बहुमुखी प्रतिभाका धनी साहित्यकार भूमिराज बस्ताकोटीले परिस्थिति (उपन्यास), स्वैरकल्पना र उपन्यासकार ध्रुवचन्द्र गौतम (समालोचना), निर्मोचन (उपन्यास), निमित्त मात्र (उपन्यास) र कार्निभल (कथा सङ्ग्रह ) पछि ‘विक्रमादित्य ! यसको उत्तर भन !’ कथा सङ्ग्रह लिएर उपस्थित भएका छन् । त्यसो त अहिले पोखरेली साहित्यिक मञ्चहरूमा कृति समीक्षा गर्नुपर्दा रोजाईको पहिलो पङ्क्तिमा आउने नाम भूमिराज नै हो । विभिन्न कार्यपत्र प्रस्तुतिमा खरो टिप्पणीकर्ता पनि उनै देखिन्छन् । अध्ययन, अनुसन्धान, लेखन र समालोचनामा आफुलाई स्थापित गरेरै परैबाट देखिने व्यक्तित्व निर्माण गरिसकेका छन् । लेखनमा आफ्नै विशेषताको किल्ला निर्माण गर्न सफल भएका छन् । दर्शनप्रति गहिरो रुचि र अध्ययन भएकाले उनका सिर्जनामा त्यसका छिर्काहरू पर्याप्तै देखिन्छ ।
‘विक्रमादित्य ! यसको उत्तर भन ।’ कथा सङ्ग्रहमा बाइस थान कथाहरू समेटिएका छन् र सर्सर्ती पढ्दा ती कथाहरू निम्न विषयवस्तु वरिपरि सिर्जित छन् ।
पहिलो कथा ‘निःशब्द’ले विविध कारणले जीर्ण र धूजा धूजा परेको गाउँको निरीहता र पीडाको कथा बोकेको छ । गाउँबाट पलायन हुँदै गएका मानिस र सामाजिक विचलनलाई चित्रण गरेको छ । जहाँ माओवादी द्वन्द्वका पाप्राहरू पनि देखिन्छन् । पारिवारिक विघटन र वृद्ध बाबुआमाप्रति सन्तानहरूको अमानवीय व्यवहारको दारुण कथा हो ।
‘नाटक’ कथामा पौराणिक ग्रन्थ महाभारतका पात्रहरूलाई आधुनिक परिवेशमा उतारिएको छ । कथाकारले ती आदर्शवान् पात्रहरूलाई वर्तमान सामाजिक परिवेशमा प्रयोग गरेका छन् । श्रीकृष्ण र पाण्डवहरूप्रति आस्था राख्ने पाठकहरूलाई यो प्रयोग अप्रिय लाग्नु स्वाभाविकै हो ।
‘एकदिन’ कथाले जीवनको यौनिक असन्तुलनका धर्साहरू तानेका छन् । बैँसालु प्रेम, विवाह, असमझदारी, विछोड, विद्रोह र जीवनका विप्ल्याँटा पाटाहरू उघारेका छन् । कथाकारले आफूलाई पनि कथामा उतारेर मूल पात्रलाई स्वर्गीय बनाउनु कथाको प्लट अनुसारको बाध्यात्मक परिस्थिति सिर्जना गरेका छन् ।
‘एउटा सपनाको कथा’ एउटा बन्दागोभी भुत्ल्याएजस्तो कथा हो । शब्दको जामा लगाएको दार्शनिकझैं अथवा प्राचीन सोफिस्टहरूझैं लेखक सपनामा शब्दहरूका घोडा कुदाउँछन् । कथा पढिसक्दा पाठकले गोभीको अन्तिम पत्ता चुँडिसकेपछि बाँकी जे रहन्छ, त्यही पाउँछ ।
‘जयलालको मुरली’मा जयलाल छ, मुरली छ र साथसाथै परम्पराप्रसाद र क्रान्तिबहादुर छन् । क्रान्ति र परम्पराको द्वन्द्व र ती दुवैको अर्थहीनतालाई कथाले बताउँछ ।
