साहित्यपोस्ट डट कम

विद्यालय शिक्षाको संरचनात्मक शल्यक्रिया: नीतिगत पवित्रता र आगामी कार्यदिशा

विद्यालय शिक्षाको संरचनात्मक शल्यक्रिया: नीतिगत पवित्रता र आगामी कार्यदिशा

पृष्ठभूमि र नीतिगत प्रस्थानविन्दु

नेपालको विद्यालय शिक्षा क्षेत्रले लामो समयदेखि मागमा आधारित (Demand-driven) तदर्थवादी बजेट विनियोजन, पहुँचवालाको दबाब र वितरणमुखी राजनीतिको सास्ती खेप्दै आएको छ । विगतका सुधार प्रयासहरू भौतिक संरचनाका केही थान इँटा थप्ने र पहुँचका आधारमा विद्यालय अनुमति बाँड्ने परिधिभित्रै सीमित रहे । वर्तमान सरकारले अघि सारेका नवीनतम नीति, योजना र रणनीतिहरूले यो पुरातन, थाङ्ग्रिएको परिपाटीलाई भत्काउँदै “मागमा आधारित होइन, आवश्यकतामा आधारित (Need-based) सुनिश्चित र प्रत्यक्ष लगानी” को वैज्ञानिक जग बसाल्ने बलियो सङ्केत गरेका छन् । शिक्षामा राज्यको लगानीलाई औचित्यपूर्ण र परिणाममुखी बनाउन सर्वप्रथम देशव्यापी रूपमा विद्यालय पूर्वाधारको वस्तुनिष्ठ अडिट (Infrastructure Audit) र भौगोलिक सूचना प्रणाली (GIS) मा आधारित विद्यालय म्यापिङ (School Mapping) अनिवार्य सर्त हुन् । कुन भूगोलमा कस्तो पूर्वाधार आवश्यक छ, कहाँ विद्यालयहरूको सङ्ख्यात्मक बाहुल्य तर गुणात्मक शून्यता छ र कहाँ स्रोतहरूको दोहोरोपन (Duplication) भएको छ भन्ने कुराको वैज्ञानिक पहिचान गरी निर्माण र पूर्ण कार्यान्वयन गरिने गुरुयोजना (Master plan ) नै आगामी शैक्षिक रूपान्तरणको मुख्य वैज्ञानिक तथा वैधानिक मार्गचित्र (Road map ) तथा कार्यान्वयन ढाँचा (Implimentation design) बन्नेछ ।

मेगा विद्यालय, व्यवस्थापकीय नवप्रवर्तन र स्याटेलाइट मोडेल

यस रणनीतिको सबैभन्दा साहसिक, तार्किक र व्यावहारिक कदम ‘स्कुल मर्जिङ’ (विद्यालय गाभ्ने) र ‘मेगा विद्यालय’ (Mega Schools) को अवधारणा हो । थोरै विद्यार्थी र न्यून पूर्वाधार भएका छरिएका साना विद्यालयहरूलाई एकीकृत गरी भौतिक, शैक्षिक, वातावरणीय तथा आर्थिक दृष्टिकोणले पूर्ण रूपमा सुविधासम्पन्न र अत्याधुनिक मेगा विद्यालयहरू स्थापना गर्दा राज्यको फजुल प्रशासनिक खर्च नियन्तरण हुनेछ । यी विशाल विद्यालयहरूमा पर्याप्त प्रविधि, समृद्ध पुस्तकालय, अत्याधुनिक प्रयोगशाला र सुरक्षित सिकाइ वातावरण (Learning Environment) सुनिश्चित गर्न सकिन्छ, जसले सार्वजनिक शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउनेछ । यही रूपान्तरणकारी व्यवस्थापनभित्र भूगोलको बाध्यता र पहुँचको संवेदनशीलतालाई सम्बोधन गर्न ‘स्याटेलाइट स्कुल’ (Satellite School) लगायत को व्यवस्था गर्न सम्पूर्णताको नवप्रवर्तनकारी व्यवस्थापकीय मोडेल (Innovative Management wholestic Model) अगाडि सारिएको छ । यस मोडेलले मुख्य मेगा विद्यालयलाई केन्द्रीय स्रोत केन्द्र (Hub) मान्दै दुर्गमका साना सिकाइ केन्द्रहरूलाई प्रविधि, अनलाइन शिक्षण र उत्कृष्ट साधनहरूद्वारा भौतिक तथा डिजिटल रूपमा जोड्नेछ, जसले विकेन्द्रीकरणको सिद्धान्तलाई नयाँ आयाम दिन्छ ।

