बाल साहित्यकार विमला ढुंगाना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ काठमाडौँमा लोकार्पण भएको थियो तापनि यो लेखकको डायस्पोराको गृह क्षेत्र भएकोले अनेसास डिसी मेट्रो च्याप्टरले गृह लोकार्पण तथा परिचर्चा कार्यक्रम मार्च २८, २०२६ मा आयोजना गरेको बेला प्रस्तुत विमला निरौलाको ‘प्रेमाश्रु’ कथा सङ्ग्रहको परिचर्चा हो ।

विमला निरौला सिद्धहस्त लेखक हुन्, चिनाइरहनुपर्दैन । तै पनि नयाँ पाठकका लागि यति त उल्लेख गरौँ— उनको जन्म वि.सं. २०२९ (१९७२) साल वैशाख १४ मा कुमारोज, पूर्वी चितवनमा भयो र झापामा मोहन निरौलासित विवाह गरी ई. २०१० देखि अमेरिका भर्जिनियामा स-परिवार सरे । विमला जुझारु समाजसेवक र कोमल हृदयकी साहित्यकार हुन् । उनी अमेरिका आएदेखि नै सदा अनेसासको पदमा रहेर वा नरहेर पनि विभिन्न पदमा निरन्तर काम गर्दै केन्द्रको महासचिवको काम रहर लाग्दो किसिमले गरेर पनि निम्न कृतिहरू प्रकाशित गरिसकेकी छिन्— तिमी विनाको हाम्रो जीवन (बालकविता सङ्ग्रह), बाल मन (बालचित्र कविता सङ्गालो), बादल र ऋतु (बालचित्र काव्य), तीन चरी, पशुपक्षी (बालचित्र कविता सङ्गालो), बाल बगैँचा (बालचित्र कविता सङ्गालो), निर्दोष कोपिला (बालगीत सङ्ग्रह), काव्य पराग (मुक्तक सङ्ग्रह), यात्रामा देश (बाल नियात्रा सङ्ग्रह), प्रेमाश्रु (कथा सङ्ग्रह) आदि ।

सन् २०२५ मा विमला निरौला ढुंगानाद्वारा लिखित ‘यात्रामा देश’ ले पाँच सय अमेरिकी डलरको शिव लामिछाने सर्वोत्कृष्ट बाल साहित्य पुरस्कार पनि जितेको थियो । विभिन्न मान–सम्मानबाट सम्मानित छिन् ।

यो विवेच्य ‘प्रेमाश्रु’ (कथा सङ्ग्रह, २०८२) मा सम्पादन रमेश दाहालले र वर्णविन्यासको काम किशोर गौतमले गरेका छन् । मिलाप पब्लिकेशनबाट प्रकाशित यो कृति २०० पृष्ठको छ र मूल्य ने. रु. ४५० ।०० मात्रै छ । विदेशमा दूरीअनुसार छुट्टै तोकिएको होला । त्यो स्वाभाविक हो ।

यस कृतिमा ‘प्रणय प्रेम, प्रेम र मानवताको खाता, प्रेमको क्षमादान, हुर्रे!, प्रेमिक्षा, स्वप्निल प्रेम, अतृप्त प्रेम, प्रेम जीवन, अस्ताएको प्रेम, प्रेम पैयाँ, प्रेम र आराधना, आफैंसँगको प्रेम, अपराजित प्रेम, प्रेमका आँसु, प्रेम सङ्कल्प, प्रेम प्रस्ताव, प्रेमको अवशेष, भय, सपना कुरा, तीजको रहर, नारी दिवस, पुरस्कार, अनिश्चित आयु, प्रेमको पुनर्मिलन, माला र गला, भलाद्मी, अनुत्तरित बाध्यता, प्रेमील साकुरा, र बेहुला मामाको बटुक भान्जा’ गरी २९ कथा छन् ।

विवेच्य कृतिको नामकरण— ‘प्रेमाश्रु’ भित्रका कथाहरूमध्ये धेरैजसो कथाहरूको अन्त वा साधारण प्रेमका लागि रोएको होस् वा हाँसेको आँसु होस्, त्यो देखिएको छ । त्यसैले ‘प्रेमाश्रु’ नाम सार्थक छ ।