‘कार्निभल’ कथासङ्ग्रह नै प्रकाशित भैसकेको सन्दर्भमा यस कृतिमा ‘कार्निभलः २’ नाम दिइएको कथामा पाँचओटा उपकथा केटो, बुढीआमा, शर्माजी, शवयात्रा र पण्डितजी समावेश गरिएको छ । लघुकथाभन्दा केही लामै भए पनि लघुकथाकै झल्को र स्वाद दिन पाँचोटै कथा सक्षम छन् । व्याङ्ग्य नै यी कथाको सार हो ।
‘लुखुरेको उत्तरकथा’मा वृद्ध लुखुरे र उसको पनातिका साथै केही झिनामसिना पात्रहरू भएको र माओवादी द्वन्द्वसँग नाल जोडिएको कथा हो ।
‘देश प्रश्नै/प्रश्नको पहाड’मा एउटा अनाथझैँ बनेको देशमा जन्मेको ‘म’ पात्र छ, जो विदेश भास्सिन अभिशप्तहरूको प्रतिनिधि पीडा बोक्न अभिशप्त छ ।
‘’बिजुलीको तार’ घरको अगाडि टाँगिएको छ र त्यहाँ चित्राङ्कित कोलाज पाठकले छामछुम गर्ने हो । विषयहीन विषयवस्तुलाई निबन्धात्मक रूपमा प्रस्तुत गरिएको छ ।
‘लासघर’ अहिलेको सामाजिक र आर्थिक परिवेशले लासघरलाई अनिवार्य आवश्यकताको सूचिमा राखिदिएको छ र लासघरमा राखिने लासलाई नै हो । तिनै लासहरूको पिरलोको कथा हो, यो लासघर ।
‘परासर-पृथ्वी सम्वाद’मा परासर ऋषि र पृथ्वीबिचको सम्वादलाई केही उत्तरआधुनिक स्वैरकाल्पनिकता र व्याङ्ग्यको चास्नीमा डुबाएर जेरी पकाएका छन् ।
‘पाउरोटी ‘ पुरानो पुस्ता, जस्को अचानक पाउरोटी भन्ने अहिलेको चर्चित खानेकुरासँग जब अचानक जम्काभेट भयो, त्यस समयको अनुभूतिको यथार्थपरक कथा हो । त्यसको पात्र कथावाचक आफैँमात्र नभई पछिल्लो अग्रज पुस्ताका प्रायः सबै हुन् ।
‘शुभमङ्गल’ मा धर्मको नाममा गरिने धन्दा, लुटखसोट र सिन्डिकेटको तस्वीर देखाइएको छ ।
‘खसीको मासु’ मा भानूको मासुसँगको सम्बन्ध किन सुखद रहन सकेन त, त्यसै प्रश्नमा उत्तर खोजिएको छ ।
‘ऊ अर्थात् गङ्गाप्रसाद अधिकारी’ कथामा कुनै वैज्ञानिक योजना बिनाको भुसतिघ्रे विकाशले गाउँलेको जीवन कसरी मरुस्थलीकरण गरिरहेछ भन्ने बताउँछ ।
‘पृथ्वीको खण्डभारत’मा महाभारतका पात्रहरूलाई नयाँ रूप, शैली र सम्वादसहित अवतरण गराइएको छ ।
‘क्षेत्राधिपति’ ईन्द्रमायासँग तुलनात्मक/अतुलनात्मक कथा बुनिएको छ र क्षेत्रको अधिपति को ? कस्तो क्षेत्रको अधिपति ? भन्ने बुझ्न कथा नै पढ्नुपर्छ ।
‘विक्रमादित्य ! यसको उत्तर भन !’ ऐतिहासिक राजा विक्रमादित्य उत्तराधुनिक उन्मुख नेपालमण्डलमा पदार्पण गर्दा युगान्तरका सांस्कृतिक राजनैतिक अन्तरालमा अचानक जन्मिएको प्रश्नलाई राजाले के उत्तर देलान् त ?