लोकतान्त्रिक स्वायत्तता र प्रत्यक्ष लगानीको सुनिश्चितता

प्रस्तावित नीतिमा समेटिएको सबैभन्दा लोकतान्त्रिक, प्रगतिशील र उच्च चेतयुक्त पक्ष भनेको विद्यार्थीलाई विद्यालय छनोटको ऐच्छिक अवसर र अधिकार (Voluntary Choice & Schooling Autonomy) प्रदान गर्नु हो । जब राज्यले लगानीलाई संस्थाकेन्द्रित होइन, विद्यार्थीकेन्द्रित (Student-centric) बनाउँछ र नागरिकलाई गुणस्तरका आधारमा आफ्नो सिकाइ थलो रोज्ने स्वायत्तता दिन्छ, तब विद्यालयहरूबीच गुणस्तर सुधार्न एउटा स्वस्थ, रचनात्मक र प्राज्ञिक प्रतिस्पर्धा शुरू हुन्छ । यो नीतिले पहुँचवालाको ‘माग’ का भरमा हुकुमी शैलीमा बजेट छर्ने प्रथालाई विस्थापित गरी वास्तविक ‘आवश्यकता’ का आधारमा राज्यको डाइरेक्ट (प्रत्यक्ष) लगानी वृद्धि गर्ने वैधानिक सुनिश्चितता प्रदान गर्दछ । यसरी हुने प्रत्यक्ष वित्तीय प्रवाहले बिचौलिया संयन्त्र, प्रशासनिक ढिलासुस्ती र स्थानीय तहका राजनीतिक दाउपेचलाई तोड्दै सिधै कक्षाकोठाको सिकाइ वातावरण र विद्यार्थीको वास्तविक हितमा काम गर्नेछ, जसले नीतिगत पवित्रतालाई व्यवहारमा उतार्न मद्दत गर्दछ ।

रूपान्तरणकारी शिक्षाः आत्मनिर्भर र समृद्ध नेपालको आधार

नेपालको शिक्षा प्रणालीलाई आत्मनिर्भर, उत्पादनमुखी, रूपान्तरणकारी तथा भविष्यउन्मुख बनाउने उद्देश्यका साथ अब विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई मानव पुँजी विकास, नवप्रवर्तन, उद्यमशीलता, डिजिटल रूपान्तरण तथा अनुसन्धान–विकास (R&D) सँग अभिन्न रूपमा आबद्ध गरिनुपर्छ । यसका लागि दीर्घकालीन, मध्यकालीन र वार्षिक कार्ययोजनाका स्पष्ट खाकाका आधारमा नीतिहरूको वस्तुनिष्ठ कार्यान्वयन गरिनु आवश्यक छ । पाठ्यक्रम, शिक्षण सिकाइ, मूल्याङ्कन, शिक्षक विकास, पूर्वाधार, प्रविधि तथा शैक्षिक सुशासनका क्षेत्रमा स्पष्ट लक्ष्य, मापनयोग्य सूचक (Measurable Indicators), न्यायोचित स्रोत व्यवस्थापन र जवाफदेही जिम्मेवारी निर्धारण गरी नतिजामुखी कार्यान्वयन प्रणाली (Result-based Management) विकास गर्नु आजको अनिवार्य सर्त हो ।