कथा ‘अतृप्त प्रेम’— यो कथालाई म लघु उपन्यासको शिलान्यास गरेको भन्छु । घरको शिलान्यास गर्दा सबै इँटा राखिँदैन, जगमा २–४ इँटा नै राख्ने हो । त्यस्तै यो कथामा उपन्यास लेखनको इँटा राखिएको छ । आख्यान भएकोले कथा र उपन्यासमा केही समानता हुँदाहुँदै पनि ती एउटै होइनन् । विमलाको कथा ‘अतृप्त प्रेम’ मा उपन्यास लेखन पद्धतिको बीज पाइन्छ । खास गरी सरल कथानकभन्दा पनि क्रमभङ्ग लेखन पद्धति (सञ्चेतना पद्धति) को प्रयोग भएको छ ।

यो जानेर वा नजानेर जसरी गरिएको भए पनि यसले विमला निरौलामा उपन्यास लेखनको सिपको ऊर्जा छ भन्ने देखाउँछ । यस सन्दर्भमा म केही पछि जान चाहन्छु । पहिले त विमलाजीलाई बाल साहित्यकार मात्र भन्थ्यौँ । त्यसपछि उहाँको एउटा कविता सङ्ग्रह ‘ओथारो बसेका सपनाहरू’ को विमोचन जर्जमेसन युनिभर्सिटीमा भएको थियो । त्यस बेला मैले भनेको थिएँ । त्यो दिनदेखि विमलाजी बालसाहित्य मात्र होइन, वयस्क साहित्यकार हुनुभएको कुरा त्यो कृतिले प्रमाणित गरेको थियो ।

त्यस्तै आज यो कृतिको कथा ‘अतृप्त प्रेम’ पढेर म भन्छु— विमलाजी वयस्क साहित्यकार मात्र होइन, कथाकार भएकी छिन् । त्यति मात्र होइन, अब भविष्यमा कथा ‘अतृप्त प्रेम’ लाई अलिकति सिप थपेर अलग्गै मुद्रण गरेमा लघुउपन्यास बन्न सक्छ । त्यसैले अलिकति मेहनत गरेर सचेतना पद्धतिमा लेखेमा अझ क्रमभङ्गतालाई नियोजित रूपमा बढाएर लेख्न सकेमा निरौलाले अर्को पटक एउटा उपन्यास लिएर आउन सक्नुहुन्छ । म उहाँलाई यही सन्देश दिन चाहन्छु कि अब उपन्यास लेखनको प्रयोग गर्नुहोस् ।

कथा ‘अतृप्त प्रेम’ का विविध पक्ष— कथानक: आदि, मध्य र अन्त । मध्य भागमा क्लाइमेक्स तब हुन्छ जब अनिलले डोल्माको नाठो स्पेनिक मारिसेलाई गोदेर जेल जान्छ । नेपालमा प्रारम्भ भएको कथा न्युयोर्कमा उचाइमा पुग्छ र फेरि नेपालमै पुगेर उपसंहार हुन्छ । तर यो सधैँ सरल नेपाली पुरानो कथानक बुन्ने पद्धतिमा न लेखिएर नयाँ सञ्चेतना प्रविधिसँग मिल्दो छ ।

प्रेमाश्रु

औकथा अन्तको दृश्य अस्पताललाई प्रारम्भमा ल्याएर राखिएको छ र ४२ वर्ष पहिलेदेखिको जीवनवृत्त वाचन गर्दै अन्तमा अस्पतालमा आएर कथा अन्त अथदेखि इति यहाँ जोडिन्छ । यहाँ अथ र इतिको बीचमा मध्यमा क्रमिक रूपमा पूर्वस्मृतिमा कथा भनेर अन्त गरिएको छ । यो कथाका लागि यो उत्तम छ ।