‘स्वामी श्री अविचलानन्दजी महाराज’ कथामा स्वामी, ब्राह्मण, ब्राह्मणी र आश्रम अहं र यौन चास्नीमा लटपटिएको दुःखान्त विवरण छ ।
‘प्राध्यापक उममाथ पाध्या’मा विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा कार्यरत प्राध्यापकहरूको प्राज्ञिक, नैतिक र चारित्रिक रुपमा स्खलन भई समग्र प्राज्ञिक मर्यादामा प्रश्नचिह्न उठेको छ, भन्ने देखाइएको छ ।
‘क्रूरताले अर्थ गुमाएको समय’ साम्प्रदायिकताको मनोदशाले ग्रसित समाज कसरी पिशाच नगरीमा रुपान्तरण हुन पुग्छ, भन्ने भयावह दुःस्वप्नको चित्रण गरिएको कथा हो । तर यो कथा स्वैरकाल्पनिक नभई यसै धरतीका भौगोलिक टुक्राहरूमा घटेका मानवतालाई शर्मले पानी पानी बनाउने कुरूप घटनाको यथार्थ तस्वीर हो ।
सङ्ग्रहको अन्तिम कथा ‘घिरौंलाको झाल’ हो । माओवादी द्वन्द्वका गाउँलेका अनुहारमा पारेका घाउका डोबहरू, गाउँबाट झरेका मानिस कहाँ अड्केका छन् र तिनका सपना र नियतिका कष्टकर यात्राको अवसान कस्तो छ ? देख्न पाइन्छ ।
वास्तवमा भूमिराज बस्ताकोटी फरक तरिकाले कलम चलाएर आफ्ना कुरा फरक तरिकाले सम्प्रेषण गर्न रुचाउने स्रष्टा हुन् । उनका पात्रहरू पौराणिक, ऐतिहासिक र साहित्यिक कृतिहरूमा पूर्ववर्ती स्रष्टाहरूले प्रयोग गरिसकेका हन् र तिनलाई टपक्क टिपेर वर्तमान परिवेशअनुसार ढालेर प्रस्तुत गर्न रुचाउँछन् । प्रस्तुत कथासङ्ग्रहमा पनि त्यही प्रयोग गरेका छन् । यानि उनी प्रयोगवादी स्रष्टा हुन् । यथार्थको धरातलमा स्वैरकाल्पनिकताको प्रयोग गर्न पनि उत्तिकै खप्पिस छन् ।
समाजलाई गहिरिएर अवलोकन गरी प्रचलित सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक घटनाहरूलाई उपर्युक्त पात्र र परिवेश खडा गरेर चोपिलो र चोटिलो पाराले कथा वाचन गरी अन्तमा चरमोत्कर्षमा पुर्याएर पाठकलाई चमत्कृत गराउन कथाकार खप्पिस देखिन्छन् ।
छोटा छोटा वाक्य र बिम्ब, प्रतीक हुँदै वक्रोक्ति र व्याङ्ग्यको प्रचुरता प्रयोग गरिएका सम्वादले मनमोहन गर्दछन् । आफ्नै वरिपरीको परिवेश हुँदाहुँदै अत्याधिक स्वैरकाल्पनिकताको प्रयोगले सामान्य पाठकका लागि दुरुह बन्ने सम्भावनालाई नकार्न सकिँदैन ।
सामाजिक वेथिति, विकृति, विसंगति, निर्जनोन्मुख ग्रामीण परिवेशले उब्जाएका पीडा, मान्छेभित्र लुकेर बसेको पाशविकता, मानवीय मूल्यह्रास, अवसानोन्मुख संस्कृतिको दुरावस्थाको मार्मिक चित्रण गर्न कथाकार सफल छन् ।
कतिपय कथाहरूमा जेरीभित्र गुलियो भरेझैं यौनको चास्नी भरिएको छ । यौनाकर्षण, यौनोवेग, इतर यौन सम्बन्ध र यौन दुरुपयोगलाई चिटिक्क पारेर बुनेका छन् । परासर, प्रोफेसर, कथित स्वामी यौनपिपासा पीडित पात्रका रूपमा अङ्कित गरेका छन् ।
पूर्वीय दर्शनको अध्येता हुँदाहुँदै पनि पूर्वीय वाङ्मयले आदर्श मानेका पात्रहरूको उपहास र तीप्रति व्यङ्ग्य गर्न पटक्कै हिचकिचाएको पाइन्न । उनले ईश्वरको मृत्युको घोषणा गरेका छन् कि छैनन्, तैपनि उनले वेदव्यास पढेर फ्रेडरिक नित्सेको सिरक ओढेको भान हुन्छ ।
शीर्ष कथा ‘विक्रमादित्य ! यसको उत्तर भन !’ प्रतिनिधि कथा हो र यो वास्तवमा एउटा प्रश्न मात्र होइन, समग्र कथासङ्ग्रहले उठाएको गहिरो सामाजिक–दार्शनिक चुनौती पनि हो ।
वास्तवमा उल्लेखित ऐतिहासिक पात्र विक्रमादित्य प्रतापी राजा हुनका साथै न्याय, सत्य र सुशासनप्रति प्रतिबद्ध राजा हुन् । तर कथामा उतारेर उनलाई सोधिएको प्रश्नको उत्तर दिन सकेका छन् कि छैनन् ! या के उत्तर दिनुपर्थ्यो, त्यो पाठकको वोध क्षमतानुसार बुझ्ने कुरा हो ।