जीवनोपयोगी सीप, २१औँ शताब्दीका दक्षता (४C Skills), हरित चेतना (Green Consciousness), दिगो विकास, आजीवन सिकाइ (Lifelong Learning) तथा स्थानीय आवश्यकतालाई पाठ्यक्रममा एकीकृत गर्दै शिक्षालाई सिधै उत्पादन, रोजगारी, उद्यमशीलता र ज्ञान–आधारित अर्थतन्त्र (Knowledge-based Economy) सँग जोडिनुपर्छ । यस महाअभियानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, प्रमाणमा आधारित योजना निर्माण (Evidence-based Planning), नियमित अनुगमन–मूल्याङ्कन तथा प्रतिफलमा आधारित व्यवस्थापन आवश्यक पर्दछ । यसै प्रक्रियामार्फत मात्र शिक्षा प्रणालीलाई गुणस्तरीय, समावेशी, उत्थानशील र उत्तरदायी बनाउँदै समृद्ध, न्यायपूर्ण र दिगो नेपालको बलियो आधारशिला निर्माण गर्न सकिन्छ ।

समालोचनात्मक कसी र कार्यान्वयनका चुनौतीहरू

वर्तमान सरकारको यो नीतिगत र रणनीतिक मार्गचित्र केवल सतही सुधार नभएर विद्यालय शिक्षाको संरचनात्मक र व्यवस्थापकीय शल्यक्रिया नै हो । योजनाको उद्देश्य अत्यन्त पवित्र, वैज्ञानिक र पूर्ण छ; तथापि यसको वास्तविक परीक्षा यसको दृढ र निष्पक्ष कार्यान्वयनको कसीमा हुनेछ । विद्यालय गाभ्दा भौगोलिक विकटताका कारण साना बालबालिकाहरूको पहुँच गुम्ने खतरा, शिक्षकहरूको परम्परागत मानसिकता र स्थानीय तहको राजनीतिक स्वायत्ततासँग आउने टकराव यसका मुख्य चुनौतीहरू हुन् । यी चुनौतीहरूलाई चिर्नका लागि विद्यालय यातायात (School Transport) को ग्यारेन्टी, शिक्षकहरूको सघन प्रबोधीकरण र स्थानीय सरकारसँगको बलियो समन्वय र कार्यगत सहकार्य अपरिहार्य छ । विद्यालयलाई भौतिक रूपमा मात्र विशाल बनाउने होइन, यसलाई पूर्वीय आध्यात्मिक चेतना, नवप्रवर्तन र डिजिटल उद्यमशीलताको जीवन्त केन्द्र बनाउनका लागि यी योजनाहरूलाई भुइँतहसम्म संस्थागत गरिनु आवश्यक छ ।

निष्कर्ष

शिक्षा राष्ट्रको दीर्घकालीन विकासको मूल मेरुदण्ड र उच्च मानवीय चेत निर्माणको कारखाना हो । वर्तमान सरकारले अघि सारेको पूर्वाधार अडिट, मेगा स्कुल, र डाइरेक्ट लगानीको यो मोडेल नेपाली शिक्षालाई “कागजी प्रमाणपत्र उत्पादन गर्ने कारखाना” बाट मुक्त गरी “दक्ष, उद्यमी र नैतिक नागरिक निर्माण गर्ने थलो” मा रूपान्तरण गर्ने अभूतपूर्व प्रस्थानविन्दु हो । यो योजनाबद्ध पुनर्संरचना सफलतापूर्वक सम्पन्न भएमा र यसलाई अक्षरशः कार्यान्वयन गरिएमा नेपालको सार्वजनिक शिक्षा प्रणाली राष्ट्रिय समृद्धिको वास्तविक मेरुदण्ड बन्ने निश्चित छ । हामीले अब पाठ होइन, जीवन सिकाउनु पर्छ । पाठको परीक्षा होइन, जीवनको परीक्षामा उत्तीर्ण हुने गरी विद्यार्थीलाई पढाउनु तथा सिकाउनु नै आजको युगधर्म हो । सरकारको यो महाअभियानमा नीतिगत पवित्रता, लगानीको पारदर्शिता र दृढ इच्छाशक्तिको निरन्तरता नै समृद्ध नेपालको सुनौलो आधारशिला हो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.