यसैलाई क्रमोच्छेद वाष्प चेतना पद्धतिमा लेखेर प्रस्तुत गरियो भने यही एउटा सञ्चेतना प्रविधिमा लेखिएको लघु उपन्यास बन्न सक्छ । क्लाइमेक्सबाट प्रारम्भ गरेर आदिको कथा अनि मध्यमा आदितिरको अनि पुनः मध्यमा आउने यसरी एउटा कथासूत्रमा विभिन्न राग र रङका उपकथाहरू जोड्दै फेरि मूल कथासूत्रमा आएर फेरि अर्को रतिरागको उपकथा जोड्ने अनि क्लाइमेक्समा आउने यही क्रमोच्छेदको क्रमले कथानकको डोरी विभिन्न उपकथाका उदात्त घटनाहरू गाँस्दै गएर अन्तलाई आदिसँग जोडेर बिट मारियो भने एउटा आजको जटिल समाजको जटिल कथानकको प्रविधिमा यो उपन्यास बनाउन सकिन्छ ।

त्यसैले यो सन्दर्भमा यी कथाकार विमला निरौलामा उपन्यासका बीज छन् । विमला निरौला पहिले त सन् २००७ मा अनेसासबाट बाल साहित्यका पुस्तक प्रकाशन गर्दै बाल साहित्यकार बनिन् । २ वर्ष पहिले उनी वयस्क प्रौढ कविता ल्याएर उनी वयस्क साहित्यकारमा उठिन् । यस पटक यो ‘प्रेमाश्रु’ ले उनलाई कथाकारमा प्रतिस्थापित गरेको छ । अर्को पटक उनी उपन्यास कृति लिएर पाठकको अगाडि आउने कुरामा विश्वस्त हुन सकिन्छ । यो कुरा यसको कथानकको बुनोटले सङ्केत गर्दछ ।

उद्देश्य— प्रणयमा जो जसको जति गल्ती भए पनि त्यसलाई बढाउनुभन्दा कृपाभावले समर्पण गरेर कृतार्थ भावले जीवनको प्रेमको अर्थ खोज्ने प्रयत्न गर्नु नै जीवनको लक्ष्य हुनुपर्छ । आदर्शोन्मुख यथार्थवादी उद्देश्य हो ।

वस्तु— नेपाल समाज आज सामन्ती रुढी अनि आधुनिक समाज र डायस्पोराको सञ्जालमा रुमल्लिएको छ । यस्तो अवस्थामा मागी विवाह तिरस्कृत छ र प्रेम विवाह प्रोत्साहित छ, तर प्रेम विवाहमा विकृति बढेको छ अपेक्षाकृत । त्यसैले जस्तै भए पनि अभिभावकहरूले दिएको ठाउँमा गई घर समाल्ने कन्या प्रकारको विवाह उत्तम हुन्छन् ।

त्यसैले त ललिता जस्ता आदर्श नारी पात्रको सिर्जना गरी बिग्रेको पति अनिललाई पनि जीवनको अन्तमा पश्चातापसहित ललिताकै शरण पर्ने बनाएकी छिन् । आज सती सावित्री जस्ता ललिता पाउन त कठिन छ, तर आदर्शोन्मुख कथाको उद्देश्य भएकाले यो स्तुत्य नै छ । यही कथामा कुसुम पटेल जस्ता आदर्श नारी पात्रको माध्यमबाट आदर्श नारीको नमुना प्रस्तुत गर्ने उद्देश्य राखेकी छिन् ।

पात्र— मुख्य पात्र अनिल, ललिता र डोल्मा हुन् । सहायक पात्रमा लाहुरे, मनोहर पटेल, कुसुम पटेल, रमेश, नाठो स्पेनिक मारिसे, ज्योति, दीपक ।

ललिता, मनोहर पटेल, कुसुम पटेल, ज्योति र दीपक आदर्शोन्मुख यथार्थवादी पात्र हुन् भने डोल्मा, रमेश, नाठो स्पेनिक मारिसे र लाहुरे यी आदर्शहीन यथार्थ पात्र हुन् । सत्यता त यी खराब पात्रको चरित्रमा पनि छ । रमेश दलाल हो, लाहुरे, चरित्रहीन डोल्मा र नाठो स्पेनिक मारिसे यस्ता पात्रले कथाको यथार्थतालाई प्रमाणित गर्दछन् ।

स्थान— नेपालका पण्डितका गाउँघर, काठमाडौँका दलालहरूका दरबार, तल्लो बाटो अमेरिका पस्ने डंकीरोड र अमेरिकाको न्युयोर्क लगायतका स्थान छन् ।

काल— यो समसामयिक ४० वर्षको उथलपुथलको समय हो जसमा पञ्चायतको दमन, प्रजातन्त्रको पुनर्बहालीको नाममा फायदा उठाउनेहरू, गणतन्त्रको नाममा विदेश पलायनको हुरीको परिवेश हो ।

शैली— सरल भाषा, सम्प्रेषण कलामा गाम्भीर्य, प्रसाद गुण भएको भाषा, भाषामा संस्कृत—अङ्ग्रेजी—ठेट नेपाली—उखानटुक्का—सुक्ति, उक्ति, बिम्ब, महान् वाणी, साधारण विविधताले उत्कृष्ट देखिन्छ ।

यो ‘अतृप्त प्रेम’ कथामा भएका साधारण धेरै बुँदा छन् तिनको विस्तृत अध्ययन गर्नसकिन्छ । पात्रका विविधता र ललिता, कुसुमका आदर्श चरित्रको विस्तृत व्याख्या गर्न सकिन्छ । स्थान, काल र लेखन प्रविधिबारे विस्तृत अध्ययन गर्न सकिन्छ ।

यो आलेख ‘प्रेमाश्रु’ यौटा कथा सङ्ग्रहको समग्र अध्ययन गर्न गर्नको लागि थियो तथापि ‘अतृप्त प्रेम’ कथामा यौटा औपन्यासिक पक्षमा नै यति बढी उल्लेख गरेपछि योभन्दा बढी जाने ठाउँ रहदैन ।

‘अतृप्त प्रेम’ कथा बाहेक ‘प्रेमाश्रु’ कथा सङ्ग्रहमा भएका २९ कथामध्ये अरू २८ वटा कथा संक्षेपमा यस प्रकार छन् ।

‘प्रणय प्रेम’, फेसबुकबाट लभमा परेर विवाह गरी भ्यालेन्टाइनडे मनाउन यौटा रेष्टुरेन्ट जान्छन् र रक्सीले लडेर त्यहीबाट डिभोर्स गर्ने निर्णय गर्छन् । विवा गरेको १२ दिनको दिनमा नै डिभोर्स हुन्छ । त्यो घटना देखेर पैसाको लागि झगडा गरेका लोग्ने स्वास्नी तुरुन्तै प्रेममा फर्कन्छन् । यो पश्चिमा विकृति र पूर्वीय दृष्टिकोणको समर्थन गर्दछ ।

‘प्रेम र मानवताको खाता’, चाइनिज डायस्पोर आइलीले न्युयोर्कमा पसल खोलेर गरेको जनसेवा र उनको सेवक डिएगोले पसल सञ्चालन गर्दछ र आइली वृद्धा भएपनि सबैले उनलाई आमालाई माया गर्छन् । यो प्रेम र मानवीयताको कथा हो ।

‘प्रेमको क्षमादान’, यसमा मैले लफंगा लुटेरा केटाहरूलाई प्रेमको क्षमादान दिएको छ ।

‘हुर्रे !’, चाँदनीले पढेको चञ्चलाको आत्महत्या यौटा सुन्दर जीवनको त्यागमा गरिएको साहसको नाम हो — हुर्रे! यौटा बीभत्स विजयको उद्घोष जुन डिप्रेसनको परिणाम थियो ।

‘प्रेमिक्षा’, इच्छा, दीक्षा र सदीक्षाहरू छोराको मात्र हैन छोरीको पुर्खौली अधिकार मिलोस् भन्ने कामना गरिएको छ ।

‘स्वप्निल प्रेम’, माओवादी सेना, जनसेवा, अर्जुन र अनिता पात्रहरू र कोरोनाको कथा छ ।

‘अतृप्त प्रेम’, यसबारे अगि नै लेखियो ।

‘प्रेम जीवन’, न्युयोर्कमा कोरोना पीडितले चिन्तित भएर होइन कि यो सुन्दर जीवनमा रमाएर प्रेम पूर्वक बाँच्नुपर्छ भन्ने सन्देश दिन्छ ।

‘अस्ताएको प्रेम’, ९५ वर्षका बाबा र ८५ वर्षीय आमाको बीच प्रेमको नोटबुकमा छोरीले पढ्छे ।

‘प्रेम पैयाँ’, दिवस र झुमाको विवाह भएको भएपनि माननीयले उनकी छोरी कवितासित नक्कली विवाह गराई अमेरिका पठाउँछ । अमेरिकामा प्रथम चरणका डायस्पोराका समस्यासित जुधेर कविताले पारससित विवाह गर्छे । दिवससित डिभोर्स गर्छे । दिवसले पनि ग्रिनकार्ड लिन्छ र झुमालाई समाल्छ ।

‘प्रेम र आराधना’, अमेरिकाबाट भाइटीका लगाउन ५ वर्षपछि गएकी बहिनीको बेवास्ता गरी स्वास्नीको पछि लाएर ससुराल गई बहिनीलाई रुबाएको पीडा चित्रित छ ।

‘आफैँसँगको प्रेम’, निमाको कृति छिमेकी हेरिसकी आमाले प्रकाशन गरिदिने आदि कुरा छन् ।

‘अपराजित प्रेम’, पतःपतित्व भएको पति रमेशको लासमा नै सन्ध्या मरेर आदर्श स्थापित गर्छिन् ।

‘प्रेमका आँसु’, प्रेमाश्रु नामको लागि सार्थकता यो कथाले दिन्छ । कारुणिक छ ।

‘प्रेम सङ्कल्प’, इशिकाकी आमालाई आकाशका आमाबाले घाँटी अँठ्याएर मारेका छन् गर्भ फाल्न मानिन भनेर । यो कुरा इशिकाले दीपकलाई सुनाई र आकाशले पनि साबिती दियो भिडियो रेकर्ड गरी कोर्टमा लगेर । अन्तमा ती दुवै बिमार भएर मरणासन्न भए । त्यसको पाप लाग्यो । मकै पोल्ने आमाबाट पाएको सूचनाले रहस्य खुल्छ ।

‘प्रेम प्रस्ताव’, चञ्चला, रोजी, निमा, मुस्कान र दिनेशका प्रेमकहानी हो ।

‘प्रेमको अवशेष’, भेरिको किनारमा धेरै प्रेमको बालुवामनि परेको तथ्यलाई यो कथाले सचित्र बनाउने प्रयत्न गरेको छ ।

‘भय’, भयभीत भएर भगवान् भरोसा हैन, आफ्नै मनोव उठाएर उठी कोभीडबाट बाँच्न सकेको कथा हो ।

‘सपनाको कुरा’, यो छोटो कथा हो चुरोट खान हुँदैन भन्छ ।

‘तीजको रहर’, दीपक र दीपा दुवैको सारी किन्ने रहरको उग्रता देखिन्छ ।

‘नारी दिवस’, नारी दिवसलई नेताहरूले खेलो बनाएको देखिन्छ ।

‘पुरस्कार’, पुरस्कारमा व्यङ्ग्य छ । ‘अनिश्चित आयु’, संयुक्त कविता सङ्ग्रहका एक लेखक रामचन्द्र अचानक मरेको कथा हो । ‘प्रेमको पुनर्मिलन’, रुपेश र रश्मीको प्रेमविवाह युरोप र अस्ट्रेलियामा गएर १५ वर्षपछि फर्किएर पूरा हुन्छ, तर हेर्दा ती तिनै राम र गौरी थिए । यो नाटकीय छ ।

‘माला र गला’, १२ वर्षपछि भाइटीकामा आउँछ । त्यसबेला बहिनीले गलाभरि माला लगाएको कथा हो । ‘भलाद्मी’, राजाराम देश बेचुवा भलाद्मी हो । सहानाले भाटाले हान्दा ऊ मर्छ । ‘अनुत्तरित बाध्यता’, घुसखोरको कथा हो । ‘प्रेमील साकुरा’, जापानले साकुरा अमेरिकालाई दिएको उपहारको मानवीकरण हो ।

‘बेहुला मामाको बटुक भान्जा’ यो कथा लामो छ र यसले डायस्पोराका नेपाली मूलका नेपालीलाई नेपाली संस्कृतिको पाठ सिकाउन अत्यन्त उपयोगी छ ।

यी कथाहरूमा उद्देश्य, विषयवस्तु, कथानक र पात्रका हिसाबले समग्रमा यसरी उल्लेख गर्न सकिन्छ—

उद्देश्य— मानवीय प्रणय सम्बन्धका लागि बाधा पुर्‍याउने विभिन्न विकृतिलाई उजागर गरेर समाजलाई स्वस्थ प्रणय सम्बन्ध विकसित गर्न प्रेरित गर्नु हो ।

विषयवस्तु— समसामयिक सांस्कृतिक विकृति, आर्थिक शोषण, विदेशिनुको बाध्यता र आप्रवासमा भोग्नु परेका समस्या, प्रणयका विकृति र बेइमानी तथा आदर्शताको खोज गरिएको छ ।

कथानक— केही सरल छन् भने केही जटिल ।

पात्र— पुरुष, महिला, बालक, युवा, वृद्ध, धनी, गरिब, चोर, साधु, रोगी, निरोगी, देशी, विदेशी, नेपाली, आप्रवासी नेपाली, नेपाली मूलका विदेशी नेपाली, मानव, पशुपन्छी, कीराफट्याङ्ग्रा, बटवृक्ष, जलवायु, आगो, पानी, प्रगतिशील, जड, परिवर्तनशील, अपरिवर्तनीय, अन्तर्मुखी, बहिर्मुखी ।

स्थान— न्युयोर्क, काठमाडौँ ।

काल— वर्तमान ।

प्रवेश— आधुनिक, समसामयिक ।

शैली— कला— सरल, सुन्दर पदावली ।

भाषा— प्रसाद गुणयुक्त नेपाली भाषाका पदावली, अङ्ग्रेजी शब्दको प्रयोग पनि छ, तर संस्कृतका तत्सम शब्दभन्दा तद्भव शब्दको प्रयोग बढी देखिन्छ । ठेट नेपाली शब्दहरू धेरै छन् ।

उखानटुक्का— प्रशस्त ।

सुक्ति, उक्ति, महान् वाणी— केही उद्धृत गर्न सकिनेछन् ।

उनका कथाका आकार केही लघु छन् भने केही लघु उपन्यासजस्ता दीर्घ छन् ।

कृतिमा साहित्यकार खेमनाथ पौडेलको भूमिकाले कृतिलाई महिमामण्डित गरेको छ भने अनेसास केन्द्र बिओटीका सभापति पद्म विश्वकर्माको शुभकामना र नारी साहित्यकार भागीरथी श्रेष्ठका ‘शुभकामनाका केही शब्दहरू’ ले कृतिबारे पनि प्रकाश पारेका छन् ।

कथाकार विमला निरौलाको लेखकीयमा आत्मस्वीकृति छ— ‘केही लामा र केही छोटा कथाहरू बुन्ने प्रयास गरेकी छु । अतिसाधारण शब्दहरूमा यथार्थका सिलसिलाहरू नै मेरा कथाका विशेषता हुन् ।’

यो कथा सङ्ग्रहले नेपालभित्र र बाहिरका नेपाली साधारण पाठकलाई पनि सजिलो तरिकाले नेपाली भाषा र संस्कृतिको ज्ञान प्रदान गर्दछ । बाल साहित्यकारले लेखेको कथासङ्ग्रह भएकाले पनि यो यति सरल र सरस बनेको हो ।

एक पटक पढ्न थालेपछि छोड्न मन लाग्दैन । यही यसको सफलता हो ।

अझ मेहनत गरेर ‘अतृप्त प्रेम’ कथाभन्दा बृहत्तर आयामको एउटा उपन्यास सिर्जना गर्न प्रेरणा मिलोस् ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.